सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

लिच्चड लेखक !

केही लेखकहरू यति लिच्चड हुन्छन्- तिनको बारेमा लेख्दा पनि आफ्नो मनमनसा नै लिच्चड बनेको महसुस हुन्छ । जस्तो म आफै त्यस्तो लेखकको एक उदाहरण बन्ने अवसर र दृष्टान्तबाट पछि किन हटूँ ?

Nepal Telecom ad

लेखकहरू जहिले पनि अरुका बारेमा लेख्छन् । अरुका सद्दे बानीलाई बेस्वादे देख्छन् र खेद्छन् भन्ने जस्ता आरोपपत्रहरू गाइँगुइँ सुनिन्छ । लेखकले धेरै क्षेत्र, नक्षेत्रका मान्छेलाई खराब बानीका खिच्चड बनाएर लेखेको चियो चर्चो सियोभन्दा तिखो गरी श्रवणद्वारमा प्रवेश गरेर मस्तिष्क माझ मडारिएको पाइन्छ । लेखकका यस्ता बानीले कति मानिसलाई लाजले पानी पानी बनाएर मुखै देखाउन नसक्ने गरी भिजाएको छ । यही बानीका कारण केही लेखकहरू अखिच्चड मानिसबाट स्याबासीका साथ तिनीसित रिझाएका छन् ।

कुरामाथि कुराको अक्षर, शब्द, वाक्य र अनुच्छेदहरू थुपार्दै कतिलाई झपार्दै, कतिलाई मुसार्दै, कतिलाई लछार्दै अनि कतिलाई पछार्दै कलम चलाउने कलमधार लेखकहरू आफू चाहिँ कति लिच्चड छन् भन्ने कुराको धुवाँ उडाउन यो लिच्चड लेखक शीर्षक जुराइएको छ ।

हो, लेखकहरू लिच्चड नै भएको कुरामा म पनि सहमत छु । लिच्चडीय लेखकको लर्को आजको लेखाइमा र साक्षी किनारामा बसेर हेर्दाको देखाइमा अवश्य पाइएको छ । यहाँ यही लिच्चड लेखकहरूको वक्रगीत गाइएको छ ।
आज एक लेखकले लेखकमाथि यस्तो धज्जी धुवाँधार लेख लेख्न मिल्छ त ? प्रश्न अवश्य उठाउनेवाला छन् । अरुले उठाउनुअघि आफै प्रश्न उठाएपछि एक कदम अघि सोच्न सकेको अलिच्चड लेखक बनिन्छ कि भन्ने अनुभूति पनि भइरहेको छ ।

