सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

हावा !

हावामा हावा मिलेछ अब के हुन्छ हेरौँ न, पुरानो हावा वहन्छ कता त्यो पनि हेरौँ न, कोरोना बोक्यो हावाले कति मानिस सखाप, अमृत बोक्ने हावाको सास सधैँ नै अभाव। कहिलेकाहीँ हावाले मिठो सपना ल्याउँछ, कहिले भने हावाले हावा खाएर अस्ताउँछ ।

Nepal Telecom ad

हावाको सास हावाको वास हावामै सुर्ताएँ
हावाकै पिठो हावाकै रोटी हावामै सेकाएँ ।
कहिलेकाहीँ हावाले मिठो सपना ल्याउँछ
कहिले भने हावाले हावा खाएर अस्ताउँछ ।

हावा त चल्यो कताको चल्यो कसले चलायो
मनमा हो कि तनमा चल्यो केके पो ढलायो
नौनीको रोटी पकाइदिन्छु भन्दथे ‘देवता’
भोका’को पेट मुसारिदिने अचम्मै ‘ममता’ ।

बालुवा भुटी बना’को फुल खान्छौ कि खाँदिनौ
हावाको तावा हावाको सेल मान्छौ कि मान्दिनौ
नमाने पनि हावाको जाँतो बेस्करी घुम्दैछ
जाँतोमा घुन पसेर केके घमन्ड फुट्दैछ ।

हावाको झिर हावाको खिर हावाको अचार
हावामा हावा बिलाएपछि के हुन्छ विचार ?
बादलमाथि च्याउको खेती हावामा चढेर
जानुछ टिप्न हुर्कियो होला हलक्क बढेर
हावाको गति नठान्नू सानो बल्दछ बिजुली
हावा हो भनी नहेप्नू तुच्छ उठ्दछ सुनामी ।

हावाको सही प्रयोग गरे बन्दछ बिजुली
केवल हावा उडाए मात्रै सकिन्छ बिजुली
बैरीको बिउ आगोको झिल्को नजर अन्दाज
पानीको भेल हावाको झोँका अशक्त नजाँच ।

उडाइ लान्छ घमन्ड पोका वेगिलो हावाले
उडाइ सक्यो दम्भका दाना तात्तातो हावाले
हावा हो भनी फुलेर बस्ने अल्छीका पोका हौ
दोषको भारी नबोक्ने तिमी आफैमा धोका हौ ।

कोरोना पनि हावा हो भन्थे मानिस मार्दियौ
नयाँ छ यो त हावा हो भन्थ्यौ बाजी नै मार्दियौ
अरूमा हावा देखेर बस्ने तिमी नै हावा हौ
हावाको वेग नचिन्ने तिमी आफैमा हावा हौ ।

हल्लन्न पात नचली हावा कसरी चल्यो यो
बाहिरबाट चल्यो कि हावा भित्रैको चल्यो यो
हल्लिन रुख नचली हावा कहाँबाट चलेछ
यो हावा चल्दा पुरानो हावा नमज्जा ढलेछ ।

बनाइहाल्नु हुँदैन होला हावामा महल
हावाको आयु नछामीकन बन्दैन सबल
पुरानो हावा कुहेर हो कि नयाँले जिस्क्यायो
हावाले हावा काटेर आयो हावाले बिच्क्यायो ।

पुरानो हावा पुराण भयो काम गर्छ गर्दैन
नवीन हावा भर्खरै आयो के गर्छ गर्दैन
हावामा हावा उडेर आयो हावाको सवाई
पुरानो हावा नवीन हावा हावाकै लडाइँ ।

देखिन्छ आज हावाको ध्वजा चहल पहल
टिक्दैन होला हावाको मियो हावाकै महल
यो नयाँ हावा बत्तेर आयो पुरानो उडायो
हावाले हावा उडाको हैन सातो पो उडायो ।

मानव हामी हावाको पछि लाग्ने कि नलाग्ने
हावाको मति कस्तो छ भनी छाम्ने कि नछाम्ने
गर्जेको सुन्दा हावाको गति बलियो लाग्दछ
कुदेको देख्दा हावाको मति उत्तौलो लाग्दछ ।

