साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सिंहदरबार माने बाघदरबार

अनि बल्ल हामी मनुवाहरूको कर्म शुद्धि हुन्छ, जीवनको औचित्य पूरा हुन्छ । मात्र उनीहरूको लागि, मात्र बाघदरबारभित्रका सिंहहरूको लागि, सिंहदरबारभित्रका बाघहरूका लागि ।

Nepal Telecom ad

गायत्री परिराेशनी :

सिंहदरबार माने बाघदरबार, नाम नसुन्ने कम नै हुनुहुन्छ होला पक्कै पनि । जमाना बिर्सनेहरूको छ, जमना भुल्नेहरूको छ तर हामी अनुमान लगाउन सक्छौँ कि आफ्नै बाबुको नाम नजान्नेहरूले पनि सिंहदरबारको नाम जानेका छन् । सिंहदरबारलाई जे-जस्तो भए तापनि दुईचार शब्द बोलेर धारेहातले हानेका छन् । नाम राख्ने पुरोहितले राम्रै राखेका हुन् यस सिंहदरबारको । धेरैले नाम राम्रो पाएर पनि काम गर्न सकेका हुँदैनन् भन्नुको मतलब “जुन गोरुको सिङ छैन, उसैको नाम तिखे” जस्तो हुन्छ । यस मानेमा पनि सिंहदरबारलाई राम्रै मान्नुपर्छ । नत्रभने भएभरका वनमा बस्ने सिंहहरूले गर्न नसक्ने काम पनि दाम र नाम पाए भने त यहाँ क्षणभरमा नै हुन्छ ।

हजुरहरूलाई पक्कै पनि थाहा छ, आजभोलि चिन्तन पोजेटिभ लिनुपर्छ, सोचाइ पोजेटिभ लिनुपर्छ, बाघदरबारभित्र हुने सिंहगोष्ठीहरूमा पनि यही कुरा बक्स हुनेगर्छ । नहोस् पनि कसरी ? जङ्गलका राजा कसलाई भन्न सकिन्छ भनेर प्रश्न गर्‍यो भने एउटा पाँच बर्षे बच्चाले पनि उत्तर दिन्छ सजिलै सिंह भनेर । त्यसैगरी नेपालको सबैभन्दा उत्कृष्ट दरबार, सबैभन्दा ठूलो दरबार, सबैभन्दा बूढो दरबार, सबैभन्दा बलियो दरबार, सबैभन्दा हरियो दरबार, सबैभन्दा भरिलो दरबार, सबैभन्दा फलिलो दरबार, सबैभन्दा मलिलो दरबार कुन हो भनेर कहीँ कसैले प्रश्न बिछ्यायो भने हामीले मुटुमाथि हात राखेर भन्न सक्छौं कि सिंहदरबार ।

हजुरहरले भन्न सक्नुहुन्छ, समय परिवर्तनशील छ । समय प्रगतिशील छ । डाडाँपाखा खोस्रिएर मैदान बनिसके, त्यसैगरी मैदान चुलिएर डाँडा बनिसक्यो तर सिंहदरबारमा भने अनन्त कालदेखि उनन्तकालसम्म जस्ताको तस्तै छ । आजभोलि वन विनास भएर वनमा बस्ने सिंहहरूको संख्या घटिरहेको छ, सिंहका आहारहरूको संख्या घटिरहेको छ तर सिंहदरबारभित्र बस्ने सिंहहरूको संख्या घट्नुको सट्टा दिन प्रतिदिन बढिरहेको छ । सिंहदरबारभित्र रमाउने सिंहका आहारहरूको संख्या पनि हरेक वर्ष बढिरहेको छ । हामीहरूलाई पहिला पहिलाका लोककथा थाहा छ कि, वनका राजा सिंहले एकै ठाउँमा बसीबसी प्रत्येक दिन पालो बाँडिदिएर आफ्नो भोक मेट्थे रे । अनि सबै जनावरहरू सकिएर भोकै बस्न परे पनि सिंहले घाँस कहिल्यै खाँदैनथ्यो । यो उसको प्रमुख विशेषता भित्र नै पथ्र्यो । सिंह सिंह नै हो रे । उसलाई मार्न भनेर जतिजना सिकारीहरू आए पनि, ऊ डराउँदैनथ्यो, जसरी तसरी बाँचिहाल्थ्यो र पुनः अरुलाई आफ्नो सिकार बनाइहाल्थ्यो ।

