डा.हरिप्रसाद सिलवालसाहित्य होस् त यस्तो पो !
गल्लीगल्लीमा र आँखाका नानीहरू ठोकिने नाकानाकामा मेरा साहित्यका होडिङ बोर्डहरूले फेयर एन्ड लभ्लीका नामपाटीसित जुध्न सक्नुपर्छ ।

मैले मेरा साहित्य सुनाउँदा
वरपर… दायाँबायाँबाट परर…ताली आओस्
मैले एक पटक भन्दा
दर्शककक्षबाट तीन तीन पटक
वाह ! वाह !! गुन्जियोस्
समर्थनको करताल ध्वनि रन्कियोस्
वान्स्मोर्को मागफाराम घन्कियोस् !
आलोचकले भनून्-
अरुका त सबै अधम र खत्तम साहित्य हुन्
उहाँबाहेक कसैले केही नलेखे पनि भो
छ्या ! अरुका लेखाइ त कति सस्तो !!
साहित्य होस् त यस्तो, मैले लेखेजस्तो !
“पल्लाघरे सानीले काइँयोले कपाल कोरिन्
माख्लाघरे दिदीले भातका डल्ला फोरिन्
काकाका साथीले टिकटक हेरे रे
भिनाका भान्जाले त कट्टुमै फेरे रे”
अरु दुनियाँले आजैदेखि
नानाभाँतीका कुरा लेख्न छाडे भो
साहित्य होस् त यस्तो पो !
“हिजो साँझसम्म
तिमीमाथि पाथी पाथी माया लागेको थ्यो
मध्यरातबाट मेरो सपनाको संसार बदलियो
म अर्कैलाई मुरी मुरी माया गर्न थाल्ने भाको छु
पर्खिराख म ककसलाई माया फेरिरहन्छु
अदलबदलको पिरतीको चिठी कोरिरहन्छु
दलहरूको अदलबदलभन्दा कडा
अवसरहरूको लेखाजोखाभन्दा तगडा
चुनाबी तालमेल र झालझेलभन्दा पनि कडा
वाह ! वाह !! वाह!
कवितामा राजनीतिको कत्रो भण्डाफोर भो
कवितामा प्रेमको पोखरी नै खडा भो
छ्या ! अरुका लेखाइ त कति सस्तो !!
साहित्य होस् त यस्तो, मैले लेखेजस्तो !
मेरो भाग खोसेर खानेको बत्तिसै दाँत झरोस्
मलाई हर ठाउँमा जित्नेको भित्री आँतै मरोस्
मेरो यो सराप मन्त्र बनेर शत्रु शत्रुसम्म सरोस्
वरिष्ठ समालोचकले भन्नेछन्-
वाह कविज्यू !
तपाईंका कविता त
जे पनि फल्ने कामधेनु खेत हो
तपाईंका लेखाइ त बेजोड आलोचनाको चेत हो
अब मै हुँ भन्नेहरूले पनि कलममा बिर्को ठोके भो
छ्या ! अरुका लेखाइ त कति सस्तो !!
साहित्य होस् त यस्तो, मैले लेखेजस्तो !
मेरो साहित्य उद्घाटनमा
टन्नै हलभरि मान्छेहरू आऊन्
मञ्चासीनहरूले भटाघट स्तुतिगान भट्ट्याऊन्
हलासीनहरूले बारबार थपडी ठटाऊन्
बोल्नेहरूले एकसे एक राम्रो छ भनून्
नराम्रो पनि छ भन्न्हरूले निम्तै नपाऊन्
झुक्किएर निम्तिए पनि बोल्नै नपाऊन्
बोली टोपलिहाले पनि माइक झर्झराओस्
हलमा हल्ला भर्भराओस्
जे जसरी हुन्छ
मेरा साहित्य विरुद्ध आलोचना नलेखियोस्
कसैले लेख्न खोजे- मसी सुकोस् कापी च्यातियोस्
तिम्रो साहित्यमा यो भएन र त्यो भएन जस्ता
अकरणवाची समालोचनामाथि परिवारनियोजन होवस्
कथमकदाचित् मेरा विरुद्ध मति बिगारेकाहरूले
लेखे बोले छन् अरे भने पनि
ती दुर्वचनसमीक्षा मेरो कानसम्म नआओस्
यो मनुवा दुनियाँ सेरोफेरोमा
म र मभन्दा कोही नबनोस् बाठो
छ्या ! अरुका लेखाइ त कति सस्तो !!
साहित्य होस् त यस्तो, मैले लेखेजस्तो !
