गायत्री परिरोशनीधन्न चुनाव हारियो !
चुनाव हार्नेको जय, हार्नेलाई भोट नदिनेको जय, कहिल्यै पनि चुनाव नजित्नेको जय ।

गज्जबै भो त बल्ल चुनाव हारियो । जित्नेहरूले जस्तो कर्तुत गरेर कमाएको कालो धन कसैलाई बाँडिएन । तिम्रो घरको यतिजनाको सबै भोट मेरो यो चिन्हमा दिन्छौ भने तिम्रा हातमै यतिवटा हात्ती थमाइदिन्छु भनेर कसैलाई भनिएन । हात्ती भनेको त बुझ्नु भो नि ? जंगलको हात्ती नभएर एक हजारको नोटमा हुने हात्ती भनेको क्या । यस्ता कुरा त एउटा पनि गरिएन हजुर । यो मितिदेखि यो मितिसम्म फल्नो होटल, फल्नो रेष्टुराँमा गएर मन लागेको जति सबै कुरा खाउ र रमाउ भनेर कसैलाई पनि कुपन बाँडिएन ।
गौतम बुद्धको देशका अहिंसाका पुजारी भनेका हामी हार्नेहरू नै भएको ठोकुवा हाम्रै पक्षका बोकुवाहरूले गर्नुभएको छ । जित्नेहरूले जस्तो अर्को दलको व्यक्तिलाई पिटी-पिटी मार्न त हामी कहाँ सक्छौ र ? हार्नेहरू हामी अनगिन्ती वादका भए पनि कुनै चारखुट्टे बध गरेर भोजभतेर खुवाइएन मात्र होइन, विश्वव्यापी अन्तर्राष्ट्रिय चरो बोइलर कुखुरो पनि कतै ढलाइएन ।
जितेका साथीहरूका साथीहरूले गफ लाएको सुनेको उनीहरूको बस्तीमा त चौपाया र पशुपंक्षी सबै सकिए रे । चुनाव भन्दा दुई महिना अगाडिदेखि भोजभतेर ख्वाउँदा । फल्नो पालिकाको फल्नो मेयर सापले त झन् बजारका थुप्रै घडेरी बेचेर महादेवको त्रिनेत्र बाँडेका हुन् रे । अहिले त चुनाव जितेर खुशी भाछन् विचरा । अब त्यो बाँडेको कुरोको सावाँ -ब्याज उठाउँदा कम्ति दुख पाउँछन् ।
अँ साँच्ची कुरा के भने नि मेयर साप भए पनि उनीभन्दा माथिका सापहरू त कति छन् कति । उनीहरूलाई पनि बेला-बेलामा साइनो अनुसारको भेटी चढाउनु नै पर्छ । अख्तियार र अन्य सुकिला-मुकिला यारका मामाहरूलाई पनि दर्शन भेट गरी ज्यूनार गराउनै परो । विचरा पाँच वर्षमा त पचास के.जी. त मासु नै घट्ने भए । दिमाग कति के.जी. घट्छन् हजुरहरूले हिसाबकिताब राख्नु ल ।
हामी चुनाव हार्नेहरूलाई त हाइसञ्चो छ । मेरै कुरा गर्नुहुन्छ भने दुई चारवटी निकै राम्रा अप्सराजीहरूलाई मैले चुनाव जिते भने तिमीहरूलाई फल्नो-फल्नो कुरा किनिदिउँला धन्नै नभनेको । बेला-बेलामा महङ्गो महङ्गो तारे होटलमा लञ्च, डिनर गराउँला पनि धन्नै धन्नै नभनेको । अझै मन मनले त तिमीहरूले अनुमति दियौ भने गोप्य ठाउँमा तिमीहरूलाई आफ्नै श्रीमतीलाई गर्ने जस्तो व्यवहार गरौँला भनूँ-भनूँ जस्तो लागेको थियो । हामी चुनाव हार्नेहरूले कसैलाई यस्तो कुरा कहिल्यै भनिएन । घरकी श्रीमतीले आऊ बुढा अब सुतौँ भनेर नभनेसम्म उसको बेडमा जान त डरलाग्ने हामी जोइटिङ्ग्रेहरूले अन्य कुराहरू त मनमनले आश गर्नु शिवाय अन्य त के पो गर्न सकिन्छ र ? विचरा जित्नेहरूले अब के के गर्लान् आफूलाई त त्यही कुरामा टेन्सन भैराछ भन्या ।
