साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खुराफाती

खुराफातीलाई आफ्नो जीवनको लक्ष्य, उद्देश्य र गन्तव्य बनाएर अगाडि बढ्न चाहनेहरूलाई सरकारले सरकारी जागिर खानेहरूलाई जस्तो उमेरको हदबन्दी लगाउनु हुँदैन ।

Nepal Telecom ad

वनपाती, तितेपाती लगायत अन्य जुनसुकै पातीको भन्दा भिन्न स्वाद, भिन्न विशेषता बोकेको पातीको नाम हो खुराफाती । विरामी हुँदा तितेपातीको स्वाद नरुचाउनेहरूले पनि खुराफातीको स्वाद रुचाउँछन् । महभन्दा पनि मिठो, मनभन्दा छिटो, जाउलो भन्दा लिटो हुन्छ खुराफाती । उमेर समूहमा चारखुट्टे, दुईखुट्टे लगायत तीनखुट्टे सबै मान्छेले रुचाउँछन् यसलाई । मान्छे, मानिस, मानव सबैले मन पराउँदछन् यसलाई । चिटिक्क परेकी अर्काकी श्रीमतीलाई आँखा लगाउनुभन्दा पहिला मन, धन र तन खुराफातीमा पुग्छ । न कसैले चोर्न सक्छ, न कसैले हर्न सक्छ, विद्यारुपी ज्ञानभन्दा अझ बढी मूल्यवान हुन्छ यो खुराफाती ।

भेज, ननभेज सबैको स्पेशलमा मिल्ने, सानो ढोका वा झ्यालबाट सजिलै छिर्ने, रित्तै वा निकै हेभी भारी बोक्नेले पनि भिर्ने कमालको चिज, वस्तु हो हो खुराफाती । मलिलो मन, रुखो मन, बाँझो मन, घिऊ जस्तो मन, ढुङ्गा जस्तो मन लगायत सबै खाले मनहरूमा मलक्कै मल्किने जात हो यो खुराफाती । भोको पेटमा पनि खान सकिने, अघाएको पेटमा पनि थप्न सकिने अनौठो हुन्छ यो ।

खुराफातीको स्वाद चाखेपछि यसलाई छोड्न कसैले सकिदँैन । रक्सी खानेले रक्सी छोड्न सक्छन्, चुरोट तान्नेले चुरोट तान्न छोड्छन् तर अहिलेसम्म खुराफाती चाखेपछि कसैले छोडेको भेटिएको छैन । बरू यसको मात्रा दिन प्रतिदिन थप्दै लैजान्छन् । भोकमरी लागोस् कि अन्य कुनै सरुवा रोगको प्रकोप फैलियोस् यसलाई केहीको पनि प्रवाह पर्दैन । जस्तोसुकै भोकमा, जस्तोसुकै शोकमा स्वात्तै पारिदिन्छन् खुराफाती ।

मुलुकमा लोकतन्त्र, शोकतन्त्र, झोकतन्त्र, ठोकतन्त्र, प्रजातन्त्र लगायत अन्य दुई बीस वटा तन्त्र आइसकेपछिको कुरा हो । सरकाको मन्त्री परिषद्को मन्त्रीमण्डलमा झ्यापझ्याप्ती मन्त्री आइपुगे । कहीँ कसैले नाम नसुनेका । कोही स्टेजमा गीत गाउँदा गाउँदै, कोही जुठेल्नोमा भाँडा माझ्दामाझ्दै । सबै अचम्म, चकित परियो । नागरिकका भोट र नोट पाएकाहरू कहाँ पुगे कसैलाई पत्तोफाँट नै भएन । बाबाको थलो बेचर जन्मेदेखि राजनीति गर्नेहरूको सत्तेनाश । कलिमा बली चढे विचराहरू । एक आपसमा सानदार झैझगडा चल्न थाल्यो ।

