साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नयाँ सालमा नयाँ समाचार

यो समाचार लेखेपछि साबुनपानीले हात धोएको हुँ । तपाईंले पनि मास्क लगाएर पढ्नु भएको भए बेस हुनेथियो । नयाँ सालमा यस्ता मिति गुज्रिएका समाचार लेख्नु नपरोस् । राजनीतिका खराबभन्दा खराब समाचार त झन् लेख्दै लेख्नु नपरोस् । मलाई बेलैमा सद्बुद्धि मिलोस् ।

Nepal Telecom ad

समाचारः एक
“राष्ट्रपतिले खर्चको शीर्षक केरे, दिनकै नयाँ डाइपर फेरे”

समाचारः दुई
“प्रधानमन्त्रीले कागज त्यागे, हातैले धुनलाई पानी मागे”

समाचारः तीन
“फलाना नेताहरू फलाना बजाउँदै ।”

समाचारः चार
“चिलाना नेता जनतालाई कज्याउँदै मन्त्रीमा ।”

समाचारः पाँच
“मन्त्री भएको केही महिनामैं काठमाण्डौंमा घर ।”

अब पूरा समाचार ।
राष्ट्रपतिले डाइपर फेरेः विपक्षी दलको नेतालाई चिसोले सताएको, सताएको कुरा राष्ट्रिय मिडियालाई बताएको, बताएपछि अलिकति बढाएर छपाएको र के समाचार छाप्छन् बाबै प्र.म. को दिसा पातलो आएको । यसरी राष्ट्रपतिले आजै अर्को एउटा डाइपर फेर्नु भएको छ । यसबाट राज्य कोषमा ८० रुपैयाँ खर्च बढेको कुरा आजका अखबारहरूले मूख्य समाचार बनाएका छन् । साथै राष्ट्रिय विपद् तथा जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले राष्ट्रपतिको पेटमा भएको गडबडीका कारण अझै केही दिन टुर्रो प्रहार हुन सक्ने हुँदा सजग रहन सबैलाई सूचित गरेको छ ।

प्रधानमन्त्रीले हातैले धोएः कैँची नभई उद्घाटनमा नजाने, जिब्रो नबोकी समारोहमा नपुग्ने, हाउभाउ धोइधाइ नगरी भेटघाट नगर्ने, थेगोमा आइरन नगरी नबोल्ने प्रधानमन्त्रीले आज शौच क्रियापश्चात् हातैले धोइधाइ गर्नु भएको छ । जसका क्रममा आफ्ना शरीरका दुई हातमा समेत व्यापक विभेद भएको कुरो उहाँले पत्ता लगाउनु भएको छ ।

फलाना नेताहरू फलाना बजाउँदैः मूख्य चुनाव र उपचुनावहरूमा नेताहरू गाउँ गाउँमा ब्रोइलरको संख्याभन्दा अझै बढी भिडभाडमा आएका छन् । गाउँगाउँबाट उठ बस्ती बस्तीबाट उठ भन्ने गीत बजाउँदै उनीहरू गोडादेखि हेलिकोप्टर त कोही प्राडोदेखि टाँगा अनि साँढोसम्ममा यात्रा गर्दै भेटिन्छन् । हातमुख जोर्न नसकेका मानिसकहरूका सामू पुगेर बजाउने मामलामा नेताहरूले मुख र उनका भक्त (कार्यकर्ता) हरूले हातखुट्टा, टाउको, हेलमेट, खुँडाखुकुरीसम्म बाँकी राखेका छैनन् । बजाउँने कुरामा उनीहरूले यसो भन्न पनि भ्याएः हजार दान माग्नलाई खरिदार हो र, माग्नै परेपछि करोड नै मागिन्छ । करोड मागेको हल्ला बजारमा आइसकेपछि यसो भन्न भ्याए- मन्त्री हुनका लागि भनी दान दक्षिणा माग गर्ने म, आफ्नो मुखले आफ्नै मुखप्रति कडाभन्दा कडा निन्दा गर्दछु ।

