साइबर अपराध सम्बन्धी सचेतना सामग्री

थरी थरीका नेचर लभर

यो संसार स्वघोषित नेचर लभरहरुले भरिएको छ । गल्लीका कुकुरलाई सिक्री लगाएर कम्मोडमा दिसा गराउने तालिम दिएको मान्छे कुनै तरिकाको नेचर लभरमैं पर्ला ।

Nepal Telecom ad

अस्ति एउटा समूहले प्याकेटका खाद्य र पानीका रित्ता बोत्तल साथमा लिएर जङ्गलमा पिकनिक मनाए अनि लेखे- नेचर लभर । अर्को दिन चिडियाखानामा अष्ट्रिचको अघि फोटो खिचाउँदै लेखे- नेचर लभर ।

प्रकृति र यसका अवयवलाई प्राकृतिक तवरले बुझ्ने र त्यसको भौतिक वा रसायनिक संरचनामा कुनै हस्तक्षेप नगर्ने र जोगाउन मद्दत गर्ने काम प्रकृतिको माया हो, प्रकृतिको पूजा हो । यस्तै कर्म गर्नेलाई अंग्रेजीमा नेचर लभर भनिएला । आज प्रकृतिको नाममा अलिकति व्यङ्ग्य गर्ने जमर्को गरौं ।

कागलाई पायल्स, हरिणलाई उच्च रक्तचापः
प्याकेटमा टेस्टी मसाला मोलेर बेचिएका आलु चिप्स, चिज बल, कुरमुरे आदिले शहरका रैथाने कागलाई पायल्स भैसकेको होला । सस्ता कुपोषित पेय कोक, फ्यान्टा, रेडबुल, लिची जुस आदि किनेर चिडियाखानामा हरिणलाई पिलाउनेहरू धन्य ठान्दा हुन् । कोक पिउँदा पिउँदा मन्दिर आसपासका बाँदरलाई मधुमेह भैसकेको होला । परेवाहरूलाई कुखुराका दाना खुवाउनाले ब्रोइलर परेवा हुर्किरहेका होलान् । हामी यस्ता ‘अकाल र अनिकालका दानीहरू’ गर्वका साथ सेल्फी खिचिरहेका छौं ।

थरीथरीका नेचर लभरः
– बाँदरको सम्भोगको भिडियो खिचेर बजारमा बेच्नेहरू अर्काथरीका नेचर लभर हुन् ।

– जल, स्थल र आकाशमा हाइड्रोजन बमको परीक्षण गर्ने अनी कार्बनको व्यापारलाई परिभाषित गर्ने अर्काथरीका आधुनिक नेचर लभर हुन् ।

– यात्रामा जङ्गल देखियो कि मौका छोपेर ‘गुरुजी पाँच मिनेट है’ भन्दै जङ्गलका बुढा रुखका फेदमा मूत्र विसर्जन गरेर सिँचाई गरेँ भनेर योगदान सम्झने मजस्ता मानिसहरु अर्काथरीका स्वघोषित नेचर लभर हौं ।

– मुखैमा निलिसकेको भ्यागुतोलाई बचाउने नाममा सर्प मारेर निचोर्दै घाउचोटयुक्त प्यारालाइसिस भ्यागुतो निकाल्न सफल हुनेहरू अर्का थरीका नेचर लभर हुन् ।

– पिञ्जडामा सुगा थुनेर चाउमिन र पानीपुरी खुवाउनेहरू अर्काथरीका नेचर लभर बन्लान् ।

– मानव बस्तीमा चकलेटका खोलसम्म गोजीमा राख्ने ध्यानी, ज्ञानी, बुद्धिमानी लभरहरू थुप्रै हुन्छन् हुन्छौं । बस्ती पातलो हुनासाथ बसका झ्यालबाट प्लास्टिकका रित्ता प्याकेट हुत्याइदिने कुन कोटीमा पर्लान् ?

– पानी जिन्दगानी भन्दै पिउँने अनि पानीभन्दा महंगो रित्ता बोत्तलहरू यततत्र हुत्याउने कतापट्टी टाँसिएलान् ?

