डा. टीकाराम पोखरेलविधि नपुगेको बलात्कार !
बलात्कारका मुद्धा लिएर न्याय चौतारीमा आउने हो भने विधि पुर्याएर बलात्कार गर्नू, गराउनू । अनि मात्र न्यायालय आउनू । अन्यथा बलात्कारका मुद्दा न्यायालयमा ल्याउँदै नल्याउँनू ।

दृश्य – १
बलत्कारीलाई – फाँसी दे, फाँसी दे !
हातखुट्टा – भाँची दे, भाँची दे !
संसारबाटै – नासी दे, नासी दे !
क्रसमा लगेर – टाँसी दे, टाँसी दे !
सडकमा नाराहरूरु लागिरहेका थिए । युवाहरू चम्किरहेका थिए । नारीहरू लम्किरहेका थिए । अधिकारकर्मी बोलिरहेका थिए । कानूनविद्हरू तर्क गरिरहेका थिए । प्रहरीहरू दौडिरहेका थिए । राजनीतिज्ञहरू पीडितप्रति सहानुभूति दिइरहेका थिए ।
कोही रोइरहेका थिए । कोही निशब्द थिए । कोही स्तब्ध थिए । कोही आक्रोश पोखिरहेका थिए । कोही बोलिरहेका थिए । कोही लेखिरहेका थिए । बलात्कारीका विरुद्ध सबैले केही न केही आवाज उठाइरहेका थिए । प्रतिक्रियाविहिन मान्छे बजारमा पाउन गाह्रो थियो ।
दृश्य – २
एउटी बलात्कृत युवतीको न्यायका लागि आवाज उठिहेको थियो । ठीक त्यसैबेला शहरको कुनै होटलमा अर्को एउटा बलात्कार हुँदैै थियो । बन्द कोठमा अर्की एउटी युवतीको कपडा खोलिँदै थियो, अस्मिता लुटिँदै थियो । यता नाराले सडक तातिरहेको थियो, उता यौन उन्मादमा अर्को एउटा बलात्कारी तातिरहेको थियो । सडकमा नारा चम्किरहेको थियो, बन्द कोठामा बलात्कारी चम्किरहेको थियो ।
दृश्य – ३
बलात्कारको आरोपीलाई न्यायको कठघरामा उभ्याइयो । बहस सुरु भो ।
– बलात्कार त भएकै होइन रहेछ, आवेगमा पो भनिएको रहेछ ।
– बलात्कार त भएको हो रहेछ, तर सहमतिमा भएको रहेछ ।
– बलात्कार त भएको रहेछ, तर हदम्याद नाघि सकेछ ।
– बलात्कार त भएको रहेछ, तर मेडिकल रिपोर्टले पुष्टि नै गरेन ।
– बलात्कार त भएको रहेछ, तर बलात्कारको विधि नै पुगेको रहेनछ ।
अन्त्यमा न्यायमूर्तिले फैसलामा लेखे-
बलात्कारका मुद्धा लिएर न्याय चौतारीमा आउने हो भने विधि पुर्याएर बलात्कार गर्नू, गराउनू । अनि मात्र न्यायालय आउनू । अन्यथा बलात्कारका मुद्दा न्यायालयमा ल्याउँदै नल्याउँनू ।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































