ढुङ्गो छुँदा सुन
अब भने बाले दिएको आशीर्वाद सफल भयो तर अलिकति फरक परेछ । बाले ढुङ्गो छुँदा सुन होओस् भन्नुभएको थियो तर उनले छुने बित्तिकै सुन चाहिँ लसुन हो कि ढुङ्गो के पो बनेछ ।
तिलकप्रसाद लुइटेल :
आज उनका मनमा झल्झली याद आउँदै छ । सानो छँदैदेखि बाले आशीर्वाद दिँदै आउनुभएको हो— ढुङ्गो छुँदा सुन होओस् । जीवन एक पटक पाइन्छ । जीवन आफ्नो हो । आफ्ना जीवनको जिम्मेवार मानिस आफैँ हुन्छ । जीवनमा कर्म नगरे कहिल्यै फलिफाप हुँदैन । आफ्ना कर्मको जिम्मेदार मानिस आफैँ हो ।
बाले यस्ता ज्ञानगुनका कुरा हरेक तिथिपर्व चाडबाड उत्सव भेलाबैठक सभासम्मेलनमा भन्दै र सुनाउँदै आउनुहुन्थ्यो । फलानाले ती सबै ज्ञानगुन रिठ्ठो नबिराई सुनेकै हुन् । बाको कुरा साह्रै घत लागेको हो । अब उनी आफू पनि हुर्किए । पढेलेखेर जान्नेबुझ्ने भए । बा पनि बिस्तारै अशक्त बिरामी हुँदै सेलाए ।
फलानाका बाले संसार छोडे भन्ने कुरा सबैतिर चर्चा भयो ।
जीवन एक पटक मात्रै पाइँदो रहेछ भन्ने कुरा बा गएपछि फलानालाई थाहा भयो । उनी आफ्नो जीवनका जिम्मेवार पनि बने । कर्म गरेपछि नै फलिफाप हुँदो रहेछ भन्ने कुराको पनि पत्यार लाग्यो । उनले राम्रै कमाए ।
आफ्ना कर्मको जिम्मेवार आफैँ हुने हो भन्ने कुरा बुझ्नै लागेका मात्रै थिए यसै बीचमा आफ्ना बाको अभाव हुन नदिन सट्टा भर्नामा उनलाई छिमेकी बाले शिक्षा दिन थाले । फलानालाई पनि मार्गदर्शक त चाहिएकै थियो । छिमेकी बाको शिक्षा पनि लिए ।
अब भने बाले दिएको आशीर्वाद सफल भयो तर अलिकति फरक परेछ । बाले ढुङ्गो छुँदा सुन होओस् भन्नुभएको थियो तर उनले छुने बित्तिकै सुन चाहिँ लसुन हो कि ढुङ्गो के पो बनेछ ।
०००
कपन, काठमाडौँ