साइबर अपराध सम्बन्धी सचेतना सामग्री

असली बाजेको खोजी

हाम्रो अध्यक्ष बन्ने र बनिरहने सिद्धान्तको पेटेन्ट राइट नभएसम्म हामी यो कुरो सार्वजनिक गर्दैनौँ

Nepal Telecom ad

मेरा तीन बाजे हुनुहुन्थ्यो । सही बाजे, असली बाजे र साँच्चिकैको बाजे । तीन बाजेबाट कति दाजुभाइ बुबाहरू हुनुभयो, अहिले हाम्रो गाउँ नै भएको छ भन्ने स्पष्ट उदाहरणबाट थाहा पाउन सकिन्छ । त्यत्तिबेलाको आशीर्वाद नै हुन्थ्यो- शाखा सन्तानले गाउँ भरियून् । यो आशीर्वाद फलिफाप भएको हामै्र वंशजमा हो । त्यसै त बज्जै नै कति कति थिए । दुई तीन ओटा बिहे सामान्य मानिन्थ्यो ।

कहिलेकाहीँ काका बुबाहरूमा झगडा हुँदा सुन्न पाउँथे- म असलीहरूमध्ये पनि जेठी आमाको सन्तान पो हुँ, मेरो अगाडि धाक लगाउने तिम्रो योग्यतै छैन । के धाक लाउँछौँ ? प्रत्युत्तर आउँथ्यो- म पनि भित्रभित्रै ज्यादै मन परेकी आमाबाट जन्मेको हुँ । त्यसै हेप्न पाइँदैन ।

असली आमाहरूमध्ये पनि जेठी भन्नुको अर्थ यो हुन्थ्यो कि ढोल पिपही बजार जन्तीलाई भोज खुवाएर बिहे गरेर ल्याएका पत्नीहरूमध्ये जेठी । यदि अहिलेको समय हुँदो हो त प्रधान पत्नी, सहायक प्रधान पत्नी, सहप्रधान पत्नी, उपसहायक प्रधान पत्नी, निमित्त पत्नी, कार्यकारी पत्नी आदि भनेर सबैलाई सम्मान गरिन्थ्यो होला ।

भगाएर, फकाएर, अपहरण गरेर बिहे गरिन्थ्यो नै । लुकी लुकी पनि बिहे हुन्थ्यो । कति पत्नी गोप्य पनि हुन्थे । एक गाउँमा नभएर अन्यत्र पनि बिहे गरेर पालेको हुन्थ्यो ।

सही बाजे, असली बाजे र साँच्चिकैको बाजेभन्दा पहिलेका कुरा खासै थाहा भएन । ती तीन दाजुभाइलाई तिनका सबै सन्तानका सन्तानहरूले यसै गरी चिन्दथ्यौँ । अलिक बुझ्ने भएपछि मैले एक दिन आमालाई सोधेकी थिएँ – सही, असली र साँच्चिकैको भन्ने कुरो एउटै होइन र ?

आमाः जो सबैभन्दा जेठा हुन्, तिनी सबैका बाजे सही बाजे हुन् । सही बाजे किन भनेका हुन् भने बाजेहरूका पनि अभिभावक हुन् । असली बाजे भनेका चाहिँ सही बाजेले अह्राएको जति सबै काम गर्ने हुन् । सही बाजे त आदेश दिने मात्र हुन्, तिनलाई कार्यान्वयन गर्ने असली बाजे हुन् । यसै कारण तिमीहरूको असली बाजेलाई कहिलेकाहीँ कार्यकारी बाजे भन्ने चलन पनि छ । तिम्रो बुबाका बुबा चाहिँ साँच्चिकैको बाजे हुन् । साँच्चिकैको बाजेको चाहिँ कुनै काम छैन । न खेतको मालिक र न त पैसा वा धानकै ।

