साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ऋषि सुनाकलाई चिठी

तपाईंको व्यक्तिगत र दुवै देशको देशगत अन्तरकुन्तरका कुरा गरियो । यो चिठी जनमानसको हातमा पुगेपछि तपाईंको देशको राष्ट्रियता धरापमा पर्ला कि नपर्ला ? चिठीकै कारणले तपाईंको प्रजातन्त्रमा खतरा आउला कि नआउला ? जदौ ।

Nepal Telecom ad

ऋषि दाजु नमस्कार ।
बेलायती सरकार हाँक्ने जिम्मेवारी मिलेकोमा बधाई तथा शुभकामना ।

दाजुलाई दाजु नै भन्ने त हो नि । हामी ७० कटेका वयोवृद्धहरूलाई पनि दाजु नै भनिरहेका छौं ।
अली अघि तपाईंको पुख्र्यौली देशका प्रधानमन्त्री नरेन्द्र मोदी ऋषि मन भन्दैथिए । हाम्रामा ऋषि धमला पनि छन् । ऋषि कट्टेल पनि छन् । ऋषि दाइ, ऋषि काका, ऋषि हजुर्बा कति हुन् कति । ऋषिलाई हामी रैथाने भाषामा रिखी पनि भन्दैछौं । जस्तो रिखीराम ठुलाबा । रिखीराम ठुलाबाकी पत्नीचाहिँ रिखीराम्नी ठुलीआमा ।

त्यसो त तनहुँमा व्यास ऋषि, म्याग्दीमा जैमिनी जन्मिए भनेर पढिरहेका छौं । कपिलको आश्रम कपिलवस्तु, गौतमको जनकपुर, वाल्मिकीको आश्रम चितवन धर्मशास्त्रमै छन् । हाम्रा पुर्खा ऋषि नै हुन् भनेर पनि पढिएकै हो । तपाईंका देशतिरका वैज्ञानिकले अमिबाचाहिँ हाम्रो पुर्खा हो भनेपछि हामी पनि असमञ्जसमैं परेका छौं ।

जेहोस् यो चिठी तपाईंकोमा पुग्ने होइन क्यारे । तर पनि सबैले तपाईंका बारेमा केही न केही लेखिरहेका बेलामा म किन पछाडि परौं भनेर एउटा चिठी नै कोर्ने जमर्को गरेँ । यसै क्रममा कसैले हिन्दु प्रधानमन्त्री, कसैले गीता छोएर सपथ खाएको, कसैले भारतीय मूलको भएकाले नेपाल छिमेकीको शान बढेको आदित्यादि लेखिरहेका छन् । भारतीय मिडियाले भारतको शान बढेको भन्दै गर्दा पूर्ववर्ती सरकारझैं युक्रेनलाई सहयोग गर्ने भन्नुहुँदा भने त्यता पनि चसक्क पर्न गयो होला । तर हामी त १०० वर्ष अगाडिदेखि बेलायतलाई गोर्खा सैनिक पठाइरहेको देश पो त । लौ, यहाँको बारेमा खोजखान गरेर पढ्दै गरौंला । पहिले हामी हिमालदेखि तराईसम्मका नेपालीहरूका काम गराईभन्दा कुरा बढाईचढाईको गहिराईतिर लगेर लैजान चाहन्छु ।

यति नभए के नेपाली ?
नेता त हाम्रै राम्रा । हल्लै हल्लामा प्रदेश संरचना खारेज गर्नुपर्छ भन्ने अनि प्रदेशका पदहरूमा टिकट लिएर जनतामाझ भोट माग्न जाने । वडाको चुनावमा लडेकाले पनि मेची महाकाली रेल चलाइदिन्छु भन्ने । सांसदको चुनावमा कार्यकारी राष्ट्रपति बन्छु भनेर गफ दिने ।

कार्यकर्ता पनि उस्तै भइहाले । बिहानै काली गाई रुख चढेर घाँस खाइरहेको थियो भन्दा ‘हो हो नेताज्यू’ भनिदिने । ख्वाक्क खोक्दा पनि ताली बजाइदिने । हामी जनता झन् के कम । जे जे भने उही उही पत्याइदिने । चुनाव जित्ने रणनीतिस्वरुप पुलका लागि सर्भे गराउने बित्तिकै भोट दिएर घरगोठ जिम्मा लाइहाल्नको हतारो हामीलाई जति अरूलाई कहाँ हुन्छ र ? अक्करे भीरमा रेल चलाउँछु भनेका छन्, भोट दिँदै जिताएका पनि छौं । तपाईं नेपाल आउनु भयो भने यत्तिको मान्छेलाई स्वतन्त्र उठाएर भए पनि प्रधानमन्त्री बनाउँनु पर्छ भन्ने हामी नै हुनेछौं । हैन भने यतिको युवा त सबै दलमा अटाइहाल्छन् नि भनेर वकालत पनि गर्न सक्थ्यौं ।

