डा.हरिप्रसाद सिलवालप्रवचन दरबार !
सिंहको ओजमा यसले रहन नसक्दा र त्यो ओज प्रवचनमा सीमित भएकाले प्रवचन दरबार नाम भजाइदिए श्रोताहरूले पनि अदमका ताली बजाइदिने छन् भन्ने वक्रानुमान लगाउन किन पछि पर्ने ?

डा. हरिप्रसाद सिलवाल :
मैले केही वर्षअघि फित्कौली हास्य मासिक पत्रिकाको खित्कौली लेखनमा नाम परिवर्तन महान् परिवर्तन नामक निबन्ध लेखेको थिएँ । त्यो निबन्धलाई फित्कौली फादर र हास्य साहित्यका आदर अनि व्यङ्ग्यका सागर जुँगेकाजी उर्फ नरनाथको सम्पादकीय नयनमा परेपछि छपाइको मपाइँत्वमा परेको थियो ।
मलाई त्यो बेला नाम परिवर्तन गर्नेहरूमाथि शब्दगुलेलीमा बाङ्गो बोली भरेर हानेको कतिलाई मन खाएको थिएन । परिवर्तनभन्दा बाँकी सत्य केही छैन भन्ने यो कलमधारीलाई नै सत्तोसराप गरेर नाम फेरेकोमा किन व्यङ्ग्य भन्ने प्रश्नको पहाड तेस्र्याएको सम्झन्छु । ती प्रश्नकर्ताको प्रश्नौलीले मेरो व्यङ्ग्य लेखौनी झन् कडा र गाडा भएको थियो । बाङ्गो लेखनलाई मलजल पनि यस्ता बाङ्गै दृष्टि र गालीको वृष्टि चाहिन्छ भन्ने ज्ञान पनि बटुलिएको थियो ।
सोझो ज्ञान त छिटै सेलाएर जान्छ । बाङ्गो त मनमनमा बटारिएर, विकृतिको उधुममाथि झटारिएर गजबकै डाम बसालिदिन्छ । यही चेतनाले हास्य र व्यङ्ग्यको गठबन्धनबाट बनेको फित्क्यौली शब्दपार्टीमा घाँटी बजाउन र पाठकलाईकजाउन अनि जेपिटी गर्दै हिँड्ने महान् महान् मनुष्यमाथि भावनाको वाण बजाउन मजा आउँछ ।
हो, त्यो पुरानो शब्दशक्तिको सहारामा पुगेर पहरामा पनि हास्यको लहरा झुलाउन र व्यङ्ग्यको चास्नीमा मस्तिष्कको नसा फुलाउन मन लागेर उही नाम परिवर्तनको रन्को र फन्को लिएर प्रवचन दरबार नामकरण गरेको छु ।
बाठा महोदयले पक्कै बुझिसक्नु भयो होला, प्रवचन दरबार कता पर्छ भनेर ? नबुझे पनि केही बात लाग्ने छैन । बुझ्नु र नबुझ्नुमा हामी साधारण मनुष्यका लागि त्यो दबरबार सपनामा पनि घरबार भएको छैन र हुने पनि छैन । किनभने त्यो दरबार बुझेको भए, त्यहाँ फूलमाला धरेर प्रवेश गर्ने लक्ष्य राखेको भए, प्रवचन दरबारको गच्छेमा गाथ गर्ने गाना बजानामा लाम लागेको भए आज तिनको मति, गति र प्रीतिमाथि यी वक्रोक्ति झाम्टाले झपार्ने वर्गमा परिने थिएन । बरु कस्तो प्रवतन गर्दा त्यो दरबारमा घरबार गर्न सकिन्छ भनेर तीव्र अभ्यास गर्दागर्दै कि त आफ्नो सास सकिएर लास भइन्थ्यो कि त स्वार्थको सासले निर्धनहरूलाई लास पारिसकिन्थ्यो । त्यो उपद्रो गर्न नसके पनि तिनै उपद्रोधारीहरूको घारीमा छिर्न व्यतिरेकी पाराका भाषाको भाव पोख्दै फित्क्यौली साहित्य दरबारमा घरबार गर्ने सुन्दर संयोगमा दर्ज भइएको छ । यो फित्क्यौली प्रवचनले समाजका बाङ्गाटिङ्गा कर्महरुलाई सोझ्याउन असाध्यै श्रम गरेको छ । यसको प्रवचन बाङ्गाकर्मधारीका लागि भने लाजशरमको प्रव्चन अवश्य बनेको छ ।
अब कुरोको चुराेतिर लाग्नुपर्छ होला । प्रवचन दरबार भनेको एउटा स्वनामधन्य दरबारको नाम हो । त्यो दरबारमा नामअनुसारकै सिंहासनहरू विराजमान छन् र ती आसनमा सिंहहरूको लर्को देख्दा सिधासादालाई चाहिँ बेलाबेलामा झर्को पनि लागेको प्रतिक्रिया पाइन्छ । कुरा उठ्छ, लामो समयदेखि स्थापित नामलाई विस्थापित गर्ने हक यो वक्रधारीलाई कहाँबाट आयो ? सिंहको दरबारलाई प्रवचनको दरबार बनाउन मूल विधानको कुन धारा र कुन वैचारिक मार्गदर्शनले अनुमति दिन्छ ?
