साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ट्वाकसिङ

डुड़े सर श्रेणी कोठाबाट निस्केपछि ‘ट्वाकसिङ’ पीडि़त मेरा प्रिय सहपाठी दिलिप आफू बसेको ठाउँबाट जुरुक्कै उठ्थे अनि़ कराउँथे- यो टाउको कसको ?

Nepal Telecom ad

‘ट्वाकसिङ’ के हो ?
कस्तो हुन्छ ?
कहाँबाट ‘ट्वाकसिङ’ शब्दको उत्पत्ति भयो ? यसबारेमा कसैलाई थाहा छैन । यद्यपि यो ‘ट्वाकसिङ’ शब्द न ता नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान नेपाली वृहत् शब्दकोशमा परेको छ, न वसन्तकुमार शर्मा नेपालको नेपाली शब्दसागर र महानन्द सापकोटाको नेपाली शब्द परिचयमा परेको छ, न ता डा. पारसमणि प्रधानको शब्दकोशमै परेको छ ।

यो ‘ट्वाकसिङ’ शब्दले कुनै पनि नेपाली शब्दकोशमा ठाउँ नपाए पनि दार्जिलिङ भेकमा भने यो ‘ट्वाकसिङ’ शब्दले प्रायः सबैको जिब्रामा वास पाएको देखिन्छ । बोलचालको भाषामा यो शब्दलाई धेर प्रयोग गरेको पाइन्छ ।

देब्रे वा दाहिने हातका चोर औँलो र बिच औँलोलाई ढ्याङ्ग्रो बजाउने गजोजस्तो सामान्य बङ्ग्याएर कसैको टाउकामाथि बर्साउनुलाई नै ‘ट्वाकसिङ’ भनिन्छ । दार्जिलिङे कथ्य भाषामा ‘ट्वाकसिङ’को अर्थ धेर रक्सी पिउने ‘रक्स्याहा’-को अर्थमा प्रयोग गरेको पाइन्छ । दार्जिलिङतिरका कुनै पनि रक्सी पसलमा सुटुक्कैपसी एक ट्वाक स्वाट्टै पारेर फुत्तै निस्कने ‘ट्वाकसिङ’ महोदयमाथि व्यङ्ग्य लेख्ने नगरी अटेरी बदमाश विद्यार्थीहरूका टाउकामाथि बर्साइनेबारे मेरा प्रिय पाठकवर्गलाई जनाउने धृष्टता गरेको छु ।

तपाईंहरूले ‘ट्वाकसिङ’ चाख्नु भएको छ कि छैन कोनि ? तर मैले चाहिँ ‘ट्वाकसिङ’ ‘ट्वाकसिङ’ चाखेको छु । जँड़्याहाले पैसा तिरेर फिप्सिङ्ले चुसेको छ भने मैले चाहिँ काम बिगार्दा, अटेरी गर्दा बुवा कि ता मुमाको अनि स्कूलमा भने सर-गुरुआमाको ‘ट्वाकसिङ’ चाखेको छु ।

एउटा समय थियो । सरहरू विद्यार्थीहरूलाई डस्टरको झटारो हान्थे । विद्यार्थीहरूका टाउकामा डस्टर बजार्थे । मुमाले छोरा वा छोरीहरूका टाउकामा डाड़ु बजार्थिन् । डाड़ु कुच्चिन्थ्यो, टाउका जस्ताको तस्तै । अचेल डाड़ू र डस्टरको ठाउँमा ‘ट्वाकसिङ’ वर्षिन थालेको देखिन्छ । किनभने अचेलका टाउकाहरू साह्रै डेलिकेट । डस्टरको ‘ट्वाक’ र डाड़ुको ‘ढ्वाक’ले हेड इञ्जुरी हुने डर । ‘ट्वाकसिङ’-को ‘टव्वसिङ’ ‘ट्वाक’-मा न हेड इञ्जुरीको डर न ता औँलो कुच्चिने डर । यसैले ता घरको काम नल्याउँदा पनि टाउकोमा सर-गुरुआमाको ‘ट्वाकसिङ’ बर्सेकै छ, श्रेणीमा हल्ला गर्दा पनि ‘ट्वाकसिङ’, पाठ कण्ठस्थ सुनाउन नसक्दा पनि ‘ट्वाकसिङ’ ।

