रमेश समर्थनकन्फ्युजन
अनि हाम्रा यस्ती महिलाहरूले मेरो लोग्ने गँजेडी, भँगेडी र नसालु पदार्थ सेवन गर्छ भनेर प्रहरीलाई कम्प्लेन गरेको कुराले पनि कन्फ्युजन बढाउँछ किनभने म बुझ्न सक्दिनँ कि चाहेको वर पाउँदा पनि केको गुनासो !

रमेश समर्थन :
एक दिन पूजा गर्दै गर्दा बुढीका आँखा कुनै देवताको तस्वीरमा परेछन् । तस्वीरको देवताको मुसुक्क परेको अनुहार हेरेर आरती गर्दागर्दै उनले आरती गाउन छाडेर गाउन थालिछन् – “मुसुमुसु हाँसिदेऊ न लै लै मुसुमुसु हाँसिदेऊ !”
हिँजो म पूजा गर्दै थिएँ र मेरा आँखा त्यहाँ रहेका लक्ष्मीनारायण, सीताराम, राधाकृष्ण र गौरीशङ्करका तस्वीरमा यसरी अडिए मानौं म ती तस्वीरहरू पहिलो पटक देख्दै छु । मैले पहिले विष्णु र उनका अवतार राम र कृष्णलाई हेरें र उनीहरूसँगै रहेकी लक्ष्मी, सीता र राधाको रूपसँग तुलना गरें ।
अरे ! कति धेरै साम्य छ यिनमा ? यी देवी र देवमा ? दुबैको शिरमा मुकुट, दुबैका लामा केश, दुबैका आँखिभौं आइब्रो पेनसिलले मिलाएका जस्ता, दुबैका ओठ लाली लगाएका जस्ता, दुबैका कानमा कुण्डल, दुबैका कण्ठमा कलात्मक स्वर्णहार, दुबैको अधोवस्त्र रङ्गीन, दुबैका हातमा बाहुबन्ध र कङ्गन, दुबैका पाउमा पाइजू ! अन्तर छ त पुरुष रूप श्याम र स्त्री रूप गौरवर्णकाे छ । देवीले चोली लगाएकी छन् भने पुरुषले उत्तरीय झुन्ड्याएका छन् । मलाई पहिलो कन्फ्युजन भयो यी देवहरू अर्धनारीश्वर हुन् कि देवीहरू अर्धनरेश्वरी हुन् ?
तर अर्धनारीश्वर त महादेवलाई पो भनिन्छ ? के उनमा पनि यस्तै रूप छ ? मैले गौरीशङ्करको तस्वीरलाई निकै गहिरिएर हेरें । अहँ, कतै केही साम्य छैन जसबाट शङ्करलाई अर्धनारीश्वर वा गौरीलाइ अर्धनरेश्वरी भन्न मिलोस् । शङ्करका लट्टा परेका कपालको गुजुल्टो त गौरीको स्वणर्मुकुट, गौरीका कण्ठमा स्वर्णहार त शङ्करका घाँटी नागहार, गौरीका कानमा कलात्मक कुण्डल त शङ्करका कानमा कनफट्टा जोगीले लाउनेजस्ता कुण्डल, पार्वतीका देह सुकोमल त शिवको शरीर अररो परेको, पार्वतीका वस्त्र रेसमी त शिवको बाघछाला, महेश्वरका पाउमा मोटामोटा कडिया त उमाका पाउमा पाउजू । खै कहाँ छ यहाँ अर्धनारी वा अर्धनर रूप ? बरु उता छ अर्धमाथि अर्धको अर्ध प्लस गरेर हुनेभन्दा बढी नारीरूप वा नररूप । त किन भने होलान् शिवलाई अर्धनारीश्वर भनेर ? म कन्फ्युजनमा परें ।
लौकिक जीवनमन यदि कुनै पुरुष यी देवताको जस्तो पहिरनमा देखियोस् त हाम्रा धारणाहरू फेरिन्छन् । उनीहरू कि क्लीब हुन्छन् कि जउवा हुन्छन् । म त भन्छु, तपाईं हामीले के कुनै देवी देवताको कुनै कुरा आफूमा स्थापित गर्न सकेका छौं ? छैनौं । अनि तिनले गुणको नभए पनि देवरूपको त अनुकृति गरेका छन् । धन्य छन् फुलमेकअपमा हिँड्ने छोरानाती र अर्धनग्न हुने छोरीनातिनी ! केही त देवत्व रहेछ उनीहरूमा !
अनि म कन्फ्युजनमा पर्छु त्यति बेला जब हाम्रा नारीहरू महादेवजस्तै पति पाऊँ भनेर व्रत बस्छन् । के कुनै दिन महादेवले प्रसन्न भएर द्रौपदीलाई पाँच पटक “तथास्तु” भनेर पाँचवटा पति पारेजस्तै “तथास्तु” भनिदिए र ती महिलाको जीवनमा महादेवजस्तै अर्धनग्न र गँजेडी पति परेको खण्डमा त्यसलाई उनीहरू वरदान मान्लान् कि अभिशाप !
अनि हाम्रा यस्ती महिलाहरूले मेरो लोग्ने गँजेडी, भँगेडी र नसालु पदार्थ सेवन गर्छ भनेर प्रहरीलाई कम्प्लेन गरेको कुराले पनि कन्फ्युजन बढाउँछ किनभने म बुझ्न सक्दिनँ कि चाहेको वर पाउँदा पनि केको गुनासो !
०००
रुपन्देही
Subscribe
Login
0 Comments
Oldest








































