विश्व विनोदसंसदीय चुनाव जित्ने तरिका
राम्रा र नराम्रा जे तरिका र तिकडम अपनाएर पनि चुनाव जित्ने तपाइको दाउ हो भने यहाँ लेखिएका बाहेकका अन्य उपाय पनि हुन्छन्, सुझाउँदै गर्नुस् है ।

अब संसदीय चुनाव आउँदैछ । कुनै कनसुत्लेले मलाई यो चुनाव कसरी जित्ने भन्ने कुराको अनुसन्धानको लागि प्रश्नको पहाड बजारेपछि उनलाई संसदीय चुनाव जित्ने तरिकाको बारेमा केही सुझाव दिएको छु । मन परे पढेर कार्यान्वयन गर्नुहोला ल ।
चोकमा अड्डा जमाउनुस्
अब संसदीय चुनाव आउन निकै कम समय भएकोले चुनाव प्रचार प्रसारको लागि उपयुक्त स्थान नै गाउँघर र बजारका चोक हुन् । पछि चोकमा हल्ला गर्ने ठाउँ बिपक्षीले ओगट्न सक्ने भएको हुँदा आजका दिनदेखि नै चोकमा अड्डा जमाउन सक्ने हो भने चोकमा आउनेले प्रचार प्रसारलाई गज्जबले बुझ्छन् ।
बिपक्षी नेताको कमजोरीको लिस्ट बनाउनुस्
यो जमानामा सोझो औंलाले घिउ आउँदैन । कि नाङ्गाको जमाना छ कि बाङ्गाको जमाना छ । तसर्थ सोझालाई बङ्ग्याउने, सभ्यलाई नङ्ग्याउने बेला नै चुनाव हो । तसर्थ बिपक्षी नेता कुन कुन चुनाव उठ्छन्, संभावित व्यक्तिको नाम संकलन गरेर तिनीहरूको दैनिकी नियाल्न थाल्नुस् । कुन भट्टीमा पस्छन्, कहाँका तरुनी खेलाउँछन्, कहाँ कहाँ साँठगाँठ छ, तिनीहरूको लगत राख्नुहोस् । उनीहरू चुनावमा उठ्नासाथ ट्याक्क बितण्डाको फण्डा निकालेर चरित्रमा डण्डा लगाउन निकै सजिलो हुन्छ । यसले तपाईलाई चुनाव जित्न सहज गराउँछ ।
पत्रकारलाई हात लिनुस्
यो जमाना पत्रकार बिक्ने जमाना हो । एक गिलास रक्सिको भरमा केही पत्रकारले समाचारको बाढी ल्याउन सक्छन् । तसर्थ केही पत्रकारलाई भट्टीसम्मको यात्रा गराउनुहोस् । एक दिनको तपार्इंको लगानीले तपाईंलाई चुनावसम्म उनीहरूले खातिरदारी गरिरहनेछन् । तपाईको वाह, वाह र गुणगानमा पत्रपत्रिका र अनलाईनमा समाचार आउनेछ । तपाईंको चर्चा छाउनेछ किन कि तपाईंले किनेर भए पनि खुवाएको एक दिनको नुनको सोझो पत्रकारले गरिरहनेछन् ।
टिकटक बनाउनुस्
बेलैमा तपाईंका भाषणको क्लिप निकालेर टिकटक बनाउन लगाउनुस् र राम्रो गर्नेलाई पुरस्कार दिने गर्नुस् । यसो हुँदा तपाईंको प्रचार प्रसारमा गज्जबले सहयोग पुर्याउँदछ । हरेक दिन भात खाएपछि घोप्टेमुन्टो लगाउने मानिसको बानी नै भैसकेको यो अवस्थामा हरेक घोप्टेमुन्टेले तपाईंको बारेको टिकटक हेरेर मन पराउन थाल्नेछन् । बरु टिकटकको लागि केही महान् बाणी र दिव्य उपदेशको लागि तयारी आजै थाल्नुहोस् ।
टोलको एक नामुद जँड्याहामा लगानी गर्नुस्
यो लगानी लुकेर गर्नु पर्नेछ । आफ्ना कार्यकर्ता मार्फत टोलको नामुद जँड्याहालाई रक्सि खुवाएर बिपक्षी नेताको लागि गाली गलौज गर्नको लागि तयार पारेर राख्नुहोस् त टोलमा तपाईले भन्दा गतिलो भाषण ती नामुद जँड्याहाले गरेर गज्जबको प्रचार प्रसार हुनेछ । यसले तपाईंको बिजयलाई सुनिश्चित गराउनेछ किन कि जँड्याहालाई गरेको थोरै लगानीले माईकको खर्च जोगाउँछ किन कि उसले माईकमा भन्दा चिच्याएर कराउनेछ ।
