श्याम गोतामेहास्यव्यंग्यमा लखपति पुरस्कार : एक गिद्धावलोकन
म एक लाखको पुरस्कारको स्थापना गर्दैछु एक वर्ष पख्नोस् भनी खसोखास भनिदिएको भए एक वर्ष धैर्य गरेरै भए पनि म वासुदेव लुइँटेल पुरस्कार थाप्थें । उता भैरव पुरस्कार पनि कुनै सत्पात्रले त पाउँथ्यो ।

हरिकंगाललाई रातारात धनकुबेरमा परिवर्तित गरिदिने ’वासुदेव लुइँटेल पुरस्कार’ को घोषणा भएउप्रान्त मेरो मनस्थिति स्वचालित रूपमा एक्कासि त्यस स्थितिमा पुग्यो जसलाई डाक्टरी भाषामा ’असामान्य’ र चलनचल्तीको भाषामा ‘खुस्किएको’ भन्ने चलन छ । तँ द्रव्यपिचास मुर्दाको मानसिक स्थिति कहिले पो सद्दे थियो र ? भन्ने प्रश्न उठ्नु यहां स्वाभाविक नै हो, तथापि मर्नुभन्दा बहुलाउनु बेस भन्ने उखानको उपेक्षा गर्न मेरो नैतिकताले अनुमति दिंदैन । नैतिकता शब्दलाई शब्दकोशबाट नै बहिष्कार गर्नु उपयुक्त हो कि भनी एउटा राष्ट्रियस्तरको गोष्ठी नै गर्नुपर्ने वर्तमान परिवेशमा म नाथेले नैतिकताको प्रसंग कोट्याउनु लुतोको पाप्रो कोट्याउनुभ हुने भए तापनि आफूले मानिआएको लुतो धर्मपरिवर्तन गर्, भनी तपाईंले मलाई कर लगाउनु ऐनविपरीत हुने बेहोरा अवगत गर्नुहुन निवेदन गर्दछु ।
म लुते लेखक भएकाले लुतो कन्याउनु मेरो मौलिक हक र कर्तव्य दुवै हो । लुतेले चिन्तन नै गर्न नपाउने भन्ने कुनै कानूनी प्रावधान पनि त छैन । साहित्यमा कस्ताकस्ता पाण्डुरोगीहरू (सन्दर्भ पाण्डुलिपि) समेत त बाकाइदा स्थापित छन् भने मैले लुते लेख लेख्न किन नपाउनु ? तसर्थ बायाँ हातले हार्दिक रूपमा लुतो कन्याउन र दायाँ हातले चाहि कालजयी रचनाको सृजन गर्नमा म अहिले व्यस्त छु । लेख्नका निम्ति चिन्तन र विचारको पनि यदाकदा आवश्यकता नपर्ने होइन तथापि मौका कुमौका अतिथिकलमद्वारा रचित अतिथिपुस्तकको अध्ययनले पनि औधि मद्दत गर्नाका अतिरिक्त कथित चिन्तनलाई थप ऊर्जा प्रदान गर्दछ । लेख्न बस्दा अतिथिविचारहरू त्यसै गरी ओइरिन थाल्छन् जसरी काठमाडौं क्षेत्र नं. एकको उपचुनावमा अतिथि मतदाताहरू ओइरिएका थिए ।
हास्यव्यंग्यमा वरिष्ठ साधक वासुदेव लुइँटेललाई पैसा कहाँ पोखूँ भन्ने औडाहा भएर हो वा मति बिग्रेर हो, हास्यव्यंग्यविधाको संवर्द्धनका निम्ति डक्कै तेह्र लाख रुपियाँ अक्षयकोषमा दाखिला गरिदिनु भएछ । बाहुन बिग्रियो मोजले, अरू बिग्रे भोजले भनेझैँ पिण्ड खाने बेलामा आएर त्यत्रो धनराशि बेफ्वाँकमा आफल्ने कुमति पलाउनु स्वयंमा एउटा अनौठो विडम्बना र घोर तानाशाही कुकृत्य हो । आफ्ना खसमले त्यत्रो रकम सोत्तर पार्दासमेत कोठामा विद्यमान कुचो छँदाछँदै वहाँकी आर्धांगिनी के भद्रा हेरेर बसिरहनुभयो ? फेरि वहाँकी छोरीहरू एवं छोरीज्वाँइहरूले क्रान्ति नगर्नु अर्को अचम्म । आफ्ना पिताश्रीले त्यत्रो सम्पत्ति लुटाउँदा छोराले विरोध गरेर टोल, छिमेक र आफन्तहरू जम्मा गराई दन्तबझान गर्नु त परै जाओस् उल्टै बाबाको इच्छा भनी सही थापेर प्रेसवक्तव्य प्रसारण गर्ने हुस्सूको शुभनाम विद्यादेव अरे ? खूबै विद्या पढेका रहेछन् । अंग्रेजी पढ्नेको बुद्धि हुँदैन भनेको यही हो । लौ, छोराको त हुती पुगेन, बुहारी कस्ती गोज्यांग्री ? अचम्मको मर्नु छ बा !