अब लिच्चड लेखक र अलिच्चड लेखकको तुलना पनि गर्दै गरौँला । लिच्चड लेख्ने निबन्धकार हैन लिच्चे लेखककार नै भनेर कसैले प्वाक्क भनिहाले भने पनि त्यो आरोप पनि टारौँला । किनभने धर्तीको यो सुन्दर टाकुरामा जन्मेर, हुर्केर, बढेर, कानले सुन्ने भएदेखि, कुराको कपुरी बुझ्ने भएदेखि, मान्छेका मनलाई छाम्ने र तुलमुलहरू कापीमा कोर्ने भएदेखि यस्ता यो क्षितिजमा, यो आकाशमा, कति मानिसमाथि कस्ता कस्ता आरोपका बमबारहरू देखिए, सुनिए र बुझिए । ती आरोप कता गए ? आरोपवाला कता गए ? आरोपित कता गए ? सबै टार्दै र टर्दै गए । सबै लिच्चड दलको लस्करमा दर्ज हुँदै गए । आरोप लाउनेले पनि आरोपितसित फ्याट्टै मितेरी गाँसेर लिच्चडपन देखाएका छन् । आरोपित पनि झन् ठुलो नाक गरेर ठाँटमा ठट्टिएका छन् । सरोकारवाला निकाय पनि लिच्चडपाराको दाह्रा ङिच्च पारेर दिनकटनीको दुनियाँदार जिन्दगी बाँच्न व्यस्त र मस्त छन् । आरोपवालको आरोप सुन्दा लाग्छ- अब यिनको त सात जुनी पनि बोलकबोल हुन्न होला । आरोप लेखेर कतै छापेर घरमा सुत्न आएको लेखकको एक निद्रा पुगेको हुन्न ती आरोप र आरोपितका बिचमा सुमधुर सम्बन्ध गाँठो कस्सिएर नयाँ दुनियाँको कोल्याब्रेसन नै भएको अर्को लेख आइसकेको हुन्छ । मसी नसुक्दै सुक्ने रिसको पराले आगोको जस्तो कति गजबको हल्पा रिस ? एउटा लेखकले दुई पात्र, दुई पार्टी, दुई पक्ष, दुई विपक्ष, दुई ध्रुव, दुई किनाराको बकपत्र लेखेर सम्प्रेषण नहुँदै अर्को लेखकको ती दुईहरूका बिचमा घनिष्ट, वरिष्ठ, बलिष्ठ, ऐतिहासिक, महान्, औचित्ययुक्त र आवश्यकतामय केके केके विशेषण झुन्डाएर अपार मिलन भइसकेको लेख लेख्नुपर्छ । पाठकहरू छक्क पर्छन् । समाचारहरू, लेखहरू, साहित्यहरू छुट्याउन नभ्याएर रन्थनमा पर्छन् । अनि तिनका मनमा आउँदो हो के लेखेको हो यस्तो ? कस्ता लिच्चड लेखक ? जे पनि लेखेको छ ! अक्षर र मसीको सर्वनाश । समयको बर्बादी ! हुने र चाहिने कुरा लेख्नु नि !

लेखक लिच्चड भएको हो कि लेखकलाई प्राप्त लेख्य, देख्य र भाग्य विषयहरू लिच्चडीय भएर हो, लिच्चड लेखनको लामबद्ध प्रकाशन भइरहेका छन् । मानौँ कुनै लेखकलाई उसको लेखको बारेमा कसैलो आलोचना गर्‍यो भने ऊ भनिदिन्छ- यो त सम्पादकले बिगारेछ । सम्पादकलाई झपार्न खोज्यो भने ऊ भनिदिन्छ यो त कम्प्युटर गर्नेले बिगारेछ । कम्प्युटरवालालाई सुनायो भने लेखको लेखाइ नै त्यस्तै थियो । विषयवालालाई सोध्यो भने लेखक लिच्चड, लेखकलाई सोध्यो भने अरु लिच्चड । यो मेरो जीवनको क्षितिजमा भेटिएका लेखनमा भएका गडबडीमा कहीँ न लिच्चडपनाले अचाक्ली सीमा पार गरेको छ । अब कसैलाई दोष नदिईकन दोष दिने हो भने अहिलेको समय नै यस्तो छ । समय नै लिच्चड भयो अब । समय आफै कसरी लिच्चड हुन्छ । समयको कुन इन्द्रिय सक्रिय भएर लिच्चडपन पलाएको हो ? समयको कुन चेतनाले लिच्चडो काम गरेको हो ? मानौँ कि मानिसहरू अहिले समय नै त्यस्तै छ, त्यही भएर कामहरू बनिरहेको छैन ।

देशमा विकास भएको छैन । शान्ति छैन । आनन्द छैन । उन्नति छैन । केही पनि राम्रो छैन । समय खत्तम छ । समयको कुन भागले काम नगरेर यस्तो भएको हो ? उत्तर छ कसैसित ? समयको कुन दिनदशाले काम नगरेर हामी विकृतिको कुकृत्य भोगिरहेका छौँ ? समयको कुन पक्षले गर्दा हामीले गरेका घोषणाहरू कागजमा उडिरहे छन् ? समयको कुन ज्योतिषीय शक्ति भाँचिएर हामीले गरेका बाचाहरू छुच्चा बोली मात्रै बनिरहेका छन् ? समयको कुन विधानमा यस्ता लिच्चड राजनीति, देशनीति, कूटनीति, शासन नीति, अनुशासनहीन नीति, भाषा नीति, संस्कृति नीति, पासपोर्ट बोक्ने नीति, हेप्ने नीति र अनेकानेक व्यवहार, व्यवहारभन्दा पनि दुव्र्यवहारहरू जन्मिरहेका छन् ? समयको कुन तत्त्वले गति छाडेर यहाँ गर्नेलाई नगर्ने बनाइन्छ ? सहीलाई पनि गलत र गलतलाई सही भनेर लेखिन्छ ? दिनलाई रात र रातलाई दिन भनेर लिच्चड लेखनमा होम्ने शक्ति के हो ?