हामीलाई चाहिँ रेडियो, टिभीमा कसैले हाम्रो कुरा बोल्यो कि देशको प्रधानमन्त्री बनाइहाल्ने विचार आउँछ । बाटोमा चाबी हराउँदा भेट्टाएर दिने मान्छे पनि प्रधानमन्त्री भइदिए हुन्थ्यो भन्ने चाहना आउन थालेको छ । विदेशबाट सिदा जम्मा गरेर कामको जिम्मा लिएका अनि बीचैमा भागेकाहरूलाई पनि हामीले मनमनै प्रधानमन्त्री बनाइसकेका थियौं । अरू त अरू प्रधानमन्त्रीमा अक्सफोर्डको विद्यार्थी खोजिरहेका हामी अक्स्फोर्ड कम्प्युटर सेन्टरमा बेसिक कोर्स गरेका भए पनि प्रधानमन्त्री बनिदिए हुने नि भन्ने चिन्तासम्मले नछोएको होइन । यस्तो अस्थिर म जनताले छान्ने नेता कतिको अस्थिर होला भनेर आज सुनकलाई देखेर दङ्गै परिरहेको छु ।

बेलायती जनता पनि अचम्मकै रैछन्
भारतीय मूलका भनेर नेपालमा पनि कम्तीको हल्ला भएको होइन । राजु लामाको गीत जस्तो ‘हल्लै हल्लाको संसार’ । भारतीयहरूको बर्चस्व हुँदै गएकोले फिजी देश भारतीयको कब्जामा हुन पुग्यो भन्नेहरू अब बेलायतलाई उपनिबेश बनाउने पालो भारतीयको भनेर अर्को हल्ला चलिरहेको छ । पक्कै पनि यस्ता होहल्लाहरू सुनकले सुन्दा पनि सुनेका छैनन् ।

अचम्म त यो छ कि ऋषि दाजु, हामीले चाहेको हाम्रा नेताहरूले जस्तो फ्याट्ट किन बोल्दैनन् । यो डाँडालाई सखाप पार्छु, उ त्यो बगरलाई उचालेर फलाना योजना पार्छु, पहिले जहाज बनाउँछु अनि पछि समुद्र ल्याउँछु केही बोल्दैनन् । बोल्नुपरे पनि अर्थतन्त्र सुधार्छु पो भन्छन् । हाम्रामाचाहिँ अर्थतन्त्र उध्रिएर सिलाउन पनि नमिल्ने भैसकेको छ ।

बेलायती जनता कस्ता हुन् हँ, सडकमा र्‍याली पनि गर्दैनन् कि क्या हो ? सरकारी सम्पत्ति तोडफोड पनि गर्दैनन् कि क्या हो ? जस्ता जनता उस्तै नेता । हाम्रामा नागरिकताको ‘ना’ बोल्न पनि हुँदैन, पूर्व राजाले खोक्न पनि भ्याउँदैनन् नाराजुलुस शुरू भैहाल्छ ।

फ्रि भिसा फ्रि टिकट नभनीकनै प्रधानमन्त्री बनेका भन्दा पो कहीँ नभाको जात्रा बेलायतमैं हुँदोरैछ झैं लागिरहेको । उहिले १० अर्ब भ्रष्टाचार गरेको आरोप लगाएकाहरूसँग टाउको जोडेर हिँडेका छन् हाम्रा विद्वानहरू । आफूलाई चित्त नबुझ्दा जनभावनामाथि खेलबाड भएको ठान्ने हाम्रा ठालुझैं होलान् कि नहोलान् । साँच्चै बेलायतमा वर्षे विकास र चुनावी निकास होला कि नहोला है ।

पाँच वर्षे कार्यकालमा थुप्रै सरकार फेरेर बेलायतले पनि नेपालबाट ठूलै पाठ सिक्यो कि । त्यता पनि प्रतिपक्षमा हुँदा ठूला ठूला स्वर, सत्तामा पुगेपछि चुपचापे रोग लाग्ला कि ।

सत्तामा टिकिरहने सूत्र
अर्थतन्त्र सबल नभएको आरोप लाग्नासाथ राजिनामा दिने मन्त्री हुँदा रहेछन् । हाम्रामा त घुमाइफिराई ल्याउने चलन छ । विवादै नभए के नेता ? आरोपै नआए के सांसद ? अख्तियारले नडामे के खरिदार ? सेवानिवृत्तपछि राजदूत नै नभए केका पूर्व सचिव ? आफ्नै दलभित्र बाइसी चौबिसी राज्यझैं गुट नचलाए केका झुण्ड ? सांसद टिकट पाउन दलबदल गर्न नसके के सकृय कार्यकर्ता ? बन्दहड्ताल नगराए के विद्यार्थी आन्दोलन ? विवादमा नमुछिए केका प्रोफेसर ? न्यायमा अन्याय नभए केका न्यायमूर्ति ? अप्ठेरामा नफले केको फर्सी ? यो देशमा त घिरौंला पनि काँक्रोको थाँग्रो चोरेर भ्रष्ट भएको छ । छेपारोभन्दा हामी मतदाता नै बढी भोट फेर्छौं होला । लोखर्केले उखान पनि हाम्रा नेतृत्वबाटै सिके होलान् ।

