निक्कै जाडो छ !
पाइपमा हिउँझैँ ठिहिरिँदै छ हृदयमा आक्रोश अडिएको छ समय निस्तेज । यस जाडोमा एउटा तानाशाहका निरङ्कुश ओठमा फुलिरहेको छ कुटिल मुस्कान ।
निक्कै जाडो छ
माइनस डिग्रीमा चिसिएका छन् सब ।
जुलुस हिँड्ने खुट्टा जुत्ताभित्रै निदाएका छन्
विरोधमा उठ्ने हात खल्तीमा घुस्रिएका छन्
छोपिएका छन् मफलरले
नारा चिच्याउनुपर्ने मुख ।
निक्कै जाडो छ
मस्तिष्कको न्युरोन गल्लीमा सिरेटो चलेको छ
मनको पोखरीमा विचारको प्रवाह थुनिएको छ
मुटुभरि विश्वास कठ्यांग्रिएको छ
थला परेका छन्
उमङ्ग, जोश र जाँगर ।
असाध्यै जाडो छ
जाडोले थुनिएको छ चेतनाको कान
जाडोले डम्म ढाकिदिएको छ विवेकको आँखा
जाडोमा मौन छ शब्दको खलबल ।
अन्योलको हुस्सु व्यप्त छ सबथोकमाथि
निष्क्रियताको हिउँमा पुरिएको छ मनको प्रदेश
उजाड उभिएका छन् आशाका बोटहरू
शान्त छ प्रतिरोधको स्वर ।
निक्कै जाडो छ
झोक्रिएको छ रिसको आवेग
धारामा पानीझैँ चिसो बग्दैछ रगत नसा-नसामा
पाइपमा हिउँझैँ ठिहिरिँदै छ हृदयमा आक्रोश
अडिएको छ समय निस्तेज ।
यस जाडोमा
एउटा तानाशाहका निरङ्कुश ओठमा
फुलिरहेको छ कुटिल मुस्कान ।
०००
गोरखा, हाल धरान