लेखकले लिच्चडपन लेखे पनि देख्नेले त यो लिच्चडीय देखाइ सधैँ देखिरहन र देखिसहन सक्दैन । यहाँ सुन्दरलाई असुन्दर, विरूपलाई रूपवाल, उज्यालोलाई अँध्यारो र अँध्यारोलाई उज्यालो बनाउन लाउने को हो ? ऊ हुनुपर्ने हो लिच्चड । तर लेखक लिच्चड बनेको र बनाइएको छ । दोष जति समयलाई दोषीहरू उम्काउने लेखक नै हो ? कि यस्ता लिच्चड लेखक जन्माउने शक्ति, जसलाई सत्ता पनि भनिन्छ, त्यो हो ? लेखकले लेख्ने विषयको जन्मदाता को हो ? लेखकलाई कुरूप र विरूप बिम्ब थुपार्ने बिम्बदाता को हो ? लेखकलाई उल्टो नै सत्य हो भनेर चारो चटाउने र लिच्डीपन नलेखे डाँडो कटाउने को हो ? के त्यो पनि कोही हैन ? त्यो पनि समय नै हो ? दोषी तोक्न नसक्ने अवस्थामा हामी सबै लिच्चड बन्छौँ र भन्छौँ यो समय नै खत्तम छ । यो बेला नै उस्तो छ । हो, त्यसकारण नै भनिएको हुनुपर्छ- तँलाई हेर् ! मलाई हेर् ! बेला हेर् ! तँ र म गल्ती गर्ने अनि गल्तीका गलफतीको भागिदार बेलालाई दिने । यसलाई आजको सू्रचना, ज्ञान र साहित्य वा जिन्दगीको भाव मानेर लेख्ने लेखकहरू लिच्चड नभए के हुन्छन् त ?

देखेको नलेख्ने र लेखेको नदेख्ने लिच्चडो संस्कार पहिल्यैदेखिको बौद्धिक भ्रान्ति दोष हुँदै हो । देखेर पनि नदेखेको लेख्ने र लेखेको नदेखेर हेर्ने दुवै पक्षको लिच्चडपारा उस्तै हो । हामी सकेसम्म अरुको टाउकामा दोषको दर्शन सुनाउन सक्छौँ । आफ्नोमा गुनको गथासो गुथ्न सक्छौँ । एक बारको जुनीमा दोष दिनभन्दा दोष लिन किन अघि सर्ने ? जस लिनभन्दा दिन किन तम्सिने ?

लिच्चड लेखकीय गति र मतिको कुरा गर्दा उपलिच्चडीय र शाखा लिच्चडीय संसारको लहरो धेरै तानिनेवाला छ । जति धेरै लेख्यो उति धेरै लिच्चडहरूको निद्रा घट्नेवाला छ । निद्रा जति घट्यो उति रोगीहरूको बढिबढाउ सङ्ख्या थपिनेवाला छ । रोगीहरू जति बढ्यो उति अनेकानेक निहुँमा लिच्चडहरूले सही उपचार नगेर लिच्चडीय विधितिर तान्ने र उपचार पद्धतिलाई नै विकृत पार्ने खतरा छ । त्यसकारण ऋणले ताने जस्तै अनि धनले ताने जस्तै रिसले रिस ताने जस्तै मायाले माया र घृणाले घृणा ताने जस्तै लेखकले लेखक र नेताले नेता ताने जस्तै लिच्चडले लिच्चड तान्ने सम्भावनाको भावना पलाउन थाल्छ ।

