
पागल कवि
पागल कवि पागल तिम्राे अमर नामले पागल बन्न लाग्दैछ मन राज्यका कामले । बाँलेर राँकाे विद्राेह गरूँ भन्दै छ मनले प्रवाह छैन पागल भन्ला पागल जनले ।

रामप्रसाद पन्थी :
जरूर तिमी पागलै थियाै हे लक्ष्मी ! प्रसाद
धनका लागि कहिल्यै किन गरेनाै फसाद ?
टाेलायाै कैले घाटमा पुगी बेहाेसी पारामा
छाँट र छन्द नदेखी कैल्यै दुनिया सारामा
मूर्तिकाे पूजा नगर भन्याै मन्दिर गएर
दुःखीकाे सेवा गर पाे भन्याै मानव भएर ।
दर्शन दियाै मानव देह मन्दिर भनेर
ईश्वर साक्षी आत्मा हाे भन्याै मनैले जानेर
कमाइ सच्चा गरेर खानू भनेछाै बेकार
त्यसैले तिमी पागल भयाै याे कुरा स्वीकार
रहस्यमय जीवन बुझ्न उद्यान पठायाै
निमुखा जन देखेर किन व्यर्थैमा टिठायाै ?
भएर जान्ने तिमीले खुबै झ्याउरे सिँगार्याै
शास्त्रीय छन्द भरेर रङ्ग माटाे नै सिँगार्याै ।
मुना र मदन प्रेमिल जाेडी खाेजेरै जुटायाै
निष्ठुरी बनी आफैले किन आखिर छुटायाै
विद्राेह गर्न लगायाे कस्ले राज्यका विरूद्ध
चाकडी गरी बसेकाे भए हुन्नथ्याे खुरूक्क ?
राणाका पाला उपद्राे गर्दा जेलमा जाकियाै
पागल भनी पागलखाना तिमी नै राखियाै
देशकाे मन्त्री भएर पनि नखाँदा ढुकुटी
अभाव झेली बनायाै आफै जीवन सुकुटी
जीवन तिमी पागलसरी भएरै बितायाै
पागल ठान्ने दुनियाँलाई पागलै किटायाै ।
पागल कवि पागल तिम्राे अमर नामले
पागल बन्न लाग्दैछ मन राज्यका कामले ।
बालेर राँकाे विद्राेह गरूँ भन्दै छ मनले
प्रवाह छैन पागल भन्ला पागल जनले ।
०००
रेसुङ्गा न पा २ , गुल्मी
२०८१ कात्तिक १५ देवकोटा जयन्ती
Subscribe
Login
0 Comments
Oldest