माधव पोखरेल गोज्याङ्ग्रेहावा दिवस
आखिरी हावा दिवसको हावा खाने नखाने सबैलाई शुभ कामना छ । हावाले हामी सबैको कल्याण गरोस् । बतास हुण्डरीले पनि बेला मौकामा चौका हान्न नछाडुन् । जय हावा दिवस ।

तपाईं नसोचीकन भन्नु होला यो कस्तो बतास रहेछ मनपरी दिवस मनाउने भनेर । हो म बतास नै हुँ त्यसैले यी बतासे कुरा हावामा उडेर लेख्दैछु । ए बाबा यो त व्यङ्ग्य हो दिमागलाई बताससँग राखेर हावामा उड्दै लेख्ने गरिन्छ । तर हावा कुरा लेखिदैन, लेखनको प्रवृति र प्रकृति जुधाएर, खारेर लेखिन्छ । हावामा रहेको शक्तिले लेखकीय उर्जालाई मलजल गर्छ । मलजलले लेखनकला उज्यालिन्छ । रसिलो, चखिलो, ओजिलो, पोटिलो, चोटिलो, घोचिलो, पेचिलो किसिमको लेख रचनाले पाठकलाई पढ्न जोश जाँगर र उर्जा थप्छ । यो कुरा पनि हावा सम्झनु हुन्छ भने तपाई पनि बतासको साथी हावा हो ।
हावा अर्थात् उडन्ते कुरा दिवस नेपालमा गाईजात्रे पाराले दैनिक नै मनाइन्छ । यो दिवस खास गरी हामी जनमतका भकारीले भन्दा बढी हाम्रो बिचारको खिल्ली उडाउनेले मनाइरहेका छन् । प्रदेशसभा, प्रतिनिधिसभा अनि गाउँसभामा दिनहुँजसो सरकारी सुविधामा हावा दिवस मनाउँछन् । भनेका बेलामा हामी तरकारी पनि खान नपाउनेले यो हावा दिवस नमनाउने कुरै भएन । हावा हावा नै हो । बतास बतासै हो । हावा र बतासको साइनो जे सुकै होस् आखिरी दिवस मनाउने त हावाकै हो । नेताले मनाउने हावा दिवस हामी जनताले मनाउन कानूनले दिंदैन । कानूनमा नभएको कुरा गर्न त हामी जनतालाई भन्दा नेतालाई बढी छुट भएकोले हामीले घुट्घुट् थुक निल्दै बस्ने हो । कुना पसी रुने हो, विकास विकास भन्दै कराउने हो, हावा कुरा सुन्ने हो बस्ने हो ।
विकासे हावाको कावा खाएर बाँच्न विवश हामी विश्वकै नामी गोर्खाली भए पनि दामी काम गरेर देखाउन भन्दा बढी हावादारी काममा ध्यान दिने नामधारी खन्त्या खलास हौँ । हामी सपनामा उड्छौँ र विपनामा रुन्छौँ । हामीलाई सपनामा उडाएर विपनामा रुवाउने संयन्त्रको विकासले तय गरेको नीति र थिति अनुसार यो हावा दिवस ‘नेपाल नेता विकास संघ’ नामक संस्थाले दैनिक मनाउने निर्णय गरेअनुसार प्रतिनिधिसभा, प्रदेशसभा र गाउँसभामा मनाइन्छ । हामी जनताले यो दिवस मनायौँ भने भोलि हामीले हावा खान्छौँ । जनताले हावा खाएमा मुलुकमा बेथितिले जरो गाड्छ भने नेताले हावा खाएमा देशमा नीति थिति बन्ने प्रचलन नेपालको राजनीतिक इतिहासमा देखिएको छ । जुन नीति र थितिले हावा दिवस मनाउने अलिखित निणर्य गरेको थियो ।
