
‘प्रभुजी, भेडो बनाऊ !’ कवितामा हास्यव्यङ्ग्यात्मक अभिव्यक्ति
बरु भेडोको नेतृत्वमा एउटा शक्ति छ । अरूलाई पछि लगाउन सक्षम छ भेडोको नेतृत्व । त्यहाँ निस्वार्थ नेताको पछि लाग्ने एकोहोरोपन छ । भेडोको नेतृत्व समान पनि तिमीहरूको पछि लाग्नेहरू छैनन् भन्ने वक्रोक्ति भाव कवितामा व्यक्त भएको छ ।

डा.हरिप्रसाद सिलवाल :
परिचय :
महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म मिति वि.सं. १९६६ कार्तिक २७ गते शुक्रबार लक्ष्मीपूजाको दिन, धोबीधारा, डिल्लीबजार, काठमाडौँमा र उनको निधन वि.सं.२०१६ भदौ २९ गते आइतबार पशुपति आर्यघाट, काठमाडौँमा भएको हो । उनी नेपाली साहित्यमा स्थापित र लोकप्रिय स्रष्टा हुन् । देवकोटाका साहित्यिक योगदान बहुआयाममा विस्तार भएको छ । महाकविको उपाधि प्राप्त साहित्यकार देवकोटा निबन्ध, प्रबन्ध, कविता, बालकविता, गीतिकविता, गीत, लघुकाव्य, लघुतर काव्य, खण्डकाव्य, महाकाव्य, गीतिनाटक र गद्यात्मक आख्यानात्मक विधामा समेत कलम चलाउने प्रतिभा हुन् । उनी हास्य रसका पनि धनी प्रतिभा हुन् । उनले विशेषतः कविता र निबन्धमा हास्यव्यङ्ग्यको प्रयोग गरेका छन् । महाकवि देवकोटाका कविताहरूमा रोचक घोचक दुवै शिल्पको प्रयोग गरिएको छ । यो छोटो लेखमा महाकवि देवकोटाको प्रभुजी भेडो बनाऊ कवितामा प्रयुक्त हास्यव्यङ्ग्यको विवेचना गरिएको छ । साथै यो लेखको आरम्भमा हास्यव्यङ्ग्यको मान्यतालाई अत्यन्तै छोटकरीमा सङ्केत गर्ने प्रयास भएको छ ।
हास्य रस हास भावबाट उत्पन्न हुन्छ । यो देखिने गरी विकृतिबाट आउने गर्छ । विकृतिमाथि परिहास गरेपछि हास्य उत्पन्न हुन्छ । मानिसको मनमा स्थायी रुपमा हास वा परिहासको भाव रहन्छ । यसले उचित उत्प्रेरणा पाएपछि बाहिर प्रकट हुन्छ । हाँसोसँगै वक्रोक्ति पनि मिसिएको हुन्छ । त्यसलाई साहित्यमा व्यङ्ग्य भनिन्छ । व्यङ्ग्य साहित्यको मेरुदण्ड नै हो । पूर्वीय संस्कृत साहित्यमा वक्रोक्तिवाद रध्वनिवाद प्रचलित रहेको छ । मूलतः साहित्य व्यङ्ग्य भाव प्रस्तुत गर्न नै लेखिन्छ ।
साहित्यमा अभिधा, लक्षणा र व्यञ्जना अन्तर्गत लक्षणामा सामान्य रूपमा र व्यञ्जनामा प्रचुर मात्रामा व्यङ्ग्यको प्रयोग एवं अभिव्यक्ति गरिन्छ । व्यङ्ग्योक्तिकै माध्यमबाट सन्देश, सचेतना र मनोरञ्जन प्रकट गरिन्छ । तर व्यङ्ग्यमा हास्य मिसाउँदा बढी रोचक, मनोरञ्जनात्मक, चित्ताकर्षक, कलात्मक, पाठकको मन आकृष्ट पार्ने शक्ति बढ्छ । यसका माध्यमबाट साहित्यलाई रोचक र घोचक बनाइन्छ । रोचक बनाउन हाँसो र घोचक बनाउन व्यङ्ग्यको प्रयोग गरिन्छ । रोचक