पाठक महोदय, हजुरहरूलाई थाहा नै छ, वनमा बस्ने साँच्चीकै सिंहहरूको र बाघदरबारभित्र बस्ने मानव सिंहहरूको रुप, गुण, विशेषतामा खासै केही पनि भिन्नता छैन । जङ्गलमा विभिन्न थरिका बाघहरू भए झैं, सिंहदरबारभित्र पनि विभिन्न किसिमका मानव बाघहरू छन् । पाटे बाघ, खाते बाघ, सेतो बाघ, नेतो बाघ, सर्मचारी बाघ, मर्मचारी बाघ, चर्मचारी बाघ, देश चलाउने बाघ, देश जलाउने बाघ, शाकाहारी बाघ, मांसहारी बाघ, खन्चुवा बाघ, भन्चुवा बाघ, टाइ लाउने बाघ, खाइलाउने बाघ, जाइलाउने बाघ, दुब्लो बाघ, मोटो बाघ, अग्लो बाघ, होचो बाघ, हाँसेका बाघ, मातेका बाघ, फाटेका बाघ, चाटेका बाघ यी सबै सिंहदरबारभित्र बस्ने पुरानै बाघहरू हुन् । हो साँच्ची यहाँ बस्ने बाघहरू सिकार गर्न खप्पिस छन् । दिनदिनै नयाँ नयाँ सिकार गर्न पल्केका छन्, त्यसैले त दिन गुणा र रात चौगुणा हलक्क मल्केका छन् । कम्ती बाठा छन् यिनीहरू ? सिकार गर्न नयाँ-नयाँ तरिका जानेका छन् । कसैलाई मायाको झटारो हान्छन्, कसैलाई वचनको बाण हान्छन्, कसैलाई जागिर दिन्छु भन्ने पासो थाप्छन्, कसैले देश चलाउने नयाँ संविधान लेख्छौ भन्छन्, कसैले हत्या हिंसा रोक्छौ भन्छन्, कसैले एकैछिनमा यो देशलाई स्वीजरल्याण्ड बनाउँछु भन्छन्, कसैले म र मेरो सरकारले गरेको सबै काम ठिक छ भन्छन्, कसैले म र मेरावालाहरूको मात्र रजाइँ हुनुपर्छ भन्छन् त कसैले म र मेरा टाउकाहरूको भन्दा अरुको केही चासो छैन भन्छन् । धन्य छन्, सिंहदरबारभित्र बस्ने सिंहहरू ।

हजुरहरलाई थाहा नै छ, यहाँभित्र बस्ने सिंहहरू अचम्मका छन्, उदेगका छन् । वनका बाघ त एकपटक सिकार गरेपछाडि दुई चार दिनसम्म आनन्दले बस्न सक्थे तर सिंहदरबारभित्रका सिंहहरू भने चौबीसै घण्टा खाँदा पनि अघाउँदै अघाउँदैनन् । जति बेला पनि मुख बाहिरहन्छन् । जहाँ जे पाइन्छ त्यो खाइरहन्छन् । वनका सिंहले मासु मात्र खान्छन् । सिंहदरबारभित्रका सिंहहरूले भने जे पनि खान्छन् । काचो मासु खान्छन्, पकाको मासु खान्छन्, आउने दूध खान्छन्, नआउने दूध खान्छन्, रुपैंया खान्छन्, डलर खान्छन्, भाट खान्छन्, रियाल खान्छन्, निर्धा मान्छेका रगत खान्छन्, पसिना खान्छन्, आँशु खान्छन्, जुस खान्छन्, भुस खान्छन्, घुस खान्छन् … पाउने र आउने जति सबै कुरा सर्लक्क खान्छन् । खाने कुरामा मात्र नम्बरी होइनन् सिंहदरबारभित्रका सिंहहरू, गर्ने काममा पनि निकै चतुर छन्, निकै आतुर छन् । जादुगरले गर्ने कामदेखि लिएर साधुगरले गर्ने काम सबै गर्छन् । एउटा निर्धोलाई निमोठ्ने तरिका, एउटा असहायलाई अठ्याउने तरिका, एउटी युवतीलाई फकाउने तरिका मात्र होइन साम, दाम, दण्ड, भेद सबै अवसर मिल्यो भने त एउटा सिङ्गो राष्ट्रलाई पनि किन्ने र बेच्ने काम पनि गर्न सक्छन् । यति मात्र कहाँ हो र हजुर, मान्छे अनुसारका नीति र बिग्रिएको थीति बनाउन पनि यहाँका सिंहहरूलाई सायद कसैले भेट्न सक्दैनन् ।

