कृष्ण प्रधानलभ लेटरमा पार्टीकी रङरुट नेत्री
राजनीति हजुरलाई दुहुने गाई भएको छ । सोझा सिधा जनता जनार्दनसित आजीवन खेलाँची गर्नुभो... कम्तिको पनि यो राजनीतिसित खेलाँची नगरिदिनुहोस् ।

कृष्ण प्रधान :
मेरो हजुर,
आज ता जनसभामा भक्कु नाँचेछु कि क्या हो कोनि आठ-अठिङ्गर दुःखेर मर्नै आँटिसकेँ । फेरि हजुरको गाड़ीको कन्भय जाँदा हजुरको नाम लिँदै जिन्दावाद भन्दै कराएकोले घाँटी सुकेर ख्याप्पै भएको छ । तपाईंले मलाई पार्टीमा, जुलूसमा, जनसभामा घोक्रो सुक्ने गरी नकराउनु भन्नुहुन्छ… हजुर मेरो सामु भएपछि मन ता के मान्छ र । हजुरलाई देखाउन मात्रै होइन खासमा हजुरलाई उर्जा पैदा गर्न मैले त्यसो गरेकी हुँ ।
साँच्चै हजुर कति महान् हुनुहुन्छ । पार्टीको यत्रोलाई आफ्नो मुट्ठीमा कँज्याएर राख्नु मामुली र लरतरो कुरा होइन । यू आर माई प्राउड मेरो हजुर । जब तपाईं मञ्चमा भाषण दिनु पोडियम अघि उभिनुहुन्छ नि त्यतिबेला मेरो छाती गर्वले चिनियाँको पर्खालभन्दा पनि दोबर चौड़ादार हुन्छ । हजुरको भाषणमा कस्तो मोहनी छ ।
हजुरको सबै कुरो मनपर्छ कि… तर एउटा कुरा चाहिँ मलाई पटक्कै मनपर्दैन । माइण्ड नगर्नुहोला हजुर, विरोधीहरूको कुराको खण्डन गर्नुहुन्छ त्यो अत्यन्तै तर्कसङ्गत हुन्छ । तर हजुरले विरोधहरूको व्यक्तिगत कुरा झिकेर मञ्चबाटै किसिम भन्नु नभन्नु भन्नुहुन्छ । तपाईंहरूको ता नीतिगत झगड़ा वा विरोध हो तर व्यक्तिगत कुरा निकालेर हिलो छेप्दा राम्रो हुन्छ र हजुर ।
हो, विरोधीको आलोचना गर्नुपर्छ, आलोचना स्वस्थ होस्, त्यसमा कुनै पूर्वाग्रह नहोस् । तपाईंले विरोधीहरूको व्यक्तिगत रुपमा खोइरो खन्नुहन्छ र ता विरोधीले पनि हजुरको खोइरो खन्छन् । यो कुरो याद राख्नुहोला है हजुर ।
अनि सुन्नुहोस् न…. हजूरको ता म अन्धो भक्त हुँ । हजुरले मलाई टिष्टामा हाम फाल् भन्नुभो भने पनि हाम फाल्न म तयार छु । तर हजुरले उनको हृदयको टुक्रालाई त्यस्तो अपकशकुन कुरा पटक्कै भन्नुहुन्न हई ?
