सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सल्लाहकारको साउती !

अर्थविनाको अर्थ जस्तै सल्लाहविनाको सल्लाहकार बन्दै जाने हो भने यो ब्रह्माण्डले सल्लाहकारहरूको लामलाई धानिरहन सक्ला ? यसमा थिति आवश्यक पर्दैन ?

Nepal Telecom ad

एक दिन संसारका सारा सल्लाहकारहरूलाई सल्लाहकारहरूका बारेमा नै सल्लाह गर्न मन लागेछ । सल्लाहकारहरूको शक्ति र सामथ्र्य के हो भन्ने कौतूहल जागेछ । विश्वका सल्लाहकारहरू एक ठाउँ उभिएर सल्लाहकारहरूको हकहित र अधिकार र कर्तव्यमाथि बहस किन नगर्ने भन्ने प्रश्नहरूको ओइरो उब्जेछ ।

मानौँ त्यो दिन अवश्य पनि विश्व सल्लाहकार दिवस वा यस्तै विशेष अवसर परेको हुन्छ । उति नभए सल्लाहकारको नियुक्ति जुरेको दिन हुनसक्छ । केही पनि नभए तिनका मस्तिष्कमा सल्लाहकारका सामथ्र्य जाँच गर्ने र यसलाई बढीभन्दा बढी उच्चतम बिन्दुमा लाने मतिको युक्ति फुरेको सन्दर्भ पनि हुनसक्छ ।

सल्लाहकारहरूको सल्लाह सनसनी फैलन थाल्दा यो जगत्का अन्य निकाय पनि अचम्मै भएछ । गल्लीहरूमा, चोकहरूमा, गोरेटामा, मूल सडकमा, छेउमा, कुनामा, बिचमा, उत्तरदेखि दक्षिण र पूर्वदेखिपश्चिम दिशामा जताततै सल्लाहकारहरूको चहलपहल गरमागरम भएको छ । इच्छा र मौसमअनुसारका वेशमा, देश र देशान्तरअनुसारका भाषामा एकसेएक सल्लाहकारहरूको व्यक्तित्व झल्केको पाइन्छ । यता र उता फनफनी घुमेको देखिन्छ ।

कोही सल्लाहकारकै मुखाकृतिमा हेरेर घोत्लेको पाइन्छ । कोही आफैलाई नियालिरहेका, कोही कसले के भनेका छन् भनी चियाइरहेका, कोही शालीन भावमुद्रामा, कोही हतार, हतासमा र कोही अलमलमा परेका मुद्राकृतिमा सल्लाहकारहरूको जगजगी अनि चकचकी निकै रोचक र बिस्तारै घोचक पनि बन्दै गएको देखिन्छ । सल्लाहकारहरू पनि थरी थरीका देखिएका छन् । कोही सल्लाह दिँदा दिँदा थकित भएका जस्ता छन् । कोही सल्लाहकार हुनुपरेकाले आफैमा नमिठो अनुभूतिबाट ग्रसित जस्ता छन् । कोही भरखरै सल्लाहकारमा चयन भएकाले फूर्तिको फरेफुरुक जोशमय देखिन्छ । कोही सल्लाहकार जस्तै देखिएका छन् । कोही सल्लाहकार हुने छाँटका उन्मुख सल्लाहकार जस्ता देखिएका छन् । कोही सल्लाहकार भएको थाहा नै नपाएका र आफ्नो समय गुज्रिसकेपछि बोध भएर गहनतम सल्लाह नै दिन नपाएको झोँकमा आकृति बिगारिरहेका छन् । कोही सल्लाहकारसित सल्लाह नै नगरी काम भएकोमा आक्रोश व्यक्त गरिरहेका छन् । कोही सल्लाहकारको भूमिका चाहिँ के हुन्छ हँ भनेर अर्को सल्लाहकारसित कानेखुसी गरिरहेका छन् ।

कोही वरिष्ठ सल्लाहकार भएको रवाफमा सानातिना सल्लाहकारसित बोल्दा पनि अगति परिन्छ कि जस्तो गरेर गजधम्म फुलेल देखिएका छन् । कोही सानो संस्थाको सल्लाहकारबाट ठुलो संस्थाको सल्लाहकारमा बढुवा हुन के गर्नुपर्ला भनेर सल्लाहकारसितै सल्लाह गरिरहेका छन् । कोही सल्लाहकार भएको दिनदेखिका आफ्ना मुहार तस्बिर अरुलाई देखाउँदै लौ हेरम सल्लाहकार हुनुअघिको र भएपछिको फोटो भनेर फुर्सदी समयको सदुपयोग गरिरहेका छन् । कोही कति संस्था, व्यक्ति र निकायको सल्लाहकार भएको हिसाबकिताब गरिरहेका छन् ।

