साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हिसाब किताब बराबर

यो गलत गरेँ भन्ने लाग्यो र सुड्डो गाउँतिर गएका बेला डेरा खोज्ने वाहानामा उसका घर गएँ । सोझी गृहिणी होली भन्दै कल्पना गर्दै गएकी थिएँ । ऊ त झन चलाख र मोर्डन पो रहिछ ।

Nepal Telecom ad

इन्दिरा चापागाईं

प्रेमको चक्कर चलिरहँदा हत्केलामै राखेर पाल्छु भनेका थिए मेरा हालका बुढा अर्थात् तत्कालीन मेरा प्रेमीले । नभनून् पनि किन यो शहरको धुवा धुलो र प्रदूषणबिचमा पहाडको चमेली फूल जस्ती सुन्दरी र सुगन्धित म जस्तो प्रेमिका देखेपछि । अर्गानिक प्रेमीकाको वासना र स्वाद पाएका उनी त्यसको लागि कुनै पनि मूल्य चुकाउँन चाहन्थे । सकेसम्म फकाए । विचरा अर्गाानिक म थुप्रैको ‘डिमान्ड’ बिचमा उनलाई पत्याइदिएँ । हाम्रो धुमधामसँग भागी विवाह सम्पन्न भयो । म नेपालीकी छोरी ब्राह्मणभन्दा माथि ठान्थेँ आफूलाई । तर तल्लो जातकी बुहारी भनेर बाहुनबाका घरमा देखिसहेनन् । परिवारमा टेक्नै दिएनन् । टिक्नै दिएनन् । त्यही भएर उनकै जागीरतिर जाने अवसर मिल्यो । समयक्रम र शारिरिक व्यायामसँगै मेरो अर्ग्यानिक सुन्दरता बिस्तारै निख्रिँदै गयो । यौवनको रस र मिठास रित्याई सकेपछि बुढाले दायाँबायाँ नजर डुलाउन थाले । बाहिरफेर काम चलाउँन थाले । मेरो मन खिन्न भयो । त्यस्तो माया गर्ने बुढा म पूर्व फर्किँदा पश्चिम फर्किन थाले । अनुहार जोडेर पूर्व पश्चिम भएको भए त के चाहिन्थ्यो र गज्जब भइहाल्थ्यो । ढाड पनि अलग्ग राखेर पूर्व पश्चिम फर्केपछि त सक्किगो नि । मलाई आफू नराम्री हुँदै गएको कारण उनको मन बाँध्न सकिन भन्ने दिव्य ज्ञान प्राप्ति भयो । राम्री हुने उपाय खोज्न थालेँ ।

समस्या समाधानका लागि ब्युटिपार्लर रहेछ । ‘अनुहार चाउरिएकोमा चिन्तित हुनुहुन्छ कि ? कपाल फुलेर चिन्ता लिनुभएको छ ? हामी तपाईंका समस्या समाधान गर्न प्रतिवद्ध छौँ । लेखिएको बोर्ड देखेँ । मेरो खुशीको सीमा रहेन । बुढाको खल्तिमा छापा मारेर पाँचहजार झिकेँ । दिनमा चालिस पचास हजारको त जुवा नै खेल्थे उनी । जाबो पाँचहजार झिक्दा त उनको एउटा रौँ पनि हल्लिदैनथ्यो । पाँच हजार बोकेर ब्युटिपार्लर पसेँ । ल मलाई राम्री बनाइदेऊ त नानु । बुढा भड्किएर हैरान गरे । ‘शोक न सुर्ता भोक न भकारी’ भनेजस्ता उमेरले भर्खरका केटीहरू गलल्ल हासेँ । तर मलाई राम्री बनाउँन चाहिँ उनीहरूले निकै मेहनत गरे । कपालमा कालो लगाइदिए । चाउचाउ जस्तो गुन्द्रुके कपाललाई स्ट्रेट हान्दिए । आँखिभुईं पनि आधाआधी पारिदिए । आँखिभुई निकाल्दा साह्रै दुख्ने रहेछ आँशु नै आयो । तैपनि दाह्रा किटेर खपेर बसेँ । दाह्रीजुँगा पनि सब साफ गरिदिए । लामा नङ्ग्रा पालेकी थिए । तिनलाई पनि मिलाएर सही आकार प्रकारका बनाइदिए र नङभरी बुट्टा कुँदिदिए । अनुहारमा के के जाति दलेर चिन्नै नसक्ने पारिदिए । जे होस् पाँच हजारमा यी सब गरेर मलाई पल्काए । अब मेरो हुलिया म हैन जस्तै देखियो अर्थात् । आम सहरिया भाषामा म राम्री र आधुनिक भएँ अनि घर फर्केँ । यसरी राम्री हुन पल्केपछि मलाई गाउँटोलमा यताका कुरा उता उताका कुरा यता लाउने र आइमाई गफ गर्ने समय पनि नपुग हुन थाल्यो । अनि बुढाको खल्ति छापा मार्ने काम नियमित जस्तो भयो र अनुहार डेन्टिङ पेन्टिङ गर्ने काम पनि ।