रूप पक्षमा बढी ढल्किन्छ भने घोचक भाव तथा विचार पक्षमा ढल्किन्छ । यी दुवैलाई हास्यव्यङ्ग्य शिल्प भनिन्छ । यद्यपि हास्य शिल्प पक्षमा केन्द्रित हुन्छ भने व्यङ्ग्य विचारमा केन्द्रित हुन्छ । यसको स्थूल बुझाइमा हास्यव्यङ्ग्य शब्द साहित्यमा बढी प्रचलित रहेको छ । सूक्ष्म रूपमा हेर्दा यी दुईका बिचमा केही अन्तर रहेका छन् । यद्यपि यिनको समन्वय परिपूरक रहेको छ । हास्यव्यङ्ग्यको सन्तुलन कला र विचारको सन्तुलन जस्तै हो । यी दुवै पक्ष समान भएमा साहित्य सन्तुलित अभिव्यक्तिमा प्रकट हुन्छ ।
सामान्यतया व्यङ्ग्य प्रधान रचनालाई पनि हास्यव्यङ्ग्य भनिएको पाइन्छ । हास्य प्रधान रचनालाई पनि सोही शब्दले सम्बोधन गरिएको पाइन्छ । हाँसो वा परिहास मात्रै अभिव्यक्त भएका रचनाहरू हास्य शिल्पका रचना हुन् । व्यङ्ग्य मात्रै व्यक्त गरिएका रचनाहरू व्यङ्ग्य प्रधान रचना हुन् । यी दुवैको मिश्रित प्रयोग भएमा मात्रै हास्यव्यङ्ग्य प्रधान रचना हुन्छ । कुनै कविले एउटा रचनामा यी विभिन्न रूपको प्रयोग गरेको हुन्छ । कुनैमा हास्य मात्रै र कुनैमा व्यङ्ग्य मात्रै वा मिश्रित समेत । कुनै रचनाको हरफ, अनुच्छेद वा खण्डहरूमा पनि यसलाई छुट्टयाएर हेर्दा कतै हास्य बढी, कतै व्यङ्ग्य बढी र कतै दुवै सँगसँगै प्रयोग भएको हुन्छ । यो साहित्यकारको सिप, प्रतिभा र रीति क्षेत्रको सवाल हो । हास्यव्यङ्ग्यका पाठकहरू भने सँगसँगै दुवै पक्ष सक्रिय भएर आएको रचना बढी मन पराउने हुन्छन् । बढी पौढोक्ति रुचाउने, गम्भीर स्वभावका पाठकले गम्भीर प्रकारका व्यङ्ग्य प्रस्तुति मन पराउँछन् भने सामान्यतया हास्य रसको प्रयोग भएको रचना मन पराउने पाठक, भावकको सङ्ख्या बढी रहेको मानिन्छ ।
हास्य रसको प्रयोगले पाठकलाई सहज बनाइदिन्छ । पाठकको मस्तिष्कलाई हलुका बनाइदिन्छ । उमङ्ग र स्फूर्ति बढाइदिन्छ । यसले शारीरिक, मानसिक थकान, बोझ, चिन्ता, एक्लोपना, दिक्कपना, निराशा आदिलाई पनि टाढा राखिदिन्छ । मानव स्वास्थ्यका लागि हास्य रसको प्रयोग अनुकूल हुन्छ । रक्त सञ्चार तथा स्नायु प्रणालीमा सकारात्मक ऊर्जा ल्याने काममा हास्य रसको प्रयोग उचित हुन्छ । व्यङ्ग्यले ऊर्जा थप्ने काम गर्छ । तर व्यङ्ग्यको ऊर्जा पाठक र व्यङ्ग्य गरिएको रचनाको लक्षित वर्गसितको सापेक्षतामा निर्भर हुन्छ । सबै पाठकलाई सबै व्यङ्ग्य रचनाधर्मिताले सकारात्मक प्रभाव पार्दैन । हास्य रस र व्यङ्ग्य रसको पृथक्ता यहीँनिर बोध गर्न सकिन्छ ।