मेरा साहित्यहरू टेलिभिजनका पर्दाहरूमा देखियून्
समाचारका पानाहरूमा रङ्गियून्
अनुवादकले अनेक भाषाहरूमा अनुवाद गरून्
बाद्यवाजकहरूले सङ्गीतमा राग भरून्
पसलका भित्ताहरूमा धपधप बलेर अरु साहित्य छेकियून्
मेराबाहेक सारा किताबहरूका बिक्री वितरण नै रोकियून्
मेरा साहित्य देखेर
पुरस्कारदाताका आँतदेखि दाँतसम्मका अङ्गहरू पग्लियून्
वडादेखि बडासम्म र
पत्रकारदेखि अलपत्रकारसम्मले
सिधै नोबेल पुरस्कार निम्ति सिफारिस गरियोस्
अनि यी खुद्राखाद्रीहरू छाडेर
बन्नेछ मेरो लेखन सिङ्गो बलियो खाँबो
छ्या ! अरुका लेखाइ त कति सस्तो !!
साहित्य होस् त यस्तो, मैले लेखेजस्तो !
मेरो साहित्यमा जनताको कुरा के भो ?
नीचता र महान्ताको कुरा के भो ?
गद्य, पद्य, छन्द मन्द, गति र मति केही थाहा छैन
कसको आवेग र कस्तो विवेक लेख्नुपर्छ ?
कसको दुःख र कसको सुख लेख्नुपर्छ ?
कसको आशा जगाउने हो ?
कस्तो भाषा भजाउने हो ?
चिन्तन र मनन किन चाहियो मलाई ?
सन्दर्भ र सामथ्र्यले के दिन्छ मलाई ?
मैले मेरो कुरा लेखेको छु
अरुको भूत, वर्तमान र भविष्य किन चाहियो मलाई ?
मैले मेरो भविष्य देखेको छु
समीक्षकहरूको नानाभाँती करकर बढी भो
छ्या ! अरुका लेखाइ त कति सस्तो !!
साहित्य होस् त यस्तो, मैले लेखेजस्तो !
अरु लेखकहरू जीवनको कुरा गर्छन्- गरिरहून्
म त मेरो मनको कुरा गर्छु
अरु लेखकहरू समाजको साक्षी बस्न खोज्छन्- बसिरहून्
म त मेरै साक्षी बनेर लेख्छु
लेखक भनिनेहरू दर्शन र दृष्टिकोणको वकालत गर्छन्
आलोचक मानिनेहरू समय र सौन्दर्यको बयान दिन्छन्
मलाई त मेरो साहित्यले ठुल्ठुला पद दिलाउनुपर्छ
विशिष्ट सल्लाहकार, विशिष्ट मानार्थ
कार्यक्रमका सभा समारोहमा हरदम
मेरो लेखनको हरफभन्दा अग्रासनको मञ्च दिलाउनुपर्छ
मलाई त मेरो साहित्य सुनाउन माइकभोलुम बढाउनुपर्छ
फेसबुकका भित्ताहरूमा लाइक बढाउनुपर्छ
कहिलेकाहीँ खल्तीहरू सकसकाएका बखत
र कोही भोकाएर तिर्खाएर पछ्याएका बखत
स्न्याक्सका टेबलहरूमा म अलिकति पेय र चोक्टाहरू थपिदिन्छु
तब मेरो साहित्य भदौरे गुइँठा फुल्लिएझैँ फुल्लिन
अनि ट्युबमा भरेको हावाले झैँ फुस्स सुन्निन
मेरो साहित्यमा विज्ञापनको सलाइनपानी चढाइनुपर्छ
गल्लीगल्लीमा र आँखाका नानीहरू ठोकिने नाकानाकामा
मेरा साहित्यका होडिङ बोर्डहरूले
फेयर एन्ड लभ्लीका नामपाटीसित जुध्न सक्नुपर्छ ।
केही छैन-ओठ लेप्र्याऊन् कसैकसैले
तर मेरो लघुतम झुन्डको झन्डामुनि नै किन नहोस्
मेरो साहित्य प्रचारको सगरमाथामा उक्लिनुपर्छ
अरुले विश्व ब्रह्माण्ड नै बुझून् र लेखून्
मेरो साहित्यसामु तिनका हुर्मतहरू फुक्लिनुपर्छ
हो, मैले लेखुन्जेल अरु लेखकेहरू चुप बसे भो
छ्या ! अरुका लेखाइ त कति सस्तो !!
साहित्य होस् त यस्तो, मैले लेखेजस्तो !
०००
धादिङ
Subscribe
Login
0 Comments
Oldest







































