साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाका मान्छेलाई निम्ता गर्दा होस् गरौँ !

सहभागीको उमेर, स्वास्थ्य र शारीरिक अवस्थाको आयोजकहरूलाई हेक्का रहोस् । घरायसी कार्यक्रम मित्रता बढाउन, नवीकरण गर्न र स्वास्थ्यअनुकुल रमाइलो गर्न होओस्

Nepal Telecom ad

नेपालको वयस्क उमेर समुहमा पाका मान्छेको सङ्ख्या अहिले कम्तीमा बिस प्रतिशत माथि छ । यस्तो प्रतिशत उपलव्ध औषधहरू र चेतनाको स्तरोन्नतिले गर्दा नेपालजस्तो कम विकसित देशमा पनि बढ्दैजाने निश्चित छ । नेपालमा पनि केहि प्रतिशत मानिसहरू कामको विविधताले आय आर्जनका विभिन्न उपाय मार्फत पारिवारिक प्राविधिक साधन स्रोतयुक्त बनेका छन् । त्यसैकारण आजभोलि मान्छेनै पुगेर सम्चार दिने, कछुवा गतिको हुलाक पर्खनुपर्ने र मुख्य केन्द्रमा हुने आकाशबाणी सेवाको भरमा सञ्चारको उपयोग हुन छाडेको छ । अचेल त हातमै दिएर गरिने पारिवारिक निम्तो पनि फोन वा बिग्रेको आवाजमा भए पनि अनुहार देखिने भनेर जसोतसो बिनातारको महिनावारी शुल्कमा जडित वाईफाई भनिने दुरसञ्चार प्रणालीमार्फत हुन थालेको छ । कैयौँ सरकारी गैरसरकारी कामकाज र श्रेस्ताहरूसमेत त्यसै माध्यमबाट फोटो खिचेर पठाई सम्पन्न गरिएको पाइन्छ ।

हिजोआज नेपालमा नियम मानेर वा विधि पुर्‍याउन भए पनि सभासमारोह तथा कार्यक्रमहरूमा पाका मानिस निम्त्याउने चलन बढदै छ । अझ शताव्दी नाघेका पाका मान्छे उपस्थित गराउन पाए हरेक आयोजक आफ्नो कार्यक्रम बिशिष्ट र पूणर् सफल भएको डबलीबाटै घोषणा गर्न पनि बेर लगाउन्नन् । विभिन्न समुदायका महिला पुरुषमात्र होइन पाका मान्छेको उपस्थितिले हरेक कार्यक्रम समावेशी, संयमित, उत्साहित, आधुनिक र प्रजातान्त्रिक मानिएकाले नै त्यसो गरिएको होला ।

कार्यक्रम बारेमा पहिले नै जानकारी दिउँ
हिजोआज कुनै न कुनै कार्यक्रम नहुने समुह वा वडा तहमा बिरलै होलान् । कार्यक्रमको शोभा बढाउन निम्ता गर्ने वा लिनै गएर पाका मान्छेलाई ल्याउने धेरैतिर देखिन्छ । पाका मान्छेको उपस्थितिले आयोजक आनन्दित र गर्व त अनुभव गर्लान् नै तर आयोजकले पाका मान्छेलाई आमन्त्रण गर्दा गरिनुपर्ने व्यवस्थामा ध्यान पुर्‍याएको कम देखिन्छ । त्यस्तै कार्यक्रम नै चमत्कार गर्न खोजेकोजस्तो बिस्तृत जानकारी नदिई पाका मान्छेलाई बोलाउनु हुन्न । के कस्ता मान्छेको जमघट हुन्छ, कतिन्जेल बस्नु पर्छ र उहाँको भूमिका के हो ?, सबै जानकारी दिएर मात्र निम्ता गरिनु पर्छ । कार्यक्रमबारे समग्र जानकारी, सहभागी हुँदाको पोसाक, आसन, कार्यक्रम बिचको फूर्सद तथा मनखुसी गर्न हुने कार्यबारे जानकारी नहुँदा नदिइँदा पाका मान्छेलाई समस्या पर्छ । आफ्नो दैनिक औषधि सेवन र खाद्य आपूर्तिसहित क्रियाकलाप सुचारु गर्न झञ्झट परेको देखिन्छ । उहाँहरूले आवश्यक्ता अनुरुप क्रियाकलाप आफ्नो दैनिकी गर्दा आयोजकलाई अप्ठ्यारो लाग्न सक्छ भने संयोजन नहुने देखेर सहभागी हुने सम्भावना घट्छ ।

