साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एकीकृत राष्ट्रिय जुका महासङ्घ

तपाई पनि लायक र पायक पर्ने ठाउँमा हुनुहुन्छ भने सरक्क चुपचाप हल्ला गरी हामी कहाँ सल्लाह गर्न मुन्टिनु भएमा स्वागत गर्ने छौँ ।

Nepal Telecom ad

हाम्रो गौरवशाली इतिहास भएको जुका दल आज आएर खुम्चिदै छ । नेपाली जनताको रगत चुसेर बनेको यो जुका दल भोलिका दिनमा जनताको रगत र पसिनाको होली खेल्न नपाउने भयले एकीकृत राष्ट्रिय जुका महासङ्घका रूपमा यत्रतत्र सर्वत्र उपलब्ध छ । हिजो आमाको लाम्टा चुस्दा नअघाएर आज बाउको घुँडा चुस्न लागि परेको हुँदा यदि नअघाएका खण्डमा शरीरका अन्य अङ्ग चुस्न बाँकी नराख्ने घोषणा यसै माहौलमा सार्वजनिक गर्न चाहन्छु ।
यो समय हामी जुकाहरूको दशैँ झैँ भएकोले हामी प्रत्येक नेपालीको घर दैलोमा टिका र आशिर्वाद थाप्नका लागि निहुरमुन्टी न हुँदै आउदै छौँ । अरु समयमा लुकेर हिँडे पनि यो समयमा लाज पचाएर दलबल सहित छलकपट गर्ने शिक्षा र दयाको भिक्षा माग्दै घरदैलो कार्यक्रममा पाँच वर्षे अनुत्पादक खेती लाउने उद्देश्यका साथ हातमा हात मिलाएर छुचो मुख सिलाएर आउँदैछौँ ।

हाम्रो देशको न्यूनतम आधारभूत आवश्यकता पुरा गर्नका लागि हाम्रो एकीकृत राष्ट्रिय जुका महासङ्घका पदाधिकारीहरू नेपालको राष्ट्रिय स्तरमै विक्षिप्त रूपमा चिनिएका, चुनिएका, छानिएका, झानिएका र गन्हाएकाहरू भएकोले नेपालको अधिकतम विनासमा उपद्रो गर्न पछि नपर्ने प्रतिवद्धता व्यक्त गरिरहेका छन् । यस्तो अवसरमा हाम्रो जुके समुहमा आवद्ध हुन चाहने मुक्के, भुक्के, बोकेहरूका लागि सुवर्ण मौका पनि हो । यो मौकामा जनताको आँखा छलेर चौका हान्न र ढाँटछलको थप नीति जान्न बुझ्नका लागि हामी हाम्रो हनुमान बनेर हिँड्ने जो कोहीलाई पनि विशिष्ट जुकाको उपाधिद्वारा समाजमा स्थापित गराउन पहल गर्ने छौँ । यस पटकको निर्वाचनमा हामीलाई राजनीतिबाट निर्वासनमा पठाउन मद्दत गर्ने जो कोही पनि हाम्रा मान्छे हुनेछन् भन्ने हामीले जानी नजानी विश्वास गर्ने छौँ ।

जुका महासङ्घ विश्वमै नाम गन्हाएको नेपालका ढाँटछल कम्पनिका लेन्डुपहरूको आकासे सङ्गठन हो । यसले मानव समुदायमा बसेर मानवको रगत, पसिना, भूमि, अन्नबाली, नगद, जिन्सी लगायतका सबै कुरा चुस्छ । धनि गरिब केही नछुट्याउने समानताको नारामा छुरा धस्ने, कुरामा कुरा मिलाएर काम गर्न सक्ने, कुकुर भुकेभन्दा राम्रोसँग भुक्न सक्ने र जान्ने यसमा सहभागी हुन सक्नेछन् । यस पटकको चुनावमा राजनीतिमाभन्दा दङ्गा फसादको नीतिमा बढी चलखेल गर्न सक्ने र विधिको शासनलाई कुशासनमा परिणत गर्न सक्ने थितिको पुनर्जन्म गराउने कमशल योद्धाहरूको सहभागिताले प्राथमिकता पाएको छ । जति सक्दो जनता चुस्न सिपालु जुकाले झैँ टाँसिएर चुस्न सक्ने, मच्छर झैँ गीत गाउँदै आएर गालामा म्वाँईँ खान सक्ने हिम्मतिलो, साहस भएकाहरूले आहतमा पार्न सक्ने हुँदा त्यस्ता महा दानवको खोजी भैरहेको छ । यदि तपाई पनि लायक र पायक पर्ने ठाउँमा हुनुहुन्छ भने सरक्क चुपचाप हल्ला गरी हामी कहाँ सल्लाह गर्न मुन्टिनु भएमा काठको पिरामा राखेर स्वागत गर्ने छौँ ।

एकीकृत राष्ट्रिय जुका महासङ्घ धेरैको बोलीको गोली खाएर थेत्तरो प्रमाणित भैसकेको हुँदा अपराध कर्मलाई महासङ्घको मर्म ठानेर सर्म नमानी अधर्म गर्न सधैँ अघि बढ्ने छ । हाम्रा नेतामा रहेको अवगुणका कारण हामी दिनप्रतिदिन शिखरको यात्रामा छौँ त्यसैले हामी हाम्रो उद्देश्य अनुरूप जुका, उडुस, उपियाँ, मच्छर बनेर समाजका प्रत्येक कुना काप्चामा आफ्नै प्रचार प्रसारमा आफैँ लागेका छौँ । यो कुरामा विश्वास हुने सम्माननीयदेखि माननीयसम्मका महानुभावहरूले आफ्नो खाननीय स्वभाव प्रस्तुत गर्न चाहेमा भान्सा घरमा नाम दर्ता गराएर वा बिगौती खान मन भए त्यहीँ नजिकै रहेको भतुवालयमा भोजनानन्दको सचिवालय मार्फत बेइमानको सूची पेश गर्नु हुन धुन्धुकारी भोकको भकारीहरू समक्ष झर्के क्रन्दन छ ।

