दुष्यन्त भट्टराईवृद्ध म भएँ
चिसोमा खोकीले खसखस गला सुक्दछ पनि अझै तातो बढ्दा हरपल हियो दुख्दछ पनि सबै लेख्ने पढ्ने समय सकियो वृद्ध म भएँ सबैलाई बिन्ती हृदय नदुखाओ अब गएँ ।

दुष्यन्त भट्टराई :
निदाएनन् आँखा असहज भयो जीवन किन
बगेका छन् आँखा जलधि चुहुँदै हर्दम किन
निसा लागे जस्तो वरपर घुम्यो फन्फन तन
कता के भो के भो थरर थर काम्यो तन मन ।
हिजो मेरा आफ्नै स्वजन कति धेरै घर थिए
अझै नाता-गोता वरपर नदी-सागर थिए
नफिर्ने बाटोमा पनि कति गए जीवन सकी
बसाईँ सर्दैछन् अनवरत बाँकी कति कति ।
लगाएका बाली समय नहुँदै काटिन पुगे
भए बाँझा पाखा जलधि नहुँदा लाटिन पुगे
कहाँ को छन् सुन्ने अब म कसरी पोख्नु विरह
समस्याका पोका सहज नखुले जान्छ र बह ?
म जन्मे हुर्केको जमिन जसरी बन्जर भयो
सुकेको माटोझैँ वदन पनि झन् जर्जर भयो
न छन् बोल्ने साथी हृदय बह खोलूँ म कसरी
न छन् छोरा छोरी सँग अब त बोलूँ म कसरी ?
चिसोमा खोकीले खसखस गला सुक्दछ पनि
अझै तातो बढ्दा हरपल हियो दुख्दछ पनि
सबै लेख्ने पढ्ने समय सकियो वृद्ध म भएँ
सबैलाई बिन्ती हृदय नदुखाओ अब गएँ ।
०००
मेचीनगर, झापा
Subscribe
Login
0 Comments
Oldest





































