साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आँखाको भाखा

नत्र ता धृतराष्ट्र बनिसकेको हाम्रो सुन्दर समाज फोहर राजनीतिको लहैलहैमा लागेर महाधृतराष्ट्रमा परिणत हुने निश्चित छ । अब सम्झनाेस्, धृतराराष्ट्रका आँखाकाे भाका कस्ताे थियाे ?

Nepal Telecom ad

मैले मात्र होइन संसारका बाल-वृद्ध-वनिता सम्पूर्णले ईश्वरलाई भुरीभुरी धन्यवाद दिनैपर्छ, ईश्वरप्रति कृतज्ञता प्रकट गर्नैपर्छ । कारण यिनै ईश्वरले बड़ो योजनबद्ध र वैज्ञानिक तरिकाले आँखालाई उचित र सठिक स्थानमा राखिदिएका छन् । निधारमुन्तिर र दुई गालाका मास्तिर आँखाले ठाउँ पाएको छ । एक जोड़ी आँखा- युगल नयन । तर कथङ्कल यी आँखा निधारमाथि वा दुई गालामाथि कि चाहिँ च्यापूमाथि, कि चाहिँ नाकको डिलमा टाँसिदिएका भए ? गज्जब मात्र होइन हजूर अज्जब हुने थियो… अज्जब । दुईवटा कान, दुईवटा आँखा- ईश्वरको कारीगरी दक्षता र सिपलाई स्वागत गर्नैपर्छ । एउटै मात्र आँखा छाती माझमा वा घुच्चुककै पछिल्तिर लट्ठक्कै बनाइदिएको हुँदो हो ता… । आँखाकै देखासिकीमा दुईवटा नाक खापै-खाप भएर थपक्-थपक् बसिदिएका भए ? सर्वनाश नभए पनि कुकुरको ‘सिक्स सेन्स फ्लप’ पार्ने एडिशनल सेन्स थपिने थियो अवश्यै पनि । तर एउटै नाकले कति सुहाएको छ तपाई-हामीलाई । ओरिजिनल नाकमाथि एकस्ट्रा नाक खाप लागेर बसिदिएको भए एकाबिहानै मुख धोएर ऐना नहेर्दा पनि हुन्थ्यो । ईश्वरले जे गर्छन् राम्रै गर्छन् । धन्य छ महामहिम ईश्वरप्रति ।

ठिक ठाउँमा आसन जमाएर बसेका आँखालाई शरीरका अन्य अङ्गहरूमध्ये भीआईपी अङ्ग मान्नुपर्छ । यसैले यसको सुरक्षाको निम्ति परेली, आँखा भौं, पलक तैनात हुन्छन् । आँखा कोमल हुन्छ । ज्वालामुखी पनि । आँखा गोलाकार हुन्छ, लाम्चिलो पनि । यसैकारण आँखालाई कमलनयन, मृगनयन भनिन्छ । तर पुरुषहरूको आँखालाई कमलनयन, मृगनयन भन्नु मिल्दैन । रावणका आँखालाई राउडिज नयनकै संज्ञा दिनुपर्छ । तर रावणको आँखा राउडिज नयन भए पनि उनको आँखाभित्र प्रचण्ड ज्ञान र विद्वता छचल्किएको देख्न सकिन्छ । रावणको आँखालाई मात्रै रामले चिनेका थिए । विद्वान आँखा, अथाह ज्ञानको सागर । सीताको मृगनयनमा लट्ठ परेर रावणले लङ्का खरानी बनाए । शकुन्तलाको कमल नयनले दुष्यतन्तलाई, लैलाको गोलाकार आँखाले मजनूलाई, बैजुकै लाम्चिलो आँखाले बावरालाई, हीरको बान्किलो आँखाले राँझालाई धराशायी बनाएको इतिहास साक्षी छ । शकुन्तलाको नेत्रवाणले दुष्यन्तजस्ता तपस्वीले ता घुँड़ा टेकेका छन् भने हामी आधुनिक शकुन्तलाका नेत्रवाणले कति ठहरै होलान् सोबारे नबखानेकै उत्तम होला ।