मलाई अचम्म र उदेक कहाँ लाग्छ भने, अस्तिसम्म हामी विरोधीहरूसितै थियौँ । तपार्इं ठूला-ठालूहरूको के मा कुरा मिल्दैन कोनि विरोधी पक्ष छोड़ेर हजूरकै करकापमा हामी सिङ्गै गाउँ उताबाट यता आयौं । ठिकै छ… तपाईहरूको के मा मतो मिलेन होला र पार्टी बदली गर्नुभो तपाईं ठूला-ठालू नेताहरूले । हामी ता मामुली पार्टी क्याडर मात्रै । खासमा हामीले राजनीतिको टुप्पो फेद केही बुझेका छैनौं । हामी ता जसो जसो मादल बज्छ उसै उसै नाँच्ने मात्र हौं । अहिले फेरि तपाईं भन्नुहुन्छ हामी यो पार्टी छोड़ेर उतैपट्टि जानुपर्छ । हामीलाई ता तपाईंहरू ठूला-ठालू नेताहरूले खेलौना नै बनाइ सकेको छ । मेरो कुरा छोडिदिउँ, म ता तपाईंकी प्राणेश्वरी परेँ । तपाईंको जुनै कुरामा पनि सोह्रै आना सहमति छ । तर पार्चीमा हजुरको सही सही बिसही मलाई पचेन । पार्टीभित्र म पो तपाईंलाई माया गर्छु, काखी च्याप्छु तर पार्टीभित्रै तपाईंलाई मन नपराउने, तपाईंको खोइरो खन्ने कति छन् कति । हजुरले याद गर्नुभएको छ । मुख अगाडि़ तपाईंको छेउमा म्याउँ म्याउँ गर्ने तर तपाईंको पछाडि़ तपाईंको बदख्वाइँ गर्ने देख्दा छक्क पर्छु । पार्टीभित्र पनि किन यस्तो द्वन्द्व ?
मैले एउटा कुरा बुझिनँ हजूर । फेरि तपाई ता पुरानै पार्टीमा जानुहुँदैछ भन्ने गाइँगुइँ छ ता यो चाहिँ के हो फेरि ? तपाईंको यो भालेमुङ्ग्रे नीति मनपरेन है मलाई ता । एउटै पार्टीमा बसेर जनताहरूलाई सेवा गरे कति राम्रो हुनेथ्यो । यसैकारण ता हिजोआज पार्टी भनेपछि मान्छेहरू नाक खुम्च्याउँछन् । नेता भएर वफादारी हुनाका साथै आफ्नो समाजको भलोको निम्ति सेवा पुर्याउनु पर्ने हो । तर तपाईंहरू ता सानो कुरामा पनि ठुस्केर पार्टी चेञ्ज गर्नुहुन्छ । यस्तो तिहुन चखुवा नेतालाई कसले पत्याउँछ, कसरी पत्याउनु ?
मेरो हजुर ! तपाईंलाई थाहा छ तपाईंको कारणले मैले पार्टी चेञ्ज गरेर आफ्नो पुरानो पार्टी त्यागी तपाईंको पार्टीमा आएँ । मेरा बूढ़ो त्यस पार्टीका कन्भनेर । उनले कति सम्झाए मलाई । तपाईंकै खातिर मैले उनलाई नटेरी तपाईंको पार्टीमा सामेल भए । यसले गर्दा बूढ़ोसित कटाक्ष छ मेरो । राम्रो बोलचाल छैन । यो पार्टी चेञ्जले गर्दा एउटा सुन्दर घर बिग्रिन आँटिसक्यो ।
तपाईंको होहोरीमा लागेर यो पार्टीमा आएकी एक महिना पनि राम्ररी बितेको छैन…फेरि तपाई शत्रु पार्टीमा सामेल हुन्छु भनेर प्रेस स्टेटमेण्ट दिनुभयो । जुन झण्डी त्यागेर आउनुभो फेरि त्यागेकै झण्डी समातेर फेसबुक वालमा पोष्ट गर्दा तपाईंलाई देख्नेले जान्नेले के भन्लान् ? राजनीतिमा मान्छे एउटा सठिक सिद्धान्तमा लागिपरेका हुन्छन् । एउटा पार्टीको सिद्धान्त अर्को पार्टीसित पटक्कै मिल्दैन । मिल्ने कुरा पनि आएन । घोड़ाले घाँससित मित्रता कहिल्यै गर्दैन । गर्नु पनि भएन । झण्डी त्याग्नु र झण्डी समात्नु ठूलो कुरो होइन । हजुरको सिद्धान्त ठूलो कुरो हो । अस्तिसम्म त्यै झण्डीको खुल्लमखुल्ला विरोध गर्नु भो, अस्तिसम्म त्यै झण्डी च्यातेर मिल्काउनु भो । तर हजुर त्यही मिल्काएको झण्डी समातेर कसरी आफूलाई एकजना सच्चा, इमान्दार, निष्ठावान राजनीतिज्ञ प्रमाणित गर्नसक्नु हुन्छ ? झण्डी साट्नु भनेको ता नेताले स्वास्नी साटेको बराबर लाग्छ मलाई ।
अन्यथा नठान्नुहोला, म तपाईंको एकमात्र शुभचिन्तक हुँ । हर हमेशा तपाईंको भलो चाहन्छु । तपाईंलाई राजनीति मनपर्दैन भने राजनीति जीवनभरलाई त्यागिदिनोस् । तर हजुर राजनीतिबिना तपाईं बाँच्न सक्नुहुन्न । राजनीतिकै आड़मा तपाईंको शान मान इज्जत मर्यादा दिन दुइगुणा रात चौगुणा बढि़रहेछ । तपाईं भन्नुहुन्छ, यो राजनीति भन्ने कुरा मलाई मनपर्दैन भनेर । यो ता तपाईंको प्रोपोगाण्डा हो जस्तो लाग्छ । खान्नँ खान्नँ लोकाचार, खाएपछि माना चार भनेजस्तो तपाईं । तपाईंले होइन हजुर, राजनीतिले तपाईंलाई पर..पर..गर्न थालेको छ, राजनीतिले तपाईंलाई तपाईंको घिनलाग्दो करतुत देखेर टक्टक्याउन थालेको छ । तपाईंको आँट र हिम्मत छ भने राजनीति छोड़दिनोस्, त्यागिदिनोस् । सक्नुहुन्छ ? छातीमा हात राखेर भन्नुहोस्… सक्नुहुन्छ ? कदाचित सक्नुहुन्न । राजनीति हजुरलाई दुहुने गाई भएको छ । सोझा सिधा जनता जनार्दनसित आजीवन खेलाँची गर्नुभो… कम्तिको पनि यो राजनीतिसित खेलाँची नगरिदिनुहोस् ।
तपाईंले मलाई बारम्बार मैले समातिरहेकी झण्डी त्यागेर तपाईंले अब समात्ने झण्डी समात्नुपर्छ भनी लिँड़ेढिपी गरिरहनुभएको छ । तपाईंको लागि ज्यान दिन तयार छु म, किनभने म तपाईंको प्रेयसी हुँ । तपाईंको मन दुःखाउन चाहन्नँ कदापि । म एक्लैले ता तपाईंको कुरा सुनेर पुरानो झण्डी त्यागुँला हो । तर मेरा पनि ता थुप्रै अनुयायीहरू छन् नि । मभन्दा पनि पढ़ेलेखेका, मभन्दा धेर जान्नेहरू छन्… उनीहरूलाई मैले कसरी झण्डा त्यागेर पुरानै झण्डी समात्नु भनेर रिक्वेष्ट गर्नु ? के ठान्लान् उनीहरूले मलाई ? के सोच्लान् ? यो ता जता मल्कु उतै ढल्कु ठान्दैनन् र मेरो हजुर ! के भन्ने ? मेरो गिदीले कामै गर्न छोड़सक्यो । म अन्योल र दोधारमा छु ।
अब ता मैले के निर्णय लिएको छु भने कि चाहिँ तपाईले थोत्रे, घिनलाग्दो राजनीति गर्नु छोड़्नुहोस् कि चाहिँ मलाई छोड़्नुहोस् । तपाईं आफ्नो इच्छाले मनले चाहेको राजनीति गर्नोस् । तर मलाई त्यागिदिनोस् । साँप पनि मर्ने लट्ठी पनि नभाँचिने ।
तपाईंले बारम्बार झण्डी त्यागेर आफूलाई भयङ्कर राजनीतिज्ञ ठान्नुहुन्छ भने त्यस्तै घिनलाग्दो राजनीति नै गर्नोस्…. मलाई तपाई चाहिँदैन ।
अल विदा
तपाईकै….
०००
सिलगड़ी (भारत)
Subscribe
Login
0 Comments
Oldest








