एक ‘ट्वाकसिङ’ भेट्यो कि यस्तो चिलाउँछ अम्मुई खै के भन्नु र ? सरहरूले मात्र ‘ट्वाकसिङ’ प्रयोग गरेर विद्यार्थीहरूका टाउकामाथि बर्साउनु पाउऩे कुनै त्यस्तो जबरजस्तीको कानून मैले देखेको छैन न ता सुनेको नै छु । यो कसैको पेवा होइन ़। तपाईं हामी सबैले जहिल्यै पनि इच्छानुसारले ‘ट्वाकसिङ’ प्रयोग गर्न सक्छौं । ‘ट्वाकसिङ’ प्रयोग गर्न कुनै सूत्र न ता कण्ठस्थ गर्न पर्छ न ता कुनै तालिम वा अभ्यास नै लिनुपर्छ ।

कराँटे र कम्फूमाजस्तो विभिन्न पोज लिइरहनु पर्दैन । ‘आफ्नो हात जगन्नाथ’ भने झैं ‘ट्वाकसिङ’ हरहमेशा तपाईसित रहन्छ । बस जब ‘ट्वाकसिङ’-को आवश्यकता पऱ्यो त्यति नै बेला दाहिने हातका जेठी र माइँली औंलो बङ्ग्याएर टाउकामाथि स्कूलमा पिरियड अफको घण्टी चौकीदारले ठोकेजस्तै ठोक्नुहोस् कसैको टाउकामा । एक ‘ट्वाकसिङ’-मै भारी पुग्छ । दुई-दुई खेप थप्नै पर्दैन ।

‘ट्वाकसिङ’ बनाउन कुनै स्टिल कम्पनी वा फर्निचर मार्टतिर सम्पर्क राख्नै पर्दैन । यो प्रयोग गर्न कुनै सरकारी प्रमाण पत्रको आवश्यकता पनि पर्दैन । ग्रह मिल्न पऱ्यो । काम बिगाऱ्यो कि ‘ट्वाकसिङ’ स्वतः काम बिर्गानेको ‘ट्वाकसिङ’ टाउकामाथि बर्सिन पुगिहाल्छ ।

प्राथमिक पाठशालामा पढ़्दा डुड़े सरको ‘ट्वाकसिङ’-ले हामीलाई प्रतिदिन लिङ्लिङ् पाथ्र्यो । बात बातमै ‘ट्वाकसिङ’ बर्साउँथे उनी । हाम्रो टाउकामाथि ‘ट्वाकसिङ’ बर्साउने उनको स्टाइल वा शैली आफ्नै पाराको थियो । दुईटै हात पछिल्तिर राख्न लाएपछि उनी हाम्रो टाउकामाथि म्याराथन ‘ट्वाकसिङ’ बर्साउँथे । हात फुकालेर सरको ‘ट्वाकसिङ’ प्रहार रोक्ने प्रयास गऱ्यो कि सर्वनाश । स्कूलका पिउनले ठोक्ने निर्जीव पित्तलको घण्टीजस्तो प्रहार.. अरट्ठै परेर सहनुपथ्र्यो । झाँक्रीले चलाएका अग्निवाण, बोक्सीवाण, ज्वालावाणभन्दा पनि डुड़े सरको ‘ट्वाक्सिङवाण खतरा हुन्थ्यो । मेरा सहपाठी दिलिप प्रधान श्रेणीमा अन्य सहपाठीभन्दा धेर उपध्रयाहा थिए । उनले सरको ‘ट्वाकसिङ’ नखाएका कुनै दिन थिएन । सरको ‘ट्वाकसिङ’ खाएपछि निगुरमुण्टो लाएर आफ्नो ठाउँमा थपक्कै बसेका दृश्य सुठी नै टिठलाग्दो देखिन्थ्यो । डुड़े सर श्रेणी कोठाबाट निस्केपछि ‘ट्वाकसिङ’ पीडि़त मेरा प्रिय सहपाठी दिलिप आफू बसेको ठाउँबाट जुरुक्कै उठ्थे अनि़ कराउँथे-
यो टाउको कसको ?
समवेत् स्वरमा हामी सहपाठी कराउँथ्यौं- दिलिपको…।
उनी भन्थे- डुड़े सरको ट्वाकसिङको ।