कोही तलबी सल्लाहकार भएको सानको मान खोजिरहेका छन् त कोही बेतलबी नै भए पनि सल्लाहकार भनेको सल्लाहकार नै हो भनेर पेसागत स्वामित्वको बचाउमा दत्तचित्तले डटिरहेका देखिन्छन् । कोही तलब नदिए पनि प्रमणपत्र त पाइहालिन्छ नि भनेर सल्लाहकार पदको गरिमालाई महसुस गरेर सकारात्मक बनिरहेका छन् । कोही मञ्चमा एप दुई पटक आफ्नो नामोच्चारण गर्ने मेसो नै भए पनि सल्लाहकार भएकोमा खुसी नै देखिन्छन् । कोही आफूलाई नसोधी सल्लाहकारमा नियुक्त गरेकोमा वा सल्लाहकार घोषणा गरेर प्रचारमा ल्याएकोमा खेद प्रकट गरिरहेका छन् । कोही आफू सल्लाहकार भए पनि सल्लाह नै नगरी काम भएकोमा राजीनामा दिने कि नदिने कि भन्ने दोधारमा निदार छामिरहेका छन् ।

कोही सल्लाहकार बनेर प्रोफाइल बनाउँदै जान पाए एक दिन वरिष्ठ सल्लाहकार नै पड्काउन पाइन्छ कि भनेर गमिरहेका छन् । कोही म यो देशको सल्लाहकार, कोही म त त्यो देशको सल्लाहकार, कोही म त धेरैको सल्लाहकार… भन्दै आफ्ना आफ्ना सल्लाहकारीय भूमिकामा भुइँको धुलो उडाइरहेका छन् । एउटा अचम्म चाहिँ के छ भने सल्लाहकार हुन र भएपछि के गर्नुपर्ने हो भन्ने थाहा नपाउने सल्लाहकारहरूको जमात धेरै भएकाले सल्लाहहीन सल्लाहकारहरूको जनसङ्ख्यामा भने दिन दुगुना रात चौगुना बढोत्तरी भइरहेको छ ।

सल्लाहकार भएर पनि भूमिका र भूआधार पत्तो पाउन नसकेका सल्लाहकारहरूको अकर्मण्य अवस्थाले भोलि कतै यो सल्लाहकार प्रणाली नै ‘कोल्याप्स’ हुने त होइन भन्ने जिज्ञासा पनि पलाउन थालेको छ । यस्ता आशङ्काको तिखो सिन्कोले कहिले सल्लाहकार हुँला र आफ्ना वरपरका जमातमा सल्लाहकारको हल्ला गरूँला भनेर पर्खिरहेकाहरूका चाहिँ भित्रभित्रै मुटुमा चिसो र नमिठो सञ्चारले धड्कन पनि हानिरहेको देखिन्छ ।

जेहोस् सल्लाहकारका पनि मानदण्ड बन्लान्, सल्लाहकारका पनि नाम, काम, खाम र दामका दररेट तोकिने दिन आउला । सल्लाहकारका पनि कोटा र रोटाको तहकीकात तय होला । अवसरहीन र औकातहीन भएर पनि सल्लाहकारमा कोचरिनु परेर न उम्कन सकेका न गम्कन पाएका सल्लाहकारहरूका पनि एक दिन जय होला !