के कसरी नाम नै नसुनेका मान्छेहरू मन्त्री भए भनेर पाँच सदस्यीय छानविन समिति गठन भयो । त्यो समितिले एघार दिनसम्म सूक्ष्म खोजतलासी गरेपछि बल्ल एकाएक मन्त्री हुनेहरूको गाँठी कुरो फेला पर्‍यो । कुरा के रहेछ भने उनीहरूको घर परिवार लगायत आफन्त सबैले खुराफातीको हतियारबाट एकैपटक मन्त्रीमा छलाङ् हानेछन् । कमालको काम गरी बबाल बनाउन एक नम्बरकै छ यो । छानविन समितिको रिपोर्टपछि यसको करामत, यसको क्षेत्राधिकार व्यापक वृद्धि हुँदै गइरहेको छ ।

जिम्मावाल बाउको कान्छो छोरो म । पढेर सरकारी र सरकारी जस्तै जागिर खाने धोको अहिले होइन जुँगासँगै पलाउन थालेको हो । त्यही धोकोको पोको बनाउन एक दश वर्षसम्म टुप्पी बाँधी बाँधी पढेँ । अहिलेको जस्तो आधुनिक जमानामा पनि डेटिङ्को सेटिङ्मा कहिल्यै भुलिन । कन्या, कुमारी, श्रीमती कुनै मैयाँहरूलाई पनि हेरिन । पढ्नलाई किताब किन्दा किन्दा सानो सानो क्याम्पसको लाइब्रेरी जत्रै लाइबे्ररी घरमै खडा भयो ।

मेहनतको फल मिठो हुन्छ भन्थे । हो रहेछ । धेरै पटकको परीक्षामा सामेल भएपछि एक पटक सरकारी जस्तै जागिरको लिखित परीक्षामा एक नम्बरमा नै नाम निकालेँ । त्यसपछि झन् अठार घण्टा अन्तर्वार्ताको तयारी गरेँ । अन्तर्वार्तामा सोधेका प्रश्नको सही सही जवाफ पनि दिएँ । बिडम्बना रिजल्ट आउँदा भने फेल हुनेको पहिलो नम्बरमा म नै रहेछु । अचम्मको बेचैनी बढ्यो । केही दिनको समय लगाएर फेल हुनुको कारण पत्ता लगाउने काममा लागेँ । धेरै सोधखोजको प्रयासपछि पत्ता लाग्यो । फेल हुनुको प्रमुख कारण अलिकति खुराफातीको ज्ञान नभएर रहेछ ।

छोटो समयमा लामो प्रगति गर्नलाई अचुक औषधी हो यो खुराफाती । सोझो औँलाले घिउ नआएजस्तै खुराफाती नभएदेखि सायद आउने कुरा सबै विरलै हुन्छ । हाम्रो घर नजिकै एक जना निकै वरिष्ठ कवि हुनुहुन्छ । उहाँले देवकोटाले जस्तै निकै मिठो कविता लेख्नुहुन्छ । सोझो हुनुहुन्छ विचरा । मिठा मिठा कविता लेख्ने ज्ञान बाहेक अन्य खुरापाति ज्ञान छैन उहाँसँग ।

पोहोर साल म चियापसलमा चिया पिउँदै थिएँ । उताबाट तिनै कविज्यू गलामा माला र दोसल्ला अनि झोलामा सम्मान पत्र साथै पुरस्कार रकम बोकेर लुखुरलुखर आउनुभयो । मैले उहाँलाई चिया मगाउँदै सोधेँ । के को सम्मान हो कवि महोदय ? उहाँले आफ्नै जिल्लामा स्थापना भएको साहित्यिक संस्थाले आफूलाई राष्ट्रिय स्तरको पुरस्कार र सम्मान गरेको भन्नुभयो । धन्न मैले देखेछु विचराको सम्मान नत्र भने त गाउँकाले मात्र पनि थाहा नपाउने । कुनै रेडियो, टि.भी., अखबारका पाना त छोडौं फेसबुकका पानामा समेत आएन उनले पाएको पुरस्कार र सम्मान ।