व्यङ्ग्य विचार सापेक्ष हुने भएकाले पाठक, भावकले त्यो व्यङ्ग्योक्ति अनुकूलको विचार राखेमा त्यसलाई सकारात्मक रूपमा ग्रहण गर्दछ । जस्तै आफूले बेठिक मानेको कुरामा नै साहत्यिकारले पनि बेठिक मानेर व्यङ्ग्य गरेमा पाठकमा सकारात्मक प्रभाव पर्छ । तर आफूले सही भनेको विषयमा कसैले व्यङ्ग्य गरेर गलत भनेको छ भने त्यो व्यङ्ग्य र पाठकको विचारमा विमुखता वा कानुनी भाषामा मुख नमिलेको अवस्था सिर्जना हुन्छ ।
त्यसैले हास्य र व्यङ्ग्य रचना गर्ने साहित्य स्रष्टाले सकेसम्म सबैले स्वीकार गर्ने वा सबैले नकारात्मक मानिरहेको तथ्य, घटना, काम वा प्रवृत्तिमाथि नै व्यङ्ग्य प्रहार गर्ने प्रयास गरेको पाइन्छ । व्यङ्ग्य कुनै पनि सुधार गर्नु पर्ने खराबीमाथि केन्द्रित हुन्छ । नकारात्मक अवस्था, कमजोर प्रवृत्ति, क्रियाकलाप, सिद्धान्त, व्यवहार जस्ता विषयलाई उल्टाउन व्यङ्ग्य गरिन्छ । व्यङ्ग्यलाई बढी शक्तिशाली बनाउन र रोचक बनाउन हास्यपनको मिश्रण गरिन्छ ।
हास्यमा व्यङ्ग्य मिसाएर प्रहार गर्दा सोझै गाली, आलोचना, टिप्पणी गरेको सिर्जनामा पनि त्यस्तो गाली गरेको, आलोचना गरेको जस्तो बोध हुँदैन र साहित्यको स्तर वृद्धि हुन्छ । त्यसलाई पाठकले सहज ठान्छन् । तर हास्य रसको प्रयोगमा धेरै सर्तहरू रहेका हुन्छन् । कुनै पनि विषयलाई हाँसोमा परिणत गर्ने, रसदोषका रूपमा हास्य रसको प्रयोग गर्ने, शोक र करुणा जस्ता रसमा सँगसँगै हास्यको प्रयोग गर्ने, मानवीय संवेदनाको गम्भीर विषयलाई पनि हास्यमा बदल्ने जबर्जस्त प्रयोग गर्ने कामलाई रस दोषका रूपमा लिइन्छ । अत्यन्तै हल्का, सस्ता भावना, अश्लीलता, उच्छृङ्खल भाषा, घटिया प्रस्तुति, अर्थहीन र सार नभएको बेकारका विषयमा पनि हाँसो ल्याउने प्रयोजनमा हास्य रसको प्रयोग गर्नु यसको दोषयुक्त प्रयोग हुन्छ । सामाजिक, नैतिक, मानवीय, कानुनी, परम्परा, सामूहिकता, पचाउन सक्ने र मिल्ने, शिष्टता, सहजता आदिलाई ख्याल गरेर मात्रै हास्यव्यङ्ग्यको प्रयोग गर्नुपर्छ ।
यसरी रस दोषबाट मुक्त हुने गरी रचिएको साहित्यलाई स्तरीय हास्यव्यङ्ग्य सिर्जना मानिन्छ । यस्ता साहित्यले कला र विचारको सन्तुलन कायम गरी साहित्यको श्रीवृद्धिमा योगदान दिन सक्छन् भने यसरी रचित साहित्यले मानव समाजलाई सही दिशानिर्देश गर्ने सामथ्र्य राख्दछ । समाज, राज्य, विभिन्न निकाय र मानव समुदायलाई के कस्ता खराबीबाट के कस्ता असल मार्गम लानु पर्ने हो सो विचार गरेर भ्रष्टाचार, कुकृत्य, कमजोरी, नकारात्मक व्यवहार, गलत क्रियाकलापप्रति तीव्र अध्ययन, अनुसन्धान, अनुभव र अनुभूति साँगालेर मात्रै हास्यव्यङ्ग्य सिर्जनामा कलम चलाउँदा ती साहित्यको स्तर र त्यसले पुर्याउने साहित्यिक योगदान पनि यथोचित, समय सान्दर्भिक, गुणात्मक र सन्देशमूलक रूपमा अभिव्यक्त हुन्छ ।