हाम्रामा जस्ता बहुक्षमतावान व्यक्तिहरू तपाईंकहाँ मन्त्रीमण्डलमा नहुँदा रहेछन् । जसले जे जान्यो उही क्षेत्रको मन्त्री अरे । हाम्रामा हेर्नोस्, ठेकेदारले पुरातात्विक सम्पदाको संरक्षणको जिम्मा पाउँछ । शिक्षा पढेकोले अर्थमन्त्री, अर्थशास्त्र पढेकाले खेलकूद मन्त्री हुन पाउँछ । गाउँटोलको विकास गर्न नसकेकाको जिम्मामा शहरी विकास आइलाग्छ ।
अख्तियारले डामेको मान्छेले पनि सरकारी नियुक्ति पाउँछ । नियुक्ति पाउन के गर्नुपर्छ भन्ने सूत्र जानिसकेपछि जुनसुकै व्यवस्था बदलियोस्, एउटै सूत्रले काम गरिहाल्दो रहेछ । यी सूत्र टिपेरै राख्नुहोला । तपाईंलाई पनि काम लाग्ला ।

राष्ट्रियता
तपाईंका देशमा ठालुहरू पनि साइकलमा हिँड्दारहेछन् । हाम्रामा गाडीको पछिपछि साइकलमा अर्कै हिँड्छ, मन्त्री सांसदहरू अघिअघिको गाडीमा हिँड्छन् । तपाईंको देशमा घोषणापत्रअनुसारको काम भए नभएको हेरिँदो रहेछ । हाम्रो देशमा घोषणापत्रअनुसारको भोट आए नआएको हेरिन्छ । अर्को चुनावमा अझ बढी भोट तान्ने घोषणापत्र निर्माणमा होडबाजी चल्ने गरेको छ । हाम्रोमा पहिले विद्यार्थी फेल हुन्छ अनि पाठ्यपुस्तक पुग्छ । पहिले भोट हालिन्छ अनि नो भोटको हल्ला चल्छ । पहिले महंगीले आकाश छुन्छ अनि विद्यार्थी आन्दोलन हुन्छ । जागिरबाट थाकेर फर्केका मात्रै होइन उस्तै परे भूकम्पले चर्केका घर पनि म उम्मेदवार हुँ भन्दै भोट माग्न आउन बेर छैन ।

एउटा गोर्खाली बेलायतको प्रधानमन्त्री भए भनेर यता हल्ला गरेका गर्यै छन् । यता गोरखामा चुनावको अर्कैथरीको युद्ध चल्न लागिरहेको छ । उता भारततिर गोर्खाल्याण्ड मागिँदैछ । बेलायतमा नेपाल गाउँ बन्यो कि बनेन । नेपाल आउनुहोला । ढाकाटोपी लगाइदिएपछि ठ्याक्कै नेपाली देखियो भन्दै फेरि राष्ट्रवादको हो-हल्ला गरौंला ।

कर कटौतीका कारण लिज ट्रसले माफी मागिन् । राजिनामा पनि दिइन् । विदेशीलाई कर कटौती, स्वदेशीलाई कर थमौती हाम्रामा पनि भएकै हुन् । माफी त के पुरस्कार पो दिने चलन छ यहाँ । हेर्दै जानोस् आउँदो साल गोरखा दक्षिण बाहु ब्युँताएर भए पनि सम्मानित गर्नुपर्छ हामीले । नत्र राष्ट्रियता धरापमा पर्ने सम्भावना छ पो भन्छन् ।
ऋषि दाजु, सूर्जेकुमारीहरू सूर्जे पार्टीतिर लाग्नुपर्ने हो कि होइन ? शितल नाम हुने रुख पार्टी, ट्याक्टर हुँदैमा हलो पार्टी अनि लौरो टेक्दैमा लौरो पार्टीतिर लाग्नुपर्ने पनि हो कि होइन ? न्वारानको नाम राख्दै पार्टीसँग जोड्नुपर्ने रहेछ । फेरि च्याउ पार्टी खुलिरहेको समयमा नाम पो कसरी जुराउने हो ? तपाईँ नेपालीजस्तो सुन्दर नाक भएर सुनाक भएको भनेर पनि हल्ला गर्छन् गर्न त । नाकलाई ईज्जतसँग जोडेर हेरिन्छ । नाक राख्नु, नाक काट्नु त उखानै छ । नाक गन्ध थाहा पाउने मात्रै होइन, अभिमानको सिँढीको उपल्लो दर्जा पनि नाक नै हो । अरूका नाक के नाक दाजुका नाक पो नाक । आफ्नो र देशको नाक विश्वमै उच्च राख्न सफल हुनुहोस् । नाकबारे पछि नै लेखौंला ।

तपाईंको व्यक्तिगत र दुवै देशको देशगत अन्तरकुन्तरका कुरा गरियो । यो चिठी जनमानसको हातमा पुगेपछि तपाईंको देशको राष्ट्रियता धरापमा पर्ला कि नपर्ला ? चिठीकै कारणले तपाईंको प्रजातन्त्रमा खतरा आउला कि नआउला ? जदौ ।

उही कागका पछि लाग्ने अर्को नेपाली केटो

०००
हेटौँडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x