प्रवचन दरबार नाम दिए पनि यहाँका सिंहहरूले यो नाम मान्नेवाला छैनन् । किनभने उनीहरू सिंहबाट तल झर्न चाहन्नन् । सिंहदरबार त बरु गाउँ गाउँसम्म विस्तार गर्ने योजना पो बनाएका छन् सिंहहरूले । सिंहहरूलाई पनि गाउँ मन पर्छ । सिंहहरूका आहारा गाउँघरतिर नै बढी पाइन्छ । आफ्नो आहारा पाइने स्थानतिर घुम्न जाने मन लागेर गाउँगाउँमा सिंहदरबार नामको नारा आफैमा सुन्दर छ । तर आहारा खोज्न जाँदा सिंहहरूले बाँडेका नाराहरू गाउँका प्राणीहरूले खोजे भने दरबारधारीको घरबार न सिंहदरबार न गाउँघर कतै पनि नहुन सक्छ । त्यो कुरो सिकार गर्न सिपालु श्वेत सिंहहरूलाई राम्ररी अवगत छ । त्यसबाट बच्ने उपाय भनेकै सिंहहरूको प्रवचन कला हो ।
प्रवचनमा खारिएर नै सिंहदरबारमा सिंहहरू प्रवेश गर्न सक्छन् । प्रवचनकै शक्तिले उनीहरूलाई त्यहाँ टिकाउन सक्छ । प्रवचनकै कारण सिंहदरबारका सिंहहरूले सिकार खेल्न जानेका हुन्छन् । समय समयका सिकार गर्न मात्र होइन, सिकारको रक्षा गर्न, अर्को प्रवचन समूहले आफूले सिकार गरेर ल्याएको आहारा (आहारको बाहिरीआवरण कुर्सी नै हो) खोस्न सक्छन् कि भनेर त्यसको प्रतिकारमा प्रतिकार प्रवचन दिन पनि तिनीहरू सक्षम छन् । तिनलाई प्रवचनको शुभारम्भ र समापनका वचनहरू कण्ठस्थ छ ।
उनीहरू यो दरबार प्रवेश गर्नुअघि यही प्रवचनकै भरमा सिँढी चढ्दै गएका हुन् । तिनलाईप्रवचनका वचनचक्रहरू सबै थाहा छ । प्रवचन सुन्नेका सामु कसरी खडा हुने ? कस्तो स्वर मा प्रवचन गर्ने? स्वरलाई कति तल माथि पार्ने ? श्रोतालाई फसाउने या मोहनी लाउने शब्द, भाव, स्वरको उतार चढावलाई फिनिसिङ गर्ने सबै बुटिक प्रवचन कलामा पारङ्गत भएका हुन्छन् ।
प्रवचन दरबारका प्रवचक महोदयहरूलाई कोटीहोम लाउनेहरूको जस्तै श्रीश्रीश्रीमहाराज पदले सम्बोधन गर्दा अझै उचति हुन्छ । महाराज शब्दभन्दा तलको विशेषण तिनलाई सुहाउन्न । प्रवचनकर्ताका पछि लाग्नेहरू पनि बानी परेका हुन्छन् । तिनले प्रवचनलाई होइन, प्रवचकलाई स्वीकार गरिसकेका हुन्छन् । हातमा जौ तिल धुप भेटी र भक्तिभावले समर्पित मन चढाइसकेका हुन्छन् । अलि अलि दान पेटीमा दक्षिणाहरू पनि लडाइसकेका हुन्छन् । त्यसको विधि र विधान हुन्छन् । त्यो विधिविधान हामी जस्ता सरल लाटोसुधोबाट बुझ्न सकिँदैन । बुझ्ने चेष्टा र कष्ट पनि गर्नु हुन्न । प्रवचकलाईखुसी पार्ने हाम्रो अवसर भनेकै मतपेटिकामा स्वस्तिक छाप हानेर खसाइदिने हो । त्योभन्दा बढी योगदान गर्न सक्ने हो भने त हामी पनि प्रवचन दिन सक्ने भइहाल्छौँ नि ।