‘प्रभुजी भेडो बनाऊ !’ कविताको विवेचना
महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा रचित ‘प्रभुजी, भेडो बनाऊ’ शीर्षकको फुटकर कविता वि.सं. २००४ को शारदा पत्रिकाको वैशाख-जेठ (१३-१-२) मा पहिलो पटक छापिएको हो भने पछि वि.सं. २०२८ मा आधुनिक नेपाली कविता कृतिमा सङ्गृहीत भएको छ । देवकोटाको यो कविता गद्य रचनाको फुटकर रूपमा आएको मात्रिक छन्दको शिल्पमा प्रस्तुत भएको छ । महाकवि देवकोटाको कवितामाथि बृहत् अध्ययन अनुसन्धान गर्ने कुमारबहादुर जोशीका अनुसार देवकोटाले आफ्नो ‘गधा बुद्धिमान् कि गुरु’ शीर्षक निबन्धको भावभूमिमा रहेर यो कविता रचेका हुन् । यसमा हास्य कम र व्यङ्ग्य बढी रहेको छ । यद्यपि देवकोटाको यो कवितालाई हास्यव्यङ्ग्य कविताहरूमध्ये पनि शक्तिशाली रचना मानिन्छ ।
यो कवितामा कविले ईश्वरसित आफूलाई उत्तरदायित्वहीन पशु भेडो बनाउन आग्रह गरेको भाव प्रस्तुत गरेका छन् । व्यङ्ग्य कवितामा प्रयुक्त शब्द र अर्थलाई व्यञ्जनात्मक अर्थमा विश्लेषण गरी त्यसको पारख गर्नु उचित हुन्छ । यस्ता प्रवृत्तिका कवितामा प्रयोग भएका शब्दहरू प्रचलित र शब्दकोशीय अर्थ बोध गर्ने प्रकारका नभएर त्यसको उल्टा, विपरीत खालका, झुक्याउने पाराका, स्थिति विपर्यायको स्वभावमा आएका हुन्छन् । व्यङ्ग्य प्रचुर भएर रचिएका कवितामा शब्द, शब्दावली, हरफ, अनुच्छेद, खण्ड, व्यष्टि तथा समष्टिका अलग अलग व्यङ्ग्योक्ति रहेको हुन्छ । एउटै शब्दमा धेरै सन्दर्भ र प्रवृत्तिमाथि प्रहार गर्न सक्ने शक्ति तथा सामर्थ्य पनि रहेको पाइन्छ ।
त्यसकारण अभिधार्थमा जस्तो जे शब्द छ त्यसको सोझो सूचना र अभिव्यञ्जनाको रूपमा यसलाई अध्ययन गर्नु, अर्थ ठम्याउनु र मूल्याङ्कन गर्नु जोखिमपूर्ण बौद्धिकता ठहर्छ । यसअनुसार महाकविले प्रयोग गरेका कविताका शब्दहरूको विश्लेषण गर्दा ‘ईश्वर’ शब्द प्रचलित अर्थमा अलौकिता बोध गर्ने ईश्वर भनिए जस्तो नभएर तत्कालीन शासक वर्गका नेतृत्वलाई व्यङ्ग्य वाण प्रहार गरिएको शब्द हो ।
काल्पनिक रूपमा र उच्च मानवीय क्षमता भएका मानिसलाई दिइने पदवीकै रूपमा विशेषण बोधक बनाई ईश्वर शब्दलाई केलाउँदा पनि ईश्वरले त अरूको विवेक, क्षमकुशलता, व्यवहार कुशलता, शिष्टता, सन्दर्भ ज्ञान र ठिक बेठिक पर्गेली न्याय प्रदान गर्नु पर्ने हो । त्यसो हुन नसकी विचार, विवेक, बौद्धिकता, उत्तरदायित्व, काव्य लेखन, सन्देश, वाणी, परिश्रम, ज्ञान, विद्या आदि केही पनि नजान्ने शासकलाई तिमीहरू ईश्वर भन्न र