त्यसैको एक वर्षपछि अर्को पसलको पल्लो छेउमा कार्यक्रम हल थियो । हलभित्र थुप्रै मानिसहरूको भिड लाग्न थाल्यो । पत्रकारहरूको ओइरो लाग्यो । टेलिभिजनकर्मीहरूको पनि उस्तै तँछाडमछाड । चिया पसलकै टि.भी.मा प्रत्यक्ष प्रसारण शुरु भयो । फल्नो साहित्यकारलाई फल्नो पुरस्कार र सम्मान ।

मलाई अनौठो लाग्यो । म साहित्यमा अलिअलि रुचि राख्ने मान्छे । त्यत्रो ठूलो पुरस्कार र सम्मान पाउने कविको नाम कहिल्यै सुनेको थिइन । कार्यक्रम सकिएपछि थुपै्र मिडीयाले ती नचिनिने कविको अन्तर्वार्ता लिन थाले । अन्तर्वार्ता दिँदादिँदै आत्तिएर असिना पसिना भए कवि महोदय ।

मलाई मन भित्रभित्रै खुल्दुली लाग्यो । अनि चिल्लो कारमा हुँइकिन लागेका कविलाई एकछिन रोक्दै सोधेँ । कवि महोदय, पोहोर सालका कविले यही पुरस्कार र सम्मान पाउँदा कसैले कुनै मिडियाले केही भन्ने, सोध्ने, लेख्ने केही पनि गरेनन् तर हजुरलाई यति सार्‍हो किन ? मेरो प्रश्न मुखबाट खस्न नपाउँदै कविज्यू कड्किहाले । पोहोर उनले पाएको जिल्ला स्तरीय पुरस्कार हो । अहिले मैले पाएको राष्ट्रिय स्तरको पुरस्कार र राष्ट्रिय स्तरकै सम्मान हो त्यसैले ।

उनको उत्तरले मेरो खुल्दुलीको घैंटामा घाम पटक्कै लागेन । सोध्दैखोज्दै ती नयाँ कविज्यूको घरठेगान पत्ता लगाएँ । उनको घरकै नजिक घर भएका एकजना ज्योतिष बाजेकोमा पुगेँ । ज्योतिषी बाजेसँग भलाकुसारी गर्दा बल्ल कुरा खुल्यो कि कविज्यूको सम्मान र पुरस्कारको महिमा । उनको भाइ पत्रकार, दाइ राष्ट्रिय दैनिक पत्रिकाको सम्पादक, श्रीमती टेलिभिजनकर्मी, भाउजू समाचारवाचक लगायत अन्य आफन्त सबै फेसवुककर्मी रहेछन् ।

मलाई अचम्म लाग्ने मात्रा झन् थपियो । सबै मिलेर खुराफातीको रस मिसाउँदा पनि समान मानाङ्कको एउटा सम्मान र पुरस्कारलाई पदन्नोति गरि राष्ट्रियस्तरभन्दा माथि लान सकेनछन् । मेरो त्यति ठूलो खुराफाती ज्ञान भएको भए त त्यो पुरस्कार र सम्मानलाई अन्तर्राष्ट्रियस्तरको नोबेल पुरस्कार र सम्मान बराबर बनाइदिन्थेँ ।

जुनसुकै समयमा जस्तोसुकै बेलामा जो कोहीमा पनि सजिलै पलाउने गर्छ यो खुराफाती । खुराफाती कुन युगमा कसको पालादेखि किन, कहिले, कसरी पत्ता लाग्यो भन्ने कुराको रहस्य खोज्दै जाँदा ठ्याक्कै त मैले पनि फेला पारेको छैन । फेला पारेको भए त यसैमा पी.एच.डी.को शोधपत्र तयार पार्ने शुरमा थिएँ । ठ्याक्कै तथ्य फेला नपरे पनि सत्य चाहिँ यसो भएको हुनसक्छ । ब्रम्हाले श्रृष्टि गर्दा नै मान्छेसँगै मान्छेको मनभित्र खुसुक्क खुराफातीको श्रृष्टि गरेको हुनसक्छ । नत्र भने उहिलेदेखि अहिलेसम्म कहिल्यै पनि नमासिकन मनको दूबोजस्तै मौलाइरहन सक्ने थिएन यो खुराफाती ।