आँखाले सुन्दरता बोकेको हुन्छ । मदिराको प्याला छचल्किए झैं तरुणीहरूका आँखाको कचौरामा यौवनको मृगतृष्णा छचल्किरहेको ता प्रत्येक पुरुषहरूले छड़्के आँखाले हेरेकै होलान् । आँखा कालो होस् कि नीलो, चिम्से होस् बलढ्याङ्ग्रो खालको, तन्केको होस् कि खुम्चेको…आँखाको आफ्नै भाखा हुन्छ… भाषा हुन्छ । यो भाखा वा भाषा आँखावालले मात्रै बुझेका हुन्छन् । हामीजस्ता तरुणीहरूको छड़्के हेराइमा प्रणयवाण बर्सिएको हुन्छ भने प्रणय भाखामा आँखा तरेको हेरुँ हेरुँ लाग्छ तर मधेस तराईको गर्मीमा रिक्सा तान्नेहरूले हामीजस्तो मोटी तरुणीलाई देख्दा भाड़ामा बोक्नुपर्छ भनी आँखा तरेको दृश्य हेरिनसक्नु हुन्छ ।

झर्झराउँदो यौवनकालमा प्रेमी-प्रेमिकाहरू एकार्का आँखा ओछ्याउँछन्… आँखामै बात मार्छन्…आँखा-आँखामै बोल्छन्… रिसाउँछन् आँखैमा- ठुस्किन्छन् पनि आँखैमा । आँखै-आँखामा प्रणयको बामे सराइ आरम्भ हुन्छ । प्रणयकालमा प्रेयसीको आँखा रसिलो हुन्छ । उसको छड़्के नजर होस् कि कर्के नजर…वा उसले आँखा तरोस् कि आँखा फुकालेर हेरोस् वा सोझो आँखाले हेरोस् कि टेँढ़ो आँखाले हेरोस्… प्रणयकालमा सबै न्यानो लाग्छ… निको लाग्छ । रोमाण्टिक लाग्छ । आँखा-आँखा जुझेर दुइ मुटु एउटै हुन्छ । दुई मुटुको योगले दुई आँखा चार हुन्छन् । यही चार आँखाहरूको सङ्गमले घरबार बनिन्छ । यो घरबारको पर्खालभित्र आँखाहरू बन्दी भएपछि बान्की परेका आँखाहरू थन्को लाग्छन् । कमलनयन क्याक्टसनयनमा परिणत हुन्छ । गाजलु आँखा झगड़ालु हुन्छ ।

विवाहित जीवनको संसदमा रुमलिएपछि प्रणयजीवनमा छचल्किने, छिल्लिने, उफ्रीपाफ्री गर्ने चार आँखाहरू विद्रोह बन्छन् एकाअर्कामा । संसदमा सांसदहरूको लाप्पा परेझैं नै सामान्य कुरामा पनि यी आँखावालहरू कुटाकुट गर्छन् । कारण यसबेलासम्म यी काला, नीला आँखाहरू छिप्पिएर आँखा लगाउऩे तालिम पाइसकेका हुन्छन् । नबुझी नसोंची आँखा लगायो कि घरमा महाभारत मच्चिन्छ ।

मन पापी हुन्छ… आँखा लोभी । लोभी आँखाले सूरदासलाई बिगाऱ्यो । सूरदासको लोभी आँखाले उऩकी श्रीमती समेतलाई देखिसहेन । तिनको लोभी आँखाले आफ्नै शिष्यकी श्रीमतीलाई पनि छोड़ेन । हद्दै भएपछि पश्चातापको आगोमा भुटभुटिएर सुइराले आफ्ना दुईवटै आँखा फोरे । आँखामा दया-माया-ममता- हुन्छ भने लोभ-ईर्ष्या-द्वेष-रिस-राग पनि आँखामै हुन्छ । हिजोआज प्रत्येक मानिसका आँखामा लोभ, त्रास, रिस, विद्रोह, डाह र पाप तैँछाड़्-मैँछाड़् गरिरहेका हुन्छन् । न तपाई न म । ठूला बड़ाहरूलाई आदर सत्कार गर्ने आँखाहरू सबै हिजोआज भूइँफुट्टे भइसकेका छन् । प्रत्येक आँखाले घृणा बोकेर हिँड़्नु थालेको छ । हिजोआजका आँखाहरूलाई ता राजनीतिले घाइते बनाएको छ ।

खासमा आँखा दुई प्रकारका हुन्छन्- वाह्य आँखा र भित्री आँखा । वाह्य आँखा ‘चर्मचक्षु’ हो भने भित्री आँखा ‘आत्मिकचक्षु वा आत्मिकनेत्र ।’ हाम्रो लोभी आँखा भने वाह्य आँखाहरू हुन् । भित्री आँखा ता सबैले चिम्लेर बसेका छन् यहाँ । सूरदासले आफ्ना दुवै वाह्य आँखा सूइराले फोरेपछि तिनका भित्री आँखाहरू खोलिएका थिए । आँखालाई आत्मिक झ्याल पनि भनिन्छ । उनको भित्री आँखाको आत्माको झ्याल खोलिएपछि सूरदास कृष्णभक्त बनेका थिए ।