केही लेखकहरू यति लिच्चड हुन्छन्- तिनको बारेमा लेख्दा पनि आफ्नो मनमनसा नै लिच्चड बनेको महसुस हुन्छ । जस्तो म आफै त्यस्तो लेखकको एक उदाहरण बन्ने अवसर र दृष्टान्तबाट पछि किन हटूँ ? राम्रो कामको सुरुआत आफैबाट गर्नुपर्छ भन्ने सन्देशले मलाई यो हुटहुटी दिएको हो । लिच्चड लेखनको बयान गर्ने काम नै आजको समयको राम्रो काम हो । सबैबाट सिकेको कुरा, आफूले गरेको कुरा राम्रो हुने रैछ । सबैले आआफ्ना कामलाई राम्रै मानेका छन् । कोही पनि पछि हटेका छैनन् । आफ्नो कामको बचाउमा बरु जीवन दाउमा परोस्, इज्जत जुत्ताको तलुवा चाटियोस् । आफ्नो सैद्धान्तिक अडान धुलोमा मिलोस् । आफ्नो विरासतीय इतिहास धुलीसार बनोस्, दुनियाँले कोशीको भेलभन्दा धेरै लिटर आँसुका भेल बगाऊन्, आफ्नै कुरा ठिक भन्न, आफ्नै काम सही भन्न, आफ्नै वाद ठुलो ठान्न, आफ्नै झन्डा सुन्दर देख्न, आफ्नै गाँस मिठो पार्न जस्ता चट्टानी क्रान्तिबाट को पछि हटेको छ र ?

हो म पनि लेखकीय लिच्चडवादको बचाउमा लाग्दा मैले तिनै महान् लिच्चडहरूलाई श्रेय दिन बिर्सनु हुन्छ र ? लिच्चडको नेता लिच्चड नै हुनु पनि त प्रँकृेतिक स्वभाव हो नि । जसरी डाँकालाई डाँकाले जोगाउँछ र जोगाएका उदाहरणहरू दिनु पर्छ र ? जसरी छेपाराहरूलाई छेपाराहरूले नै छेकेका छन् । के ती छेपाराको चेपारा रङको रौनक चित्र देखाउनु् पर्छ र ? जसरी सर्पले सर्पको खुट्टा देखे जस्तै भ्रष्टले भ्रष्टको दुःख देखेर दया राख्नु अनौठो हो र ? बलात्कारीले बलात्कार विरोधी कानुनमाथि नै बलात्कार गर्दा अब अनौठो लाग्ला र ? तस्करले तस्कर संघको नेता बनेकोमा पनि के आपत्ति गर्नु ? बरु देवता हुँ भन्नेले तस्करको गोडामा शिर स्पर्श गरेको फोटो पाए पो मजा लाग्दो हो दुनियाँलाई । अनि नक्कली देवताले सक्कली देवताबाट तर्से जस्तै नक्कली लेखक सक्कली लेखकबाट तर्सन्छ त उसको लिच्चडको व्याख्या किन गर्नू ? सिस्नु सिस्नु संघ, पाती पाती संघ, झुसे झुसे संघ, रायो रायो संघ, चिलाउने चिलाउने संघ, ऐँजेरु ऐँजेरु संघ तथा च्याउच्याउ संघ खोलेकोमा लिच्चडपन भनेर लेख्ने लेखक आफै लिच्चड लेखक बन्छन् है ।

कति लेखकहरू यति लिच्चड हुन्छन्- सम्पादकलाई हैरान पार्छन् ।

ती लिच्चड लेखकका केही विशेषताहरू छन् ।
सम्पादकले सोध्छन्- के लेख्न सक्छौ ?
लेखक भन्छन्- जे पनि लेख्न सकिन्छ ।
कुन लेखकको लेखाइ राम्रो छ ?
मेरो लेखाइ राम्रो र अरु सबै झुर छ ।
लेख्ने विषय केके छन् ?
मलाई जेजे मन लाग्छ त्यही त्यही ।
लेख मन नपराउनेलाई के भन्नुपर्छ ?
मेरो लेख मन नपराउने मूर्ख हुन् ।
बुद्धिमान् को हो ? अहिले ?
सबैभन्दा ठुलो बुद्धिमान् मै हुँ ।
यस्तो प्रवृत्ति कसरी आयो ?
यो आजको समयले सिकाएको ।
आजको समयको वास्तविकता के हो ?
त्यो लेख्न सकिन्छ र ?