साडी बाँड्ने गर्नुस्
कतिपय ठाउँमा तपाईको स्थानीय निकाय बनेको होला, चन्द्रागिरी पालिकामा झैं समातिन सक्छ, बेलैमा चुनाव आउनुअघि नै स्थानीय निकायको साथ लिएर साडी बाँड्नु भयो भने त पुलिसले समाउँछ न त कसैले केही भन्छ । अझ आर्थिक बर्षको समाप्त हुन लागेकोले खर्च मज्जाले गर्ने अर्को गज्जबको आइडिया हुन सक्छ ।
वडामा वडा अध्यक्ष मार्फत काम मिलाउनुस्
जितेका केही वार्ड अध्यक्ष मार्फत अलिकति यसको शक्ति सन्तुलनको प्रयास भएको मज्जाले देख्न पाइएको नै छ । भोट कसले हाल्यो, कसले हालेन स्थानिय निकायको चुनावमा थाहा भएकोले साना तिना सिफारिसमा बिपक्षी पार्टीका जनतालाई हत्तुहैरान बनाइदिनुहोस् अनि हड्डी गलाउने गराउने गर्नु भयो भने सोझा जनताले तपाईंको वार्ड अध्यक्षको हठ अगाडि आत्मसमर्पण गर्नेछन् अनि तपाईंले भनेको ठाउँमा भोट खसाल्न बाध्य हुनेछन् ।
कुखुरा र बाख्रा पालन गर्नुस्
अब हुने चुनाव जाडो महिनामा हुँदैछ । कुखुरा र खसीको मासुको मूल्य पक्का बढ्ने निश्चित छ । तसर्थ हरेक पालिकामा आफ्ना कार्यकर्ताको फर्ममा भने पनि कुखुरा र बाख्रामा लगानी गर्नुस् अनि चुनावको बेला तिनै बाख्रा र कुखुरा प्रयोग गर्न सकिन्छ । कुरा के बुझ्नुस् भने सतिदेवीले महादेव पाउनको लागि गरेको तपस्या भन्दा अझ जटिल हो चुनाव जित्नु भनेको ।
खाली चेक तयार गर्नुस्
चुनावमा कहिलेकाहीँ पैसा नै बाँड्नु पर्ने अवस्था आउँछ । तपाईंले आफन्त र साथी भाइको नाममा पैसा नभए पनि जिरो ब्यालेन्समा खाता खोलेर राखिराख्नुस् । चुनावमा जहाँ जहाँ प्रचार प्रसारमा जानुहुन्छ त्यहाँ यिनै खाली चेक बितरण गरेर के भन्नुहोस् भने तपाईंले मलाई चुनाव जिताउनु भयो भने मात्र यो चेक साट्न जानुहोस् नत्र यो चेकमा पैसा हुनेछैन …. । चुनाव जितेपछि मनलागे खातामा पैसा हाल्नुस् नजिते हाल्नै परेन । हाताहाती कारोबार भनेको यहि नै हो ।
पेट्रोलको संचिती गर्नुहोस्
गएको चुनावमा मोटरसाइकलको निकै प्रयोग भयो । एक पार्टीको पेट्रोलपम्प हुँदा अर्को पार्टीेकोलाई तेल नदिने रणनीति पनि भयो । कार्यकर्तालाई बाइकमा कुँदाउन बेलैमा तेलको संचितीमा ध्यान दिनु पर्ने रहेछ । तसर्थ कुनै पेट्रोल पम्पमा पहिले नै सम्पर्क गरेर पेट्रोलको संचितीको लागि काम गर्नुहोस् यसले कार्यकर्ता रिझाउन निकै सजिलो हुनेछ ।
यसरी कार्यकर्ता परिचालन गर्ने, जनमानसमा घुलमिल हुनको लागि राम्रा र नराम्रा जे तरिका र तिकडम अपनाएर पनि चुनाव जित्ने तपाइको दाउ हो भने यहाँ लेखिएका बाहेकका अन्य उपाय पनि हुन्छन्, सुझाउँदै गर्नुस् है । तारेमाम् !
लमजुङ
Subscribe
Login
0 Comments
Oldest








