मैले वासुदेवले जस्तै माटोमा पैसा फ्याँक्ने वाहियात कार्य गरेको भए पहिले त मेरी जोईले आफ्नो माइतबाट खलकै बटलेर ल्याई मास र्याली र मेरो सामूहिक प्रतिकार सम्पन्न गराउँथिन्, छोरीहरूले आआफ्ना पतिदेवहरूलाई घिसारेर मकहाँ ल्याई मेरो घेराउको आयोजना गर्थे, सुपुत्रद्वयले मलाई हार्दिक भयाइँकुटी पार्दै चारखाल अड्डा पुऱ्याउँथे र स्थिति कतिसम्म क्लेशपूणर् हुन्थ्यो भने शेषपछिको बकसपत्र लेखेर समेत छुटकारा हालैको बकसपत्र गर्नुपर्थ्यो ! मेरी बुहारी यस्तो संकटकालमा बस्दिनथी र मेरा सम्धीद्वय लगायत माइतका खलक नै ओसारी रणसंग्राम नै मच्चाउने थिई । बद्धि नै बिग्रेपछि कसको के लाग्छ ? जसकी पत्नी शान्ति नामले विभूषित छन् र छोरा विद्यादेवको पगरीले चिनिन्छन् र स्वयं वासुदेव कहाउँछन् त्यस्तालाई कुनै दैवले पनि जोगाउन सक्दैनन् । बुढेसकालमा हुने यिनको विजोगको कल्पना गर्दा मेरो हृदयमा वासुदेवप्रति करुणरसको सञ्चार हुन थाल्छ ।
विगत वर्षको बीभत्स बाढीले मेरो सिरीखुरी बगाई लगेको पावन परिप्रेक्ष्यमा मजबूर वासुदेवसँग मैले केही चन्दा मागेको थिएँ । मेरो माग सुन्नासाथ वहाँको अनुहार अमिलो निचोरेको जस्तो भयो, जुठो सुनेपछि लाउनुपर्ने पाराको गम्भीर अनुहार लगाई हुन्छ ! म हेर्छु ! भनी मलाई तीन महीनाको तारीख दिनुभयो । हुन्छ म हेर्छु भन्ने यो मौखिक तोक औधि अलच्छिनको हुन्छ । हेर्छन् अरे ! के हेर्छन् भनी गम्दै थिएँ- अनेकौं जाल झेल, षड्यन्त्र गरी भैरव पुरस्कार भिडाएर मलाई भूत मन्छे नै मन्छे । म एक लाखको पुरस्कारको स्थापना गर्दैछु एक वर्ष पख्नोस् भनी खसोखास भनिदिएको भए एक वर्ष धैर्य गरेरै भए पनि म वासुदेव लुइँटेल पुरस्कार थाप्थें । उता भैरव पुरस्कार पनि कुनै सत्पात्रले त पाउँथ्यो ।
मेरो लेखनको स्तर पतनोन्मुख भएको बेहोरा प्रमाणित गर्न प्रस्तुत लेखले नै यथोचित दसीको अभावपूर्ति गर्दछ । रुञ्चे, मगन्ते र दरिद्री साहित्यकारको रूपमा कुनै लेखकलाई उभ्याउनु पर्दा साथीहरू यथाशक्य मेरै खोजी गर्ने गर्दछन् । मेरो सम्मान भएन, मेरो देनलाई मित्रहरूले समेत बिर्से, मैले यतिका वर्ष फलानाको र ढिस्कानाको सेवा गरेँ, मलाई सान्दाइपर्यन्तले माया गर्नुहुन्थ्यो । मेरो लेख भनेपछि पुष्पलाल दाइ हुरुक्क हुनुहुन्थ्यो । मेरो लेखनीको प्रभाव कस्तो हुन्थ्यो भने ’हास्यव्यंग्य पढ्दा मानिसहरू रुन थाल्थे र मेरो कविता पढेर पाठक हाँस्थे’ भनी अहोरात्र कल्पिरहने यो एड्सभन्दा पनि मापाको रोगले पाको टोलमा निवास गर्ने काम गर्दा समेत छाडेन । आफ्नो साहित्यसाधना बापत यथोचित सम्मान पाउनु त कता हो कता झन् जता कल्पन गए पनि बाह्रहाते पिंडालुले मलाई खेद्याखेद्यै छ । तै शुद्ध लेख्न नजान्ने तर साहित्यमा अंगदका बुट्टाले अडान लिएसरह स्थापित चाहिँ भइसकेका लेखक-कविवर्गले मेरो घरखर्च चलाइदिरहेका छन् ।
