चन्द्र गुरूङजब एउटा मान्छे हराउँछ
मनभरिको व्यथा लेख्ने अक्षर हराउँछ कथाको एउटा पात्र हराउँछ हराउँछन् धड्कन व्यक्त गर्ने शब्दहरू जब एउटा मान्छे हराउँछ ।
एउटा घाम हराउँछ
त्यो घाम झुन्डिने आकाश हराउँछ
आकाशको बादल ओढेर उभिएको पहाड हराउँछ
पहाडलाई भेट्न आउने जून हराउँछ
हराउँछन् रातमा जून नदेख्दा ताराहरू
जब एउटा मान्छे हराउँछ ।
एउटा आँगन हराउँछ
त्यहीँ टेक्दै आउने खुट्टाहरू हराउँछन्
ती खुट्टाका आहट पर्खिबसेको ढोका हराउँछ
आँखाहरू देखादेख हुने झ्याल हराउँछ
हराउँछ एउटा घर
हराउँछ एउटा परिवारको सुगन्ध
जब एउटा मान्छे हराउँछ ।
दैनिकीको सुरताल हराउँछ
आँसु थाप्ने हातको स्पर्श हराउँछ
समयको रूपरङ्ग हराउँछ
चराचुरुङ्गीको मधुर चिरबिर हराउँछ
हराउँछ मनको भित्ताबाट खुसियालीको चित्र
जब एउटा मान्छे हराउँछ ।
एउटा छहरा हराउँछ
त्यो छहराले भेट्न जाने समुद्र हराउँछ
समुद्रसित एकान्तमा बात मार्ने बैँसालु रात हराउँछ
रातसित हात मिलाएर गएको दिन हराउँछ
हराउँछ दिनले उज्यालो पार्ने सुन्दर संसार
जब एउटा मान्छे हराउँछ ।
गीतको लय हराउँछ
शीतको बिम्बले पातमाथि कोर्ने कविता हराउँछ
मनभरिको व्यथा लेख्ने अक्षर हराउँछ
कथाको एउटा पात्र हराउँछ
हराउँछन् धड्कन व्यक्त गर्ने शब्दहरू
जब एउटा मान्छे हराउँछ ।
त्यही मुखाकृतिलाई आँखाभरि सम्हाल्दै बस्ने
आमाको आशीर्वाद हराउँछ
भत्किएको घरको डिलमा झोक्रिरहेको
बूढो बाको भरोसा हराउँछ
एउटा सिउँदोलाई बेर्ने न्यानो अँगालो हराउँछ
हराउँछ गालामा बस्न आउने चुम्बनको पुतली
जब एउटा मान्छे हराउँछ ।
उदासीमा जुन किनारमा उभिने गथ्र्यौं
हो, त्यो नदी हराउँछ
साथ उक्लने देउराली हराउँछ
बाटोको छातीबाट पदचिह्नहरू हराउँछन्
आपत्मा आश्वस्त पार्ने स्वर हराउँछ
हराउँछ सिँगो पृथ्वी
जब एउटा मान्छे हराउँछ !
धरान
Subscribe
Login
0 Comments
Oldest








































