सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

स्वास्नी महात्म्य

छोडेर हिँड्ने नै मूर्ख हुन् । तँ पनि मूर्ख भइस् मैले त यसो नगरौँ भनेको छोड्दै छोडिनन् । म सधैँ त राख्दिनँ । कुमार केटो विहे गर्नु परेन त्यसकारण जति चाँडो सक्छस् । मबाट तेरी स्वास्नी झिकिदे त ।

Nepal Telecom ad

इन्दिरा चापागाईं :

जवानीमा पाइला टेक्दै गर्दा जो देख्यो त्यही राम्री लाग्दोरहेछ । त्यतिले मात्र कहाँ सन्तोष हुनु, राम्री जति सबै मेरी बनाउँन मन लाग्थ्यो । कति वटी राम्रीलाई सिठी बजाउँदा चप्पल खाएँ भने कति राम्रीलाई बसमा यसो स्पर्श गर्दा गाली बेइज्जती पनि पाएँ । त्यसैले स्वास्नी पनि नपाउनु चप्पल र गाली मात्र खानु कति पीडादायी हुन्छ भन्ने बारेमा म एक हप्तासम्म रोचक प्रवचन दिन सक्छु । तर प्रवचनले मात्र के गर्नु मलाई त स्वास्नी पो चाहिएको हो । यसरी भएन एउटी कनपारामा लिखा परेकी भए पनि जवानीले हिस्सी परेकी आफ्नो जीवनमा भित्र्याउनु पर्‍यो भनेर आमासँग भने । बुहारी पाउने कुराले आमा मख्ख परिन् । म ढुक्क परेँ । आमाले बुबालाई ‘लौ न छोराको बिहे गर्दिनु पर्‍यो, छोराले पनि रहर गरेको छ’ भनेकी मात्र के थिइन् बा आक्रोशले गर्जिए ।

‘ए यो सुकुले डुकुलण्ठुलाई पाल्न त करै लाग्यो । अब मैले यसकी स्वास्नी समेत पाल्नु पर्ने ? कमाइ धमाइ केही छैन स्वास्नी चाहिने, कही नभएको बेसरम खाइघसुरो । सुन्न नसकेर जस्केलाबाट खुसुक्क बाहिरिएँ । ‘बेरोजगारलाई स्वास्नी चाहिँदैन भनेर कुन धर्मशाश्त्रमा लेखेको छ हँ ? कि विज्ञानले प्रमाणित गरेको छ ? बेरोजगारीमा झन् दुःख पीडा बाँड्न स्वास्नी चाहिन्छ । बेरोजगारीमा झन् स्वास्नी चाहिन्छ भनेर कोरोनाकालमा प्रमाणित भएकै छ नि । कुन जमानामा छौ ?’ भनेर बाझ्न मन थियो तर जसोतसो मन थामे । हुन पनि न घरबाट बाहिर निस्किन सकिन्छ न त घर बाहिरकीलाई खर्च गर्ने पैसा हुन्छ । अनि उपाय के त भन्दा निर्विकल्प स्वास्नी । यसमा दुई मत नै छैन नि ।

यसो बाटामा हेरेको त तल्लाघरकी मुसी पँधेरा गएको देखेँ र बरू बाटोभरी हेर्छु भनेर त्यतै लागेँ ।

‘तिमी किन मेरो पछि लाग्छौ ए लफङ्गो ? तिमी जस्तो बेरोजगारसँग म मरे पनि पट्टिन्न । तिम्रो कोशिस व्यर्थ छ । त्यसैले तुरुन्त फर्क, मलाई बदनाम हुनु छैन नि’ भन्दै मरिसकेकी मुसीले नराम्ररी गाली गरी ।

धेरै प्रयास गरिसकेपछि बल्ल तल्ल बरडाँडाकी काइलीले ‘ग्रिन सिग्नल’ दिई । त्यही मौकामा भगाइदिएँ । म जस्तो बेरोजगारीसँग बस्न दिन्छन् कि दिँदैनन् भन्ने डर थियो । धन्य फिर्ता चाहिँ लगेनन् ।

‘रहर गरेर विवाह गरिस् ल यहीँ गरी खा’ भनेर कटहरे पुछारको बारीको गह्रो देखाउँदै बाउले छुट्ट्याइदिए ।

‘घरपरिवार सबैको काम गर्नु भन्दा आफ्नै सुखदुःख बाडौँला गरिखाउँला पीर नगर राजा’ कपाल सुमसुम्याउँदै बुढीले भनी ।

ससुरालीबाट सालाहरू बोलाई र सानो टहरो बनाइयो । घरबाट दिएका टुटेफुटेका भाँडा बर्तनले नै काम चलाइयो । जे भए पनि आफ्नी स्वास्नी सबैभन्दा नजिककी हो । आफ्नो आड भरोसा उही त हो, कति असल छ । ऊ जस्ती स्वास्नी पाएकोमा म मख्ख परेँ । स्वास्नीलाई ज्यान छोडेर मायाँ गरेँ । साह्रै जोइटिङ्ग्रे भइस् भनेर आमाले चित्त दुखाइन् । स्वास्नीका मुतबगिस भनेर बाले झपारे । अर्काकी छोरी ल्याएपछि माया नगरेर भयो त, तिमीहरूको जस्तो जमाना हो र ? अहिले दुइजना बराबर हो । दुवैजना मिलेर काम गर्ने हो मैले मनमनमा भने तर बाउआमासँग मुख लागिनँ । साथीहरूले पनि ‘यो सुकुले स्वास्नी छोडैर हामीसँग बोल्न पनि भ्याउँदैन’ भन्दै गिज्याए ।