आज सबै मानिसहरू सल्लाहकारहरूकै गति र मतिमा ध्यान दिइरहेका छन् । पत्रकारहरू सल्लाहकारकै पछि लागेर समाचारको सार बटुलिरहेका छन् । साहित्यकारहरू सल्लाहकारकै सल्लाह र सन्देशलाई पछ्याउन पाए गतिलो साहित्य लेखिन्थ्यो कि भनेर दाउ हेरिरहेका छन् । व्यक्ति र निकायहरू सल्लाहकारका के त्यस्तो गुरुगम्भीर सल्लाह आउला जसले उलटपुलट पार्न र जुनी सपार्न सकिन्थ्यो भनेर बाटो कुरिरहेका छन् ।

कतै त सात सदस्यीय संस्थामा चौध सदस्यीय सल्लाहकारहरूको चयन भइसकेको छ । कतै त्यो फलानो सल्लाहकार बसेको ठाउँमा म सल्लाहकार नै हुँदिनँ भनेर बहिष्कार पनि गरिरहेका छन् । कतै सल्लाहकारको म्याद थप नगरेकोमा त कतै सल्लाहकारहरूले सल्लाहकारमा चयन भएको दिनबाट संस्थाको समय सकिएको दिनसमम पनि कहीँ कतै सम्पर्क नगरेकोमा गुनासाहरू गुन्जिरहेका छन् । कतै सल्लाहकार बनाएर आफूलाई एक पटक पनि सम्पर्क नगरेकोमा सल्लाहकारको तीव्र आक्रोशको आगो बेइमान जङ्गली डढेलो जस्तो सल्किरहेको छ ।

सायद यसैउसैले होला आज विश्व सल्लाहकारहरूको हल्ला सभा हुन लागेको छ । त्यसो भएर नै यस्तो लाग्छ- आज के यस्तो हुँदैछ जहाँ विश्वनै सल्लाहकारमय भएको छ । अब विश्वले यस्ता सल्लाहकारहरूको आदर्श, यथार्थ, ठोस, तर्कसङ्गत, सन्देशमूलक, खाँटी र गाँठी कुराको सल्लाह पाएर मानव जगत्लाई हुरुक्कै र जुरुक्कै पार्नमा बडेमानको भूमिका निर्वाह हुनेछ । यस्ता सल्लाहकारहरूको सभाले दायाँ हिँड्नेहरू बायाँ र बायाँ हिँड्हरू दायाँ लाग्ने छैनन् । उत्तर ताक्नेहरू दक्षिण र दक्षिण भाक्नेहरू उत्तरतिर झुक्कानमा परेर भौँतारिने छैनन् । पूर्व फर्कनेहरू पश्चिम र पश्चिम लम्कनेहरू पूर्वतिर अलमलिने छैनन् । बरु यस्ता महान् सल्लाहकार सभाको सद्भाव र सहयोगले चारै दिशाको राम्रो कुरा राम्रो भन्न र नराम्रो कुरा नराम्रो भन्ने सबैलाई बल बुद्धि प्राप्त हुनेछ ।

बरु यस्ता सल्लाहकारको सल्लाह पाएर आफ्नो हातमा भएको सुनको कचौरामा विश्वसामु लम्पसार मागेर तन्नम गतिछाडा बेइज्जती मार्गमा लाग्नबाट जोगिनेछ । सल्लाहकारको सत्मार्गी सन्देशले भरिपूणर् भएर आकाशतिर फर्केर थुक्दै आफ्नै मुहार भिजाउनेहरूका मतिमा फेरबदल आउनेछ । यसले आफ्नै आकाश र धर्तीको मौलिकतामा दुनियाँको ध्यान र ज्ञान आकृष्ट गर्न भरपुर हौसला मिल्नेछ । सल्लाहकारको सत्वबोध पाएर संसारको भ्रमण गर्दा विकृति जति त्याग्न र संस्कृति जति अँगाल्ने आँट आउनेछ । जे होस् सल्लाहकारहरूको सगौरव सभाले अहिले मनलाई चन्चले चुचुरामा नै पुर्‍याइदिएको छ ।

मेरा मनमा यस्तो अवस्था देखेर अनेक प्रश्नहरू जन्मन थालेका छन्- आज सल्लाहकाहरूको के त्यस्तो विशेष कार्यक्रम रहेछ ? सायद आज सल्लाहकारहरू केही केन्द्रीय विषयमा केन्द्रित भएका छन् । ती विषयहरू घाम लागेपछि कुहिरो फाटेझँै र हिउँ पग्लेझैँ बिस्तारै खुल्दै जालान् । तर जरुरी महत्त्वको विषय भने लामो समय राख्नु हुन्न र यसले सल्लाहकारकै पेसागत पोषणमा हानि निम्याउन सक्छ भन्नेमा चाहिँ उनीहरू सचेत भए जस्तो लाग्छ । कुण्ड कुण्ड पानी र मुण्ड मुण्ड बुद्धि भनेझैँ सल्लाहकारहरूका पनि रङ रङका बेरङहरू मिसिएर खैरो सल्लाहको जन्म भएकोमा पनि फाटफुट चर्चारम्भ भएको छ ।