अगाडिको चुनावको कुरा त हो नि, मेरै टाठाबाठा साथीहरूले मैले चुनाव जितेँ भने मन्त्री हुन्छु । अनि मलाई मनपर्ने उनीहरूलाई समानुपातिकमा सांसद बनाउछु भनेर भनेका मात्र होइनन् । साँच्चै बनाएरै देखाइदिए बाबै । त्यसैको दुईचार महिनापछि कस्ता कस्ता कुरा सुनियो । यहाँ भनौ भने भन्नै लाज लागेर आउँछ । आफ्नै गतिलो साथी भनेर छिमेकी बैनीलाई विहे गरेर दिएको । अहिले विचरीको रुवाबासी छ । विहे उसलाई मात्र गरेको भए पनि उसका अन्य श्रीमती त धेरै छन् रे । अनि कुरा के हो भन्नुहुन्छ भने नि मेरो साथी त एउटा प्रतिनिधि मात्र मात्र हो, ऊ भन्दा अझै उच्च कोटिका व्यक्तिहरू सबैले धेरै पटक चुनाव जितेका छन् र धेरै तनावमा फसेका छन् । नचाहिने के-के-के-के काम गर्छन् अनि उसको बाबुले थाहा पाउँछ कि, आमाले थाहा पाउँछिन् कि, श्रीमती अनि छोराछोरीले समेत थाहा पाए भने त के गर्ने होला भन्ने पिरले विचराहरूको निन्द्रा नै हराउँछ सधैँभरि ।
आत्मीय मित्रहरू, जीवन मज्जासँग जिउनुपर्छ । अरु सबै थोक हार्दा केही बिग्रन सक्छ, केही हानीनोक्सानी हुनसक्छ तर हार्दा केही पनि नबिग्रीकन सबै कुरा सप्रने भनेको मात्र चुनावमा हार्दा हो । तपाइँहरूले चुनाव हार्नुभएको छ भने हामी सजिलै अनुमान लगाउन सक्छौं कि- मेहनतले कमाएको पैसो भोट देऊ भनेर बाँडेनौँ । आफूले गर्न नसक्ने काम सबै गर्छौँ भनेर चर्का-चर्का भाषणमा भनेनौँ । नागरिकको भोट पाउने आशाले सदाचार र नैतिकतालाई बेचेनौँ । कसैलाई कुनै किसिमको अनैतिक आश्वासन बाँडेनौ । राष्ट्रप्रेम, सिद्धान्त र निष्ठालाई शिरमा राखेर चुनावको मैदानमा उत्रियौँ । हारियो हार्नुका फाइदाहरू छोटकरीमा उल्लेख गर्ने अनुमति चाहन्छु ।
मात्र चुनाव हार्नाले सोचेको भन्दा धेरै काइदा भो हजुर । चुनाव जितेको भए लोकप्रिय भाषणमा बोलेका कुराहरू कसरी पूरा गर्न सक्नु ? एकातिर खोला नदीको उत्खनन् रोक्छु भन्नु अर्कोतिर चुनावको बेलामा दान गर्ने क्रसर उद्योगका डनहरूलाई महाडन बनाउँछु पनि भन्नु । भाषणमा पो सम्भव थियो । यत्तिमात्र कहाँ हो र हजुर ? एकातिर जग्गा प्लटिङ रोक्छु भन्नु अर्कोतिर खोल्छु भन्नु । सार्वजनिक जग्गा हडप्न दिन्छु भन्नु, विकासको मूल हरेक नागरिकको भान्छाकोठामा नै फुटाइदिन्छु भन्नु चानेचुने कुरा हो र ?