शारीरिक अवस्थाले अप्ठेरो पार्न सक्छ
कार्यक्रम आयोजकले निम्तालु पाका मान्छेको शारीरिक अवस्था के छ बुझेर मात्र निम्ता दिनु र आउन कर गर्नु पर्छ । धेरैबेर बस्न नसक्ने, बेला बेलामा नरम ओच्छ्यानमा ढल्कनु पर्ने कमजोरी छ भने लामो कार्यक्रममा बोलाएर थप कष्ट दिनु अमानविय हो । आउनासाथ कि कार्यक्रम सुरु गर्ने र उहाँले शुभारम्भ गरेर बिदा हुन पाउने हुनुपर्छ, अथवा बिचमा उठेर जान छुट हुनुपर्छ । नियमित औषधि सेवन गर्ने काम समयमा नै गर्नुपर्ने छ भने लिइआउन सम्झाउनु पर्छ । आफूले बोलाएर अरुलाई दुख पाउने गराउनु भएन नि ! त्यस्तै, लामो बाटो हिँड्न नसक्ने वा सार्वजनिक सवारीसाधन प्रयोग गर्न नसक्ने हो भने आयोजकले सुविधायुक्त सवारी साधनको व्यवस्था गरिदिनु पर्छ । दम भएको, खोकिरहने वा सरुवा रोगबाट भर्खर तङ्ग्रिएका पाका मान्छेलाई बोलाएर कष्ट दिनु हुँदैन, त्यसले आमन्त्रित पाका मान्छेलाईमात्र होइन सभामा आउने अरुलाई अप्ठ्यारो पार्न सक्छ । थोरै समयको कार्यक्रममा पनि पाका मान्छेको आवश्यक्तालाई आयोजकले कम आँक्नु हुन्न ।

बसाई बारेमा विशेष ध्यान दिनुपर्छ
पाका मान्छेलाई राखिने आसनबारे बिचार गरौँ । सकेसम्म दुबै हातपाखुरा राख्न मिल्ने मेच वा सोफा हुनु ठिक हुन्छ । बसाई काठ वा ल्पास्टिकको मेचमा नरम चकटी हुनु आवश्यक छ भने ढाड अड्याउने हुनुपर्छ । मान गर्ने नाममा ढाड नै कुप्रिने लचकदार सोफाले कष्ट दिनसक्छ । मिलेमा गोडा नझोल्लिने र बेलाबेला खुट्टा तन्काएर पाइताला अड्याउने पाउदान भएको टेबुल अगाडि भएको राम्रो हुन्छ । त्यस्तै नसा र स्नायु सम्बन्धी समस्याका पाका मान्छे बस्ने ठाउँ पलेटी मारेर बस्नेमात्र साँगुरो वा हात खुट्टा नै तन्काउन नमिल्ने पनि हुनुहुन्न । उहाँहरूलाई एकोहोरो बस्दा हातखुट्टा सुन्निने वा झमझमाउने हुनसक्छ । धेरै समय बस्दा ढाड दुखेर उठ्न नसक्ने वा अररिने हुनसक्छ । सकेसम्म बसाई आरामदायी, साँगुरो नभएको खुल्ला हुने किसिमले होस् र पाका मान्छेले आफूलाई आवश्यक पर्छ भनेर ल्याएका झोला वा लौरो राख्ने ठाउँ होस् ।

