सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

जन्मदिनको शुभकामना !

प्यारी छोरी सधैँभरि तिम्रो मुहार, मन अनि मष्तिस्कमा खुशी छाइरहोस्, सबैमा माया र ममताको खानी आइरहोस्, रिस, राग, क्रोध र भय तिमीदेखि टाढा भागोस् मेरी छोरी, हाम्री छोरी, दुनियाँको छोरी हुँदै समताको संसार निर्माण होस् ।

Nepal Telecom ad

गायत्री लम्साल :

जन्मदिनको शुभकामना छोरी
तिमी छौ र मलाई आमा हुनुमा गर्व छ ।
हिजो जस्तो लाग्छ,
वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा तिमीलाई जन्माएको,
हिजै जस्तो लाग्छ,
मनभरिको माया मनभित्रै लुकाएर
तिमीलाई बूढानिलकण्ठ स्कूलको
लामो होस्टल बसाइमा पठाएको ।
कति निष्ठूर हुन्छ समय ,
कति निष्ठूर हुन्छ, परिस्थिति, बाध्यता
सामाजिक परिभेषका उतारचढावहरू॥

आफ्नै मुटुको टुक्रा, आठ वर्ष होस्टल राखेँ
तिमीलाई नसम्झेको कुनै प्रहर हुन्थेन ।
अहिले करिब सात- आठ महिना सँगै बसियो ।
छोरीसँग मनभरिको कुरा बोल्ने
फुर्सदै भएन ।
घरि तिमी बिजी
घरि तिम्री आमा ।
आज तिम्रो जन्म दिन,
आज नै तिम्रो भिसाको प्रोसेस शुरु गरियो ।
सबै भन्दा मन भारि भो आज
बूढानीलकण्ठ स्कुल पठाउँदाको
दिनमा भन्दा धेरै बढी ।
यहाँ त गएर सजिलै भेट्न सक्थेँ ।
केही दिनमा, केही महिनामा
केही दिन सँगै बस्न पाउँथे ।

आज म धेरै सोच्न सक्दिनँ
धेरै लेख्न सक्दिनँ,
मेरा निर्जीव भावनाहरूले
तिम्रो सजिव मन दुखाउन्न ।
नौलो भूगोल, नौलो परिभेष,
अपरिचित वातावरण केही महिनामा
तिमी त्यहीँ प्रवेश गर्नेछौँ ।
तिम्रो गन्तव्यमा कुनै
अप्ठ्याराहरू नआउन्,
हार्दिक शुभकामना ।

प्यारी छोरी,
मन कहिल्यै कमजोर नबनाउनु ।
हरेक पल तिम्री आमा
तिमी सँगै हुन्छे, त्यो नभुल्नु ।
आफूले आफूलाई सधैँ,
उच्चकोटिको, उच्चगुणस्तरको माया गर्नु ।
अब केही महिनापछि,
म बस्ने भूगोल र तिमी बस्ने भूगोल,
निकै टाढा हुनेछ ।
त्यतिबेला यो खाऊ छोरी भनेर,
भन्ने कोही हुने छैन ।
खाऊ, खाऊ भनेर झिज्जाउन
मैले पाउने छैन ।
खानपिनमा ध्यान दिनु,
स्वास्थ्य भन्दा ठूलो अरु केही छैन ।
स्वास्थ्य नै बिग्रियो भने बाँकी अरु केही रहँदैन ।
प्यारी जोजोको दिदी,
दिनको एक पटक आज के खाएँ,
कति क्यालोरी खाएँ भनेर सोच्नु ल ।

उमेर बढ्दै जाँदा, सहयात्रीको खोजी हुन्छ,
जैविक आवश्यकता पनि हो,
सबै मानिसहरू असल नहुन सक्छन्,
सधैँ होसियार हुनु ।
धन सम्पत्ति त दुःख गरेपछि कमाउन सकिन्छ
पैसाले धेरै कुरा किन्न पनि सकिन्छ तर
पैसाले माया किन्न मिल्दैन,
पैसाले नैतिकता किन्न मिल्दैन ।