गुठीको जग्गाको लालपूर्जा हातहातमा पार्न, देशकै सिमाना दायाँबायाँ सार्न हामी चुनाव हार्नेहरूको तागत कसरी पुग्थ्यो होला र ? अब वर्षा लाउन थाल्यो । चुनाव जित्नेहरूका नयाँ कर्मले पहाडमा बाढीपहिरो भन्ने विकासको छलाङ् र तराइमा डुवानको प्रगतिले पानी जहाजमा झण्डा फरर राखेको कसो देख्न नपाइएला र ?
हामी चुनाव हार्नेहरूलाई चोर, डाँका, फटाहा नेताहरू कसैले भन्दैनन् । भोट माग्न आए, जितेपछि पाँचवर्षसम्म एक दिन पनि नाकमुख देखाएनन् भनेर हामीलाई भन्दैनन् । देश बेच्ने लुटेराहरू आफूले आफैलाई भनेको सुन्नुपर्दैन । आफूले गरेको निकै असल कामले आफ्नो देश बलिको बोको बनाएको टुलुटुलु हेर्न पर्दैन । चुनावको बेलामा आफूले गरेको अन्तर्राष्ट्रिय स्तरको भाषण सम्झेर आफैलाई अचम्म लाग्ने हामी हार्नेहरूलाई हुँदैन । आफ्नै मनसँग आर्थिक रुपमा यति क्षति, सामाजिक रुपमा यति क्षति, सदाचार र नैतिकतामा यति क्षति भन्दै लेजर बुक तयार हामी चुनाव हार्नेहरूले तयार पार्नुपर्दैन ।
विकासे झुटको क्षति कहिलेसम्म फल्ने हो भन्ने चिन्ता हामीलाई हुँदैन । एक नम्बरी कामले नै हातमुख जोर्न र रातभरि मिठो निन्द्रा पुगेकै छ । दुई नम्बरी कामले निन्द्रा गुमाउनु पर्दैन । आफ्नै छिमेकीसँग, आफ्नै परिवारसँग, आफ्नै श्रीमती अनि श्रीमान्सँग विश्वास गुमाउनु पर्दैन । यसरी नै खोतल्दै खोतल्दै जाने हो भने त चुनाव हार्नुका फाइदाहरूको एउटा उपन्यास नै तयार हुनसक्छ । जे छ त्यसैमा रमाउँ । हामी सबैले जानेको कुरा हो । यहाँ चुनाव जित्नेले बाहेक अन्य चुनाव जिताउनेहरू सबै, सधैँ हारिरहेका छौं ।
यसमा पनि बहुमतीय प्रणाली लागू गर्दा निकै उत्तम हुन्छ । तीन करोड नेपालीमा तीन वटै तहका गरेर जित्नेहरू त जम्मा करिब ३५ हजार जति त हो नि । अरु सबै दुई करोड उनान्सय लाख पैसट्ठी हजार जनाको जम्मो टोली त सबै हारबहादुर नै त हो । बहुमतीय प्रणालीमा तीन करोड नागरिकमध्ये जिरो दशमलब एक दुई प्रतिशतले जित्ने बाँकी उनान्सय दशमलब आठ आठ प्रतिशतले चुनाव हारेपछि हामी हार्नेहरू नै निकै शक्तिशाली भएको व्यहोरा यहाँहरू सबैमा अनुरोध छ । आउनुहोस् चुनाव जित्नेहरूको भन्दा उनान्सय गुणा ठूलो हामी चुनाव हार्नेहरूको र्याली भव्य रुपमा मनाउन थालौँ । सबैले एकै स्वरले उच्चारण गरौँ । चुनाव हार्नेको जय, हार्नेलाई भोट नदिनेको जय, कहिल्यै पनि चुनाव नजित्नेको जय ।
स्याङ्जा, हाल काठमाडौं
Subscribe
Login
0 Comments
Oldest





