भन्नुहुन्छ भने हजुरहरू हो, सिंहदरबारभित्रका सिंहहरूलाई हामी सम्पूणर् मानवरुपी रैथानेहरूले जसरी भए पनि किन्नैपर्छ, जसरी भए पनि चिन्नैपर्छ, नत्रभने हाम्रो जीवनमरणको अस्तित्व छैन । मानवजीवनका प्रत्येक शिरा-शिरामा, प्रत्येक कणकणमा सिंहदरबारभित्रका सिंहहरूको प्रत्यक्ष रुपमा निगरानी हुन्छ । उनीहरू बिना हामीहरूले काम पाउँदैनौ, दाम पाउँदैनौं, जाम पाउँदैनौं, राम पाउँदैनौ, चक्काजाम पाउँदैनाँै, हड्ताल पाउँदैनौ, पढ्ताल पाउँदैनाँै, जुलुस पाउँदैनौ, पानी पाउँदैनौं, नानी पाउँदैनौ, विकास पाउँदैनौ, निकास पाउँदैनौ । नढाँटीकन भन्नुपर्दा पाइने जति कुरा केही पनि पाउँदैनौँ ।

वनका बाघलाई जस्तो सजिलै जिस्काउन सक्दैनाँै हामीहरू, सिंहदरबारभित्रका सिंहहरूलाई । निकै सुरक्षाका साथ बसेका हुन्छन् यिनीहरू । यिनीहरूलाई पानी, पहिरोको डर पनि छैन, हुरी बतास, आँधीको डर पनि छैन, त्यति मात्र कहाँ हो र हजुर ? वनका बाघहरूलाई वनमा भेट्न, देख्न नपाए पनि चिडियाघरमा गएर सजिलै दर्शन गर्न सक्छौं तर सिंहदरबारभित्रका सिंहहरूलाई देख्न, भेट्न निकै गार्‍हो हुन्छ । पूर्वमेची देखि पश्चिम महाकालीसम्मका मानिसहरू निधारमा रातो टिका लगाएर, साइत जुराएर आउँछन् विचरा सिंहदरबारभित्रका सिंहहरूको दर्शन बक्स गर्न तर जति साइत जुराएर आए पनि सिंहदरबारभित्र पस्ने चार वटा गेटहरूमा आएपछि झ्याप्प ब्रेक लाग्छ । गेटमा बस्ने सिंहका डमरुहरूको गर्जन सुनेपछाडि सातोपुत्लो उड्छ विचरा मनुवाहरूको अनि पुुर्पुरोमा हात समाउँदै फर्कन बाध्य हुन्छन् । ऋण खोजेको पैसा चिलिम, भेट्ने आशा चिलिम, सजिलोसँग भन्दा आफ्ना सपना सबै चिलिमच्वाँट ।