‘अब तिमीहरु जस्तो लफङ्गो हुने फुर्सद छैन मसँग । बरू तिमीहरू पनि विवाह गर र नयाँ जीवनको स्वाद चाख ।’ मैले भनिदिएँ । उनीहरू गलल्ल हाँसे । हुन पनि वैवाहिक जीवनको सुरुकालमा ‘वनारसका लड्डु’ खुब मीठो भयो । नखाएको भए त कति पछुतो लाग्ने रहेछ ।

समय आफ्नै गतिमा बग्दै गयो । बुढापाकाहरु स्वास्नी ल्याएपछि सुख पाइन्छ भन्थे । विवाह गर्न पाएर म पनि मख्ख परेँ । बुढीले मलाई राम्रैसँग कज्याई ।

‘म त साह्रै थाकेँ राजा, यति लुगा धुनु पर्ने थियो’ मसक्क मस्केर भनी ।

तरुनी स्वास्नीको चाहना बुझ्नै पर्‍यो । आफ्ना मात्र लुगा धुँदा पुग्थ्यो अब त उसका समेत धुनुपर्‍यो ।

‘यो चीसोमा भाँडा माझ्न सकिन, हात सबै सुन्नियो हेर त राजा’ भन्दै उसले पोलिसले टिलिक्क टल्काएका बाजका जस्ता नङ्ग्रा भएका मुक्लुक्क परेका कोमल हात देखाउँदै भनी ।

कस्तो माया लाग्यो भाँडा माझ्न पनि पालो दिन थालेँ । यसैबिच उसले हाम्रो सम्बन्धको एक थान प्रमाण पत्र समेत उपलब्ध गराई । सायद मैले उसलाई बढि नै माया गरेछु । उसको स्वभाव पनि ‘औँलो दिँदा डुँडुलो निल्ने’ भनेजस्तो हुँदै गयो । बिस्तारै टाउकामा टेक्न थाली । विवाह गरेको सुरुकालमा चन्द्रमुखी देखिने उसको अनुहार पाँच वर्ष पछि त सूर्यमुखी भयो । जीवनमा सूर्यको प्रकाश नभई पनि नहुने त्यसको ताप सहन पनि नसक्ने भनेजस्तो भयो मलाई त । भनूँ कसलाई भन्नु ? कसले बुझिदिन्छ र ? मनको पीडा । बिस्तारै ऊ सूर्यमुखीबाट ज्वालमुखीमा रुपान्तरण भई ।

‘अब हाम्रो भविष्य बनाउनु पर्छ । तिमी विदेश जाऊ राजा, कि म जाऊँ ? कि दुवैजना जाऊँ ?’ एकदिन उसले भनी ।

‘हैन हैन म जान्छु तिमी यहीँ बस । बुबा आमाको एक्लो छोरो हुँ तिमी एक्ली बुहारी । सँगै नबसे पनि नजिकैबाट बुबाआमाको सन्चो बिसञ्चो हेर्नु पर्छ ।’ मैले भनेँ ।

खासमा उसलाई पठाऊँ कि भन्ने पनि सोचेँ तर यस्ती राम्री छे फेरि फर्केर आउँदिन भनेर डर लाग्यो । ल म जान्छु भनेर मेनपावरलाई पैसा खुवाएँ । चाँजोपाँजो मिलाएँ र छ महिनापछि बल्ल तल्ल खाडीमुलुक उडेँ । पढ्ने बेलामा गुच्चा खेल्नाले खाडी भासिनु पर्‍यो एक मनले सोचेँ । प्लेनमा गफगाफ हुँदा थाहा भयो कि मास्टर्स गरेका पनि मसँगै थुप्रै जना थिए । गुच्चा खेलेर सही गरेँछु भन्ने लाग्यो ।

पहिले सल्लाह गरे अनुसार मेरा बुबाआमा हेरेर कहाँ बस्न सक्थी र ऊ । एक महिना पुग्दा नपुग्दै शहरमा डेरा लिएर बस्न थालिछे । ‘छोराको भविष्यको सवाल छ नि राजा, गाउँमा पढाई राम्रो छैन । बरू चाँडै पैसा पठाउनू है एड्मिसन गर्न ढिलो भइसक्यो ।’

मलाई आफ्नो सन्तानको भविष्यको माया लाग्यो । खाइ नखाई पचास डिग्रीको तातो मरुभूमिमा भेडा चराएर पैसा बचाएर पठाँए । कहिले छोरो बोर्डिङमा पढेको भिडियो फोटो पठाउँथी र म मख्ख पर्थेँ । अनि झन बढी समय खट्थेँ कमाइ बढाउँथेँ र उसलाई पठाउँथेँ ।

