माधव पोखरेल गोज्याङ्ग्रेघनिष्ठ अतिथि
मेरो योजना सफल पार्न परिस्थिति अनुसारको अतिथि आवश्यक पर्ने भएकोले पनि आलु पाटीले आसन ग्रहणमा नयाँ मापदण्ड निर्धारण गरेर लागु गर्ने दुष्प्रयास गरेको व्यहोरा सबैमा जग जाहेर गर्दछु ।

अहिलेसम्म कुनै कार्यक्रममा आसन ग्रहण गर्न पाउनु भएको छैन भने आउनुस् मेरो आलु कार्यक्रमको घनिष्ठ अतिथि बन्न पाउनु हुनेछ । कुनै आयोजकले तपाईलाई बोलाएर आसन ग्रहण गराउन कन्जुस्याँई गरे भने त्यहाँबाट जुरुक्क उठेर फुरुक्क हुँदै मेरो आलु कार्यक्रमको घनिष्ठ अतिथि बनेर पिंडालु खान नभुल्नु होला । प्रमुख अतिथिभन्दा पनि ठूलो ओहदाको घनिष्ठ अतिथि बन्न जो कोहीले पाउँदैनन् । विशिष्ट, अति विशिष्ट, कनिष्ट, प्रविष्ट अतिथि भन्दा निकै फरक र भिन्न प्रवृतिको घनिष्ट अतिथिको ओहदामा आसन ग्रहण गर्न आलु पार्टीमा ठालु बन्नेले कुनै पनि किसिमको घनचक्कर लाउन छुट छ । जनचक्करमा ठक्कर खाएका अकबके बकबकेको अस्वीकृत प्रमाणपत्र पाएको मिलिभगतमा चपरचण्डको झुण्ड बनाएर नेतृत्व गर्न सक्ने मौका परे घरभित्र पसेर रडाको मच्चाउनेलाई प्रविष्ट अतिथि बनाउन सकिने छ ।
प्रमुख, अति विशिष्ट, विशिष्ट अतिथि बनाउन हुँदा घनिष्ट अतिथि पनि बनाउन मिल्छ भन्ने पक्षमा मेरो व्यक्तिगत अधिकार आयोगले सडालतमा वकालत होइन बकालत गरिसकेको छ । त्यसैले घनिष्ट अतिथिका साथमा बकालतमा संलग्न बकिलहरू मेरो कार्यक्रममा मुन्टिए भने सडिष्ट अतिथि पनि बनाउन सकिने मेरो आलु पार्टीले पिंडालु निणर्य गरेको छ । सडालतका सडाधीशहरू मेरो आलु पार्टीको सम्पर्कमा आए भने म उनीहरूलाई सडिष्ट अतिथिका रूपमा कार्यक्रममा थेच्चासन गराउन पछि पर्दिन । मैले मन नपराउने मानिस मेरो निमन्त्रणा स्वीकार गरेर आएमा उसलाई पनि मन नपरेको मान्छेलाई काठको पिरामा भन्दै थेच्चारिन अनुरोध गर्न बिर्सदिन । यदि आएन भने घिसारेर भए पनि ल्याएर पिर्कामाथि थेचार्ने छु ।
समाजमा घिनिएका, छिनिएका र चुलिएकालाई आसन ग्रहण गराउँदा गराउँदा वाक्कदिक्क भएका संघ संस्था वा राजनीतिक छलका ढोकेहरूलाई, प्रशासनिक घोकेहरूलाई र छुटफुटमा परेकालाई नयाँ तरिकाले कार्यक्रममा समावेश गराउने रणनीति अनुसार यो संस्कारको विकास गर्न लागिएको हो । नेपालमा कार्यक्रम गर्दा पुरानो शैलीले गर्ने प्रवृति यो २१ औँ शताब्दीमा अझ झुसि भएर चुलिएकोले पोख्नका लागि र नयाँ कुरा बोक्न बोकाउनका लागि यो घनिष्ठ अतिथिको नयाँ दरबन्दी सिर्जना गरेर आसन ग्रहण गराउन लागिएको हो । हाम्रो आलु पाटीले सबैलाई घाँटी घाँटी आउने गरी आलु कोच्याएर गरेको दुईजना उपस्थित विशाल झेलाको भेलाले मेला देखाउन सफल भएपछि यो घनिष्ठ अतिथिको दरबन्दी सिर्जना गरेको हो ।