हाम्रो थुप्रै योगदानः
बाल्यकालमा थपडी मारेर झिँगा पक्रने अनि बलेसीको पानीमा बगाएर पानी खुवाएर बगाउने भन्दै हामी जीवनदान दिन पाएकोमा गर्व गथ्र्यौं । गाइने किरा (ड्रागन फ्लाई) लाई डोरीले बाँधेर हेलिकोप्टर बनाउँदा माकुराका जालमा परेकोमा जालो चुँडाएर उसलाई सफल अवतरण गराउन पहल गथ्र्यौं ।

नदीमा सहरको नाली मिसिएको छ । खुला चौरहरू अनि हिमालहरू नकुहिने फोहरले प्रदुषित छन् । हर भान्छामा विभिन्न कोटीका स्वघोषित प्रकृति पूजकहरू छन् । दुधका प्लास्टिक, मसलाका पोका, चाउचाउ, बिस्कुटका खोल अनि अनेकन खाद्यका प्लास्टिकजन्य बट्टाहरू भान्छामा भित्र्याएका छौं । बालीमा पर्दा असर गर्ने भन्दै जम्मा गरेर जलाउँनेहरूले पनि कुनै न कुनै शक्तिपट्ट पुरस्कारको लोभ गर्लान् ।

अन्नले टन्न नहुँदै पूजाआजा गर्नुपर्छ भन्ने सूत्रका सूत्राधारहरू मन्दिर पस्नुअघि प्याकेट च्यातेर मुखमा घुसार्दै खोल त्यतै फाल्ने, गुट्खा सेवकहरू आफूलाई देवताका असली सेवक मान्दा हुन् । तिनले पिच्काउने डरले सरकारी कार्यालयका भर्‍याङमा भगवानका फोटो टाँस्नु बाध्यता रहेकै छ । श्राद्ध, पूजा, किरियाकर्ममा अवैध मानिएको सागको गुन्द्रुकबाट जोगिनेहरू सूर्तीको गुन्द्रुकबाट पुण्यकर्मको शुरुवात गर्दैछन् ।

कुकुरलाई खसी पारेर संख्या नियन्त्रणमा योगदान दिएका छौं भन्नेहरू पनि छन् । आची गरेर माटोले पुर्ने प्राकृतिक गुण भएको बिरालोलाई डायपर लगाएर जङ्गली बाघलाई चिडियाखानामा थुन्दा वन्यजन्तुको संरक्षण देख्ने राइटरहरू हामीबीचमैं छौं ।

भिटामिन कि विषादीः
विदेशले बन्द गरेका विषादीहरू अन्न तरकारी बालीका ओखति र भिटामिन बनेर भित्रिएका छन् । घरमा खानलाई रोपिएका तरकारीमा विषादी छरेर सामाजिक सञ्जालमा ‘अर्गानिक’ को हौवा छर्ने हामी नन अर्गानिक नेचर लभर हौं ।

सस्ता सस्ता नेचर लभरः
यो संसार स्वघोषित नेचर लभरहरुले भरिएको छ । गल्लीका कुकुरलाई सिक्री लगाएर कम्मोडमा दिसा गराउने तालिम दिएको मान्छे कुनै तरिकाको नेचर लभरमैं पर्ला । थरीथरीका ब्रोइलर माछालाई सिसामा बन्द गरेर कोठा सजाउने पनि नेचर लभरको सूचीमा नछुटुन् । रुसोको प्रकृतितर्फ फर्क सन्देश जानेर पनि प्रकृतिको दोहनमा येन केन प्रकारेण लिन रहेकाहरूबीच म पनि कतै न कतै त पक्कै दरौंला । तपाईँ कुन कोटीमा हुनुहुन्छ कुन्नी ?
०००
फोटो शहीद स्मारक हेटौंडामा खिचिएको हो ।
२०७९ मंसिर २३, पोखरा

(लेखक सिस्नुपानी मकवानपुरका सहसचिव हुनुहुन्छ ।)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x