सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

हिसाब किताब बराबर

यो गलत गरेँ भन्ने लाग्यो र सुड्डो गाउँतिर गएका बेला डेरा खोज्ने वाहानामा उसका घर गएँ । सोझी गृहिणी होली भन्दै कल्पना गर्दै गएकी थिएँ । ऊ त झन चलाख र मोर्डन पो रहिछ ।

Nepal Telecom ad

इन्दिरा चापागाईं

प्रेमको चक्कर चलिरहँदा हत्केलामै राखेर पाल्छु भनेका थिए मेरा हालका बुढा अर्थात् तत्कालीन मेरा प्रेमीले । नभनून् पनि किन यो शहरको धुवा धुलो र प्रदूषणबिचमा पहाडको चमेली फूल जस्ती सुन्दरी र सुगन्धित म जस्तो प्रेमिका देखेपछि । अर्गानिक प्रेमीकाको वासना र स्वाद पाएका उनी त्यसको लागि कुनै पनि मूल्य चुकाउँन चाहन्थे । सकेसम्म फकाए । विचरा अर्गाानिक म थुप्रैको ‘डिमान्ड’ बिचमा उनलाई पत्याइदिएँ । हाम्रो धुमधामसँग भागी विवाह सम्पन्न भयो । म नेपालीकी छोरी ब्राह्मणभन्दा माथि ठान्थेँ आफूलाई । तर तल्लो जातकी बुहारी भनेर बाहुनबाका घरमा देखिसहेनन् । परिवारमा टेक्नै दिएनन् । टिक्नै दिएनन् । त्यही भएर उनकै जागीरतिर जाने अवसर मिल्यो । समयक्रम र शारिरिक व्यायामसँगै मेरो अर्ग्यानिक सुन्दरता बिस्तारै निख्रिँदै गयो । यौवनको रस र मिठास रित्याई सकेपछि बुढाले दायाँबायाँ नजर डुलाउन थाले । बाहिरफेर काम चलाउँन थाले । मेरो मन खिन्न भयो । त्यस्तो माया गर्ने बुढा म पूर्व फर्किँदा पश्चिम फर्किन थाले । अनुहार जोडेर पूर्व पश्चिम भएको भए त के चाहिन्थ्यो र गज्जब भइहाल्थ्यो । ढाड पनि अलग्ग राखेर पूर्व पश्चिम फर्केपछि त सक्किगो नि । मलाई आफू नराम्री हुँदै गएको कारण उनको मन बाँध्न सकिन भन्ने दिव्य ज्ञान प्राप्ति भयो । राम्री हुने उपाय खोज्न थालेँ ।

समस्या समाधानका लागि ब्युटिपार्लर रहेछ । ‘अनुहार चाउरिएकोमा चिन्तित हुनुहुन्छ कि ? कपाल फुलेर चिन्ता लिनुभएको छ ? हामी तपाईंका समस्या समाधान गर्न प्रतिवद्ध छौँ । लेखिएको बोर्ड देखेँ । मेरो खुशीको सीमा रहेन । बुढाको खल्तिमा छापा मारेर पाँचहजार झिकेँ । दिनमा चालिस पचास हजारको त जुवा नै खेल्थे उनी । जाबो पाँचहजार झिक्दा त उनको एउटा रौँ पनि हल्लिदैनथ्यो । पाँच हजार बोकेर ब्युटिपार्लर पसेँ । ल मलाई राम्री बनाइदेऊ त नानु । बुढा भड्किएर हैरान गरे । ‘शोक न सुर्ता भोक न भकारी’ भनेजस्ता उमेरले भर्खरका केटीहरू गलल्ल हासेँ । तर मलाई राम्री बनाउँन चाहिँ उनीहरूले निकै मेहनत गरे । कपालमा कालो लगाइदिए । चाउचाउ जस्तो गुन्द्रुके कपाललाई स्ट्रेट हान्दिए । आँखिभुईं पनि आधाआधी पारिदिए । आँखिभुई निकाल्दा साह्रै दुख्ने रहेछ आँशु नै आयो । तैपनि दाह्रा किटेर खपेर बसेँ । दाह्रीजुँगा पनि सब साफ गरिदिए । लामा नङ्ग्रा पालेकी थिए । तिनलाई पनि मिलाएर सही आकार प्रकारका बनाइदिए र नङभरी बुट्टा कुँदिदिए । अनुहारमा के के जाति दलेर चिन्नै नसक्ने पारिदिए । जे होस् पाँच हजारमा यी सब गरेर मलाई पल्काए । अब मेरो हुलिया म हैन जस्तै देखियो अर्थात् । आम सहरिया भाषामा म राम्री र आधुनिक भएँ अनि घर फर्केँ । यसरी राम्री हुन पल्केपछि मलाई गाउँटोलमा यताका कुरा उता उताका कुरा यता लाउने र आइमाई गफ गर्ने समय पनि नपुग हुन थाल्यो । अनि बुढाको खल्ति छापा मार्ने काम नियमित जस्तो भयो र अनुहार डेन्टिङ पेन्टिङ गर्ने काम पनि ।