डेन्टिङ पेन्टिङ गरेको पहिलो दिन बाह्र बजे राति रक्सीमय भएर आएका बुढा त ट्वाल्ल परेर एकछिन मलाई हेरिरहे । अब भने बुढा मोहित भए । जे होस् आफ्नै बुढालाई पट्याउँन सफल भएँ भनेर म पुलकित भएँ । अर्धबेहोस अवस्थामा आएका उनलाई हत्तेर्दै लगेर छिँडीको कान्छो सुत्ने बिस्तारमा पल्टाएँ । गन्हाएर टिकिसक्नु थिएन । हिडेँ आफ्नो बेडरुम तिर । भोलि पर्सी भएपछि मेरो खर्च र सुन्दरताले पुरुष वर्गलाई निकै प्रभाव पार्‍यो । तर आफ्ना पुरुषलाई होइन नि अर्काका पुरुषलाई चाहिँ । अन्त पल्केका मेरा बुढा त मसँग किन पट्टिन्थे र ? सबै पुरुषमा लागु हुने ‘घरकी मुर्गी दाल बराबर’ भन्ने स्वभाव उनमा चाहिँ लागु नहुने कुरै भएन । बरू तरकारी किन्न जाँदा होस् या सपिङ मलतिर पस्दा अरुका बुढा भने मलाई हेरेका हेरेई हुन थाले । मेरो उद्देश्य त परपुरुषसँग सल्किने होइनथ्यो तर आफ्ना बुढा अर्कैसँग पल्केपछि के गर्ने मेरो पनि बाध्यता । कथाले मागेपछि चलचित्र कलाकारको त केही लाग्दैन भन्छन् । म त शुद्ध भान्साकार । मलाई थुप्रै युवाले नपच्छ्याएका होइनन् तर मैले भने एउटा ‘रिटायर्ड’ सुड्डोलाई ‘ग्रिन सिग्नल’ दिएँ । ‘आइ एम रिटायर्ड, बट नट टायर्ड’ भन्दै फुर्ति लागँथ्यो तर गर्न भने केही सक्दैनथ्यो त्यो पैसठ्ठी बर्षे सुड्डो । उसलाई सुमसुम्याईदिए पुगिहाल्ने । त्यस वापत मलाई सर्वस्व दिने ‘इनकम पनि, दिन कम पनि’ मलाई पनि के चाहियो र ।

ऊसँग लहसिनाले मलाई निकै फाइदा भयो । एक पटक भने अचम्म भयो । घरमा भरखर नुहाएर घाममा बसेकी थिएँ । सुड्डो मर्निङ वाक गर्दै आएछ । मलाई देखेर तर्सेर झण्डै ढल्यो नि । नपोतिएको बेलाको मेरो हालत त्यति घातक भएछ । त्यसपछि त म जुरुक्क उठेर पहिले अनुहार लिपपोत गर्ने अनि मात्र अरु काम गर्ने गर्न थालेँ नि । उसको महिनै पिच्छे पेन्सन आउँथ्यो । फेरि सेवा निवृत्त सुविधा वापतका रकम र अन्य गरी एककरोडको मुद्दतिबाट पचहत्तरहजार त ब्याज नै आउँथ्यो । मैले थाहा पाइहालेँ । मुर्दारले त्यत्रा पैसा बुढीलाई थाहा दिएको रहेनछ र आफू खुशी भोगविलासमा मात्र खर्च गर्दो रहेछ सुड्डो । करिब छ बर्ष सम्म उसलाई दुहिरहेँ । यतित्र्जेल लगभग चालिस लाख आफ्नो पारिसकेकी थिएँ । म कहिलेकाहीँ उसकी बुढीलाई पनि फोन गरेर मित्रता पनि कायम गर्दै थिएँ ।

एक दिन म झसङ्ग भएँ । म आफैँ लोग्नेको माया नपाएकी मान्छे । मैले अर्काको मायाँ खोसेँ कि । आफू जस्तै नारीलाई अन्याय पो गरेँ कि । यो गलत गरेँ भन्ने लाग्यो र सुड्डो गाउँतिर गएका बेला डेरा खोज्ने वाहानामा उसका घर गएँ । सोझी गृहिणी होली भन्दै कल्पना गर्दै गएकि थिएँ । ऊ त झन चलाख र मोर्डन पो रहिछ । कुराकानीका क्रममा भनी ‘यो बुढो बाह्र वर्ष जेठो छ । हाम्रो त विचार नै मिल्दैन । मेरो ईच्छा चाहाना नै बुझ्दैन । एक बारको जीवनमा को प्रेमविहीन भएर बसोस् मैले त बन्दोबस्ती गरेको धेरै वर्ष भयो । यी यही हेण्डसम त हो मेरो मायालु’ भन्दै दुईजनाको एउटा फोटो देखाई । उसको बन्दोबस्त त मेरै बुढो भनाउँदो दुर्व्यसनी पो रहेछ । चालीस लाख पनि मेरै भयो । सुड्डो पनि नमरुन्जेल मेरै भयो । कथाले यस्तै माग्यो त म के गर्नु ? हे आधुनिक जमाना अब हिसाब किताब बराबर ।

०००
भक्तपुर

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Khem Raj Pokharel
Khem Raj Pokharel
1 year ago

लौ अब पो कुरो फुत्किने भो । बधाई ।

Nepal Telecom ad
कुर्सीरसायन

कुर्सीरसायन

इन्दिरा चापागाईं
मृत्युपुकार

मृत्युपुकार

इन्दिरा चापागाईं
विछोडको पीडा

विछोडको पीडा

इन्दिरा चापागाईं
मन्त्री बन्नलाई योग्यता

मन्त्री बन्नलाई योग्यता

इन्दिरा चापागाईं
स्वास्नी महात्म्य

स्वास्नी महात्म्य

इन्दिरा चापागाईं
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
1
0
Would love your thoughts, please comment.x
()
x