हेर्नोस् न, अचम्मकै हुन्छ यो सिक्ने कुराहरू । पढ्ने कुरा गर्दा गाईखाने ‘ए’ देखि कलमको ‘क’ समेत निकै दुःख गरेर सिक्नुपर्छ तर यो खुराफाती सिक्नलाई त्यति सार्‍हो मेहनेतको आवश्यकता नै पर्दैन । खेलकुद सम्बन्धी कार्यक्रम उद्घाटनको दिन प्रमुख अतिथि हुनलाई केही दिन पहिला दुई/चारवटा बल, केही थान जाली, दुई/चार वटा हात्ती भएकोे नोट आदि-आदि, त्यसमा पनि यस्ता चिज जसले बढी दिन्छ ऊ नै धेरै पटकको प्रमुख अतिथि ।

त्यसैगरी चुनावमा जनताको भोट तान्नलाई जुवाडी कोट, खामभित्र बिटा-बिटा नोट अनि त भोट कति तानिन्छन् कति । खुराफाती ज्ञान हुनेको बोलीमा सूनको झोली हुन्छ तर नहुनेको बोलीमा नूनको झोली पनि फेला पदैैन । यस फातीमा दक्षता हासिल गर्नेले भुसलाई मसला बनाएर बेचिदिन्छन् । सिङ्गो मुलुकलाई नै ढुङ्गा, माटो, गिटी, बालुवा बनाएर बेचिदिन्छन् । किरासित हिरा साट्दछन्, पानी नै त हो स्वाद जस्तोसुकै होओस् तर मह काढ्नेले जस्तै हात चाट्छन् ।

खुराफातीमा दक्ष, विज्ञ बन्न सकेमा पाटी मोटाउँछ, जाती मोटाउँछ, पुस्तौँपुस्ताको नाति मोटाउँछ । खुराफातीको खेती गरीगरी कलमको ‘क’ नपढी देश चलाउने मालिक बने । एउटै मान्छे पाँच पटक जन्मेर सर्वोच्च अदालतको सर्वोच्च बने । विभिन्न सिद्धान्त, गुट र उपगुटहरूका खलनायकहरू सहमतीका दस्तावेजमा एकजुट बने । महाभ्रष्टाचार गर्नेहरू भ्रष्टाचार हटाउने निकायको प्रमुख बने ।

बबाल नगरी कमाल बनाइदिने मर्द हो यो खुराफाती । नीतिहरूमा पनि राजनीतिभन्दा माथिको सर्वोत्तम नीति हो खुराफाती नीति । अहिलेसम्म कुनै नीतिले पछाडि पार्न नसकेको चाणक्य नीतिलाई यसले सजिलै पछाडि पारिदिन्छ । खुराफातीमा विशेष विज्ञता हासिल गरेपछि पछाडि फर्केर हेर्नुपर्दैन । गन्यमान्य त सामान्य भए अन्य मूल कानुनका कुरालाई पनि टेर्नैपर्दैन । फटाफट जुनसुकै ठाउँमा सजिलै अगाडि पुगिन्छ, आफ्नो पालो कुर्नै पर्दैन, अगाडि-अगाडि हिँड्यो बाटोमा आची गर्‍यो, गन्हायो भनेर पुर्नै पर्दैन ।

टुप्पातिर बसेर फेद काटे पनि सबै मिलेर उसलाई बचाउँछन् । लाज, घिन, सर्म लाग्ने काम गरे पनि सबैले पचाउँछन् । घमण्डी, अहंकारी, दूराचारी भए पनि ऊ सबैभन्दा ठूलो हुन्छ । इमान्दारिता, सदाचारिता, इज्जत र प्रतिष्ठा उसका लागि धूलो हुन्छ ।