डेन्टिङ पेन्टिङ गरेको पहिलो दिन बाह्र बजे राति रक्सीमय भएर आएका बुढा त ट्वाल्ल परेर एकछिन मलाई हेरिरहे । अब भने बुढा मोहित भए । जे होस् आफ्नै बुढालाई पट्याउँन सफल भएँ भनेर म पुलकित भएँ । अर्धबेहोस अवस्थामा आएका उनलाई हत्तेर्दै लगेर छिँडीको कान्छो सुत्ने बिस्तारमा पल्टाएँ । गन्हाएर टिकिसक्नु थिएन । हिडेँ आफ्नो बेडरुम तिर । भोलि पर्सी भएपछि मेरो खर्च र सुन्दरताले पुरुष वर्गलाई निकै प्रभाव पार्‍यो । तर आफ्ना पुरुषलाई होइन नि अर्काका पुरुषलाई चाहिँ । अन्त पल्केका मेरा बुढा त मसँग किन पट्टिन्थे र ? सबै पुरुषमा लागु हुने ‘घरकी मुर्गी दाल बराबर’ भन्ने स्वभाव उनमा चाहिँ लागु नहुने कुरै भएन । बरू तरकारी किन्न जाँदा होस् या सपिङ मलतिर पस्दा अरुका बुढा भने मलाई हेरेका हेरेई हुन थाले । मेरो उद्देश्य त परपुरुषसँग सल्किने होइनथ्यो तर आफ्ना बुढा अर्कैसँग पल्केपछि के गर्ने मेरो पनि बाध्यता । कथाले मागेपछि चलचित्र कलाकारको त केही लाग्दैन भन्छन् । म त शुद्ध भान्साकार । मलाई थुप्रै युवाले नपच्छ्याएका होइनन् तर मैले भने एउटा ‘रिटायर्ड’ सुड्डोलाई ‘ग्रिन सिग्नल’ दिएँ । ‘आइ एम रिटायर्ड, बट नट टायर्ड’ भन्दै फुर्ति लागँथ्यो तर गर्न भने केही सक्दैनथ्यो त्यो पैसठ्ठी बर्षे सुड्डो । उसलाई सुमसुम्याईदिए पुगिहाल्ने । त्यस वापत मलाई सर्वस्व दिने ‘इनकम पनि, दिन कम पनि’ मलाई पनि के चाहियो र ।

ऊसँग लहसिनाले मलाई निकै फाइदा भयो । एक पटक भने अचम्म भयो । घरमा भरखर नुहाएर घाममा बसेकी थिएँ । सुड्डो मर्निङ वाक गर्दै आएछ । मलाई देखेर तर्सेर झण्डै ढल्यो नि । नपोतिएको बेलाको मेरो हालत त्यति घातक भएछ । त्यसपछि त म जुरुक्क उठेर पहिले अनुहार लिपपोत गर्ने अनि मात्र अरु काम गर्ने गर्न थालेँ नि । उसको महिनै पिच्छे पेन्सन आउँथ्यो । फेरि सेवा निवृत्त सुविधा वापतका रकम र अन्य गरी एककरोडको मुद्दतिबाट पचहत्तरहजार त ब्याज नै आउँथ्यो । मैले थाहा पाइहालेँ । मुर्दारले त्यत्रा पैसा बुढीलाई थाहा दिएको रहेनछ र आफू खुशी भोगविलासमा मात्र खर्च गर्दो रहेछ सुड्डो । करिब छ बर्ष सम्म उसलाई दुहिरहेँ । यतित्र्जेल लगभग चालिस लाख आफ्नो पारिसकेकी थिएँ । म कहिलेकाहीँ उसकी बुढीलाई पनि फोन गरेर मित्रता पनि कायम गर्दै थिएँ ।

एक दिन म झसङ्ग भएँ । म आफैँ लोग्नेको माया नपाएकी मान्छे । मैले अर्काको मायाँ खोसेँ कि । आफू जस्तै नारीलाई अन्याय पो गरेँ कि । यो गलत गरेँ भन्ने लाग्यो र सुड्डो गाउँतिर गएका बेला डेरा खोज्ने वाहानामा उसका घर गएँ । सोझी गृहिणी होली भन्दै कल्पना गर्दै गएकि थिएँ । ऊ त झन चलाख र मोर्डन पो रहिछ । कुराकानीका क्रममा भनी ‘यो बुढो बाह्र वर्ष जेठो छ । हाम्रो त विचार नै मिल्दैन । मेरो ईच्छा चाहाना नै बुझ्दैन । एक बारको जीवनमा को प्रेमविहीन भएर बसोस् मैले त बन्दोबस्ती गरेको धेरै वर्ष भयो । यी यही हेण्डसम त हो मेरो मायालु’ भन्दै दुईजनाको एउटा फोटो देखाई । उसको बन्दोबस्त त मेरै बुढो भनाउँदो दुर्व्यसनी पो रहेछ । चालीस लाख पनि मेरै भयो । सुड्डो पनि नमरुन्जेल मेरै भयो । कथाले यस्तै माग्यो त म के गर्नु ? हे आधुनिक जमाना अब हिसाब किताब बराबर ।

०००
भक्तपुर

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
स्वास्नी महात्म्य

स्वास्नी महात्म्य

इन्दिरा चापागाईं
अन्तिम संस्कार

अन्तिम संस्कार

याेगीश कृष्ण
रङ र छेपारा

रङ र छेपारा

कुमार खड्का
सीमा सङ्घर्ष

सीमा सङ्घर्ष

डा. विदुर चालिसे
पुजारी कि भुजारी ?

पुजारी कि भुजारी ?

गाेपेन्द्रप्रसाद रिजाल
लकडाउनपछि

लकडाउनपछि

कृष्ण प्रधान
अदृश्य भाइरस

अदृश्य भाइरस

मनीषकुमार शर्मा ‘समित’