
ती वृद्ध वृद्धाहरू
आफ्नाको ममता बडा सरसिलो पीयूष जस्तो भला, आर्काले जति नै दिए पनि हरे ती गाँस लाग्छन् गला, हाँसोमा मिसिएर झर्दछ सधैँ झन् आँसु तातो अरू, छन् वृद्धाश्रममा बडा विरहमा ती वृद्ध वृद्धाहरू ।

न्यानो वस्त्र कतै हुँदैन गतिलो खाना न तातो मिठो
त्यो भन्दा घरको महौषध थियो खोलेर फाँडो पिठो
होला मानिसको सदा मन खुसी खाएर बस्दा करु
छन् वृद्धाश्रममा बडा विरहमा ती वृद्ध वृद्धाहरू ।।१
सिर्जेको पहिले कडा श्रम गरी प्यारो गृहस्थी थियो
त्यो बेला मन खास स्वर्गसुखको सानन्दमा पौडियो
सारा जीवन उत्तरार्धतिरको बन्दा उजाडै मरु
छन् वृद्धाश्रममा बडा विरहमा ती वृद्ध वृद्धाहरू ।।२
माया प्रेम र मान शान नमिली साह्रै बनी ताडित
निस्के जो घरबाट हेलित बनी छोरा बुहारीसित
खाएको हिउँले उँचा शिखरको जस्तै सुकेको तरु
छन् वृद्धाश्रममा बडा विरहमा ती वृद्ध वृद्धाहरू ।।३
खानामा न छ पोषणादि गतिलो मिष्ठान्न चोखो रती
मिल्ने रोग शरीर माफिक हरे छैनन् मिले जे जति
होला मानव झुम्पडा बिच खुसी खाएर बस्दा करु
छन् वृद्धाश्रममा बडा विरहमा ती वृद्ध वृद्धाहरू ।।४
आफ्नाको ममता बडा सरसिलो पीयूष जस्तो भला
आर्काले जति नै दिए पनि हरे ती गाँस लाग्छन् गला
हाँसोमा मिसिएर झर्दछ सधैँ झन् आँसु तातो अरू
छन् वृद्धाश्रममा बडा विरहमा ती वृद्ध वृद्धाहरू ।।५
०००
भक्तपुर