एकदिन ता दिलिपले एउटा कविता लेखी ल्याएछन् । कविता पढ़्न थाले-
कविताको शीर्षक थियो ड़ुड़े सरको ट्वाकसिङ । कविता यस्तो थियो-
‘कति राम्रो शहर हाम्रो दार्जिलिङ
डु़ड़े सरको ट्वाकसिङले पार्छ सबैलाई लिङ्लिङ़्
डुड़े सरको ट्वाकसिङ वर्षिदा हुन्छ आङ् जिरिङजिरिङ
जय डुड़े सर…जय होस् तिम्रो ट्वाकसिङ ।

म आफू पनि शिक्षक भइदिएकाले मेरा विद्यार्थीहरूका टाउकामाथि डुड़े सरकै बिँड़ो थामेर ट्वाकसिङ बर्षाउन थालेको छु । हेनतेन नभनी लाजै पचाएर भनुँ भने, डुड़े सरकै काटाकुटी देखासिकी गरेर ट्वाकसिङ वर्षाउन थालेको छु । त्यतिमात्र होइन, हामी सबै शिक्षक-शिक्षिका मिली ‘टिचर्स ट्वाकसिङ एसोसिएन’ नामक संस्था प्रतिष्ठासमेत गरेका छौं । महासचिव पद मेरै भाग्यमा जुरेको छ । यो संस्था प्रतिष्ठा भएदेखि अहिल्यैसम्मै मेरो पद सचिवको सचिवमै छ । वर्षौंदिनको हिसाब-किताब भएको छैन । बाह्र बत्तीसको ट्वाकसिङ वर्षाएर टारेको टारेकै छु ।

घरमा कहिले बुवाको, कहिले मुमाको, स्कूलमा सर-गुरुआमाको ट्वाकसिङ खाँदा खाँदा थेत्तर भइसकेको मान्छे म । अहिले शिक्षकवृत्ति वहन गरेर विद्यार्थीहरूलाई ट्वाकसिङ वर्षाएर आफूले खाएको ट्वाकसिङको साउँ-सूदसमेत सुलाउनु पाएकोमा गर्वबोध गरिरहेछु । तर राजनीतिको अदेख ट्वाकसिङ हाम्रा निमुखा छलकपटविहीन सन्तानमाथि वर्षेको देख्दा बिलखवन्द परिरहेको छु । हाम्रा राजनैतिक नेताहरू एकार्कामा हिलो छेपाइको ट्वाकसिङ हान्नमै व्यस्त र मस्त छन् । ढाँट आश्वासनको ट्वाकसिङले हाम्रो समात्ने हाँगा र टेक्ने ठाउँको तालुमा टुटुल्को उठेर सर्वनाश पारेको छ ।

राजनीतिको ट्वाकसिङले बिल्लीबाठ परेका ट्वाकसिङ पीडि़त जनता-जनार्दनको अभागी टाउका जोगाउन गतिलो हेलमेट खोज्न तल्लीन छु हिजोआज । हाम्रा राजनीतिविद्हरू यति खप्पीस र सिपालु छन् फलामकै हेलमेट दुला पर्ने गरी ट्वाकसिङ हान्छन् । यी नैताहरूको ट्वाकसिङ खाँदा-खाँदा ट्वाकसिङ पीडि़त जनता-जनार्दनका गिदी खल्बलिएको दिन चाहिँ जनता-जनार्दनले पानीखेदो गरी ट्वाकसिङ वर्षाउन जुर्मुराउँदा ट्वाकसिङ हान्ने खप्पीस जण्डा नेताहरूले टाउको लुकाउने जोगाउने फुर्सद पाउने छैनन् । किनभने यी नेता ट्वाकसिङभन्दा जनता ट्वाकसिङ साह्रै विषालु घातक हुन्छ । नेपालको जनता ट्वाकसिङले राजतन्त्रको टुटुल्को उठेको देख्नुभएन ?
“सुनारेको सय चोट
लोहारेको एकै चोट ।”

०००
सिलिगुड़ी (भारत)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
नबोल्ने वरदान

नबोल्ने वरदान

कृष्ण प्रधान
खोचे थाप्नु

खोचे थाप्नु

कृष्ण प्रधान
…छँदैछु नि !

…छँदैछु नि !

कृष्ण प्रधान
माथि…

माथि…

कृष्ण प्रधान
नयाँ फास्ट फुड

नयाँ फास्ट फुड

कृष्ण प्रधान
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x