पाठक महोदय, सिंहदरबारभित्रका सिंहहरूलाई यति धेरै बलिया बनाएको हामीहरूले नै हो, यति धेरै फलिया बनाएको हामीहरूले नै हो । उनीहरूलाई बलिया बनाउन हामी सिधासाधा उनीहरूको भरिया भयौं । उनीहरूको फरिया भयौं । जे जे भन्छन् उनीहरूले हामीहरूले त्यही, त्यही गर्‍यौँ । जे जे माग्छन् उनीहरूले हामीहरूले त्यही-त्यही चिज दियौं । अझ सजिलोसँग नलुकाइकन भन्दा उनीहरूलाई बलिया बनाउनको लागि, उनीहरूलाई गतिलोसँग बचाउनको लागि, उनीहरू र उनीहरूका आफन्त सबैलाई हँसाउनको लागि हामीहरू पटक-पटक जिउँदै मर्‍यौं त कति साँच्चिकै सहिद बन्यौं । हामीहरू सबै सिंहदरबारभित्र रहने सिंहका भक्त हौं, पूजारी हौं । हाम्रो अस्तित्व भनेको नै उनीहरूको भलो गर्नु हो । उनीहरूलाई नौवेद्य चढाउन हामीहरू प्रतिबद्द छौं, लामबद्द छौं । उनीहरूका लागि हामीले कतिले आफ्ना प्यारा सन्तानहरू भेटिदियौं, उनीहरूकै लागि कतिले आफ्नो अमूल्य भोट त दियौं-दियौं, फर्र्जी भोट पनि दियौं । मासिक तीन प्रतिशतका दरले ऋण खोजेको दाम पनि दियौं । के दिएनौ र हामीहरूले ? उनीहरूबाट के-के पाउने आशामा हामीहरूले सन्तान गुमायौं, सम्पत्ति गुमायौं, जे-जे थियो, सबै गुमायौं ।

हजुरहरूलाई थाहा नै छ, हामी सिधासाधा मनुवाहरू धनका गरिब भए पनि मनका गरिब छैनौं । त्यसैले कन्जुस्याईं नगरौं सिंहदरबारका सिंहहरूलाई पूजा गर्न । “कर्म गर फलको आशा नगर” गीतामा यही भन्छ । अहिलेसम्म भएका सबै कुरा दिन हिच्किचाएनौँ भने अब पनि केही पिर लिनुछैन । जे-जे छ सबै तथास्तु भन्दा हुन्छ । हामीले अगाडि पनि बुझिसक्यौं, हाम्रो अस्तित्व भनेको नै उनीहरूको लागि हो, त्यसैले पूजा गर्नै परेपछि पूजा गर्ने बाटाहरू फेरौं, पूजा गर्ने भाटाहरू फेरौं, अलि राम्रो आधुनिक तरिकाबाट पूजा गरौं । अनि बल्ल हामी मनुवाहरूको कर्म शुद्धि हुन्छ, जीवनको औचित्य पूरा हुन्छ । मात्र उनीहरूको लागि, मात्र बाघदरबारभित्रका सिंहहरूको लागि, सिंहदरबारभित्रका बाघहरूका लागि ।

०००
स्याङ्जा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आहा हेरेको हेर्‍यै !

आहा हेरेको हेर्‍यै !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ८

बोक्सीका ताजा बात- ८

गायत्री परिरोशनी
जन्मदिनको शुभकामना छोरी !

जन्मदिनको शुभकामना छोरी !

गायत्री परिरोशनी
छु मन्तर- बेरोजगार चट्

छु मन्तर- बेरोजगार चट्

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- (७)

बोक्सीका ताजा बात- (७)

गायत्री परिरोशनी
बोक्सीका ताजा बात– (६)

बोक्सीका ताजा बात– (६)

गायत्री परिरोशनी
बोरिङका टी-चर

बोरिङका टी-चर

गायत्री परिरोशनी
गुट उद्योग

गुट उद्योग

गायत्री परिरोशनी
लभराजको प्रेम !

लभराजको प्रेम !

गायत्री परिरोशनी
लौन लायो !

लौन लायो !

गायत्री परिरोशनी
रुद्रघण्टी हरायो !

रुद्रघण्टी हरायो !

गायत्री परिरोशनी
0
Would love your thoughts, please comment.x
()
x