हाम्रो राजनीति बाँदरको पुच्छरजस्तो लौरो न हतियार भएको कारण यसको वाह्य आँखा मात्र सजग भएर हो । यसको भित्री आँखा ता कुम्भकणर्जस्तै भएर सुतेको सुत्यै छ । त्यति मात्र पनि होइन हाम्रा राजनीतिवालहरूका वाह्य आँखाहरू रमिता, हानथाप, तानातान, लुछाचुँड़ी र कलिला कलिला ठिटीहरू ताक्नमै व्यस्त देखिन्छन् भने तिनीहरूका भित्री आँखाका झ्याल बन्दको बन्दै छ र जति उफ्रिए पनि, जतिनै ठूल्ठूला कुरा हाँके पनि हामी जहीँका तहीँ नै बिजुली खाँबोको जीवन बिताइरहेका छौं । हाम्रा नेताहरू उफ्रिन्छन्-उफ्रिन्छ, मच्चिन्छन् मच्चिन्छन् अन्त्यमा आफै थच्चिन्छन् ।

यसकारण आँखा झिम्काउनुहोस् कि आँखा ओछ्याउनुहोस् । आँखा फुकालेर हेर्नोस् कि टिठ्याएर हेर्नोस् तर जबसम्म हाम्रा राजनीति गर्ने नेताहरूले निज-निज भित्री आँखा खोल्दैनन् त्यतिञ्जेल भीरको चिण्डो झैं उँधो न उँभो भएर बसिरहेका हुन्छन् ।

आइमाईहरूका आँखा घुच्चुकमा हुन्छ भनिन्छ । यो व्यर्थको कुरा हो । टाठाबाठा र हाम्रा नेताहरूका आँखा पो घुच्चुकमा हुन्छ भन्ने मेरो दाबी छ । तपाई र मेरा आँखा पनि घुच्च्कुमै छ भन्ने मेरो अर्को दाबी । हाम्रा आँखाहरू वा नेताहरूका आँखाहरू आज घुच्चुकमा नहुँदा हुन् ता आज तपाईं हाम्रोे समाज, हाम्रो व्यवस्था लाटाको धोतीजस्तो हुने थिएऩ पक्कै पनि ।

घुच्चुकमै टाँसेर बसेको यो समाजको आँखालाई अब अघिल्तिर ल्याउनुपर्ने समय आएको छ भने कुम्भकणर्े स्टाइलमा निदाएको राजनीतिक आँखालाई पनि झक्झकाएर टेक्ने ठाउँ र समात्ने हाँगा नपाएर बिल्लीबाठ परेका अभागी निमुखा जनता-जनार्दनको अँध्यारो भविष्यको निम्ति नयाँ सूर्य ल्याउनैपर्छ भन्ने कुरामा हुटहुटी लाउऩैपर्छ । अब आउने भोलिको बिहानको निम्ति बाहिरी होइन भित्री आँखाको नितान्तै आवश्यकता छ । बाजे-बराज्यूकै पालोदेखि धृतराष्ट्र बनिसकेका तपाई- हाम्रो समाज र हाम्रो राजनीतिले लोभी, स्वार्थी र पापी आँखालाई भित्री आँखाको दृष्टिशक्ति प्रदान गर्ने कुरामा तपाई-हामी सबै तातिनै पर्छ । नत्र ता धृतराष्ट्र बनिसकेको हाम्रो सुन्दर समाज फोहर राजनीतिको लहैलहैमा लागेर महाधृतराष्ट्रमा परिणत हुने निश्चित छ । धृतराष्ट्रका सय छोराहरू बिग्रेर धूर्त भएको तथ्य हाम्रा प्राचीन ग्रन्थहरूमा सुरक्षित छ । धृतराष्ट्रदेखि पनि महाधृतराष्ट्र बनिनै लागेको हाम्रो भविष्यका करोड़ौं छोराहरूले धृतराष्ट्रका सयौं छोराहरूको बिँड़ो थामिरहने छन् ।  अब सम्झनाेस्, धृतराराष्ट्रका आँखाकाे भाका कस्ताे थियाे ?

०००
जलपाईगुड़ी (भारत)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
तन्किने कुरा

तन्किने कुरा

नगिता लेप्चा राई
अनुहार

अनुहार

नगिता लेप्चा राई
‘तानतुने’ कवि

‘तानतुने’ कवि

नगिता लेप्चा राई
रिस र आह्रिस

रिस र आह्रिस

नगिता लेप्चा राई
युग ब‌दलियो

युग ब‌दलियो

नगिता लेप्चा राई
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x