साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कलब्रेक जिन्दगी

“ल बिहानदेखि उत्पात मच्चाउने तरकारी चोर बल्ल फेला पर्यो ।” भन्दै व्यापारीको कुरै नसुनी उसलाई ठट्टाउन लागेछन् । जयमङ्गलले अब कलब्रेकमा र राजनीतिमा जित्ने सूत्र यहीँ फेला पारे र गम्भीर हुँदै भने— “कानुन हातमा लिनु हुँदैन, यस चोरलाई प्रहरीका जिम्मा लगाउनुपर्छ ।“

Nepal Telecom ad

तिलकप्रसाद लुइटेल :

जिन्दगीलाई नै कलब्रेक मान्ने जयमङ्गल सय प्रतिशत चार्ज गरेको मोबाइल हातमा लिएर बेलुकाको खानपिन सकी बिछ्यौनामा पल्टिन्छन् । झपक्क आँखा हुँदासम्म ब्याट्रीको चार्ज पनि १६ प्रतिशततिर पुग्छ । उनी जिन्दगी र कलब्रेक चिन्तन गर्दै निदाउँछन् ।

कहिले कहिले मोबाइलमा कलब्रेक जितेको जस्तै खालको राजनीतिमा जित भएको सपना देख्छन् । यसपालि त हातमा बास्सा आएको छ, एक हात बढ्ता पक्कै जित्छु भनेर बोलेका हुन्छन् । आफूभन्दा अघिल्लाले गुलाम फ्याँक्छ । आफूसँग मिस्सी छैन बास्सा फ्याँक्नै पर्‍यो । पछिल्लाले एक्का हान्छ र लैजान्छ । अर्कोपालि त कसो नखाइएला भनेर बसेका हुन्छन् । उही एक्का फाल्ने मुलाले मिस्सी हानेर त्यो पनि लैजान्छ ।

उनका राजनीतिक जिन्दगीमा पनि त्यस्ता घटना धेरै दोहोरिएका छन् । यसपालि यसो गर्दा त होला भनेर एउटाले हौस्याउँछ थाल्ने बित्तिकै पछिल्लाले थेचार्छ । आजित भएका छन् जयमङ्गल मोबाइलमा खेलेको कलब्रेक जस्तै राजनीतिदेखि पनि । नाम जयमङ्गल हुँदैमा भयो र ? काम हेर्दा पराजयमङ्गल भन्नु जस्तो र दाम विचार गर्दा अमङ्गल मात्रै छ, टिठ पनि लाग्छ कहिले त ।

बिहान उठेपछि पहिले नै बेलुका ब्याट्रीको क्षमता बातो बसिसकेको मोबाइल चार्जमा राख्छन् र नित्यकर्मतिर लाग्छन् । बिहानै शौचादिले दबाब दिन्छ मोबाइलको ब्याट्री पनि थला बसिसकेको हुन्छ । त्यसैले स्नानध्यान सकुन्जेलमा ब्याट्री चार्ज गर्ने अनि फेरि कलब्रेकका कार्डसँग राजनीतिक जीवनको चिन्तनमा लाग्ने उनको समय तालिका हालसम्म मिलेकै छ । तालिका मिलेर के गर्ने र ? पालिका हातबाट जहिल्यै उम्किन्छ अरुले खुइल्याएर हातको बास्सा खाइदिएको जस्तै ।

आज बिहान भने अलिक फरक परेको छ । एउटा नयाँ पाठ पनि उनले थप सिक्न पाए । त्यसैले अब अलिक आशा र उत्साह उनमा जाग्यो । शौचादिको सुरमा आआफ्ना धुनमा लघुसङ्का र दीर्घसङ्का एकैचोटि बाटो तताउँदै थिए, त्यही बेला घर अगाडि चोकमा खैलाबैलाले पनि बाटो तताउँदै थियो । स्थानीय राजनीतिमा चोक गल्लीका हल्लाले अवसर लिएर आउँछन् । कसैलाई उराल्नु पराल्नु परे पनि थुम्थुम्याएर थेचार्नु परे पनि आफ्नै गिदी प्रयोग गर्दा भयो ।

हतार हतार साबुनपानीले हातमुख शुद्ध्याएर उनी के भयो भन्दै चोकमा पुगे । एउटा बहुआयामिक व्यापारीले एक भारी तरकारी र एउटा तुमलेटमा तेल लिएर बेच्न आएको रहेछ । साथै तरकारीमा साटेका अलिकति फलामका टुक्राटाक्री र अलिअलि बेचबिखन गरेको पैसा राखेको एउटा झोला काँधमा भिरेको रहेछ । एउटा केटाले व्यापारीलाई मेरो घरमा माथि फलामका टुक्रा छन् हेर्न आऊ भनेर बोलाएछ । तरकारीको भारी, र तेलको तुमलेट घरअगाडि बाटामा राखेर व्यापारी किन्नुपर्ने फलाम हेर्न गएको रहेछ । पैसा सहित भएको फलामे टुक्राको झोला भारी नै भए पनि बोकेकै रहेछ । अर्को एउटा भलादमी पूर्वबाट आएर तेलको तुमलेट बोकेर हिँडेको व्यापारीले देखेछ । फलाम भएको भारी झोला बोकेर तेलचोरलाई लखेट्न गारो हुने बुझेर तरकारीको भारीका छेउमा त्यो झोला राखेछ ।

निकै लखेटेपछि तेलको तुमलेट बाटामा छोडेर भलादमी भाग्यो । व्यापारी तेल बोकेर आइनपुग्दै पश्चिमतिरबाट आएर अर्का सज्जनले तरकारीको भारी टिपेर कुद्यो । यस पटक व्यापारी चोर चोर भनेर कराउँदै कुदेको रहेछ । केही मानिसहरू त्यहाँ जम्मा भए । तेलको तुमलेट फलामे झोलासँगै राखेर व्यापारी तरकारीचोर लखेट्न कुदेछ । निकै पर पुगेर जसै तसै तरकारीको भारी खोसेर ल्याइपुर्याउँदा त्यहाँ मान्छेको भिड त मनग्गे थियो तर न तेलको तुमलेट थियो त फलामे टुक्रा र पैसा राखेको झोला नै । त्यत्रा भिडमा कसले लग्यो भन्ने कसैले पत्तो पाएनछ ।

तरकारीको भारी लिएर आइपुग्न नपाउँदै भेला भएका मानिसहरू— “ल बिहानदेखि उत्पात मच्चाउने तरकारी चोर बल्ल फेला पर्यो ।” भन्दै व्यापारीको कुरै नसुनी उसलाई ठट्टाउन लागेछन् । जयमङ्गलले अब कलब्रेकमा र राजनीतिमा जित्ने सूत्र यहीँ फेला पारे र गम्भीर हुँदै भने— “कानुन हातमा लिनु हुँदैन, यस चोरलाई प्रहरीका जिम्मा लगाउनुपर्छ ।“

०००
कपन, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
फित्कौली बा

फित्कौली बा

तिलक लुइटेल
उपहारको भारी

उपहारको भारी

तिलक लुइटेल
मेरो अवसर

मेरो अवसर

तिलक लुइटेल
एउटा सपना

एउटा सपना

तिलक लुइटेल
ढुङ्गो छुँदा सुन

ढुङ्गो छुँदा सुन

तिलक लुइटेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x