मञ्चमा आसन ग्रहण गरिएका व्यक्तित्व नछेकिने गरेर मञ्चको दायाँबायाँ एकातिर वा दुबैतिर बोल्ने ठाउँ होस् यसले गर्दा पालैपालो दुबैतिर हेर्न सकियोस् । एकोहोरो एकातिरको हेराई दर्शक, श्रोता र मञ्चासिन सबैका लागि मुन्टो अररिएर कष्टकर हुन्छ । सुरक्षित पानी त आसन अगाडि पहुँचको ठाउँमा हुनै पर्‍यो नि । पाका मान्छे धेरैमा केही न केही स्वास्थ्य समस्या हुनसक्छ, पानी पिइरहनु पर्ने वा शौँच छिटोछिटो हुने वा थाम्न नसक्ने । पुरुषमा उमेरिदै जाँदा पिसाब थैली र प्रोस्टेट समस्या र महिलामा आङ झर्ने वा पिसाब रोक्न नसक्ने समस्या हुन सक्छ । त्यसैले बसेको ठाउँबाट सजिलै उठेर नजिकको शौँचस्थानमा जानसक्ने व्यवस्था हुनुपर्छ । यस्तो ख्याल नगर्दा एक पटक नेपालका प्रकृति अनुसन्धानका प्रख्यात विज्ञले मञ्चमा आफ्नो पाइन्ट पुरै भिजाएको दुखद घटना जस्तै हुन्छ । त्यसपछि उहाँले भन्नुहुन्थ्यो ‘मानिसले घेरिएको त्यस्तो कार्यक्रममा जान्न’ र पछि कुनै कार्यक्रममा जाने आँट नै नगरी बित्नुभयो ।

मञ्चमा मात्र होइन सहभागीहरूमा पाका मान्छे हुनुहुन्छ भने अग्रपङ्क्तिमा राख्नु राम्रो हुन्छ । आयोजकलाई हेक्कारहनु पर्छ कि पाका मान्छेका ईन्द्रियहरू विशेषत आँखा र कान कमजोर हुनसक्छ र सहभागिताको आनन्द नमान्न सक्नुहुन्छ । आफूखुसी बस्ने बाहेक सबै पाका मान्छेलाई स्रोता बस्ने ठाउँमा सबैभन्दा अगाडि नै राखिनुपर्छ । त्यसोभए कार्यक्रममा गरेका काम र भनेका कुरा उहाँहरूले बुझ्न सजिलो पर्छ र पछिपछि पनि शोभा बढाउन उत्सुक हुनुहोला ।

मञ्चमा धेरैबेर उभिनु पर्ने काम नलगाऊँ
पाका मान्छेलाई सकेसम्म गराउने कार्यक्रमका विभिन्न काम एकै छिमल सिध्याउने व्यवस्था मिलाउनु पर्छ । एकै खालको काममा घरीघरी उठाउने, तलमाथि गराउने गर्न लगाउनु हुँदैन । प्रायः कार्यक्रममा माल्यार्पण, राष्ट्रिय गान, शहीदप्रति मौनधारण, पानसमा बत्ती बाल्ने आदि एक पटक उठ्दै गराउन सकिन्छ भने पुरस्कार बितरण वा ओढनी ओढाई सम्मान पनि एकै पटक गर्न सकिन्छ । पटकपटक भूमिका बाँधिबाँधि बारम्बार उठबस गराएझैँ गराउनु पाका मान्छेलाई कष्ट दिनु हो । धेरैजनालाई सम्मानित गर्ने आयोजकको कार्यक्रम छ भने पाका मान्छे महिला र पुरुष गरेर धेरै जनाबाट गराउने सोच्नु पर्छ । द्विप प्रज्वलन वा धुप बाल्दा धेरै खार आउने खालको हुनुहुँदैन, सकेमा बिजुलीको हलुका प्रकाशदिने चिम बाल्ने वा अल्पकालिन बत्ती नै ठिक हुन्छ ।

कतिपय पाका मान्छे धेरैबेर उभिन नसक्ने हुनुहुन्छ भने बसेर बोल्नमिल्ने हाते माइक उपलब्ध हुनुपर्छ । त्यस्तो कार्यक्रममा धेरै पटक बोल्न पर्ने भएमा बिचबिचमा थरक मार्ने समय राखेर मात्र बोल्न लगाउनु ठिक हुन्छ । श्रोता वा आयोजकले आफ्नो रमाईलोको लागि हौस्याईहौस्याई पाका मान्छेलाई धेरै भन्न लगाउने, बिर्सन सकिने कुरा पनि ‘तपाइँको अमुक कुरा साह्रै गज्जब छ, भन्नुहोस्’ भनि करगरी फुर्मायस गर्ने काम गर्नुहुन्न । यस्तो क्रियाकलापले उहाँमा आफू बिर्सेर लज्जित हुने र बितृष्णामा गएको बेठिक सोचाईको भ्रम पर्नसक्छ । पाका मान्छेमा कम प्रयोग भइरहेका कुरा बिर्सने सामान्यतया हुन्छ भनि सबैले बुझ्नुपर्छ ।

समयको हेक्का
कार्यक्रमको समय निश्चित हुनुपर्छ र कम्तिमा पाका मान्छेलाई सुरु हुने र समापन हुने समय भनिनुपर्छ । पाका मान्छे आफ्नै अनुभवले र कामको महत्वले हरेक काम ठिक समयमा गर्न उत्सुक हुन्छन् । उहाँहरू समयको महत्व नराखी ढिलापुग्ने गर्नुहुन्न बरु एक पाइलो चाँडै जानु राम्रो भनि बाटो म्याद राखेर नै हिँड्नुहुन्छ । एक जना तन्नेरी शिक्षक जहिल्यै कक्षामा ढिलो पुग्नेहुँदा दिक्क लागि विद्यार्थीले सोद्धाा कहिले ‘बाटोमा यस्तो भयो वा जाम भयो’ भनि बहाना बनाउँथे रे उता जहिल्यै समयमा पुग्ने पाका शिक्षकलाई सोद्धा ‘म अहिलेको स्थिति थाह भएर ठिक समयमा कक्षा लिन बाटोको म्याद अड्कलेर हिँड्छु’ भन्नुहुन्थ्यो रे । पाका मान्छेको जिम्बेवारी पुरा गर्ने निश्चित उत्कण्ठाले समयप्रति हेक्का राख्ने नै देखाउँछ । बरु अनुकुल नहुँदा उपस्थित नहुने भन्न पनि धक मान्ने पाका मान्छे हुँदैनन् ।

उपयुक्त खाना वा खाजामा ध्यान दिउँ
सभा कार्यक्रम आयोजकले जलपानको व्यवस्था गरेको भए, पाका मान्छेलाई निम्ता गरेको भए चलनचल्तीको पाकशालाको भर पर्ने होइन । आयोजनामा सहभागीको अवस्था, क्षमता र स्वास्थ्यस्थितिलाई ध्यान दिएर खानेकुराको निर्देशन दिनुपर्छ । पानी साँचीकै उमालेर सुरक्षित र चिसिन खोजेको उपलव्ध हुनुपर्छ भने खानेकुरा कम्तीमा मनतातो हुनैपर्छ । आयोजकले नै खाद्य र पेय पदार्थको गुणस्तर सुनिश्चितताको लागि आफैँ नियमन गरेको हुनैपर्छ । रासायनिक पदार्थ मिलाई स्वदिष्ट बनाइने, धेरै मरमसला, तेल, पिरो, आदि राखिएको हुनुहुन्न । पाकेर खाने चिजविज कचिलो हुनुहुन्न र काँचै खानेकुरा सुरक्षित पानीले धोइएको हुनै पर्दछ । सबै उमेरसमुहले सजिलै ग्रहण गर्न सक्ने हुनैपर्छ ।

पकवान नगर्ने, मांसाहारी नगर्ने भन्ने नाममा कडा फलफूल सिङ्गासिङ्गै पस्किने काम पनि गर्नहुन्न । आफ्नै देशको भन्दै काँचो नास्पाती, हरियो कटमिरोे अम्बा आदि दिइनु पनि ‘हेर तर नखा’ भनेजस्तै हुन्छ । पाका मान्छेहरूको एउटा कार्यक्रममा नताछिएको र टुक्रा नगरिएको सिङ्गासिङ्गै स्याऊ राख्दा केहीले खाएर सबैले छोडेर हिँडेको घटनाले आयोजक बिस्मातमा परेका थिए । झोल तरकारीबिनाको चिउरा, धेरै पुरानो फुरन्दाना, बासी हलुवा, समोसा, निम्की, जस्ता खाद्य कुरा सबैका लागि हानिकारक हुन्छन् । गुलियो र नुनिलोमा पनि ख्याल राखिनु पर्छ, कसैलाई मृगौलाको स्वास्थ्य समस्याले नुन थप्नुपर्ने हुन्छ भने कसैलाई रक्त उच्चचापले अलिनो, कसैलाई मधुमेहका कारण गुलियो खान हुन्न ।

घरायसी कार्यक्रमः
पारिवारिक जमघटमा वयस्कहरूको रमाइलोले सबैभन्दा अप्ठ्यारोमा पर्ने उमेरसमुहमा पाका मान्छे र दुधछुटेका बालबालिकाहरू पर्छन् । घरकाबाहेक बाहिरका नातागोता, ईष्टमित्र र कहिले पनि नआएका मान्छे धुइरेका हुन्छन् । पाहुनाको मानमनितो गर्न र आयोजकले आफूलाई खास देखाउन बिहान कतिखेरदेखि सिँगारपटार र सजधज गरिरहेका हुन्छन् । मान्छे आउन थालेपछि ती सबैको कहिँ नभएको हतारोको बेला हुन्छ । एकजोर लुगा हुर्‍याएर केटाकेटी पन्छाउँछन् भने पाका मान्छेलाई ‘अलि धोईपखाली गरेको लगाएरमात्र आउनु नि’ भनि उर्दी सुनाएर जान्छन् । उचित रेखदेखको अभावमा साना केटाकेटी कता जाने, के गर्ने, कोसँग बस्ने भन्ने समस्यामा परेका हुन्छन् । पाका मान्छे मनलागी नलागी भएकोमध्ये आफूलाई ठिकलाग्ने लगाएर जान खोज्छन् । गम्भीर छलफलरहित त्यस्ता कार्यक्रममा कता थच्चिने थाहा नपाएर बालबालिका भौँतारिन्छन् भने पाका मान्छे अलमलमा परेका हुन्छन् ।

केटाकेटीले अनौठो परिस्थितिमा नौला मान्छे देखेर निणर्य गर्न नसकी देख्यो कि आमासँग कि बाबुसँग पछि लाग्छन् । बाबुआमा ‘कति झुण्डिन सक्या ?’ भन्दै घरका पाका मान्छेतिर देखाउँदै ‘यसो हेर्दिए पनि हुने नि, त्यति त सघाए के हुन्छ ? सकिन्छ है, आफूलाई भ्याई नभ्याई छ’ भन्दै घुक्र्याउँछन् । अब ज्ञानी केटाकेटीको पालो घरमा सँधैझैँ पाका मान्छेसँग थुप्रिनु र उही पुरानै कथाव्यथा सुन्नुनै हुन्छ । त्यो जिम्बेवारीबाट पाका मान्छे उम्किएर आगन्तुक चिनजानकासँग कुशलक्षेम सोध्ने अवसर बिरलै पाउलान् ! दाहिनेबायाँ भई केटकेटीको केही उम्नाचो भए वा झिँझोले त बेलुका सबै गएपछि ‘केटाकेटीको के दोष ? उमेर खाएकाको त त्यो चाल छ’ भनि कति दिन सुन्नुपर्ने ठेगान हुन्न !

गर्नुपर्ने त के हो भने, पाका मान्छे र केटाकेटीको लाउने, खाने चिजबिजको बन्दोवस्त बेलैमा गर्ने र उचित स्थानमा बस्नलाई तोक्ने । आउने जानेलाई भेट्न र कुराकानी गर्न अनुकुल ठाउँ ती दुई उमेर समुहलाई राम्रो हुने सकेसम्म मुख्य जमघटको मुखतिर ठिक होला ! त्यसोभए दुबै समुहलाई नयाँनौलो हेर्न, भेट्न र कुरा गर्न सजिलो भएर यताउति छरिने हराउने हुन्नन् । कार्यक्रम गर्ने जिम्बेवारले खानेकुरा खाने नियमित समयमा आएर खान र औषधि सम्झाउन सजिलो पर्छ । बिचमा सल्लाह गर्न र केही काम लगाउन निश्चित ठाउँमा आए पुग्छ । आज एक दिनलाई भनेर जे पायो त्यहि वा स्वास्थ्य बिगार्ने खानेकुरा नख्वाइयोस् । यसले गर्दा घरायसी कार्यक्रमपछि प्राय केटाकेटी र पाका मान्छेमा देखिने स्वास्थ्य समस्या हुनेछैन । नत्र त एक दिनको रमाइलो पछि ज्वरो आउने, खोकी लाग्ने र पेट ठिक नहुने सामान्य हुन्छ । रमाईलोलाई दैनिकी बनाउन खोज्ने विशेषत केटाकेटीको बानीमा परिबर्तन आई नियमित अध्ययन र आज्ञाकारीतामा ह्रास आउने हुनसक्छ । विभिन्न तालका केटाकेटीको क्षणिक सङ्गतले गलत बोलीचाली, काम र चाख बढ्न पनि सक्छ ।