अहिले किन यो सम्झना भयो भने केही सखीहरूसित आजको त्यहाँ आइपुगेकी छु जहाँ बाजेको विषयमा अनेकानेक विशेषण थपिएका छन् । असली बाजे, पुरानो बाजे, उही पुरानो बाजे, असली पुरानो बाजे आदि भनेर पसलको विज्ञापन गरिएको छ । सबै पसलमा बाजे देख्दा र बाजेको अगाडिको विशेषण देख्दा साँच्चै आफ्नै बाजेको सम्झना आएको छ ।

यही बजारमा आज रात बसेकी छु । डुल्न जाने क्रममा जहाँ रात त्यही बिहान भन्ने उखानलाई सार्थक बनाउन सखीको टोली ढिलो नगरी एउटै हलमा जम्मा हुन्छौँ । बाहिर जाँदा हामी एकै हलमा साथसाथै सुत्छौँ । कहिल्यै पनि यात्रामा सखीहरू रात बिताउनु पर्दा एक्लै वा दुक्लै बस्दैनौँ । करिब दर्जन जति छौँ । खाना खाएर निदाउनुअघि हाम्रो वार्तालाप हुन्छ । एउटीले कुरो चुहाइन् : यहाँ सबै असली बाजे नै किन भएका होलान् ?

अर्कीले जिस्क्याइन् : किन तिम्लाई नक्कली बाजे चाहियो ?
मलाई आफ्नै बाजेको कथा भन्न मन लाग्यो र सुनाएँ । सबै दङ्ग ।
प्रसङ्ग बदलेर एउटीले भनी : सुन जवानहरू हो, आज हामी एउटा संस्था गठन गरौँ ।
धेरैले होमा हो मिलाए । सहमति बन्यो तर एउटीले भनी : अहिले रमाइलो गरौँ । निद्रा लाग्ने बेलामा सबै जना संस्थाको पदाधिकारी चयन गर्दै निदाउँला ।
के रमाइलो गर्ने ? कस्तो रमाइलो ?

मानौँ, एक छिन सबै जना पुरुष हौँ । अनि पुरुषमा कसले के भूमिका निर्वाह गर्ने ?
एउटीले भनी : म पति बन्छु, श्रीमान् ।
अर्की : म पनि पति ।
तेस्री : म पनि पति नै बन्छु ।
व्रmमशः सबैले पतिकै पद धारण गर्ने इच्छा देखाए ।
एउटीले व्यङ्ग्य कसी : मानौँ कोही एक जना पत्नी छ्यौ भने यत्तिका पतिको चिनारी कसरी बनाउने ?
हाँसोले घरै उचालियो । हाँसो धेरै बेरसम्म चलिह्यो ।
कस्तो कस्तो कुरो ल्याउँछे यसले ? न हाँस्नु न रुनु पनि बनाउँछे ।
एउटीले जिस्किने किसिमले नै जबाफ दिई : सजिलो छ नि, ऊ पति, ऊ उपपति, ऊ सहपति, ऊ कार्यकारी पति, फलानी सहकार्यकारी पति, तँ मुख्य पति, तिमी उपमुख्य पति, ऊ प्रधान पति, ऊ मुख्य सहायक प्रधान पति आदि आदि गरी पद विभाजन गर्दिए पुगिहाल्छ नि ?

तिनले जजसलाई जुन जुन पतिको उपमा दिई त्यसले गजक्कै परेको देखिए सबै जना । हामी प्रायः पत्नी नै छौँ कसैका । एक दुई जना मात्र अविवाहित । अविवाहितालाई प्रायः जिस्क्याएन । हैनभने एकले अर्कालाई जिस्क्याउने काम भने चलिरह्यो ।
पतिको गफ कतिखेर पत्नीमा परिवर्तन भयो भन्ने थाहै भएन ।

अघिसम्म के के पति बनेकाहरू त्यसै गरी के के पत्नी बन्न पुगे जस्तै पत्नी, सहपत्नी, उपपत्नी, उपसहायक पत्नी, मुख्य पत्नी, कार्यकारी पत्नी, प्रधान पत्नी, मुख्य सहायक प्रधान पत्नी, असली पत्नी, ओरिजनल पत्नी, शुद्ध पत्नी, धर्मपत्नी, डाइरेक्ट पत्नी आदि आदि । पत्नीको उपाधि त सबैले लिने तर यसभन्दा पहिलेको विशेषण प्रायः कसैले मन नपराउने । केवल पत्नी वा शुद्ध पत्नीमा सबै सन्तुष्ट ।