प्यारी छोरी, तिम्रा हरेक राम्रा इच्छाहरू
सबै पूरा होओन्,
प्रगतिका, उन्नतिका ढोकाहरू
सधैँभरि खुल्ला रहुन् ।
मेरा रहरहरू पनि,
तिमीलाई भन्न मिल्छ भने
मेरा इच्छाहरु पनि तिमीसँग
अलिकति बाँड्न मिल्छ भने ,
विदेशी भूमिमा, आफ्नो अध्ययन पुरा गर
अनि यहीँ भूमिमा,
अझ भन्दा एउटै घरमा सँगै
मायालु छोरी-ज्वाइँ,
मायालु छोरो-बुहारी सँगै बस्न मन छ ।
छोराछोरी दुवैका नाति-नातिना
एउटै घरमा राखेर,
हाम्रा नाति – नातिना भन्दै,
सबैलाई सँगै माया गर्ने मन छ ।
आज तिम्रो शुभ – जन्मदिनमा ।
मलाई पनि अलिकति,
शुभकामना मागे हैँ ।
मेरा यी रहरहरू पनि पुगोस्,
हार्दिक शुभकामना ।

प्यारी छोरी जीवन सोचेजस्तो सहज हुँदैन
एउटा गीत पनि छ… सोचजस्तो हुन्न जीवन…
तर सधैँ सकारात्मक सोच्नु,
आशावादी बन्नु, निडर छौँ,
सधैँ निडर रहिरहनु ।
सुखमा मात्तिने र दुखमा आत्तिने कहिल्यै नगर्नु ।
परिश्रम र पैसालाई,
माया गर्न जानेकी छौ,
यही बानीलाई निरन्तरता दिनु ।
आर्थिक रुपमा सवल बन्न सकिएन भने
हाम्रो नेपाली समाजमा,
पितृसतात्मक समाजमा
छोरीका रहरहरु केवल रहर मात्र हुन्छन्
कहिल्यै पूरा हँदैनन् ।
यदि म बेरोजगार हुन्थे भने…
म कल्पना गर्न सक्दिन आजसम्म
मेरो अस्तित्व रहन्थ्यो, वा रहन्थेन ?
तिमीहरू जस्ता दुई असल सन्ततिका
आमा बन्ने अवसर पाउँथे वा पाउँथिन् ?
यी कुरा यहीँ छोडौँ ।
छोरीहरू आत्मनिर्भर नहुने हो भने
स्वतन्त्रतालाई बन्दी बनाउँछन् ।
छोरीलाई अस्तित्वविहीन बनाउँछन् ।
जीवनमा तिम्री आमाले
कसैसँग हात थाप्न परेन ।
मेरी छोरीको हात पनि सधैँ माथि परोस्,
कहिल्यै आर्थिक समस्याले
अरुसँग आफ्नो दुःख पोख्न नपरोस्
आज तिम्रो जन्म दिन, धनधान्य अनि
सुखी, खुशी, निरोगी,
दीर्घायु जीवनको शुभकामना ।

प्यारी छोरी सधैँभरि तिम्रो मुहार,
मन अनि मष्तिस्कमा खुशी छाइरहोस्,
सबैमा माया र ममताको खानी आइरहोस्,
रिस, राग, क्रोध र भय तिमीदेखि टाढा भागोस्
मेरी छोरी, हाम्री छोरी, दुनियाँको छोरी हुँदै
समताको संसार निर्माण होस् ।
आज समताको जन्मदिन
मैले पढेको गणित भन्दा धेरै
मैले सोचेको संसार भन्दा फराकिलो
मैले भोगेको भूगोल भन्दा बलियो ।
मैले देख्ने दृष्टिभन्दा प्यारो शुभकामना ।

०००
२०७९ चैत २४ गते
नागार्जुन-३, जयन्ती चोक ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
राष्ट्रिय करी चा-करी !

राष्ट्रिय करी चा-करी !

गायत्री परिरोशनी
राष्ट्रिय विकास रमिता !

राष्ट्रिय विकास रमिता !

गायत्री परिरोशनी
नयाँ वर्षको शुभकामना

नयाँ वर्षको शुभकामना

गायत्री परिरोशनी
तीन ठोक्तक

तीन ठोक्तक

गायत्री परिरोशनी
रुद्रघण्टी हरायो !

रुद्रघण्टी हरायो !

गायत्री परिरोशनी
हामी सबै खाओवादी !

हामी सबै खाओवादी !

गायत्री परिरोशनी
धरोधर्म गर्छु (२३)

धरोधर्म गर्छु (२३)

डिल्लीप्रसाद मूलतिहुन
पानीमाथिका सपनाहरू

पानीमाथिका सपनाहरू

केशव ज्ञवाली ‘आगत’
बेताल छ

बेताल छ

प्रकाश अर्याल ख
कौडी जिन्दगी

कौडी जिन्दगी

पुन्य कार्की
चञ्चल मन

चञ्चल मन

विष्णुहरि पाैडेल
गुमनाम

गुमनाम

सुशील रिजाल