बन्न लायक विवेकवान् छैनौ । तिमीहरूमा कुनै क्षमता छैन । तिमीहरूले मेरो र हाम्रो बुद्धिको नेतृत्व गर्न सक्दैनौ । बरु भेडोको नेतृत्वमा एउटा शक्ति छ । अरूलाई पछि लगाउन सक्षम छ भेडोको नेतृत्व । त्यहाँ निस्वार्थ नेताको पछि लाग्ने एकोहोरोपन छ । भेडोको नेतृत्व समान पनि तिमीहरूको पछि लाग्नेहरू छैनन् भन्ने वक्रोक्ति भाव कवितामा व्यक्त भएको छ ।
कविले ज्यादै थाकेँ भनेर तत्कालीन नेतृत्वलाई बुद्धिमान् बनाउन नसक्ने अवस्था आएको, बुद्धिले काम नगर्ने शासक भएको, मानवता नभएको, गुणको पारख गर्ने क्षमता नभएको, शिष्टता र सभ्यता नभएको, कवि, बुद्धिजीवीलाई बुझ्न सक्ने क्षमता, विवेक राख्न नसकेकोमा विद्रोह गर्ने ध्वनि तथा वक्रोक्ति प्रकट गर्ने क्रममा भेडोको प्रतीक बनाएर व्यङ्ग्य गरिएको छ । सत्ताको उदासीपनप्रति मूर्खताको उल्टो अर्थ लाग्ने गरी ईश्वर शब्दको व्यञ्जनार्थी रूपको प्रयोग गरिएको छ । यो कवितामा प्रयुक्त ईश्वर शब्दका आधारमा कतिपय समालोचकहरूले महाकवि देवकोटालाई ईश्वरवादी भएको विश्लेषण गरेको पाइन्छ । तर त्यो विश्लेषण पुरै मिल्दैन । किनभने वक्रोक्तिमा शब्दार्थको कोशीय अर्थ बोध हुँदैन । हीन, नभएको, रहित, मूर्ख, केही विवेक नराख्ने अर्थमा प्रयोग गरिएको व्यञ्जना शक्तिको व्यङ्ग्यात्मक शब्दलाई अभिधार्थमा बुझ्नु हास्यव्यङ्ग्य साहित्यको समालोचनात्मक पारख हुन सक्दैन ।
कविले यो कवितामा जान्नाको पाप भनेर जानेको मान्छेको मूल्य नदिने शासक वर्ग र आफू विरुद्ध लाग्ने केही ईष्र्यालु वर्गप्रति व्यङ्ग्य गरेका छन् । कविको अन्तःकरण बुझ्न नसक्नेहरू भेडोको जस्तो फौजमा बाँच्न र समूह बनाउन पनि नसक्ने भएको वक्र भाव विद्रोही चेतनाको रूपमा प्रकट भएको हो । यहाँ जबाफदेहीपनको अभाव भएको, दिव्य रफावलाई अस्वीकार गरिएको सन्दर्भले कवि उच्च कोटिको मानवताको आह्वान गर्दछन् । दिव्य रवाफ भनेको ईश्वर हुनुको धाक भएको समेत अर्थ लाग्ने देखिन्छ । ईश्वर समान, देवता समान पद, उपाधि, मान सम्मान पाएका सत्ताधारी शासकहरूको रवाफप्रति सामान्य मानव बन्न आग्रह गरिएको छ । कुमारीचोकमा थुनेका मानिसहरू के कति दोषी छन् ? तिनले न्याय पाए कि पाएनन् ? तिनलाई किन सजाय दिइयो ? बरु पशुवत् न्याय प्रणाली सहज, प्राकृतिक र स्वाभाविक रहेको भन्दै तत्कालीन सत्ताको चरित्रलाई भेडोभन्दा तुच्छ भनी व्यञ्जना शक्तिको प्रयोग गरिएको छ ।