सल्लाहकारहरूले निराकरण गर्नुपर्ने र टुङ्गोमा पुर्‍याएर विश्वकै सल्लाहकारहरूको गरिमालाई स्थापना गर्न, कायम राख्न र विश्व सल्लाहकार सङ्घको कल्याणमा लाग्न केही प्रश्नहरूका उत्तरको खोजी गर्नैपर्छ । आखिर सल्लाहकार हुनुमा गर्व हुन्छ कि पीडा ? मान बढ्छ कि अपमान ? उचाइ चुलिन्छ कि खस्कन्छ ? बौद्धिक भइन्छ कि सङ्कुचित ?
सल्लाहकार हुनका लागि के योग्यता चाहिन्छ ? कुन कस्तो सल्लाहकार हुन के कस्तो योग्यता चाहिने हो ? अध्ययन जरुरी कि विवेक ? ज्ञान आवश्यक कि ज्यान ? पुरानो हुनुपर्ने कि नयाँ ? युवौली कि बुढौली आवश्यक छ सल्लाहकार हुन ? विचारनिष्ठ कि बुद्धिनिष्ठ हुनुपर्ने ? बुद्धिमान् कि विवेकी बन्नुपर्ने ? सल्लाहकार आफै सल्लाह दिन्छु भन्दै हिँड्ने कि सल्लाहकारसित सललाह लिने ?

प्रथमतः यो मानव विश्वमा पहिलो सल्लाहकार को हो ? उसको अवस्था कस्तो थियो ? उसलाई कसले सल्लाहकार बनायो ? कुन देशको पहिलो सल्लाहकार को हो ? पहिलो महिला सल्लाहकार को हो ? पुरुष को हो ? अन्य लैङ्गिक को हो ? कुन देशमा के कस्ता सल्लाहकारहरू रहेका छन् ? सल्लाहकारबारे अध्ययन अनुसन्धानको अवस्था के छ ? के कहीँ कतै सल्लाहकार सम्बन्धी विद्यावारिधि अध्ययन भएको छ ? कहीँ कतै सल्लाहकार चयन गर्ने ठोस आधारहरू के के छन् ? कुन देशमा कस्तो प्रचलन छ ? के कहीँ सल्लाहकार नै नराख्ने चलन छ या छैन ? छ भने त्यो संस्था के कसरी प्रगतिको बाटामो लम्केको छ ? यी प्रश्नहरू संसारलाई सोध्दैछु । यसभित्र उत्तरहरू पनि खोज्दैछु । सही उत्तर रोज्दैछु ।

सल्लाहकारका बारेमा धेरै तर्क र कुतर्क बढाउनु आफैमा राम्रो होइन । यसले यतिसम्म गरोस् कि सल्लाहकारको सल्लाह मान्नेसम्मको अवस्था ल्याओस् । मान्नलायक सल्लाह दिन सक्ने सल्लाहकार उत्पादन गर्न सल्लाहकार सभा सफल पनि बनोस् । फगत सल्लाहकार र फगत सल्लाहले समाजलाई नै फगतमा परिणत गर्ला र मेरा हल्लाकार जस्तो सल्लाहकार निबन्ध पनि फगत अक्षरको खेती मात्रै बन्ला भन्ने चिन्ता किन नलिने ?

कुनै दिन कुनै आवश्यकतामा सल्लाहकार सभाको आचारसंहिता आउला । त्यसले सल्लाहकारको व्यापक प्रबन्ध गर्ला । कुन मान्छे कस्तो सल्लाहकार बन्ने वा बन्न पाउने ? विदेशी सल्लाहकार राख्न पाउने वा नपाउने वा के कस्तो सर्तमा राख्ने ? सल्लाहकारको सुविधाहरू केके हुने ? र द्विविधाहरू केके छन् ? शक्ति र सीमाहरू के कसरी निर्धारण गर्ने ? सल्लाहकार हुनु, बन्नु र बनिनुको सार्थकता के हो ? लाग्छ आज सल्लाहकारहरूमाथि यी आदि प्रश्नहरूको ज्वारभाटा उठिरहेको छ । सल्लाहकार दर्शनले यस्ता प्रश्नमाथि कस्तो प्रतिक्रिया दिने सामथ्र्य राख्छ ?