एउटीले दर्शन छाँटी : जिस्किनुको कुनै सीमा हुँदैन तर सार्थक काम पनि त गर्नुपर्छ । जिस्केर जीवन चल्दैन ।
नजिस्केर के गर्नु त ?
हैन संस्थाको खाका तयार पारौँ न त ?
स्वार्थी साथी स्वाबलम्बन समूह ।
संस्थाको नाम पक्का भयो ।
संस्थाको नाममा पछि फेरि विचार गरिएला तर पहिला पदाधिकारी चयन गरौँ ।
पहिले त कोही पनि तयार थिएनन् तर एकपछि अर्कीले अध्यक्ष पदमै चासो देखाए ।
एउटीले फेरि जिस्केरै भनी : अघिको पति वा पत्नीजस्तो अध्यक्ष पदको पनि भागबन्डा लगाऔँ न ?
अनि फेरि सुरु हुन्छ अध्यक्ष पदको लागि अनेक विशेषण लगाउन सुरु । अहिले सबैले आफैले बोल्न सुरु गरेका छन् ः

म अध्यक्ष ।
म कार्यकारी अध्यक्ष ।
म सहअध्यक्ष ।
म उपअध्यक्ष ।
म निमित्त अध्यक्ष ।
म कामु अध्यक्ष ।
म सहायक अध्यक्ष ।
म असली अध्यक्ष ।
म सही अध्यक्ष ।
म साँच्चिकै अध्यक्ष ।
म सर्वोच्च अध्यक्ष ।
म प्रधान अध्यक्ष ।

यसरी एक दर्जन मानिस हामी सबै अध्यक्ष । किन कोही सानो र ठूलो हुनुपर्ने । एउटा नौलो संस्थाको सबै जना अध्यक्ष हुने भएपछि मान मर्यादा पनि समान हुने र आएको सुखसुविधा पनि समान हक लाग्ने ।
कुनै संस्थाको अध्यक्षलाई मात्र कतै सोधपुछ हुन्छ । अध्यक्ष नभई कसले पत्याउने ? सबैले सबैलाई पत्याउन पनि अध्यक्ष नै हुनु परेको हो ।

हामी सबै जना एउटा राम्रो निष्कर्ष निकाल्छौँ : अबदेखि अध्यक्ष पदको कमी हुन नदिने र अबदेखि हामी कोही पनि कतै पनि अध्यक्षबाहेक अर्को कुनै पदमा नबस्ने ।
हाम्रो अध्यक्ष बन्ने र बनिरहने सिद्धान्तको पेटेन्ट राइट नभएसम्म हामी यो कुरो सार्वजनिक गर्दैनौँ भनेर किरिया खान्छौँ ।

निदाउनुअघिसम्म म यहाँको कुन पसलको बाजे चाहिँ सही अर्थमा साँच्चिकै असली बाजे रहे होलान् भन्ने प्रश्नले उत्तरको खोजी गरिरहेको हुन्छ ।

गरुडा, रौतहट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
हात्ती पाटी

हात्ती पाटी

सञ्जय साह मित्र
नागरिकता

नागरिकता

सञ्जय साह मित्र
सुप्रिमो

सुप्रिमो

सञ्जय साह मित्र
कुत्ताभक्ति

कुत्ताभक्ति

सञ्जय साह मित्र
विवाह विदा र हनिमून प्याकेज

विवाह विदा र हनिमून...

सञ्जय साह मित्र
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
कुबेर सुकुम्बासी

कुबेर सुकुम्बासी

रामकृष्ण ढकाल
राजनीति

राजनीति

सुरेशकुमार पाण्डे
हास्यव्यङ्ग्यको परिचय (१)

हास्यव्यङ्ग्यको परिचय (१)

डा. भरतकुमार भट्टराई
बाजी

बाजी

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x