कविले परिश्रमको सराप भनेर परिश्रम गर्नेलाई उचित मूल्य नदिएकोमा रोष प्रकट गरेका छन् । परिश्रमको मूल्य नपाउने तर काम नगर्ने ठालुले मिठो मसिनो चुरुम चुरुम खाने अवस्थाको चिरफार गरी कविले त्यसलाई वक्र भावमा ती शासकले भेडोले जस्तै घाँस खाएको व्यङ्ग्य गरेका हुन् । चौरासी व्यञ्जन खाने त धनीमानी शासक वर्ग नै हुन् । चौरासी व्यञ्जन खानुभन्दा तिमीहरू घाँस खाऊ भनेर कविले तीव्र व्यङ्ग्य गरेका हुन् ।
मलाई भेडो बनाऊ भनेको त्यसको उल्टो म विवेकधारी कवि, बौद्धिक मानिस हुँ । तिमीहरू विवेक नभएका पशुवत् भेडो नेतृत्वमा छौ । एउटाले जे गर्यो सबैले त्यही गर्नु पर्ने, सबै त्यो भिर वा खाडलमा हामफाल्ने, आफूलाई ईश्वर जस्तै सम्झेका, ठानेका वर्ग नै भेडो हुन् भन्ने ध्वन्यात्मक अभिव्यक्ति यो कविताको गूढार्थ हो । तीव्र प्रकारको गुह्य व्यङ्ग्य भाव हो । त्यति वेला विदेशी अत्तर छर्केर हिँड्ने वर्ग त कविहरू थिएनन् । ती त शासक र केही धनी मुठीभर व्यक्ति थिए । तिनमा सत्ताको शक्ति थियो तर मानवता थिएन । तिनलाई अत्तर छर्केर हिँड्ने होइन, तिमीहरूको कर्मबाट वासना होइन, ह्वास्स भएर ननुहाएको भेडाको बथानबाट आउने दुर्गन्ध आएको छ भन्ने बाङ्गो विचार र विद्रोही चेतना कवि देवकोटाले प्रस्तुत गरेका छन् ।
प्रचलित आख्यानमा भएका झुट कथा कहानीको चर्चा गर्दै कविले झुट बोल्नुभन्दा अज्ञानता नै ठिक भएको, नक्कली कान, आँखा, नाक, शरीरमा राम्रा राम्रा वस्त्र धारण गर्नुभन्दा लुगा नलगाउने भेडो बनाऊ भनी शासक वर्गलाई नै भेडो बनाउन र निर्लज्जताको उपाधि थमाउन गम्भीर व्यङ्ग्य प्रकट गरेका हुन् । कविले यहाँ आध्यात्मिक समर वा युद्धको खण्डन गरी प्राकृतिक समरको समर्थन गरेका छन् । भूत विद्या, यथार्थभन्दा पर सभ्यताको नाममा भित्र भित्र असभ्य व्यवहार, आदर्शको खोलले छोपिएको जीवन, साधुको वेशमा शून्यताको जीवन, जादुमय षड्यन्त्रकारी कूटनीति, अरूको पाप पखाल्ने ब्राह्मण, धर्मात्माको नौटङ्कीपन आदिको अस्वीकार गरेका छन् । कविले प्रकृति, यथार्थ, विवेक, शालीनता, मानवता, बौद्धिकताको कदर गर्न नसक्ने शासक वर्गलाई भेडोको संज्ञा दिई विपरीताार्थ अभिनयात्मक शैलीमा मलाई भेडो बनाऊ भनेर तिमीहरू भेडो हौ, बौद्धिक होइनौ भन्ने व्यङ्ग्य गरिएको छ ।
यो कवितामा नाटकीय शैलीको अभिव्यञ्जना शक्ति रहेको छ । यो नाटकीय शैली पक्षमा समालदोचकहरूको खास ध्यान गएको पाइन्न । कतिपय समालोचकले अभिनय शैलीको प्रयोग गरिएको भनेर समीक्षा गरेका छन् । यसर्थ तत्कालीन समयमा हुनेखाने, टाठाबाठाले सोझा सिधा मानिसलाई भेडो बनाएको, एकोहोरो पछि लगाएको, विचार विमर्श गर्न नदिएको, चेतनाको बिर्को लगाएको, बोल्न वा वाक्स्वतन्त्रता नदिएको, आफ्नो बाटो आफै बनाउन र स्वतन्त्र रूपमा हिँड्न, जिउन नदिएको कार्यप्रति व्यङ्ग्य प्रहार गरी यहाँ मुठीभर वर्गलाई अति निम्नस्तरको काम गर्ने पशुवत् चेत भएको भनी वक्र भाव प्रहार गरिएको छ ।