आफ्नै घनिष्ठ मित्रलाई अतिथि बनाउन गोज्याङ्ग्रेले घनिष्ठ अतिथिको दरबन्दी सिर्जना गरेछ भन्ने ठान्नु होला तर होइन । अन्य कार्यक्रममा कनिष्ठ अतिथि समेत बन्न नपाएका समाजमा म्याउ गर्न नपाउने तर ढ्याउ ढ्याउ गर्दै कार्यक्रममा कुर्सी पादने ढाँडेहरूलाई भित्र छिराउन यो दरबन्दी सिर्जना गरिएको हो । हाम्रो आलु पाटीको लक्ष्य र उद्देश्य नै पुराना ढाँडे बिराला वा पहिलेदेखि नै टन्न अघाएर भुँडी फुलाउँदै बसेका, अख्तियारको जालोमा फँसेका र फैसलाको पालो कुर्दै समय गुजारेकालाई भित्र छिराउनु हो । यसरी भित्र छिराएर घनिष्ठ अतिथि बनाउँदा भोलिका दिनमा पाटीको आम्दानी राम्रो भएर गोठका बस्तुभाउ जति सबै पाल्न सहज हुने छ । राजनीतिलाई भन्दा बढी अराजनीतिलाई प्राथमिकता दिएर गठन भएको यो आलु पाटी विश्वकै शुन्य स्थानमा पुग्न सफल भएको छ । जनताको खुन पसिना चुसेर, जनताको सम्पतिमा ढलिमली गरेर अर्काको हली गोठालालाई उचालेर गठन भएको यो विश्व च्याम्पियन शुन्य महत्वको दल भएकोले घनिष्ठ अतिथि राख्दा दलको बल बढ्ने निश्चित छ । बल बढ्यो भने दलमा ढाँटछल पनि बढ्ने भएकोले दल चलाउन चल अचल सम्पतिको जो हो गर्न सहज हुन्छ ।
साँच्चै ढाँटछलको कुरा गर्ने हो भने कार्यक्रममा परिस्थिति अनुसारको अतिथि बनाउनु पर्ने भएकोले पनि यो घनिष्ठ दर्जाको मन नपरेको अतिथिको दरबन्दी कार्यक्रम अवधि भरिका लागि सिर्जना गर्नु परेेको हो । घनिष्ठ अतिथिका बारेमा मैले धेरै स्पष्टिकरण दिइसके । अरु थप प्रष्टिकरण दिनु परे पनि पछि सरौला र लुसुक्क लस्कौला । तर जे जे भए पनि ज जस्ले जे भने पनि म यो घनिष्ठ अतिथि छाड्दिन । मलाई तपाईहरू कार्यक्रममा बोलाउनु हुन्छ भने मलाई घनिष्ठ अतिथिको रूपमा धुपमै राखेर भए पनि थेच्चारिन अनुरोध गर्न सक्नु हुनेछ । म आसन ग्रहण गर्न भन्दा बढी थेच्चारिन नै मन पराउने भएकोले मेरो अनुकुलता र इच्छा पनि पूर्ण हुनेछ । यदि तपाईहरूलाई म मन नपर्ने मान्छेको हैसियतमा रहेछु भने सोफा कुर्सीमा होइन काठको पिरामा भुइँमा नै लम्पसार परेर थेच्चारिन दस औला जोडेर विनम्र अनुरोध गर्न सक्नु हुनेछ ।
मेरो आलु पाटीको झिंगा, मच्छर, उडुस, उपियाँ जस्ता ठुलावडा उपस्थित हुने कार्यक्रममा तपाईका मान्छेलाई पनि स्वागत छ । कोही आफन्त नाता गोताका वा सासू, ससुरा, साला, साली, भाञ्जा, भाञ्जी, मामा, माइजू काका, काकी लगायतका दूरकट वा निकटकालाई आसन ग्रहण गराउनु पर्नेछ भने मलाई खबर गर्नु होला । सडिष्टको दरबन्दी कायम मुकायम पारेर भए पनि सडिष्ट अतिथि नै बनाएर, सोह्रको साटो अठार बीस श्रृङ्गारले सजाएर, गधामा सवार गराएर, नभएको बजार घुमाएर, स्वागत गर्ने छौ ।
