सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

बाउ भन्दा दाइ जेठो !!

अनि शक्तिशालीलाई कतै दाइ भन्छ कतै बा भन्छ । अनि बा भन्ने पार्टीको नेता भन्दा दाइ भन्ने पार्टीको नेता बयोबृद्ध भएपछि बाउ भन्दा दाइ जेठो नभए के हुन्छ त !!

Nepal Telecom ad

बाउ भन्दा दाइ जेठो ! हैन के भन्छ यो बाउँठो भनेर आँखा पर्लक्क, ओठ लेप्र्याक्क र चोर्नी ओँला ठ्याप्प नबनाउनु होला ।

यो गणित हैन अगणीत राजनीति हो । सबै नीतिहरूको राजा ।
अरु मुलुकमा राजनीतिले समाजसेवा, सामाजिक रूपान्तरण गर्छ । तर हाम्रो मुलुकमा समाजसेवीले, राजनीति गर्छ, विकासले राजनीति गर्छ, व्यापारीले व्यापार भन्दा बढी राजनीति गर्छ र राजनीतिले व्यापार गर्छ !

अब कसरी गर्छ । जसरी गर्छ त्यसैगरी गर्छ । राणाले पनि गर्थे, पञ्चायतले पनि गर्‍यो, लोकतान्त्रिक गणतन्त्रले पनि गर्दैछ ।

नेता राजनीति गरेर पैसा कमाउने व्यापारी पैसा कमाएर नेता बन्ने । अनि नीति बनाउने धन कमाउने !!
राजनीति भयो कमाउने गोरख धन्दा, न्युरी मुन्टे न नेपाली अर्थतन्त्र र नेपाली जन्ता ।

पत्रकार टिभीमा चिच्याउँछ, नेतालाई गिज्याँछ, महासंघमा नेता बन्न त्यही नेतालाई रिझाउँछ । नभए पार्टी खोल्छ जनता भिडाउँछ । त्यसैले नेपालको अर्थतन्त्र ओरालो लागे पनि राजनीति र पार्टीहरूको ग्राफ उकालो लागिरहेको छ ।

हैन एकातिरको शीर्षक अर्कोतिरको बकबक भनेर यदि कोही पाठकले हुबहु पढिरहेको भए रिसाउन पनि सक्नुहोला तर आजभोलिका अब्बल पाठकहरू शीर्षक पढेपछि पेटबोली पढ्ने झन्झट गर्दैनन् ! कोही कोहीलाई ट्याम्पास गर्न परेको भए पढ्लान् अनि थाहा पाउलान् चुरो कुरो ।

कुरो के हो भने नि एक जना सत्तरी कटेका एउटाको ठूलो पार्टीको बाले असी टेक्दै गरेका नेतालाई अरुले दाइ भनेको सुनेर औडाह भएर औँलो बङ्ग्याउँदै ए म चाहिँ बा मभन्दा ७ बर्ष जेठो चाहिँ दाइ ? भनेर आवेग, आक्रोश, ओकल्नु भएको सुन्नु भएकै होला ।

राजनीतिमा अरुलाई मात्र बुढो देखिन्छ रे ! बाउन्न बर्षकोलाई बैगुनी केटो रे ! पैसठ्ठी नाघेको पिएचडी धारीलाई एउटो केटो रे !

राजनीति उमेरले, पैसाले गुटले, झुटले, कुटले, लुटले, बुटले चलाउने असभ्यता चलाएपछि विचार बलीको बोको बन्नु के अनौठो भयो र ?

फेरि राजनीतिको नेतृत्व युवा पुस्तालाई हस्तान्तरण गर्नुपर्छ अरे ! यस्ता गैमने गोरुमुते कुरा गरेर हुन्छ ? युवा भनेको केहो ? तन युवा कि मन युबा कि धन युबा ? ४५ बर्षसम्म पनि स्ववियु चुनावको सभापति खोज्ने ! नेतृत्व केन्द्रकै खोज्ने राजनीतिक लाभको पद पाए वडामा पनि झम्टिने अनि हस्तान्तरणको कुरा गर्ने ?

राजनीतिमा नेतृत्व हस्तान्तरण पनि हुन्न, पुस्तान्तरण पनि हुन्न । यो त खोसान्तरण, हडपतान्तरण गर्ने कुरा हो । विचारले कन्भिन्सले गतिशीलताले, विवेकले, विद्रोहले, लोकप्रियताले खोस्ने हो । लिड गर्न सक्नेलाई लिड गर्न देऊ नसक्नेलाई धकेलेर फालिदेऊ ! नत्र के को चिँ चिँ ?

तर हाम्रो लोकतान्त्रिक गणतन्त्र आधुनिक भए पनि व्यवहार मध्ययुगीन सामन्तवादी छ । नेताले कार्यकर्ता र जनतालाई आफू बराबर ठान्दै ठान्दैन, मान्दै मान्दैन, कि म भन्दा ठूलो छ कि म भन्दा सानो छ भन्छ, ठान्छ र मान्छ ।

अनि ठुलो शक्तिशाली पद र ओहोदाधारीको खुट्टा ढोग्छ तलतिरकालाई लात्ताले ठोक्छ । समकालीनलाई स्वीकार्दैन यसलाई नमस्कार गर्नु भन्दा बरु पुरानै ठीक छ भन्छ । कोही न कोही पुरानै पोइ !!

अनि शक्तिशालीलाई कतै दाइ भन्छ कतै बा भन्छ । अनि बा भन्ने पार्टीको नेता भन्दा दाइ भन्ने पार्टीको नेता बयोबृद्ध भएपछि बाउ भन्दा दाइ जेठो नभए के हुन्छ त !!

०००
धादिङ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad