सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

गुट उद्योग

चुनावी उद्योग, गुट उद्योग हामीसँग यत्रतत्र सर्वत्र उपलब्ध छ । यसको उत्पादनलाई चुनाव अगाडि मात्र होइन, चुनाव पछाडि पनि निरन्तर प्रतिफल दिनसक्नु आजको चुनौती हो ।

Nepal Telecom ad

जे सुकैको होस् उद्योग स्थापना हुनु भनेको राम्रो कुरा हो । आफू र आफ्नाको प्रगति गर्ने हाम्रो कुरा हो । उद्योग फस्टाउँदा यसै पनि उत्तम हुन्छ अझ त्यसमा गुट उद्योगको मार्केट बिस्तार हुँदा त झन् खानेकुरा देखि लाउने कुरा सबैमा चुनावको गन्ध बसाउँछ । सबैलाई सोचे अनुसारको राजनीतिक प्रतिफलले हसाउँछ । यो मौसम चुनावको हो । चुनाव भनेको सबैले खोजेको कुरा, सबैले रोजेको कुरा फटाफट पाइने समय हो । जसलाई जताबाट जे मिल्छ त्यतैतिर हाम फाल्ने उत्तम अवसर हो । मौकामा चौका हान्नुपर्छ भन्नेले चुनावको बेलामा त झन् चौका मात्र होइन छक्का पनि हान्नुपर्छ । जताबाट, जसरी, जति मिल्छ त्यति नै ठोक्नुपर्छ । जसले जे दिन्छ, हड्डी र छालाले धानुन्जेल बोक्नुपर्छ । केही भएन भने सित्तैमा पाइने अमृत जल सकूञ्जेल धोक्नुपर्छ ।

जे कुराको पनि विकास हुन बेला आउनुपर्छ, समय आउनुपर्छ भन्नुहुन्थ्यो बूढापाकाले । हो रहेछ साँच्चै, अहिले झयाप्पै गुटको विकास भएको देख्दा त तीन छक्क परिन्छ क्या । केही समय पहिलाको स्थानीय चुनावमा अलि अलि टुसाहरू पलाएको गुटको अहिले त जताततै वनमासा घारी जस्तै भइसक्यो बा ! घाम हेर्दा पनि गुट, रुख हेर्दा पनि गुट, हलो हेर्दा पनि गुट, छाता हेर्दा पनि गुट यत्ति मात्र होइन हजुर जसलाई जताबाट जसरी हेर्दा पनि भित्र पुगेपछि गुट । पूर्वका गुट, पश्चिमका गुट, हनुमानका गुट, युवाका गुट, बूढाका गुट, केटाकेटीका गुट, प्रेमी-प्रेमिकाका गुट, पतिपत्नीका गुट, सालाभेनाका गुट….कति धेरै हुन् क्या गुटका जंगल । यति धेरै गुट बनाउन कसले छुट दिएको होला ? आफूलाई त मन भित्र-भित्र कस्तो-कस्तो पो लाइराछ ।

उद्योग, कलकारखाना खोलेर देशको आर्थिक विकास गर्नुपर्छ भन्थे । अब त सोचे जस्तै प्रगतिको छलाङ् मारिने भो । यति धेरै कसैले सोच्दै नसोचेका, खोज्दै नखोजेका गुटका उद्योगहरू, बिना लगानीमै खुलेपछि मुलुकमा विकास भन्ने कुरो त कति-कति । सबैले यस उद्योगमा जागिर पाएर बेरोजगारको त चिलिमच्वाँट नै हुने भो । अबको बजेटमा बेरोजगार भत्ता काट्नुपर्छ है हामीले पनि सम्झीराखौँ । अँ साँच्ची, अन्य कुराको प्रगति, समय क्रमको आधुनिकता सँगै यस उद्योगमा पनि आमूल परिवर्तन भएको छ ।

चुनावरुपी शेयर बजारमा नेता अनि कार्यकर्ताको मूल्य अनि प्रतिष्ठामा रातो बत्ती बल्यो भने दिनमा चौगुना र रातमा सय गुना सप्रिन्छ गुट उद्योग । एनी हाऊ, चुनावको टिकट कमाऊ यस उद्योगको प्रमुख विशेषता हो । मिलेसम्म परिवारका सबै जनाले टिकट कमाउनुपर्छ, त्यसको लागि दर्जनौँ गुटको सिंग समाउनुपर्छ । आफू भनेको आफू हो साथी, छोरा,बुहारी, श्रीमतीको विश्वास नगर्नुस, एकलोक जाने उमेरमा पनि आफ्नै लागि चुनावको टिकट कमाउनुहोस्….दुई पाली मर्ने होइन, चुनावको टिकट हातमै लिएर मरौला नि कसो ?

क्या कमालको छ गुट उद्योग । यसले यतिवटा मात्र खोल्न पाउने भन्ने कुनै नियम छैन । यसको छुट्टै ट्रेडमार्क पनि छैन । जसले जतिबेला मन लाग्छ तुरुन्तै खोल्न पाइन्छ । जसलाई जति बेला मन लाग्छ तत्काल छोड्न पाइन्छ । उद्योग खोल्नु यस्तो पो उद्योग । जिरो लगानीमा प्रतिफल त कति- कति । न- त गनीसाध्य । न-त भनीसाध्य । फाइदा नै फाइदा अनि काइदा नै काइदा । हो साच्ची यस उद्योगको विकास पनि जादुको छडी सरह हुन्छ । चुनाव अघिसम्म त यस उद्योगका घोषणा पत्ररुपी उत्पादनमा मुलुकको प्रगति नै प्रगति, अनि समृद्धि नै समृद्धि । बेरोजगारीको अन्त्य, मुलुक स्वीजरल्याण्ड भन्दा अझै उत्तम ल्याण्ड, धनी र गरिब सबै बराबर । देशको प्रतिव्यक्ति आय बीस हजार अमेरिकी डलर । आर्थिक वृद्धि दर तीन अंकको । खुशी नेपाली, सुखी नेपाली, सबैभन्दा उत्तम नेपाली । विश्वमै नभएको नयाँ-नयाँ प्रगति, उन्नति ।

गुट उद्योगको उत्पादन प्रचुर मात्रामा हुने भनेको नै चुनाव हुनुभन्दा अगाडि मात्र हो । यसको मौसम नै चुनावी मौसम हो । चुनावको जीत पछाडी त यस उद्योगको उत्पादन मात्र होइन, नाम समेत कहाँ पुग्छ थाहा पाउन ज्योतिष बाजेकोमा नै जानुपर्छ क्या । कमालको छ उद्योग । आजको माहोल हेर्दा गुटहरूमा पनि स्वतन्त्र गुट उद्योगले निकै बजार तताएको छ । बालेन ब्रो, हर्क ब्रो जस्ता केही ब्रोहरूको जीतलाई देखेर देखासिकी गर्नेहरूको संख्या निकै थपिएको छ । स्वतन्त्र गुटभित्र मात्रै छिर्नेुभयो भने सबै पार्टीका, सबै जातिका, सबै साथीका, सबै छातीका ब्रोहरू मात्र होइन, ड्याड अनि ममहरूलाई पनि देख्न सकिन्छ । सबैको मन बिसाउने चौतारी हो स्वतन्त्र गुट ।

कति शत्तिशाली छन् बाबै गुट उद्योग । पार्टीभित्र बार्गेनिङ् गर्न, मन्त्री हुन, राम्रो मन्त्रालय पार्न, समानुपातिकमा टिकट झार्न यी र यस्ता सबै काममा काम लाग्छ यो उद्योग । कस-कसले कस्ता- कस्ता कच्चा पदार्थ ल्याएर स्थापना गर्न सक्छन् । फल उस्तै-उस्तै प्रकारको पाइन्छ । कर्म गर फलको आशा नगर भन्थे, यहाँ भने गुट उद्योगको स्थापना गर तर भोटको भर नगर भन्दा राम्रो होला । यो बेलालाई अमृत बेला मान्नुपर्छ गुट उद्योग दर्ता गर्ने । नयाँ मात्र होइन हजुर पाँच, सात वटा दर्ता गरिसकेकाहरूले पनि फेरि नयाँ दर्ता गर्न आएको आयै छन् । मर्ने बेलामा हरियो काँक्रो होइन अब हार्ने बेलामा गुट उद्योगको चटारो भन्नुपर्ला ।

आदरणीय पाठक महाशय, चुनावी माहोल हजुर हाम्रो घर आँगनमा मात्र होइन । मन, मुटु र मस्तिष्कमा भित्रिइसकेको छ । गुट उद्योगका मात्र नभई, चुनावी उद्योगका सबै उद्यमीहरूलाई विजयी अनि उच्च सफलताको कामना । तपाईं हामीलाई थाहा छ । उद्योग खुल्नु निकै प्रशसनीय विषय हो । चुनावी उद्योग, गुट उद्योग हामीसँग यत्रतत्र सर्वत्र उपलब्ध छ । यसको उत्पादनलाई चुनाव अगाडि मात्र होइन, चुनाव पछाडि पनि निरन्तर प्रतिफल दिनसक्नु आजको चुनौती हो । साँच्ची सबैले चुनावी घोषणा पत्रलाई व्यवहारिकता नै गरेर देखाइदिनुहोस् न, परेको हामी बेहोरीदिउँला । हाम्रा कुरा यहाँहरूलाई कस्तो लाग्यो कुन्नि ? खबर गर्न नबिर्सनुहुन अनुरोध गरियो है ।

०००
स्याङ्जा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
राष्ट्रिय इमान-बे-इमान !

राष्ट्रिय इमान-बे-इमान !

गायत्री परिरोशनी
राष्ट्रिय करी चा-करी !

राष्ट्रिय करी चा-करी !

गायत्री परिरोशनी
राष्ट्रिय विकास रमिता !

राष्ट्रिय विकास रमिता !

गायत्री परिरोशनी
नयाँ वर्षको शुभकामना

नयाँ वर्षको शुभकामना

गायत्री परिरोशनी
जन्मदिनको शुभकामना !

जन्मदिनको शुभकामना !

गायत्री परिरोशनी
तीन ठोक्तक

तीन ठोक्तक

गायत्री परिरोशनी
रुद्रघण्टी हरायो !

रुद्रघण्टी हरायो !

गायत्री परिरोशनी
ज्युनार गोष्ठी !

ज्युनार गोष्ठी !

गायत्री परिरोशनी
कुरा काट्नुको मज्जा !

कुरा काट्नुको मज्जा !

गायत्री परिरोशनी
सहकारी खेती

सहकारी खेती

गायत्री परिरोशनी
सिंहदरबार माने बाघदरबार

सिंहदरबार माने बाघदरबार

गायत्री परिरोशनी