एक किसिमले हेर्ने हो भने हामी पनि हावा नै हौँ । जताबाट हावा बहेको छ उतै कुद्ने हाम्रो बतासे बानी उहिल्यै देखिको हो । उहिलेको बानी अहिले पनि जानी नजानी हामी व्यहोरामा परिणत गरिरहेका छौँ । हामी हावाका सन्तान त होइनौँ र हावा हाम्रो नाता गोताभित्र पनि पर्दैन । हावा र नेतासँगको सम्बन्ध भने समुन्द्रभन्दा विशाल छ । कुँवाभन्दा गहिरो छ, नाइल नदीभन्दा लामो छ । यस्तो सम्बन्ध र नाता भएका नेतासँग हामीले किन विश्वास नगर्ने । हावाको राजनीति गर्दा भोलिका दिनमा आफैँले कावा खानु पर्छ र अझ बलियो हुने सम्भावनाले पिरोल्छ भन्ने बुझेर नै होला हावा प्रेमी बनेको ।
हावा दिवस यस्तो दिवस हो जुन विश्व भरीमा नेपालमा मात्र मनाइन्छ । हावा विश्व भरी नै चल्छ, बतास आउँछ तर हावादारी राजनीति विश्वका कुनै पनि मुलुकमा हुँदैन । भनौँ नेपाल विश्वकै नमुना राजनीति हुने ठाउँ हो । उदाहरण नै खोज्ने हो भने परमादेश वरण गरेको हाम्रो आँखा अगाडि छ । हावाका तालमा जनतालाई जालमा पार्ने र विकासको सर्वस्वहरण गरेर विनासको नीति थितिको वरण गर्ने हावा दिवस हो भन्ने मैले बुझेको छु । कुखुराले बतासे अण्डा पारेर चल्ला कोरलेझैँ बतासे राजनीतिबाट जन्मिएका हावा नेताले मनाउने भनेकै हावा दिवस हो । त्योभन्दा बढी हैसियत नभएपछि अरु दिवस मनाउने कुरै भएन । हावाका भरमा कार्यक्रम गर्ने हामीलाई हावा दिवस मनाउँदा बतासले स्वीकार्न सक्छ । ‘कही नभएको जात्रा हाडी गाउँमा’ भनेकै यही हो ।
हावामा उडेर देश चलाउने सक्ने क्षमता भएका हामी नेपालीको हावासँग त्यो सम्बन्धले नेपाल झण्डै झलमल भएको । हावाबाट विजुली निकालेपछि, बालुवामा पानी जहाज कुदाएपछि, विना ट्र्याक पूर्व पश्चिम रेल कुदाएपछि हामी त ‘हम किसिसे कम नही’ हुन्छौ नि । त्यसैले पनि यो हावा दिवस जसरी भए पनि यो वर्ष उचित साइत निकालेर सरकार र प्रतिपक्षी दुबै मिलेर नियम कानून निलेर जनतालाई पेलेर मनाउन सरकार र प्रतिपक्षीसँग धुँवादार श्रद्धाञ्जली व्यक्त गर्दछु । जनतालाई हावा खाएर बाँच भन्ने हावामै रोजगारी सिर्जना गर्ने, हावामै गरिब जनताका लागि बसोवासको व्यवस्था गर्ने जस्तो अति नै महत्वपूर्ण र अर्थपूर्ण विषयले समाचारमा स्थान पाउनु पनि हावा दिवसकै उपलब्धि हो भन्न सकिन्छ ।
हावाको शक्तिलाई नपत्याउनेले आफैँ चकित भएर हावासँग उड्ने अवसर पाउँछ । हावामा चङ्गा उडाए झैँ मान्छे उडाउन सिपालु यो हावाको सिपको कला कौशलको कुरा गर्ने हो भने हामी हार खान्छौँ हावादेखि । धेरै शक्तिशाली शक्तिहरू हावासँग डराएर छेर्दै भागेका छन् । यस्तो शक्तिशाली हावासँग म चाहिँ कुनै पनि हालतमा निहुँ खोज्न जाने पक्षमा छैन् । जसलाई जे मन लाग्छ गर्दा पनि हावाको स्वीकृति लिनु आवश्यक देखिएको छ । किनभने हावाको देशमा काम गर्दा त्यहाँको हावा सरकारको अनुमति लिनु आवश्यक हुन्छ । जब सरकार नै हावाको छ भने त्यहाँका जनता हावा समर्थक हुनु स्वभाविकै हो । हावामा उडेर विलिन हुने नेताले जनतालाई पनि हावामै उडाएका छन् । हुन त जनता भूतसँग पनि हावामै थिए प्रेतसँग पनि छन् र पिसाचसँग पनि हावामै रहनेछन् । जब भूत, प्रेत र पिसाचको मेलमा हावाभित्र बाहिर गर्छ भने त्यहाँ हावाले केही प्रभाव पारेको हुन्छ भन्ने बुझाईमा र गराई हेराईमा केही सत्यता छ जस्तो लाग्छ मलाई ।
