साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अर्ग्यानिक जोखाना !!

रोग निदानका लागि दशा टार्न यिनलाई घुसको कालो सेलो खोसेर स्वमलमूत्र मिश्रित रसमा चोबलेर अस्तु चटाइदिएर उपयुक्त समयमा मन्छेले नै कार्य गर्नु उपयुक्त हुने कुरा कुण्डलीबाट ज्ञात हुन आउँछ ।

Nepal Telecom ad

हयारी- ८० :

बाह्र राशिमध्ये कुन राशिकालाई बढी दशा लागेको होला भनेर फतुरे काकाले जोखाना हेर्ने विचार मात्र के गरेका थिए, गलगाँडे, लुते, रोगी, बुढा, ख्याउटा, लिँडे, पुच्छरेहरूले आआफ्नो औकात देखाउन थालिहाले । ग्रहगोचर बिग्रेपछि दशा लाग्ने परिपाटी धेरै पुरानो हो । सूर्य, चन्द्र, शनि, राहु र केतुको प्रतिकूल स्थानको परिवर्तनले पनि दशा लाग्छ भन्छन् ।

वैज्ञानिक युगमा पनि ज्योतिषीय परामर्शको सान्दिर्भिकता कति छ भन्ने कुराको अवलोकन गर्न काकालाई हुटहुटी जागेकाले यसो टारतिर नजर लगाउँछन् त एउटा ढेडुले पाँच पाँचपटकसम्म आफ्नो बाँदरहुलको नेतृत्व गरेको देखेछन् । यो हुल कहिले पशुपति गएर वितण्डा मच्चाउँदो रहेछ । कहिले लुम्बिनी, कहिले पश्चिमतिर कहिले पूर्वतिर । बाँदर पसेका घरमा जेजस्तो हुन्छ, त्यस्तै गरेको देखेर कुण्डली यसो पल्टाउँछन् त यिनले नन्दन बगैँचा तहसनहस बनाउन भ्याइसकेका रहेछन् यस भेगतिर । कुण्डली हेर्दै गएको त अर्को चिना पनि बनाएको रहेछ । यिनका कति कति चिना ।

एकपछि अर्को खोतल्दै जाँदा यताको र उताको दुवैतिरको हुँदो रहेछ । ज्योतिष नै तीन छक परे बा । एअरपोर्ट छिरेका केही बाँदरले हवाईजहाज उडानलाई पनि अपवित्र पारेछन् । कथित अविरामका भक्त बनुमान् जङ्गलबाट आएका बाँदरसँग मिसिएर राज गरिरहँदा यहाँका आदिवासी बाँदरहरू हेरेको हेर्‍यै भएछन् । अनि एउटा उछिट्टिएको बाँदर आएर श्राद्ध गर्न भनी बसेछ । कुन्नि कुन राशिको सो बाँदरले जति टपरी र दुनामा सरजाम राख्यो आफैँतिर तान्दै खाँदो रहेछ, विचरा पण्डितबाजे ट्वाँ परेर बस्नु, चन्द्रमा दाहिना हुनुपर्ने देव्रेतिर पर्नु, सूर्य दक्षिणायन हुनु, राहु आठौँ र बारौँ स्थानमा बसेर सधैँ दुःख पाइरहनपर्ने दुरवस्थालाई मध्यनजर राख्दै मूल ढेडुले वनकालीबाट एक्लिएर प्रकटेश्वरको बजारतिर हराइरहेको एउटा होलीवाइन खाइरहेको टपरेलाई खोजी साथी बनाएछ । अन्य साथी पनि बटुलबाटुल गर्दे राज गरेको यो झुन्डलाई नियाल्नेले के भने भने कहिलेकाहीँ यी बाँदरको झगडा यति हुँदो रहेछ कि वरपरका कुकुरसमेत बेचैन हुँदा रहेछन् ।