‘तातो घाममा बाबुलाई स्कुल पुर्‍याउन जान गाहरो भयो राजा मलाई । एउटा स्कुटी किन्छु है’ भनी । नाइँ भन्न सकिनँ र पैसा पठाइदिएँ । बिस्तारै उसले आफ्नो भेषभुषा पनि परिवर्तन गरी । टिमिक्क पारदर्शी लुगामा हाइहिल जुत्ता लगाएको अनि कपाल रङ्गाएर हरियो पहेलो बनाएको मलाई पटक्कै मन परेन । तर विरोध गर्न पनि सकिनँ ।

‘गाउँ समाज र आफ्नो इज्जतको ख्याल गर है प्यारी । कसैले तिम्रो कुरा काटेको सुन्न नपरोस् नि’ भनेँ ।

‘तिम्रो दिमागमा के भरिएको छ ? जमाना अनुसार पो चल्नु पर्छ त राजा लगाएको लुगामा मान्छेलाई मूल्याङ्कन गर्न मिल्छ र ? तिमीलाई मेरो विश्वास छैन ?’ भनी ।

विचरा म, ‘हो त नि’ भनेर आस्वस्त भएँ ।

सात कक्षामा तीन पल्ट फेल भएकी गोबर गणेश, यस्तो राम्रो बोल्न जान्ने भएकी देखेर अचम्म पनि लाग्यो । शहरको सङ्गत र खाडीको पैसाको कमाल हो भन्ने सोचेँ र मनमनै खुसी भएँ । खाडीमा पसिना बगाएको तीन वर्ष भएपछि घर फर्किन लागेको कुरा सुनाएँ ।

‘अहिले नआऊ अब तीन वर्ष दुःख गर न राजा, यसो सदरमुकाममा एउटा घडेरी जोड्नु पर्छ अथबा सानो घर किन्नु पर्छ । बुबा आमा ल्याउँनु पर्छ । एउटा सानो पसल खोल्नु पर्छ । त्यती भएपछि हाम्रो भविष्य राम्रो हुन्छ । म पनि त यहाँ दुःख गरिरहेकी छु नि’ उसले भनी । म मख्ख परेँ । विश्वास गरेँ ।

मेरो मिल्ने साथी शहरमा व्यापार गरेर बसेको थियो । मैले उसलाई मेरा परिवारको हेरविचार र सरसहयोग गर् है साथी भनेको थिएँ । बुबा विरामी हुँदा उसैका खर्चले निको पारेर पठाएको थियो । समयमा पैसा नपुग्दा छोराको स्कुलको खर्च समेत उसले तिरिदिएको थियो । यस्तो भरलाग्दो साथी पाएकोमा म निकै खुसी थिएँ । फर्केर गएपछि उसको गुन राम्ररी तिर्ने कल्पनामा रमाएको थिएँ ।

बुढीको फोन नआएको झण्डै एक हप्ता भयो । आफूले गर्दा पनि स्वीच अफ । म्यासेन्जर पनि अफलाइन छ । छोराको पनि न्यास्रो लागिसक्यो । लौ न के भयो भनेर आत्तिएँ । बुबाआमालाई पो केही भयो कि भन्ने डर पनि लाग्यो । व्यापारी साथीको पनि फोन लागेन । गाउँको साथी शेखरलाई सोधेँ ।

खबर त्यती राम्रो त छैन यार के सुनाऔँ । छिटो भन् न यार के हो कुरा काकाकाकी पनि रोइरहनु भएको छ । सबै सम्पति र छोरो समेत लिएर भाउजू हराउनु भएको छ । यतिकैमा व्यापारी साथीको भिडियो कल आयो उसले भन्यो । गाडी किनेर साथीलाई दिनु र विहे गरेर स्वास्नी छोडेर विदेश हिँड्नु उस्तै हो भाइ फर्किँदा न गाडी सही सलामत हुन्छ न स्वास्नी । छोडेर हिँड्ने नै मूर्ख हुन् । तँ पनि मूर्ख भइस् मैले त यसो नगरौँ भनेको छोड्दै छोडिनन् । म सधैँ त राख्दिनँ । कुमार केटो विहे गर्नु परेन त्यसकारण जति चाँडो सक्छस् । मबाट तेरी स्वास्नी झिकिदे त । धम्कीपूर्ण भाषा बोल्यो ।

अहिले भने मलाई ‘वनारसका लड्डु’ खाएकोमा खुब पछुतो लाग्यो । अब बाँकी चाहिँ निल्ने हो कि ओकल्ने मैले केही सोच्न सकिनँ ।

०००
हाल सूर्यविनायक न. पा. भक्तपुर

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
हिसाब किताब बराबर

हिसाब किताब बराबर

इन्दिरा चापागाईं
फेसले देखाएको फुइँ

फेसले देखाएको फुइँ

ठाकुरप्रसाद अधिकारी
आधा घण्टा

आधा घण्टा

भैरव अर्याल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
स्यालको रजाइँ

स्यालको रजाइँ

रामप्रसाद पन्थी