तिलक लुइटेलस्यमन्तक मणि अर्थात सुनको कथा
पण्डितले यसो भनेपछि केटाहरू- “लौ, गुरुलाई पुराणको कथा सुनाऊ भनेको त भ्रष्टाचारको कथा पो सुनाउन लाग्नुभएछ” भन्दै गलल्ल हाँसेर लाखापाखा लागे ।

तिलकप्रसाद लुइटेल :
सत्यजितका गलामा स्यमन्तक मणिको हार थियो । उनी त्यसकै प्रभावले बाह्रवटा सूर्य जस्तै झलमल्ल उज्याला भएर हिँड्थे । त्यति प्रकाश मात्रै कहाँ हो र, त्यस स्यमन्तक मणिले त दैनिक आठ भार सुन पनि उत्पादन गर्थे अरे ।
गुरुका मुखबाट यति कथा के निस्केको थियो, केटाहरू “होइन, त्यो साँच्चैको सुन होला कि सुन जस्तै देखिने पहेँलो धातु होला ?” भन्दै कानेखुसी गरी हाँसे ।
गुरुलाई आजको कथा पूरा गर्नु थियो, अन्य गन्थनमा ध्यान दिएनन् । श्रद्धालु भक्तहरूलाई पनि झरीबादलको समय, घर पुग्न हतार थियो, कथा सुनिसक्नै चासो भयो । केटाहरूतिर उति कान दिएनन् ।
अक्रूर र कृतवर्माले सत्राजितको मणि खोस्न शतधन्वासँग मद्दत मागे । शक्तिशालीको आदेश अटेरी गर्नु हुँदैन । स्वयं भगवान श्रीकृष्णकै काका अक्रूर र अर्का नातेदार कृतवर्माको भनाइ अस्वीकार गर्न शतधन्वाले कसरी सक्थे र ? रातको समय पारेर शतधन्वा सत्राजितका घरमा मणि खोस्न गए ।
“शतधन्वा भनेका उनीहरूको आदेश पालन गर्ने जागिरे कि ट्याक्सी चालक होलान् है गुरु !” केटाहरूले गुरुलाई जिस्क्याउने सुर गरे । गुरुले आफ्नो सुर छोडेनन् ।
सत्राजितले शतधन्वाको प्रतिकार गर्न लागे । त्यो बेलामा सत्यभामा माइत आएकी रहिछन् । पिताका घरमा डकैती गर्न शतधन्वा पसेको देखेपछि उनले आफ्ना पति श्रीकृष्णलाई परिस्थितिको जानकारी गराउँदै खबर पठाइन् ।
यता शतधन्वाले सजिलै खोस्न नसकेर सत्राजितलाई मारे र मणि लिएर हिँडे । श्रीकृष्ण र बलराम घटनास्थल पुग्दा शतधन्वा मणि लिएर यही बाटो भागेका छन् भनी सत्यभामाले औँल्याइन् । कृष्ण बलरामले बाटो पछ्याउँदै गए ।
उता शतधन्वा- सत्राजितलाई मारेर मणि ल्याएँ, अब मलाई जोगाउनुहोस् भनी अक्रूर र कृतवर्माका शरणमा परे ।
अक्रूरले मणि यता लेऊ भनी मागे र, हामीले त मणि पो ल्याउनू भनी पठाएका थियौँ, ज्यानै हत्या गर्न कसले लायो ? जता भाग्छौ भाग र आफ्नो ज्यान जोगाऊ भन्दै गाली गरे र उनी काशीतिर लागे । त्यहाँ उनी सुन कमाउन लागे । कृतवर्मा पनि आफ्नो बाटो लागे ।
त्यही बेलामा कृष्ण र बलरामले शतधन्वालाई देखे र लखेट्ता लखेट्तै मारिए, तर उनीसँग स्यमन्तक मणि फेला परेन । यसरी श्रीमद्भागवत महापुराणको दसौँ स्कन्धको पैँसठ्ठीऔँ अध्यायको कथासार बताइयो ।
पण्डितले यसो भनेपछि केटाहरू- “लौ, गुरुलाई पुराणको कथा सुनाऊ भनेको त भ्रष्टाचारको कथा पो सुनाउन लाग्नुभएछ” भन्दै गलल्ल हाँसेर लाखापाखा लागे ।
०००
कपन, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