मन्त्रीको घर हुँदैनः एक पटकको मन्त्री सँधैको मन्त्री भन्ने नाराका साथ पन्ध्र दिन मन्त्री भएको उनले काठमाण्डौंमा घर किनेका छन् । घर किनेपछि जहाँ जहाँ पुग्ने, उतै उतै कुटी जोड्ने जोगीसरह भएकोले घरको नाम मन्त्री कुटी राखेको प्रतिक्रिया दिएका छन् । उनको प्रतिकृया सुनेपछि काठमाण्डौंका मेयरले र्या प गीत गाएका छन्-
“गाउँ गाउँबाट थुपारेको
फोहोरको डकार
घरअगाडी थुप्रियो
काठमाण्डौं झन् कुप्रियो ।
जो पनि आउने
माँनगरमा घर बनाउने
हामी माँनगर बनाउने
उनीहरू डुङ्ग गन्हाउने
हाम्रैविरुद्ध सुरुङ खनाउने ?
छि
छि
एक उठाउँदिन
दुई उठाउँदिन
तीन उठाउँदिन ।”

अब पोल खोलाखोलः
उता स्याल कराएको यता बुढी हराएको । जँड्याहा बुढोलाई रातभरी उँघ्यो, बिहान फेरि भट्टिमैं । मन्दी लाग्या बुढा बोत्तल सुँघेर निदाउँछन् ।

काँक्रो चोरलाई मुड्की सास्ती । कोल्टो फेर्ने कामरेड, उत्तानो पर्ने देश । बाख्रो ब्याउँदा छेउमा रहेको राँगोलाई दोष लाउने काङग्रेस अर्थात् दाजुभाउजू दल अच्छिउँ आयो बच्छिउँ आयो झुसे बारूलो भन्दै अरूलाई दोषारोषण गर्दागर्दै घर खरानी बनाउन लागेका छन् । ज्योतिषले ७ चोटी प्रधानमन्त्री बन्छौं भनेपछि दाईलाई निद्रा र भोक छैन । भाउजुले भनिन्- आठौंचाहिँ को होला ? आ मरेपछि पारस भए नि हृदयेन्द्र भए के का खस् खस् । तराई पुगेर राजाले खोक्दा काठमाण्डौंमा ६ रेक्टरको भूइँचालो । अष्ट्रेलियका केटाकेटीको हस्तिनापुरको बसाईं यता ऋण तिर्ने बाउआमाको चपरीमुनिको बास । खाडीमा ज्यूँदो बाघको जुँगा उखेलिरहेको युवा, रेमिट्यान्सले स्यालहरूको रजाईं । गाई मारी गधा पोस्ने, आफ्नै महासचिवको सम्पत्ति खोज्ने कुरो पनि त भएन नि । बाह्र छोरा तेह्र नाती बुढाको धोक्रो काँधैमाथि भनेजस्तो बाह्र भाइ सम्पादकको तेह्रथरि विचार, जनताको धोक्रो काँधैमाथि ।

समाचारको खडेरी भनौं भने समाचारकै समय छ । फेसबुकदेखि ट्विटरसम्म । इन्स्टादेखि टिकटकसम्म समाचारै समाचार छन् । तर पनि समाचार समाचारजस्तो फिटिक्कै छैन । कविहरू कविता लेखिरहेका छैनन्, कथाहरू ढल मिसिएका छन्, नाटकमा घात अन्तर्घाट झल्किएका छन् । बालबालिकाहरू नारा घोकिरहेका छन् ।

फेसबुकका दुख फेसबुकमै, युट्युबका दुख युट्युबमैं । ती सबैबाट चोरेर टिकटकमा । रामेको बुढी श्यामेले भगाएको, श्यामेले छोडेर अर्कैसँग लागेको । अघिल्लो दिन लागेको पछिल्लो दिन अर्कैसँग भागेको । श्रीमान घरमा आउँदा युट्युबरले जुरुक्क उचालेर झगडा पारेको । झगडाको लाइभ गरेको”. । यस्तै यस्तै भाइरल समाचारले अल्मल्याइरहेछ हामीलाई । फोटो खिच्नु इलाममा, राष्ट्रियता होला कि लिलाममा ! ठूला दलको जुधाई, साना दलको मिचाई । खुइलिएको कुटनीतिलाई अस्थायी सरकारको तक्मा । डाडुपन्यु लिने आफ्नै भान्छे, समानुपातिकमा घरकै मान्छे ।

यो समाचार लेखेपछि साबुनपानीले हात धोएको हुँ । तपाईंले पनि मास्क लगाएर पढ्नु भएको भए बेस हुनेथियो । नयाँ सालमा यस्ता मिति गुज्रिएका समाचार लेख्नु नपरोस् । राजनीतिका खराबभन्दा खराब समाचार त झन् लेख्दै लेख्नु नपरोस् । मलाई बेलैमा सद्बुद्धि मिलोस् । जय हास्यव्यङ्ग्य ।

०००
हेटौँडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x