अशोककुमार शिवाविरोध गर्नेहरू त हरिल्वाँठै हुन्
अब यहि गतिमा वर्षौदेखि अलपत्र रहेका तर बजेट अलकत्र खाएझै अलपत्र पारिएका कैयौं विकासे योजनाहरूको काम झट्टै सम्पन्न गरिनुपर्दछ । नत्र त सरकारी काममा देखिएको रफ्तारको कुनै अर्थ रहनेवाला छैन ।

काम निजी होस्, सरकारी होस् वा अन्य कुनै पनि किन नहोस् निमेसभरमा याने कि तुरुन्तै हुनुपर्दछ । निजी कामको कुरा के गराई भयो र यहाँका त सरकारी शीघ्र कामको कुरा गर्नु वान्छनीय छ । नेपालमा काम हुँदैन जे काम पनि एकदम ढिला हुन्छ, सरकारी कर्मचारीले अल्झाएर राख्दछन् भन्नेहरूले एकपल्ट नेपालको सरकारी कामलाई पुनरअध्ययन गर्नु जरुरी छ ।
हाम्रो देशको सरकारले एउटा नागरिकलाई आँखा झिम्काइसक्दा अनागरिक बनाइदिन र अनागरिकलाई निमेसभरमा नै नागरिक बनाएर ओहदासिन गराई दिन सक्दछ । कुरा बुझेर पो टिकाटिप्पणी गर्नुपर्छ । कुरा बुझ्नु भुत्लोभाङ केही छैन जे पायो त्यही प्याच्च बोल्यो सकियो । बोल्नु अघि कमसेकम पनि दशपल्ट त लोच्नु नि । सम्झिँदा पनि झनक्क मायाँ लाग्छ । हुन त रवि र कविको पहुँुच नहुने स्थान हुँदैन भनिन्छ । रविको महिमा गाउने कि कविको महिमा गाउने भन्ने कुरामा विवाद होला ।
एक दिनमा नेपाली नागरिकता पाएर सोही दिन नेपाली पार्टीको मुखिया भई आफ्नो भाग नहराओस् भनेर खबरदारी गर्न पुग्नु भनेको अन्य कुनै देशमा हुन नसक्ने काम हो, जुन हाम्रो देशमा भयो । यो चानचुने कुरो होइन । अनागरिकको काम त यति चाँडो हुने देशमा सोच्नुस् त नागरिकको काम कति चाँडो हुन्छ होला ? भयो सोचिरहनै पर्दैन, बिजुली चम्कनु बरु ढिला हुनसक्छ नागरिकको काम त्यति चाँडो हुन्छ ।
अब नेपालका सरकारी कार्यालयहरूमा काममा ढिलासुस्ती हुन्छ भनेर हिँड्नेहरू नै मुख छोपेर हिंड्नुपर्ने भएको छ । काम छिटोछरितो तरिकाले हुने उदाहरण अझै धेरै देख्न देखिन बाँकी नै छ । भोलिको कार्यसम्पादनमा ढिलासुस्ती नहोस् भन्नलाई अनागरिक भए पनि तिब्र काममा खटाउने देश पनि हाम्रै देश हो । जे होस् मलाई चाहिँ हाम्रो देशको प्रशासनिक दक्षताप्रति पुरमपुर विश्वास छ र सबै नागरिकले यो विश्वास गर्न सक्नुपर्दछ । विश्वास गर्नु पनि काम छिटो फत्ते गर्नुको सहायक हो । जब कसैले विश्वासै गर्दैन भने काम जतिसुकै छिटो गर्नुको पनि कुनै अर्थ रहन्न । संसार विश्वासमा अडिएको छ र संसार अड्याउन विश्वासको निरन्तरता जरुरी पर्दछ ।
अब विकासले पनि यस्तै रफ्तार लिनुपर्दछ । अब यहि गतिमा वर्षौदेखि अलपत्र रहेका तर बजेट अलकत्र खाएझै अलपत्र पारिएका कैयौं विकासे योजनाहरूको काम झट्टै सम्पन्न गरिनुपर्दछ । नत्र त सरकारी काममा देखिएको रफ्तारको कुनै अर्थ रहनेवाला छैन । अनि यसरी काम तुरुन्ता तुरुन्ती भइरहेको नदेखेर सरकारको कछुवा गति भो भन्दै विरोध गर्नेहरू त हरिल्वाँठै हुन् भन्ने सावित हुँदैनन् त ? जे होस् तिब्र रुपले काम बनेको उदाहरण जीवन्त रहोस् । जय देश ।
०००
गल्कोपाखा, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