सिंहदरबारलाई प्रवचन दरबार नाम राखौँ भन्ने प्रस्तावमाथि दरपिठको आदेश पक्का पनि आउनेछ । बरु प्रस्तावकमाथि नै प्रवचनको घोचो तेर्सिन बेर छैन । खाइपाई आएको दरबार र यसको नाम फेर्ने अनि सिंह जस्तो कार्यकारी बलशाली विशेष पदलाई प्रवचकमा सार्ने र होचोअर्घेलो गर्ने भनेर खप्पीहरूका वचनवाणले नघोच्ला भन्न सकिन्न । प्रवचक त सेरेमोनियल हुन्छ, सिंह त कार्याधिकारी हुन्छ भन्ने जिकिर महोदयहरूले अवश्य अघि सोर्नमा बढी शङ्का गर्नु पर्दैन । तिनलाई प्रवचकको भाउ र दाउ कति माथिको छ भन्ने गहिरो ज्ञान नहुन पनि सक्छ । हुन त प्रवचनको विषय र आआफ्ना श्रोतागणको भिन्नताले पनि दरबारका प्रवचक र अनुष्ठानका प्रवचकमा मार्गदर्शन फरक नै हुन्छ होला । तर जता जेजे विश्लेषण गरे पनि प्रवचकका मान्यताहरू मिल्न मिल्न खोज्छन् । प्रवचकको मूल कर्म र मर्म भनेको श्रोतालाई मनोरञ्जन दिनु हो । श्रोतालाई शक्ति र भक्तिको गाथा श्रवण सुनाउनु नै प्रवचकको दायित्व हो । श्रवण शक्तिबाट पृथ्वी, जल, वायु, तेज, आकाशको बारेमा ज्ञान बाँड्नु नै प्रवचकको परिष्कृत पारख हो ।
प्रवचकका बारेमा अध्ययन र समीक्षा गर्न मन लागेपछि अरुतिरका बारेमा किन समय खर्च गर्ने ? हाम्रो अहोभाग्य र हाम्रो अहम् मताधिकारले सुुसज्जित भएका प्रवचकहरूको बयान गर्नु नै अर्को भाग्य हुन सक्छ । हुन त यो भाग्य शब्द पनि यस्तै कोही कतै प्रवचकले नै जन्माएका प्रवचनकोे गर्भबाट फुत्त आएको हो भन्नेमा धेरै शङ्का नगरौँ । सिंहदरबारका प्रवचकको प्रवचन खोतल्न त्यति सजिलो छैन । त्यहाँ दायाँ र बायाँ फर्कदा प्रवचनको भाषा फेरिन्छ, भाव बदलिन्छ । दायाँ बस्दा बायाँतिरलाई औँला उठाइन्छ । दायाँतिरबाट उसैगरी बायाँतिर औँलो ठडाइन्छ । प्रवचनका श्रोताहरू उही भए पनि भक्तजनहरू पनि विभाजित नै हुन्छन् । अन्य प्रवचनमा जस्तो सबैले जय जयकार गर्नमिल्दैन । सबैले जयजयकार गर्ने प्रवचनलाई राष्ट्रिय सहमतिको प्रवचन भनिन्छ । त्यो अत्यन्त दुर्लभ हुन्छ । त्यस्ता दुर्लभ प्रवचनका निम्ति सामान्य आम श्रोताहरू प्रतीक्षारत रहेका हुन्छन् । तर त्यो पर्खाइ अति नै लामो र आश्चर्यमय हुन्छ । यहाँको प्रवचनमा पनि अलि अलि कुम्भमेलाको प्रवचनमा जस्तै रपढप मिल्न जान्छ । श्रोताहरू आए पनि हुने र नआए पनि कसैले वास्त गर्दैनन् । प्रवचकको कक्ष र श्रोताको कक्षले यहाँको रौनकलाई प्रभाव पार्छ । कुन कक्षमा बस्नेले कुन कक्षको प्रवचनको ताली र गाली गर्ने भन्ने तय भएको हुन्छ । यहाँ पनि प्रवचकहरूको पनि महाप्रवचक हुन्छ । तिनको निर्देशनमा प्रवचनको विषय, हाउभाउ र दाउहरूको सस्वर प्रवचन खेल मनोरञ्जनमय हुन्छ ।