हो, यहीँबाट लिच्चडपन आरम्भ हुन्छ । वास्तविकता लेख्न नसकिने, वास्तविकता सहन नहुने ? वास्तविकता गर्न नपर्ने ? वास्तविकतालाई पचाउन नसक्ने ? वास्तविकता बोल्न नहुने ? वास्तविकता जति सबै मारेर अरु अरु कुराहरू जन्माउनु पर्ने । अरुअरु कुराको खेती मौलाउनु पर्ने ? लहै लहैको लहैवादमा लस्सिँदै लेख्नु पर्ने । अनि लिच्चड लेखक नबनेर के बनिन्छ त ? जे पनि लेख्छ भन्ने अनि एउटा पनि लेख्न नसक्ने, सम्पादकलाई वषौँ कु्राउने तर सही लेखन नफुराउने, सम्पादकलाई कमा, विराम पनि नचलाईकन लेख छाप्न आदेश जारी गर्ने र पाठकले पढेपछि सम्पादकको हुर्मत लिने, लेख बिग्रे सम्पादकको टाउको ताक्ने, प्रशंसा आए आफ्नो भाग्यको र कुशलताको परिणाम मान्ने आदि कति कति लेखकीय लिच्चडोपनको कुरो गरेर सकिने छैन ।

लेखकलाई कसैले लिच्चड बनायो वा लेखकले अरुलाई लिच्चड देख्यो ? यो पनि अण्डा पहिला कि कुखुरा पहिला भने जस्तै एक दिन अन्तराष्ट्रिय वादविवाद गराउनु पर्ला । सो वावविाद प्रतियोगितामा आजसम्मका लिच्चड लिच्चड भाषण, शासन र रासन वितरणका महान् जति सबैलाई प्रमुख अतिथि बनाएर भव्य कार्यक्रम चलाउनु पर्ला र अन्तराष्ट्रिय रूपमा लिच्चड घोषणापत्र जारी गर्नुपर्ला र सबै छिनोफानो गर्नु पर्ला । सबै वैधानिक अधिकारको मुख्य जिम्मेवारी वादविवाद विभागलाई सुम्पेपछि मैले आजलाई लिच्चड लेखकको लेखन अन्त गर्नुपर्छ । लिच्चड लेखनको कलम बन्द गर्नुपर्छ ! लिच्चडपनमा मन्दी ल्याएर उच्चपनको खोजीमा लाग्नुपर्छ !

धादिङ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
कुराको छुरा !

कुराको छुरा !

डा.हरिप्रसाद सिलवाल
हावा !

हावा !

डा.हरिप्रसाद सिलवाल
सल्लाहकारको साउती !

सल्लाहकारको साउती !

डा.हरिप्रसाद सिलवाल
साहित्य होस् त यस्तो पो !

साहित्य होस् त यस्तो...

डा.हरिप्रसाद सिलवाल
थुकपीडा !

थुकपीडा !

डा.हरिप्रसाद सिलवाल
भूतको भिनाजुको ‘भीमसेनपाती’

भूतको भिनाजुको ‘भीमसेनपाती’

डा.हरिप्रसाद सिलवाल
फेसले देखाएको फुइँ

फेसले देखाएको फुइँ

ठाकुरप्रसाद अधिकारी
आधा घण्टा

आधा घण्टा

भैरव अर्याल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
स्यालको रजाइँ

स्यालको रजाइँ

रामप्रसाद पन्थी