अनावश्यक समाजमा देखिएको दम्भको विरोध, नक्कलीपनको खण्डन, झुटको पर्दाफास गरेर सामान्य जीवन, प्राकृतिक सज्जनपन, पश्रिमको मूल्यवत्ता र विवेकयुक्त शासन सत्ताको याचना गर्दा त्यो असम्भव देखिएकाले कविको आक्रोश रोषमय व्यङ्ग्य प्रहार हुन पुगी भेडोलाई प्रतीकात्मक रूपमा व्यङ्ग्य बोधक वस्तु बनाइएको छ । यो कवितामा हास्यको मात्राभन्दा व्यङ्ग्यको मात्रा बढी रहेको छ । बौद्धिक, साहित्यिक शब्दको स्तर र अति घुमाउरो व्यञ्जना शक्तिको प्रयोग, तत्कालीन निरङ्कुश सत्ताको विद्रोह गर्दा सोझै लेख्न बोल्न नहुने अवस्था समेतको विचार गरी वक्रात्मक शिल्प र व्यञ्जनार्थी स्वरूपको प्रयोग भएकाले हास्य रसको रसात्मक रूप भित्र भित्र दबेको र बौद्धिक, दार्शनिक रूपमा व्यङ्ग्यको अभिव्यक्ति प्रस्तुत भएको छ ।
म विवेकी कवि हुँ । म मानव हितको कुरा गर्छु । म नेतृत्व गर्ने क्षमता राख्छु । म सही बाटोमा अघि बढ्छु र गलत बाटो, काम भए टिप्पणी गर्छु भन्ने सचेत कविको परिचय बोध गराउन त्यसको वक्रोक्ति स्वरूप म केही जान्दिनँ । म नरम खाना खान्नँ । म अत्तर लाउँदिनँ । म घाँस खान्छु । मलाई भेडो बनाऊ भनेर वक्रार्थ वा ध्वन्यार्थमा तिमी घाँस खाने, दुर्गन्धित पशुको जस्तो व्यवहार गर्ने, जता आफू त्यतै सबैलाई खाडलमा, अँध्यारोमा, भिरमा खसाल्ने भेडोको जस्तो स्तरमा छौ । तिमी भेडो हौ । सभ्य होइनौ भन्ने व्यञ्जनात्मक शब्दालङ्कारको गहिरो अभिव्यक्ति दिइएको पाइन्छ ।
निष्कर्ष :
महाकवि देवकोटाको प्रभुजी, भेडो बनाऊ ! कविता हास्यव्यङ्ग्य कविताको एक गम्भीर र सामर्थ्ययुक्त दार्शनिक चेतना सहितको रचना रहेको स्पष्ट हुन्छ । यो कविताको विद्रोह तत्कालीन सत्ता, समाजको विसङ्गति, चाकरी प्रथा, मुठीभर मानिसको सुखसयल र आम मानिसको दीनताको युग चेतनामा आधारित रहेको छ । यो कविताको समाजशास्त्रीय अर्थ र काव्यको ध्वन्यात्मक सिद्धान्तका अनुसार यसमा कवि पुरै मानवतावादी, यथार्थवादी, समाज सुधारक, विद्रोही र आक्रोशमय रोष प्रकट गर्ने स्वच्छन्दतावादी विद्रोही चेतनाका रूपमा प्रस्तुत भएका छन् ।
महाकवि देवकोटो यो कविताले नेपाली हास्यव्यङ्ग्य कविताको फाँटलाई निकै शक्तिशाली बनाई व्यङ्ग्य, वक्रोक्ति काव्य चेतना, कवितामा अर्थबोधक विशिष्ट ध्वनिको अभिव्यक्ति बोध गर्न नमुना बन्ने गरी यो कविता प्रस्तुत भएको छ ।
०००
नलाङ, धादिङ
Subscribe
Login
0 Comments
Oldest