बाँदरको हात हेर्न गएका फतुरे काका अन्तर्राष्ट्रिय सम्मेलनमा सरिक भएको बाँदरलाई के रहेछ किन यति धेरै राज गरिरह्यो भनेर टिपन लिई यसो हस्तरेखा हेर्छु भन्दा त र्‍याल चुहाएर बसेको रहेछ । विदेशबाट आएका केही पर्यटकले त्यो र्‍याले बुढो बाँदरको कन्तबिजोग देखेर भर्खरका हट्टकट्टा बाँदरको राज भएमा त्यो टार वरपर शान्त हुन्थ्यो कि भन्ने उद्देश्यले मिलमिलाप नीति लिएछन् । आखिर बाँदर न हो आफ्नो घर पनि बनाउँदैन अर्काको घर पनि राख्दैन । के मान्थ्यो र ? यो झुन्डले मन्दिर, सडक, निजी, सरकारी केही भनेन, सबैलाई सताइरह्यो । जन्मकुण्डली फेर्ने, परिचय साट्ने, लुछ्ने गरिरह्यो । अनन्य मित्रलाई धोका दिएर आफैँ डकार्ने, नक्षत्र बलियो भएकाले होला यसले यो क्षेत्रमा राज गरिरह्यो । ग्रहस्थिति गणना गर्दा यो झुन्डको शक्ति क्षीण हुँदै गएको त छ तर यसबारे सुइँको नपाउँदा अझै यिनकै राज चलेको छ ।

अब आधुनिक यन्त्रको सहायताले दृक् सिद्धान्त विधिद्वारा निरीक्षण गर्न स्वतन्त्र विचरण गर्ने केही बाँदरहरूको ज्योतिष ग्रन्थावस्थापट्टि नजर लगाए । कहिले यी स्वतन्त्र भनाउँदाहरू पनि कसले झोला बोकेर आएका छन् अनि लुटौँला भनेर बसेका हुँदा रहेछन् । बाबा ठाकुरे अर्कातिर युट्युबेहरूले ग्रहगणना गर्नै दिँदा रहेनछन् । आफ्नो सही राशि बताउन नचाहने यी बाँदरहरूका हुलका हुल झुन्डले राहतका लागि ल्याएको सामलतुमल, प्रसाद भनेर ल्याएका सबैलाई दिन राखेको खाद्यअखाद्य सामग्री र अन्य मालवस्तु सबै धुजाधुजा बनाइदिए । ढेडु बाँदरसँग मिलेर यो युनियनले आफ्नो क्षेत्रको रक्षा पनि गर्न सकेन र अरूलाई पनि दिएन । परीक्षाका बेला विद्यार्थीलाई यति चटारो हुन्छ कि कुन पाठ पढ्ने र कति तयारी गर्ने भन्ने हुन्छ रे ? अर्काले घोडा चढ्यो भनेर आफू धुरी चढ्ने समाज देखिरहेका यी बाँदरहरूले सिको गरेकैले होला अन्यमा बाँदरराज यत्रतत्र सर्वत्र देखिन्छ ।

रूप, रङ, बाल्यावस्था, शारीरिक बनावट, रुचि, जीवनशक्ति, पद प्रतिष्ठा सबै हेर्नका लागि पृथ्वी, चन्द्रमा, सूर्य तथा अन्य ग्रहको आधारमा कुण्डली हेर्दा यिनलाई दशारम्भ भएको प्रस्टै देखिन्छ । नक्षत्रको स्थिति पनि प्रतिकूल नै भएको देखिन्छ । हस्तरेखा हेर्नै नदिने यी बाँदरहरूको चर्तिकला हेर्दाहेर्दै रमितेहरूको समय सकिएको पत्तै हुँदो रहेनछ । सोझासाझाको खोसेर खानेदेखि बाहेक यिनको अर्को मति नआउने हुँदा बाँदर राज्यमा गई जन्मकुण्डली हेर्न नसकिने देखिन्छ ।

पहिले एउटै ढेडुको राज थियो यो टारमा समयान्तरमा ढेडु बाँदरको सङ्ख्या ह्वात्तै बढ्दा यिनीहरू मारामार गर्न थालेका छन् । खान नपुगेर हो भनौँ भने जुठो हाल्दै फ्याँक्दै अन्त लगेर थुपार्दै ढाडिएका छन् अनि बढी भएर हो भनौँ भने लुट्दै लगिरहेका छन् । यिनको स्वभाव प्राकृतिक नभएको र बल्लबल्ल हस्तरेखा हेर्दा बाँदरपत्नी सुन्दरीको लोभलालसा र सबै हत्याउने हन्तकाली प्रवृत्ति तथा साँढे सातको दशा नसकिनु नै रहेको कुरा ग्रहगणनाले देखाउँछ । मलमास होस् वा चन्द्रमासअनुसारको कृष्ण पक्षको औँसीमा, शुक्लपक्षको ग्रहणादि होस् वा जुनकुनै दिनमा पनि ढेडुका सुन्दरीहरूको भने सोमरसादिमा चुर्लुम्म डुब्ने र अरेली काँडाले जता पनि च्वास्स च्वास्स घोच्दै नाच्न मन पराउने योग परेको देखिन्छ । भारेभुरे बाँदरहरू दाम्रिएका पेट लिएर अर्काको सुकुल पनि नपाई कट्याङ्ग्रिएर बस्दा पनि अन्यले भने पाएका सबै स्रोतमा चुकुल लगाएर भित्र मस्ती गरेकाले यिनको अब दिन सकिन आँटेको देखिन्छ ।