उदार हो कि उत्तौलो हावा परीक्षा गर्नुछ
हावा र हावा तुलना गरी परीक्षा गर्नुछ
लग्यो रे कान भनेको सुनी दौडनु हुँदैन
नछामीकान नबुझी ज्ञान हुत्तिनु हुँदैन ।

मानिस हामी चाहिन्छ हावा निश्वास फेर्नलाई
सुनौलो हावा चाहिन्छ दिगो विश्वास गर्नलाई
हावा र हुरी उडेका बेला पतिङ्गर उडाउँछ
भुमरीभित्र परेर कतै मानिस हराउँछ ।

पहिला पनि चलेथ्यो हावा हुन्डरी गरेर
संसार जित्छु दुनियाँ रच्छु रौनक भरेर
त्यो हावा आज सेलाई गयो हावा नै भएर
यो हावा हेर्छ दङ्दास पर्छ हावा नै बनेर ।

बेलुन भिन्न भए नि हावा उही पो होला कि
सिसी त नयाँ पुरानो रक्सी जस्तो पो होला कि
प्रगति बोक्ने सुधीर हावा अपेक्षा गर्दछौँ
कल्याणकारी विश्वास दिने हावा चैँ चाहन्छौँ ।

फुटेर जाने पानीका फोका पौडनु हुँदैन
लग्यो रे कान भनेको सुनी दौडनु हुँदैन
हावाले धर्ती छुएर आओस् स्वागत गरौँला
पुरानो नयाँ तुलना गर्दै मुस्कान छरौँला ।

हावाको गति हावाको मति विचार गर्नुछ
हावाको कर्म हावाको मर्म परीक्षा लिनुछ
सपनाभरि बिपनाभरि हावाको चर्चा छ
आकाश धर्ती हावाकै फूर्ति हावाकै पर्चा छ ।

संसारभरि धेरै नै चले हावाको हुलिया
तिनले भोलि बदल्ने हुन् कि आजको हुलिया
हावामा हावा उडेर आयो हावामा मिसियो
हावाले हावा स्वागत गर्यो हावामा टाँसियो ।

उहिलेदेखि चलेको हावा हेरेको हेर्‍यै छौँ
हावामा चारा आउँछ भनी घेरेको घेर्‍यै छौँ
सुवास बोक्ने प्रशान्त हावा अपेक्षा गर्दछौँ
निराश पार्ने नौटङ्की हावा उपेक्षा गर्दछौँ ।

हावामा हावा मिलेछ अब के हुन्छ हेरौँ न
पुरानो हावा वहन्छ कता त्यो पनि हेरौँ न
कोरोना बोक्यो हावाले कति मानिस सखाप
अमृत बोक्ने हावाको सास सधैँ नै अभाव ।

कहिलेकाहीँ हावाले मिठो सपना ल्याउँछ
कहिले भने हावाले हावा खाएर अस्ताउँछ ।

०००
नलाङ, धादिङ
हाल- कीर्तिपुर

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
कुराको छुरा !

कुराको छुरा !

डा.हरिप्रसाद सिलवाल
सल्लाहकारको साउती !

सल्लाहकारको साउती !

डा.हरिप्रसाद सिलवाल
साहित्य होस् त यस्तो पो !

साहित्य होस् त यस्तो...

डा.हरिप्रसाद सिलवाल
थुकपीडा !

थुकपीडा !

डा.हरिप्रसाद सिलवाल
भूतको भिनाजुको ‘भीमसेनपाती’

भूतको भिनाजुको ‘भीमसेनपाती’

डा.हरिप्रसाद सिलवाल
लिच्चड लेखक !

लिच्चड लेखक !

डा.हरिप्रसाद सिलवाल
कौडी जिन्दगी

कौडी जिन्दगी

पुन्य कार्की
चञ्चल मन

चञ्चल मन

विष्णुहरि पाैडेल
गुमनाम

गुमनाम

सुशील रिजाल
म नै म !!

म नै म !!

कलानिधि दाहाल
मजाले हिँड (२)

मजाले हिँड (२)

कृष्णप्रसाद गाैतम
लाटो सिँगार्छन् अझै

लाटो सिँगार्छन् अझै

बिन्दु दहाल ‘मूकदर्शक’