तिलक लुइटेलहराएको फिस्टो भेटियो
फिस्टाले भन्यो- डढेलो निभाएको नि । यो सुन्ने बित्तिकै सबै गलल्ल हाँसे । गधाले झट्टै भन्यो— हात्तीदेखि मसम्मका कसैले निभाउन नसक्ने पुस्तैनी डढेलो तैँ फिस्टाले निभाउलास् अब !!

असारे झरी बितेर साउनको आधाभन्दा उकालो लाग्दा पनि जङ्गलको डढेलो निभ्ने नामै लिँदैन । सबै अत्यासमा छन् । ए बाबा के अचम्म भयो होला भन्ने कोही । भागेर अर्को मुलुक पुग्ने कोही । मान्छेको हालत त्यस्तो भए पशुपक्षीको के भयो होला ? यस्तै बर्खे झरीले डढेलो पो किन निभोस् ? आखिर बत्तीस चौँतीस वर्ष अघिको चैते बैसाखे खडेरीबाट उर्लेको रहेछ । वनमारा झार उसरी नै पलाउने डढेलोले त्यसकै आडमा रुखै सुकाएर डढाउन नछोड्ने ।
यस वर्षको असार पनि गयो र साउन आधा उकालो लागिसक्यो । निभ्ने लक्षण देखिएन । बाँदर बुढालाई होस आयो । को को जोगियौँ र कोही डढेलामा पो पर्र्यौँ कि भनेर गन्न थाल्यो । आखिरमा फिस्टो भेटिएन ।
कसैलाई बोली बिझाउन नजानेको, आफ्नै लयपयमा एकलगनी गरिखाने बिचरो फिस्टो हरायो । सोझालाई कसले खोज्ने र ? धन्न बाँदर बुढाले सम्झिए । अब फिस्टाको खोजी हुन थाल्यो । हिजोअस्ति फुटेज खोजेझैँ फिस्टे अनुसन्धानमा भित्रभित्रै कोही लागे । कुन्नि के अधिकारी खोजेझैँ हल्लाखल्ला कसैले मच्चाए । आखिर फिस्टो भेटियो ।
सानो चरो बिचरो फित्कौलीका व्यङ्ग्य साहित्यकारले बोलेझैँ चुच्चामा पानी बोकेर डढेलामा हाल्दै रहेछ । हात्तीका साना आँखाले देख्यो । सुँड लम्काएर सोध्यो— ए फिस्टा मरौला नि डढेलोमा के गरेको यस्तो ?
फिस्टाले भन्यो- डढेलो निभाएको नि । यो सुन्ने बित्तिकै सबै गलल्ल हाँसे । गधाले झट्टै भन्यो— हात्तीदेखि मसम्मका कसैले निभाउन नसक्ने पुस्तैनी डढेलो तैँ फिस्टाले निभाउलास् अब !!
फिस्टाले भन्यो— परिणाम जे होला तर सबै जनाले आआफूले सक्ने त गरौँ न ।
हराएर बल्लबल्ल भेटिएको विचरा फिस्टो एक्लै चुच्चामा पानी बोकेको बोक्यै छ ।
कपन, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest




































