दुष्यन्त भट्टराईमेरा लागि व्रत नबस
तिमीलाई भेट्न मैले पनि व्रत बस्नु पर्ला जस्तो भो !! छोराछोरीले तिम्रो मुहार बिर्सेलान् है प्रिय !! तिम्रो व्रतले घर भत्किसक्यो बरु घर संहाल्न कम्मर कस यो व्रतको भ्रममा नफस भो प्रिय अबदेखि मेरो लागि व्रत नबस !!

दुष्यन्त भट्टराई :
साउन महिना
हातमा मेहन्दी
रातो सारी
हरियो चुरा
नौ गेडी उनेको पोते
छड्के तिलहरी
ओठभरि लाली लगाएर
टाउकाको सिधा सलक्क परेको कपाल बङ्ग्याएर
बाटाभरिका पुरुषहरूको रमिता बन्छ्यौ
मन्दिर जान्छ्यौ
शिवको पूजा गर्छ्यौ
घर आउछ्यौ
मीठो मीठो परिकार खान्छ्यौ
अनि भन्छ्यौ
तिम्रो लागि व्रत बसेकी भनेर !!
यो ढर्रा र भ्रममा नफस
भो प्रिय, मेरा लागि व्रत नबस !!!
अब भदौ आउँछ
भदौ लागेपछि तीज आउँछ ,
फेरि तिम्रो व्रतको नयाँ युग शुरू हुनेछ
एक दिने व्रतको लागि
एक महिना पार्टी गर्छ्यौ,
पालै पालो गर्दै साथीकहाँ गएर
नाच्छ्यौ, खान्छ्यौ, रमाइलो गर्छ्यौ
अनि घरमा आएर
न छोरा छोरी न श्रीमानलाई हेर्छ्यौ
उल्टै थाकेँ भनेर कोल्टे फेरेर सुत्छ्यौ
तिम्रै लामो आयुको लागि व्रत बसेकी भन्छ्यौ
हे प्रिय!!!
मलाई लामो आयु चाहिन्न
तिमीसँगै मर्न पाए पुग्छ
अब यो व्रतको जिद्धी नकस
भो प्रिय, मेरो लागि व्रत नबस !!!
कहिले औँसी
कहिले एकादशी
आइतवार सूर्य
सोमवार शिव
मंगलवार गणेश
हफ्तामा सात वार हुन्छन्
तिमी दस थरिका व्रत लिन्छ्यौ
तिमी देउताकै पूजामा मग्न भयौ
बाबाहरूका प्रवचन सुन्नमै मस्त भयौ
आफू, घर, सबै बिर्सी सक्यौ प्रिय
तिमीलाई भेट्न मैले पनि व्रत बस्नु पर्ला जस्तो भो !!
छोराछोरीले तिम्रो मुहार बिर्सेलान् है प्रिय !!
तिम्रो व्रतले घर भत्किसक्यो
बरु घर संहाल्न कम्मर कस
यो व्रतको भ्रममा नफस
भो प्रिय
अबदेखि मेरो लागि व्रत नबस !!!
०००
मेचीनगर, झापा
हाल- बेलायत
Subscribe
Login
0 Comments
Oldest






