जहाँसम्म सल्लाहकार हुनु आफैमा सुन्दर र गहन जिम्मेवारीको विषय हो । यो कुनै व्यक्तिको बौद्धिकता, विचार र अनुभवमाथि गरिएको विश्वास हो । कुनै व्यक्तिको होस् वा संस्थाको होस् सल्लाहकार हुनु, सल्लाहकारको सल्लाहमा चल्नु कामको सन्तुलन कायम गर्ने सुन्दर तरिका हो । एक सदस्यीय व्यक्तिले पनि कुनै प्रस्ताव आएमा म घरसल्लाह गर्छु है भनेर सोचमग्न भएर पछि परिपक्व निणर्य गर्छ भनिन्छ । सल्लाहकार भएका व्यक्ति वा संस्थालाई अड्कोपड्को तेलको धुपको रूपमा मात्रै होइन औपचारिक र व्यावहारिक रूपमै सल्लाहकारको सल्लाहमा अघि बढ्दा लाभको लाभा बढी नै पाइएला । काम बिग्रेमा सल्लाहकारकै थाप्लोमा राखिदिन पनि पाइने । समाजमा प्रसिद्ध भनाइ नै छ- सल्लाह त जसको पनि सुन्नुपर्छ । निणर्य पो आफूले गर्ने ।

आफू निणर्य गर्न नसक्नेले सल्लाहकार राख्नु, निणर्य राम्रो र सन्तुलित आओस् भन्ने नियतले सल्लाहकार राख्नु, कुनै क्षेत्रमा लामो वा विशेष दक्षता हासिल गरेका व्यक्तिको सिप, ज्ञान, अनुभव, जुक्ति बुद्धिको उपयोग गरी थप उन्नतिमा लैजान सल्लाहकार राख्नु, संस्थाको वैधानिक प्रावधानअनुसार अनिवार्य रूपमा सल्लाहकार राख्नु जस्ता व्यावहारिकताहरू पनि रहेको पाइन्छ । यो भइपरी आउँदा गतिलो सल्लाह मागेर गतिलै काम गर्न पाउँला भन्ने आस पनि हो । यो कसैलाई थन्को लगाउने र थामथुम पार्ने काइदा पनि हो सल्लाहकार पद । केही दिए पनि हुने र नदिए पनि हुने अनि कोही आत्मरतिमा रम्ने स्वभावका मानिसका लागि पनि यो पद सुहाएको देखिन्छ । यसकै हारमा केही मानिसलाई यो पद नै बढी तनावमय पनि भएको छ । न स्तर, न मान मर्यादा, न सोधनी, न औचित्य भएमा केवल सल्लाहकारको ‘ट्याग’ले कतिलाई त हैरान नै पारेको पनि पाइन्छ ।

हो, सल्लाहकार जस्तो जिम्मेवारीको उचाइ बोध हुने पद कतै धरापमा परिरहेको त छैन ? विश्वका सल्लाहकारहरूलाई यो प्रश्न राखेको छु । हाम्रो देशका सल्लाहकार र सल्लाहकार नियुक्त वा चयन गर्ने व्यक्ति र संस्था तथा सरकारलाई पनि यो प्रश्न राखेको छ । आफू सल्लाहकार भएको पदीय व्यक्ति, संस्था वा सरकारले के कस्तो गति र मतिमा काम गरेका छन् ? त्यसको तितो र मिठो परिणामको जिम्मेवारी लिने कि नलिने ? कतिले लिएका छन् ? कतिले यसमा सोचेका छन् ? यसमाथि सल्लाहकारहरूको मत के कस्तो रहेको छ ? यो प्रश्न संसारका सबै तह र तप्काका सल्लाहकार महोदय सामु राखेको छु ।