यहाँको प्रवचनले.आम मानिसको जीवननै प्रभावित पारिदिन सक्छ । आम मानिसका मुहारमा मुुस्कान दिने कि सधैँ गुहार गुहार भनेर बाँच्ने बनाउने यिनै प्रवचक महोदयका प्रवचनहरूको सारबाट निर्धारण हुन्छ । यहाँ कहिलेकाहीँ त प्रवचनको घाउ लागेर खपिनसक्नु हुन्छ र त्यो गोलीरुपी बोलीको घाउ रेकर्डको बाक्साबाट भिकेर फाल्न पनि प्रतिप्रवचन हुन्छ । यहाँको प्रवचन अत्यन्तै व्यवस्थित र कानुनी हुन्छ । यहाँ धारा र उपधार, दफा र उपदफाभित्र बसेर मात्रैप्रवचन दिन पाइन्छ । बरू उदेकता चाहिँँ प्रवचकहरूको कक्ष परिवर्तन माध्यमिक कालका कथाका तिलस्मी घटना जस्तै हुन्छन् । आज एउटा कक्षबाट प्रवचक भएको वक्ता रातारात भोलि अर्को कक्षको प्रवचकमा परिणत भइसकिन्छ । यस्तो परिवर्तन गतिशील विकासको द्योतक बनेर बारबार भइरहन्छ । कक्ष फेरिनु नै प्रवचकहरूको खेलको रमणीय गतिशीलता हो । कक्षअनुसार प्रवचनको भाषा फेरिनु र श्रोताको पनि कक्ष फेरिनु अनि तालीको ताल फेरिनु प्रवचनतन्त्रको सौन्दर्य नै हो । प्रवचनतन्त्रको दरबारमा यसले बोल्नेको पिठो मात्रै होइन, पिठोपूर्वको दाना, घोगा, बाला र बिरुवाको चित्रनै पनि बिक्न सम्भव हुन्छ । यही नै प्रवचनको अपार सार्थकता हो ।
प्रवचकका प्रवचनहरू सापेक्ष हुन्छन् । तर सापेक्षता पनि झन्डा र डन्डाले निर्धारण गरेको हुन्छ । प्रवचनको ताली लगाउने तन्त्र, मन्त्र, सू्रत्र र साधना विधि तयारी नै हुनु यहाँको प्रवचनको मौलिकता हो । हुन्छ भन्नेले हुन्छ र हुन्न भन्नेले हुन्न भन्ने गरी ताली र खाली कहाँ कसरी उभिने हो यो प्रवचन दरबारको नियम तोड्न मिल्दैन । नियम तोडेमा अरु लाभका अनेक आसनहरू मिल्दैन र आसन नमिल्नेले श्रोताको विश्वास पनि निल्दैन । विपक्षीको प्रवचन पनि खिल्दैन । यहाँको प्रवचनले वादविवाद प्रतियोगिताको राम्रो छनकमनक सम्झाउँछ । यसले विद्यार्थी जीवनलाई औधी मलजल गर्छ । यो पूव्चनको दोहोरीले दोहोरीकर्ताका प्रतिस्पर्धालाई पनि खुराक र सुराक प्रदान गर्दछ । वक्तृत्वकलाका पारखीका लागि यो प्रवचन समारोहको औपचारिकता र औपचारिकताभित्र लुकेको आशयको अनौपचारिकता मननीय नै हुन्छ । यहाँ मानवता, प्रजातन्त्र, स्वतन्त्रता, बौद्धिकता, विवेकशील, उदारतन्त्र, कठोरतन्त्र आदि सबैको अभ्यासगर्न सकिने प्रवचन व्यवस्थापन गरिएको हुन्छ । यिनै प्रवचनका शक्ति र सामथ्र्यका आधारमा यो दरबारलाई प्रवचन दरबार नामकरण गरी नाम फेर्दा राम्रो हुन्छ भन्ने यो प्रस्ताव अघि सारिएको छ । यसले इतिहासलाई बोझिलोपनबाट हल्का बनाइदिनेछ । किनभने इतिहासमा यो सिंहको दरबार नाममा दर्ता र चर्चामा आयो । सिंहको ओजमा यसले रहन नसक्दा र त्यो ओज प्रवचनमा सीमित भएकाले प्रवचन दरबार नाम भजाइदिए श्रोताहरूले पनि अदमका ताली बजाइदिने छन् भन्ने वक्रानुमान लगाउन किन पछि पर्ने ? धत् अब मेरा गलफत सुन्न छाडेर प्रवचन दरबारमा हिजो भएका कक्ष कक्षका अनि पक्ष विपक्षका दक्ष दक्षका र गच्छे गच्छेका समयअनुसारका महान् प्रवचनहरू सुन्नतिर लाग्दा सबैको भलाइ हुनेछ ।
०००
धादिङ
Subscribe
Login
0 Comments
Oldest








































