कलब्रेक जिन्दगी
“ल बिहानदेखि उत्पात मच्चाउने तरकारी चोर बल्ल फेला पर्यो ।” भन्दै व्यापारीको कुरै नसुनी उसलाई ठट्टाउन लागेछन् । जयमङ्गलले अब कलब्रेकमा र राजनीतिमा जित्ने सूत्र यहीँ फेला पारे र गम्भीर हुँदै भने— “कानुन हातमा लिनु हुँदैन, यस चोरलाई प्रहरीका जिम्मा लगाउनुपर्छ ।“
तिलकप्रसाद लुइटेल :
जिन्दगीलाई नै कलब्रेक मान्ने जयमङ्गल सय प्रतिशत चार्ज गरेको मोबाइल हातमा लिएर बेलुकाको खानपिन सकी बिछ्यौनामा पल्टिन्छन् । झपक्क आँखा हुँदासम्म ब्याट्रीको चार्ज पनि १६ प्रतिशततिर पुग्छ । उनी जिन्दगी र कलब्रेक चिन्तन गर्दै निदाउँछन् ।
कहिले कहिले मोबाइलमा कलब्रेक जितेको जस्तै खालको राजनीतिमा जित भएको सपना देख्छन् । यसपालि त हातमा बास्सा आएको छ, एक हात बढ्ता पक्कै जित्छु भनेर बोलेका हुन्छन् । आफूभन्दा अघिल्लाले गुलाम फ्याँक्छ । आफूसँग मिस्सी छैन बास्सा फ्याँक्नै पर्यो । पछिल्लाले एक्का हान्छ र लैजान्छ । अर्कोपालि त कसो नखाइएला भनेर बसेका हुन्छन् । उही एक्का फाल्ने मुलाले मिस्सी हानेर त्यो पनि लैजान्छ ।
उनका राजनीतिक जिन्दगीमा पनि त्यस्ता घटना धेरै दोहोरिएका छन् । यसपालि यसो गर्दा त होला भनेर एउटाले हौस्याउँछ थाल्ने बित्तिकै पछिल्लाले थेचार्छ । आजित भएका छन् जयमङ्गल मोबाइलमा खेलेको कलब्रेक जस्तै राजनीतिदेखि पनि । नाम जयमङ्गल हुँदैमा भयो र ? काम हेर्दा पराजयमङ्गल भन्नु जस्तो र दाम विचार गर्दा अमङ्गल मात्रै छ, टिठ पनि लाग्छ कहिले त ।
बिहान उठेपछि पहिले नै बेलुका ब्याट्रीको क्षमता बातो बसिसकेको मोबाइल चार्जमा राख्छन् र नित्यकर्मतिर लाग्छन् । बिहानै शौचादिले दबाब दिन्छ मोबाइलको ब्याट्री पनि थला बसिसकेको हुन्छ । त्यसैले स्नानध्यान सकुन्जेलमा ब्याट्री चार्ज गर्ने अनि फेरि कलब्रेकका कार्डसँग राजनीतिक जीवनको चिन्तनमा लाग्ने उनको समय तालिका हालसम्म मिलेकै छ । तालिका मिलेर के गर्ने र ? पालिका हातबाट जहिल्यै उम्किन्छ अरुले खुइल्याएर हातको बास्सा खाइदिएको जस्तै ।
आज बिहान भने अलिक फरक परेको छ । एउटा नयाँ पाठ पनि उनले थप सिक्न पाए । त्यसैले अब अलिक आशा र उत्साह उनमा जाग्यो । शौचादिको सुरमा आआफ्ना धुनमा लघुसङ्का र दीर्घसङ्का एकैचोटि बाटो तताउँदै थिए, त्यही बेला घर अगाडि चोकमा खैलाबैलाले पनि बाटो तताउँदै थियो । स्थानीय राजनीतिमा चोक गल्लीका हल्लाले अवसर लिएर आउँछन् । कसैलाई उराल्नु पराल्नु परे पनि थुम्थुम्याएर थेचार्नु परे पनि आफ्नै गिदी प्रयोग गर्दा भयो ।
हतार हतार साबुनपानीले हातमुख शुद्ध्याएर उनी के भयो भन्दै चोकमा पुगे । एउटा बहुआयामिक व्यापारीले एक भारी तरकारी र एउटा तुमलेटमा तेल लिएर बेच्न आएको रहेछ । साथै तरकारीमा साटेका अलिकति फलामका टुक्राटाक्री र अलिअलि बेचबिखन गरेको पैसा राखेको एउटा झोला काँधमा भिरेको रहेछ । एउटा केटाले व्यापारीलाई मेरो घरमा माथि फलामका टुक्रा छन् हेर्न आऊ भनेर बोलाएछ । तरकारीको भारी, र तेलको तुमलेट घरअगाडि बाटामा राखेर व्यापारी किन्नुपर्ने फलाम हेर्न गएको रहेछ । पैसा सहित भएको फलामे टुक्राको झोला भारी नै भए पनि बोकेकै रहेछ । अर्को एउटा भलादमी पूर्वबाट आएर तेलको तुमलेट बोकेर हिँडेको व्यापारीले देखेछ । फलाम भएको भारी झोला बोकेर तेलचोरलाई लखेट्न गारो हुने बुझेर तरकारीको भारीका छेउमा त्यो झोला राखेछ ।
निकै लखेटेपछि तेलको तुमलेट बाटामा छोडेर भलादमी भाग्यो । व्यापारी तेल बोकेर आइनपुग्दै पश्चिमतिरबाट आएर अर्का सज्जनले तरकारीको भारी टिपेर कुद्यो । यस पटक व्यापारी चोर चोर भनेर कराउँदै कुदेको रहेछ । केही मानिसहरू त्यहाँ जम्मा भए । तेलको तुमलेट फलामे झोलासँगै राखेर व्यापारी तरकारीचोर लखेट्न कुदेछ । निकै पर पुगेर जसै तसै तरकारीको भारी खोसेर ल्याइपुर्याउँदा त्यहाँ मान्छेको भिड त मनग्गे थियो तर न तेलको तुमलेट थियो त फलामे टुक्रा र पैसा राखेको झोला नै । त्यत्रा भिडमा कसले लग्यो भन्ने कसैले पत्तो पाएनछ ।
तरकारीको भारी लिएर आइपुग्न नपाउँदै भेला भएका मानिसहरू— “ल बिहानदेखि उत्पात मच्चाउने तरकारी चोर बल्ल फेला पर्यो ।” भन्दै व्यापारीको कुरै नसुनी उसलाई ठट्टाउन लागेछन् । जयमङ्गलले अब कलब्रेकमा र राजनीतिमा जित्ने सूत्र यहीँ फेला पारे र गम्भीर हुँदै भने— “कानुन हातमा लिनु हुँदैन, यस चोरलाई प्रहरीका जिम्मा लगाउनुपर्छ ।“
०००
कपन, काठमाडौं