सल्लाहकारको महत्त्व र औचित्यलाई सिमलको भुवा जस्तो हलुका बनाउने कि आवश्यकताको आधारमा निर्धारण गर्ने भन्ने सवाल उठाउनु यो कलमकारको उद्देश्य हो । यसको उठान किन भयो भने सल्लाहकारको सल्लाहबारे बेखबर हुने क्रम बढ्न थाल्यो । सल्लाहकार एउटा छ, सल्लाह अर्कैको लिने प्रचलन देखिन थाल्यो । बाहिर एउटा सल्लाहकार राख्ने, भित्र अर्कैसित सल्लाह लिएका परिघटना आउन थाल्यो । कतै कतै त सल्लाहकार भन्ने पद यस्तोसम्म भयो कि न कुनै सल्लाह लिनुपर्छ, न दिएको लिएको सल्लाह मान्नुपर्छ । न सल्लाहकारले आफ्नो सल्लाह नलिएमा कतै मुद्दा हाल्न पाउँछ न सल्लाहकारले सही सल्लाह नदिएमा ऊमाथि मुद्दा गर्न पाउँछ । न पारिश्रमिको टुङ्गो छ न समयको सिमाना ।

कतिलाई त आफू कुन संस्थाको सल्लाहकार हो भन्ने पनि थाहा छैन । कति संस्थालाई आफ्ना संस्थाका सल्लाहकारहरू को को छन् भन्ने पनि हेक्का छैन । कतिलाई के सल्लाह दिने पनि ज्ञान छैन । कतिलाई कति मात्रामा कहिले र सन्दर्भमा सल्लाह दिने पनि होश छैन । न होश न बेहोशको सल्लाहकार सभाले मानव समाजलाई कसरी चिरफार गर्ला ? मानव समाजको गतिलाई कसरी सही अवस्थामा ल्याउला ? मानव समाजको परिवर्तनलाई कसरी नेतृत्व गर्ला ? मानव कल्याणको मार्गमा कसरी योगदान पुर्‍याउला ? अर्थविनाको अर्थ जस्तै सल्लाहविनाको सल्लाहकार बन्दै जाने हो भने यो ब्रह्माण्डले सल्लाहकारहरूको लामलाई धानिरहन सक्ला ? यसमा थिति आवश्यक पर्दैन ? कि हामी भइआएका बेथितिलाई नै थितिको रूपमा बुझेर तैँचुप मैँचुपको संस्कृतिलाई नै स्वीकार गर्ने तहमा पुगेका हौँ ? सल्लाहकार आलङ्कारिक त हो नै तर कति मात्राको आलङ्कारिक हो ? उसको कुरोको चुरो रहने या नरहने ? लिने या नलिने ?

यो लेखनी चाहिँ सल्लाहकारको जस्तो सफल सल्लाह दिन योग्य भएन होला । यो त सल्लाहकार सभाभन्दा पनि हल्लाकार सभा जस्तो भयो होला । तर म चाहन्छु- विश्व सल्लाहकार सभाले सल्लाहकारहरूको यकिन अवस्था छानविन गरोस् र यसभित्रका आम रुजु बेरुजु पर्गेलेर यो मानव जगत्लाई सुन्दर पार्ने, देश देशको तनाव कम गर्ने, देशभित्रको, संस्थाभित्रको, व्यक्ति पद विशेषको समस्या समाधान गर्ने, मानिस मानिसको मन मिलाउन सक्ने, भेद र विभेदको विश्लेषण गरेर न्यायको सुनौलो संसार सिर्जन गर्न सक्ने सल्लाहकार आचारिसंहिता वा विश्व सल्लाहकार घोषणापत्र जारी गरोस् ! मन मिल्ने सल्लाहकारहरूका बिचमा यस विषयमा विशेष साउती मारे कसो हो ?

०००
नलाङ, धादिङ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
कुराको छुरा !

कुराको छुरा !

डा.हरिप्रसाद सिलवाल
हावा !

हावा !

डा.हरिप्रसाद सिलवाल
साहित्य होस् त यस्तो पो !

साहित्य होस् त यस्तो...

डा.हरिप्रसाद सिलवाल
थुकपीडा !

थुकपीडा !

डा.हरिप्रसाद सिलवाल
भूतको भिनाजुको ‘भीमसेनपाती’

भूतको भिनाजुको ‘भीमसेनपाती’

डा.हरिप्रसाद सिलवाल
लिच्चड लेखक !

लिच्चड लेखक !

डा.हरिप्रसाद सिलवाल
फेसले देखाएको फुइँ

फेसले देखाएको फुइँ

ठाकुरप्रसाद अधिकारी
आधा घण्टा

आधा घण्टा

भैरव अर्याल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
स्यालको रजाइँ

स्यालको रजाइँ

रामप्रसाद पन्थी