खैर जे होस् हावा भनेको हावा नै हो । बेला मौकामा हुण्डरी भएर आउँछ र केही न केही क्षति गरेर जान्छ । सिरिरी चल्ने बतासभित्र हुने रोमाञ्चकतालाई समेत उडाउने हावाले जब हुण्डरीको रूप लिन्छ तव हावासमेत बेहासीपनमा उडेर हामीमाथि क्षती पुर्याउँछ । हाम्रो काम गराई, बोलाई, हिडाई नै जब हावा तालको छ भने हावाले हामीलाई होस्टेमा हैसे गर्नु स्वभाविकै जस्तो लाग्छ मलाई । यस्तो अजिवको कुरा हावाका बारेमा हामीले बिरोध गर्नु भनेको हाम्रै बिरोध हो । त्यसैले अबदेखि हामीले हावा दिवस मनाएर भए पनि हावालाई खुशी पार्नेतिर लाग्नु उचित हुने मैले ठानेको छु । हावालाई खुशी पार्न सकिएन भने भोलि बाराको जस्तो बितण्डा मच्चाउन के बेर । हावाको शक्तिका बारेमा हावाकै भक्ति गर्नेहरूलाई समेत थाहा छैन । बतास बनेर हावासँग मित लाउने अनि हुण्डरीमा मिसिएर आफैँ स्वाहा हुने नीति जन्माउन मान्छे हावा बनेको छ ।
हावाको जात, थर के हो ? बसाई कहाँ छ ? त्यसको थर ठेगाना न बतासलाई थाहा छ न हुण्डरीलाई । थर ठेगाना विनाको हावाको दिवस मनाउन किन तातेको होला भनेर मलाई प्रतिप्रश्न आउला । म त स्पष्ट भन्छु हामी हावाका पछि लागेर शक्तिको भक्ति गर्ने भएकोले केही लाभ फलिफापको आशामा हावा दिवस मनाउन लागेका हौँ । भोलिका दिनमा बतास वा हुण्डरी आउँदा त्यसवाट बच्नका लागि पनि यो काइदाले फाइदा गर्ने कुरामा म निर्धक्कका साथ ढुक्क हुन सकेको छैन । हावामा हावा दिवस मनाउँदा बतास र हुण्डरी सबै खुशी भएर स्यावासी पाइने भएकोले मेरो ध्यान यसतर्फ आकृष्ट भएको हो ।
यो हावाको मित गोज्याङ्ग्रे पनि हरेक कुरा गर्छ भन्नु होला । नेपाल हावाको देश हो । हावाका बारेमा धेरै ठूला अध्ययन अनुसन्धान गर्नेहरूले हावा दिवस मनाउन आनाकानी गर्ने तर गोज्याङ्ग्रे अघि सर्ने भन्नेहरूलाई मेरो मुखभरीको हावा जवाफले बुझो लाउँछु । बढी कुरा के गरौँ । आखिरी हावा दिवसको हावा खाने नखाने सबैलाई शुभ कामना छ । हावाले हामी सबैको कल्याण गरोस् । बतास हुण्डरीले पनि बेला मौकामा चौका हान्न नछाडुन् । जय हावा दिवस । जय साहित्य, जय व्यङ्ग्य, जय हावाको विकास, जय हावाको प्रगति । भोलिका दिनहरूमा हावाले देशको अनुहार हरियो पारोस् ।
०००
उदयपुर
Subscribe
Login
0 Comments
Oldest







