विशेष गरी हामी नेपालीहरूलाई आफ्नो औकात, हैसियत, वातावरण, भौगोलिक अविस्थिति, आर्थिक अवस्था आदि सबै कुराले सुहाउने शिक्षा भनेको खुराफाती शिक्षा नै हो । प्राथमिक तहदेखि विश्वविद्यालय तहसम्म यसलाई शैक्षिक पाठ्यक्रममा राखिएन भने हाम्रो ज्ञान अपूणर् हुन्छ, अपुरो हुन्छ । सूचना र सञ्चारको क्षेत्रमा जतिसुकै अगाडि फड्को मारे पनि यस खुराफाती ज्ञानमा फड्को मार्न सकेनौँ भने कुनैको अर्थ हुँदैन ।

इतिहासमा हाम्रा पुर्खाहरू वीर गोर्खालीभनेर चिनिएका छन् । अब यो विरासतलाई समय, परिवर्तन अनि आधुनिक शैलीमा रुपान्तरण गरी खुराफाती नेपालीहरू भनी चिनाउनु छ । सधैँभरि बुद्धको देश, सगरमाथाको देश मात्र कति भन्नु नयाँ शैलीमा, नयाँ ढङ्गमा, नयाँ आवाजमा विश्वले नेपाललाई खुराफाती फुल्ने र फलाउने देश भनेर चिनाउने हुनुपर्दछ ।

अहिले संघीयताको कार्या सिलसिलामा केन्द्र, प्रदेश र स्थानीय तहसम्म एक-एक वटा खुराफाती मन्त्रालयको स्थापना हुनु जरुरी छ । दुई वटै तहका मन्त्रालय र प्रत्येक स्थानीय निकायमा एक-एक वटा खुराफाती विभाग स्थापना गर्न सक्यौं भने अहिलेको बेरोजगारी समस्या रातारात आधा घटाउन सकिन्छ । हाम्रा श्रमजीवी विदेशी युवाहरूलाई अन्तर्राष्ट्रिय विमानस्थलबाट फिर्ता ल्याई आ-आफ्ना खुराफाती विभागमा जागीर दिनु राम्रो हुन्छ ।

लैङ्गिक समस्या होस् कि जातीय, केन्द्रीय होस् कि प्रान्तीय आखिर जे-जस्तासुकै समस्याहरू भए तापनि समाधानको लागि एक मात्र अचूक औषधी भनेको खुराफाती नै हो । खुराफातीलाई आफ्नो जीवनको लक्ष्य, उद्देश्य र गन्तव्य बनाएर अगाडि बढ्न चाहनेहरूलाई सरकारले सरकारी जागिर खानेहरूलाई जस्तो उमेरको हदबन्दी लगाउनु हुँदैन । गर्भमा बस्नुपूर्वदेखि मरिसकेपछाडिका एकाध वर्षसम्म पनि बहाल गराउन सक्नुपर्छ ।

महाशयहरू, खुराफातीको महिमा बताउन हामी नेपाली साराका तीन करोड जिब्रोहरूलाई त धौ-धौ पर्छ भने यति सानो कलमले कसरी सकोस् ? रात रहे अग्राख त पलाउँछ भन्छन् भने खुराफाती झन् किन नपलाओस । वनमासाको झाडी जस्तै समय क्रममा खुराफातीको झाडी यस्तै गरी बढिरहेमा मैले दिल फुकाएर उन्नाइसौँ पुराणको रुपमा खुराफाती पुराणको नयाँ आविष्कार गरौँला । अहिलेलाई यत्ति ल !

०००
स्याङ्जा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बोक्सीका ताजा बात- ८

बोक्सीका ताजा बात- ८

गायत्री परिरोशनी
जन्मदिनको शुभकामना छोरी !

जन्मदिनको शुभकामना छोरी !

गायत्री परिरोशनी
छु मन्तर- बेरोजगार चट्

छु मन्तर- बेरोजगार चट्

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- (७)

बोक्सीका ताजा बात- (७)

गायत्री परिरोशनी
बोक्सीका ताजा बात– (६)

बोक्सीका ताजा बात– (६)

गायत्री परिरोशनी
घण्टी बजेपछि !

घण्टी बजेपछि !

गायत्री परिरोशनी
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान...

कृष्ण प्रधान
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x