घनिष्ठ र सडिष्टको कुरा मिलेन भन्नु होला । यहाँ मिलाए जे पनि मिल्छ । नमिल्ने कुरा त मिलाएर गरिन्छ भने झन अतिथि जस्तो कुरामा छुरा हान्ने समेत सहमत हुन्छन् । नेपालमा नमिल्ने कुरा केही छैन । रातारात मुसा दरबारमा व्यर्थ खन्त्रीले घचेट गन्तव्य तयारीकालागि व्यापारीलाई करमा सर सर भन्न भूत भैसकेको नाक सुकेको (ना.सु.) भित्र छिराउन मिल्छ भने अतिथि बनाउन किन मिल्दैन ? मुसा दरबारमा मुसेहरूले जथाभावी प्वाल पारेर भित्रको सबै ओसारेर खोक्रो पार्न मिल्छ भने मैले नयाँ अतिथि बनाएर कार्यक्रमलाई भरिभराउ र रोमाञ्चक बनाउन किन मिल्दैन ? यदि कसैले मिल्दैन भन्यो भने म मेरो आलु पाटीको कार्यक्रममा कुनै घुस्याहालाई ल्याएर घुसपैठ अतिथि पनि बनाउँछु । कनिष्ठलाई वरिष्ठ, शत्रुलाई घनिष्ठ, पत्रुलाई प्रविष्ट अतिथि पनि बनाएर देखाउँछु मलाई कस्ले के गर्छ ?
पत्रुलाई प्रवेश र शत्रुलाई स्वागतको नीति अबलम्बन गरेको मेरो आलु पाटीले चालु भेलामा सबैलाई ठेलामा राखेर मेला घुमाउने योजना तुहाएको छ । यो योजनाको चटक नाटकमा परिणत गरेर समाजमा सुख शान्तिका लागि दुःख झेल्नु परोस् भन्दै प्रसादका रूपमा सबैतिर वितरण गरिने छ । यसरी वितरण गरिने प्रसादलाई पाटीले बनाएको नीतिको बुटीका रूपमा धुप धुवार गरेर ग्रहण गर्न सकिने छ । आलु पाटीको आलु कार्यक्रममा सिपालु बनेका ठालुले तालु घोटिने गरी बालु दलेर बिद्धान हुन सक्नेछन् । यसरी बिद्धान बनेपछि आलु पाटीको घनिष्ठ, सडिष्ट, कनिष्ठ, प्रविष्ट, अतिथि बनेर छलाङ मार्न सक्नेछन् ।
अन्त्यमा म के भन्न चाहन्छु भने विश्वमै कतै नभएको नेपालको आसन ग्रहण प्रणालीले विश्व रेकर्ड प्राप्त गर्न गिनिज बुकमा नाम लेखाएर शुन्य स्थानको आलुको आकार ग्रहण गर्ने छ । यो आलु पाटीको आलु कार्यक्रमको आसन ग्रहणको खाका भएकोले यसको परिणाम पनि आलु नै हुनु पर्छ भन्ने मान्यतामा म जन्मेदेखि हालसम्म बेहाल भएर बसेको छु । त्यसैले आलु कार्यक्रममा घनिष्ठ, कनिष्ट, सडिष्ट र प्रविष्ट अतिथि बनाएर नयाँ नेपालको नयाँ प्रयोगमा घरदेशदेखि प्रदेशसम्म र संघीयताको प्वालसम्म अभियान चलाउने योजना रहेको छ । मेरो योजना सफल पार्न परिस्थिति अनुसारको अतिथि आवश्यक पर्ने भएकोले पनि आलु पाटीले आसन ग्रहणमा नयाँ मापदण्ड निर्धारण गरेर लागु गर्ने दुष्प्रयास गरेको व्यहोरा सबैमा जग जाहेर गर्दछु । जय व्यङ्ग्य ! जय अतिथि ।
उदयपुर
Subscribe
Login
0 Comments
Oldest







































