दुष्यन्त भट्टराईमुमा सरह नै हुन् कर्मदाता पनि
आमामा किन भिन्नता गरिदिए मेरी र तेरी भनी आमा बुझ्नसके समान सब हुन् सन्तानकी जीवनी मैले मान्छु मुमा सधैँ हृदयले सासू सुजाता भनी माता यी पतिकी मुमा सरह नै हुन् कर्मदाता पनि ।

दुष्यन्त भट्टराई :
तिम्रै हो घरबार यो अब तिमी हाँसेर बाँच्नू यहाँ
सारा माइतका र बालपनका ताजा रहुन् सम्झना
आमा आज छुटिन् भनेर किन पो गर्छ्यौ बिलौना तिमी
माता यी पतिकी मुमा सरह नै हुन् कर्मदाता पनि ।
भित्री नेत्र खुले र हेर्न सकिए सासू-मुमा एक हुन्
देख्ने बाहिरका दुवै नयनले सासू-बुहारी अहम्
हाम्री पुत्रवधू भयौ अब तिमी संस्कार होस् जीवनी
माता यी पतिकी मुमा सरह नै हुन् कर्मदाता पनि ।
छोरी माइतकी थियौ बुझ यहाँ भन्छन् बुहारी तर
रोयौ सुँक्क बिदा हुँदा अनि यता आई सजायौ घर
छोड्यौ एक मुमा उता हृदयमा अर्की सजाऊ तिमी
माता यी पतिकी मुमा सरह नै हुन् कर्मदाता पनि ।
सासू भन्न यहाँ स्वयं मन भए के त्रास मान्छ्यौ ? भन
आमा नै यदि भन्नमा मन भए सङ्कोच त्यागी भन
एकै हुन् दुइटै भनी यदि बुझे पीडा सबै नासिने
माता यी पतिकी मुमा सरह नै हुन् कर्मदाता पनि ।
आमामा किन भिन्नता गरिदिए मेरी र तेरी भनी
आमा बुझ्नसके समान सब हुन् सन्तानकी जीवनी
मैले मान्छु मुमा सधैँ हृदयले सासू सुजाता भनी
माता यी पतिकी मुमा सरह नै हुन् कर्मदाता पनि ।
०००
मेचीनगर, झापा
Subscribe
Login
0 Comments
Oldest







