अचेल मैले एउटा यस्तो उद्योगको स्थापना गरेको छु जो ड्याग नपर्ने खालको छ । अजिंगरको आहारा दैवले जुराएजस्तै ’गरी-खा’ भनी ईश्वरले एउटा न एउटा प्रावधान राखेकै हुँदो रहेछ । परिणामतः अशेष मल्लज्यूदेखि ज्ञानुवाकर पौडेलज्यूसम्म मेरा स्थायी ग्राहक हुनुहुन्छ । वहाँ दुवैजनालाई ज्यू-ज्यू गर्नुपर्ने कारण के भने लेखक भनिइने प्राणीहरूको अकारादि क्रम मिलाउँदा वहाँहरूले आदिदेखि अन्त्यपर्यन्त ढाक्नुहुन्छ र अर्को तथ्य के भने वहाँहरू मेरा निकटतम र आफन्त समेत हुनुहुन्छ । कसैमाथि जाइलाग्दा सकेसम्म आफन्तलाई नै पात्र बनाउनु बुद्धिमानी र सुरक्षित पाइला ठहर्छ । वहाँहरू कतिसम्म ईमानदार र उदारचेता हुनुहुन्छ भने ग्राहकहरू पत्ता लगाउने क्रममा अशुद्ध लेख्नमा पारंगत भाषाशास्त्रीहरूदेखि प्रज्ञा प्रतिष्ठानपर्यन्तको परिक्रमा गर्ने सुझाव मलाई दिनुहुन्छ । निकट भविष्यमा म स्वयं प्राज्ञका रूपमा भाषा भत्काउने फाँटको प्रमुख पदमा बहाली गर्न त्यहाँ जाने निधो भएकाले यस्तो संक्रमण कालमा तहाँ जोरी खोज्न जानु आफ्नै काल बोलाउनु जस्तो हुने हुँदा मेरो नैतिकताले जान दिएन र पो !
म औधि जाद्रो पाराको लेखनदास हुँ । बाहुन हुँदाहुँदै पनि कुनै प्राणी जाद्रो छैन भने, यसै पनि त्यसको शारीरिक र मानसिक जाँच हुनु नितान्त अपरिहार्य मानिन्छ । आफूले जानेसम्म शुद्ध लेख्ने प्रयास सबैको रहन्छ, अब नजानेपछि र सिक्नै नचाहेपछि त्यसमा न त यहाँका पिताश्रीले केही गर्न सक्ने स्थिति हुन्छ न त मेरा बाउले नै कुनै लछारपाटो लाउन सक्छन् । भाषा भत्कन थाल्यो गरीबपरवर भनेर गुहार माग्दै हिंडेको पनि छु । तर जोसँग गुहार मागे पनि जोगीसित भिक्षा मागेझैं धेरथोर भाषिक रोगले सबैलाई पिरेकै छ ।
आफ्ना बारीका एक-दुई कान्ला बेचेर महाकाव्य छपाउने कविहरू हामीकहाँ प्रशस्त छन् । साहित्यिक अपुताली कुर्नेहरू पनि नभएका होइनन् तर आफूले आर्जन गरेका घर-घडेरी, गोठ-कटेरो बेचेर हास्यव्यंग्यको अभिवृद्धिका निम्ति गुठीस्थापना गर्ने अचम्मका साहित्यप्रेमी चाहिँ वासुदेव लुइँटेल नै हुन् भनेमा त्यसको विरोध तपाईंले त के साक्षात् सांसदश्री विरोधप्रसाद खतिवडासमेतले गर्नुहुने छैन भनी म ठोकुवा गर्छु । अब मलाई कसैले सिद्ध भनोस् कि गिद्ध त्यो पुरस्कार जिप्टयाउन तँछाड मछाड गर्नु मेरो कर्तव्य हो । मौका परेपछि मान्छेले हीरा त फोर्छन् भने पुरस्कारका निम्ति मैले आफ्नो टाउको फोर्न तम्सिनु कुन आश्चर्य भयो र ?
अन्त्यमा, अहिले पाए पनि मैले पाउने र पछि पाए पनि मेरै गोजीमा दाखिल हुने त्यस पुरस्कारको रकमबाट केही अंश सापटी पाए म दरिद्रनारायणको उद्धार हुने थियो । किनभने जीवनको उत्तरार्द्ध अवस्थामा रहनुभएका कुनै पनि वृद्धविशेषसँग शेषपछिको बकसपत्र गराइहाल्नु घात, प्रतिघात, अन्तर्घात त परै जाओस् आत्मघात र ईमान-जमानको अभाव रहेको वर्तमान उच्छृंखल प्रजातान्त्रिक परिवेशमा सोह्रै आना साहित्यिक धुर्त्याइँ हुनेछ ।
‘जनमञ्च’ २०५१, बैशाख २९
Subscribe
Login
0 Comments
Oldest






