हामी जनतालाई दासबाट लास बनाई यस धर्तीकै अस्तित्वहीन प्राणीका रूपमा विकसित गर्न संसार समुदायमा बज्र प्रहारका माध्यमबाट प्रयास जारी राख्ने छौँ । मधेशको मुद्दामा विप्लवी प्रवृति हावी गराउँदै सिकेलाई धेरै कुरा सिकाएर बिकाउन जनमत तयार गरिने छ । यो जनमतका लागि एक बुद्धिहीन विज्ञ सम्मिलित आयोग गठन गरिने छ । यो आयोगले भाइ फुटे गवाँर लुटे भन्ने उखानलाई चरितार्थ पार्न अहम भूमिका निभाउने छ । यदि त्यो भूमिका निभ्न सकेन र आगो बलिरह्यो भने राज्यबाट बलेको आगोमा पानीको साटो तेल, घ्यू थपेर आफैँ आच्छु आच्छु बन्न सफलता प्राप्त हुनेछ ।

चुनावी माहौलका समयमा हाम्रा राम्रा हर्कतहरू सुनेर बुझेर उम्मेदवार भएका हाम्रा चाम्रा अनादरणीय रुष्ट जनहरू प्रति धारेहात लाएर हामी कुलेलम् ठोक्न सक्ने सम्भावनाले हामीलाई नै घाटसम्म पुग्न मद्दत गर्न सक्ने छ । विश्व राजनीतिलाई ध्यानमा राखेर हामीले महासङ्घका तर्फबाट हाम्रा चाम्रा राम्रा हुक्के चिलिमे बैठके लगायतकालाई समयानुकूल उचित प्रशिक्षण दिएर विश्व समुदायमा हिस्स हुने फिस्स राजनीतिमा स्वाहा गर्न लगाउने छौँ । यसो गरेमा भविष्यमा आइपर्ने राजनीतिक, आर्थिक, सामाजिक तथा साँस्कृतिक सङ्कट परेका बेलामा हामी गंगाजलले स्नान गरेझैँ चोखिन सक्ने छौँ । अन्यायको तराजुमा जोखिएर चोखिनु हाम्रो जित भएकोले यसका लागि अनेक खाले हर्कत अपनाउन एकीकृत राष्ट्रिय जुका महासङ्घ सधैँ अघि बढ्ने छ ।

जुका हिमाली होस् वा पहाडी, वा तराईकै होस् हामी होस राखेर मानव शरीरमा टाँसिने छौँ । हामी उडुस, मच्छर, उपियाँ सबै परिचालन गरेर झुस्स परेको मानव शरीरमा समेत चस्स घोचेर रोग सार्ने छौँ । हामी भोगमा रमाएर रोगमा हौसिने छौँ । मानव शरीरको रगतमा पशुको रगत मिश्रण गर्ने छौँ । मरेको सिनोमा आशन जमाएर जिउँदो मानव शरीरमा रगत प्रत्यारोपण गर्ने छौँ ।

हामी विभिन्न प्रकारका मौसमी जुकाहरू सधैँ भोकाएर बस्ने भएकोले मौका पाउना साथ रातबिरात वा दिन दहाडै शरीरमा टाँसिन लालायित हुन्छौँ । यो हाम्रो प्रमुख विशेषता हो भने हाम्रो लक्ष्य र उद्देश्य पनि यसैभित्र लुकेर अन्तर कुन्तरमा बसेको होला । नेपाली जनतामा लुकेर बसेको एउटा स्वभाव के हो भने ज जसले चुसे पनि लुटे पनि सहेर बस्ने प्रवृति हो । ठूलाले चैनका साथ सानालाई ऐनमा पारेर आफू खुट्टा घुमाएर बस्ने  प्रवृतिलाई हामी सकेसम्म निरन्तरता दिन होस्टेमा हैँसे गर्ने छौँ ।

यस्तो पवित्र उद्धेश्य र लक्ष्यका साथ अघि बढेको एकीकृत राष्ट्रिय जुका महासङ्घ विश्व राजनीतिमा अब्बल राजनीतिक सङ्गठनका रूपमा उदाउन लागेकाले यस पटकको निर्वाचनमा हाम्रो चाम्रो राम्रो छलकपटको दललाई बल गरेर निर्वासनमा हुत्याउन अहम् भूमिका खेलिदिन हुन सम्पूर्ण अन्याय प्रेमी जनताहरूमा कट्टुवाल बनेर शंखघोष गर्दछौँ । कट्टु नलाउँ भने लाज हुन्छ त्यसैले कट्टु लाएर कट्टुवाल चाहिँ भाका छौँ । जय व्यङ्ग्य, जय साहित्य, राजनीतिलाई फालित्य, पेट सबैको भरित्य । एकीकृत राष्ट्रिय जुका महासङ्घ चुसाहावाद ! चुसाहावाद ! चुसाहावाद ! ढाँटछलवाद !

उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
खोसेर खाँदै छ जो

खोसेर खाँदै छ जो

माधव पोखरेल गोज्याङ्ग्रे
भू-शासन

भू-शासन

माधव पोखरेल गोज्याङ्ग्रे
लुट्यो डोजरले

लुट्यो डोजरले

माधव पोखरेल गोज्याङ्ग्रे
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
भेडा दिवस

भेडा दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
राष्ट्रिय पिण्ड दिवस

राष्ट्रिय पिण्ड दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
0
Would love your thoughts, please comment.x
()
x