कार्यक्रमको खानपान घरभित्रकै हो भने सकेसम्म सादा, पिरो, अमिलो, तेल र मसला ठिक्क मात्र होस् । बाहिरको भए माथिको जस्तै स्वास्थ्यलाई ख्यालराखी निणर्य गरिएको होस् । सक्छौँ भनि देखाउन बजारका विभिन्न रासायनिक पदार्थयुक्त चटकिला पेय पदार्थ र खानेकुरामा जोड नगरियोस् । संक्रामक रोग सर्ने साम्भाव्यता हेरेर मात्र कार्यक्रम गर्ने नगर्ने निणर्य होस् । कामको बाँडफाँड शारीरिक अवस्था र क्षमता हेरेर गरियोस् । हरेक कार्यक्रमपछि परिवारमा झन बढि स्नेह र माया बसोस्, कमिकमजोरी कोट्ट्याएर अखानो बनाउने नहोस् ।

भनेको समयमा कार्यक्रम सुरु गर्ने र समापन भएको जानकारी मुल आयोजकबाट गराइयोस् । जतिसुकै रमाइलो भए पनि कार्यक्रम नलम्ब्याइयोस् बरु समयको ख्याल गर्नुपर्छ भन्ने सिकाई आउने पाहुनाले पनि सिकुन् । सकेसम्म कर्कश आवाजका बाद्ययन्त्र साथमा आवाज ठूलो पार्ने यन्त्र प्रयोग नगरियोस्, त्यसले सहभागीको मात्र होइन छिमेकीहरूको पनि गुनासो सुन्नुपर्ने हुन्छ । ठूलो हल्ला हुने काम वा टोल नै थर्किने बिस्फोटक खेल नगरियोस्, त्यस्तोले केटाकेटी र पाका मान्छेको स्वास्थ्यमा प्रतिकुल प्रभाव पर्नसक्छ । ढिलासम्म कार्यक्रम गरेर छिमेकीलाई बाधामात्र पुग्ने होइन घरमा काम गर्नेलाई भोलिपल्ट पनि गलेर बिसञ्चो हुने स्थिति पारिनु हुन्न ।

अन्त्यमा,
नयाँनयाँ जानकारी तथा सुखदुखमा साथ छौँ, भन्ने सुनाउन र देखाउन सार्वजनिक कार्यक्रम गर्नु फलदायी हुन्छ । सहभागीको उमेर, स्वास्थ्य र शारीरिक अवस्थाको आयोजकहरूलाई हेक्का रहोस् । घरायसी कार्यक्रम मित्रता बढाउन, नवीकरण गर्न र स्वास्थ्यअनुकुल रमाइलो गर्न होओस् करबल वा देखाउन नहोस् । हरेक कार्यक्रम पछि सहभागी मानिसले नयाँ कुरा थाहा पाउन्, मित्रता र सहभागिता अझ बढि कसिएर जाने खालका होओस् साथै बोझको रुपमा असजिलो कसैले अनुभव नगरुन् । अरुले पनि देखासिखी गर्ने कार्यक्रम बनाउन, जमघट आयोजना गर्ने सबैले सोचुन् ।

०००
चालिसेडाँडा, ल.पु.

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
बृध्दभत्ता– पहेँला अक्षता कि पिण्ड हो ?

बृध्दभत्ता– पहेँला अक्षता कि...

डा. मुकेशकुमार चालिसे
कसरी पाटी बन्दैछन् घरहरू… ?

कसरी पाटी बन्दैछन् घरहरू…...

डा. मुकेशकुमार चालिसे
हामीलाई एकै नापो काम लाग्दैन है !

हामीलाई एकै नापो काम...

डा. मुकेशकुमार चालिसे
हामीलाई बेवास्ता गरे विकास हुन्छ र ?

हामीलाई बेवास्ता गरे विकास...

डा. मुकेशकुमार चालिसे
0
Would love your thoughts, please comment.x
()
x