आफू बसेको ठाउँमा भुजियाका लोभले अरूलाई छोडिदिँदै सहर पल्केका टारका यी बाँदहरूलाई कतै स्थानान्तरण गरेर सिधासाधा अन्य जीवलाई संरक्षण गर्न सके राम्रो हुने गाइँगुइँ सुनिएको छ भन्ने कुरा बाँदर विशेषज्ञहरू बताउँछन् । जसले जे भने पनि ग्रहगोचर हेर्दा अब विस्तारै यिनको प्रभुत्व कम हुँदै जाने, बाहिरी तत्त्वको प्रभाव पर्दै जाने र यी लोपोन्मुख प्राणीका वर्गमा पर्ने सम्भावना प्रबल देखिन्छ । जङ्गलबाट गाउँ र सहरतिर छिरेका र स्थानीय गाउँठाउँका सबै बाँदर छ्यासमिस हुँदा गाउँ अनि सहर यिनीहरूबाट अछुतो रहेको देखिँदैन । केही अति रोगी बाँदर, केही स्वस्थ र केही उद्दण्ड बाँदरको वर्गीकरण गरी यिनको व्यवस्थापन गर्नका लागि सच्चा नेपाली अघि बढ्न सके कुनै पनि नेपालीले बाँदरबाट प्रताडना खेप्नुपर्ने थिएन । बाँदर भगाउने उपाय अनगन्ति छन् तापनि यिनको ग्रह नै बलियो भएकाले यी आजसम्म यहाँ टिकेका हुन् । यी भूतप्रेत, शनि अनि सारै दुःख दिने पापग्रह राहु तथा गिदीयुक्त टाउको नभएको केतुलाई मन्छाउनका लागि साइत नकुरी पाकेको बाली जोगाउन जसले जहाँबाट सकिन्छ, बाँदरलाई व्यवस्थित गरौँ ।

चेलीबेटीलाई आव्रmमण गर्ने, गाउँसहरमा सास्ती दिने मुखैमा आएका वस्तु लुटिदिने, आफू पनि घर नबनाउने र अरूलाई पनि बनाउन नदिने गुन्डा प्रवृत्तिका बाँदर नियन्त्रण गरी प्राकृतिक बाँदरको संरक्षण गर्न अनि पाउरोटीका लागि झगडा गर्ने कुकर र बिरालालाई बराबर गरी बाँडिदिन्छु भन्दै सबै क्वाप्प खाइदिने बाँदर पहिचान गरी ती हनुमन्ते लाउके, बिचौलिया, गुन्डा, र्‍याले, सिँगाने, टाउरे, चाउरे, माफियाहरूका मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ र मीन सबै राशियुक्त बाँदरहरू पहिचान भइसकेका छन् । रोग निदानका लागि दशा टार्न यिनलाई घुसको कालो सेलो खोसेर स्वमलमूत्र मिश्रित रसमा चोबलेर अस्तु चटाइदिएर उपयुक्त समयमा मन्छेले नै कार्य गर्नु उपयुक्त हुने कुरा कुण्डलीबाट ज्ञात हुन आउँछ । अन्य शुभाशुभ ग्रहगोचरादिको अग्र्यानिक जोखाना हेरी अवस्था खुट्याउनका लागि आआफ्नो जन्मकुण्डली लिएर फतुरे काकाकहाँ सम्पर्क गर्न सकिने छ ।

०००
गोकर्णेश्वर- ५, काठमाडौँ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
अनुहार

अनुहार

नगिता लेप्चा राई
तलतल

तलतल

केशवराज आमोदी
जुलूसहरूका पछाडि

जुलूसहरूका पछाडि

शरच्चन्द्र वस्ती
0
Would love your thoughts, please comment.x
()
x