सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

राजेन्द्र कार्कीको खाइराइडमाथि व्यङ्ग्य विचरण

शौचालय, बुढो गोरु कि बहर, पैसा र पद, कुकुरको भाग्य, बिहे किन ? जनावरलाई गाली किन ? जस्ता निबन्ध सरल भइकन पनि गहिरा छन् । शौचालयसम्बन्धी निबन्ध पढ्दा वास्तवमा शौचालय कम महत्वको चिज होइन रहेछ भन्ने देखाउँछ । त्यसको उत्पति कथा र इतिहासको ज्ञान पनि छ ।

Nepal Telecom ad

डा. रमेश शुभेच्छु :

विषय प्रवेश
राजेन्द्र कार्की मेरा पुराना मित्र हुनुहुन्छ । उहाँ एक अग्रज आदरणीय सहकर्मी हुनुहुन्छ । उहाँले करिब दुई दशक वानेश्वर बहुमुखी क्याम्पसमा पढाउनुभयो । उहाँ त्यहाँ हामीसँग काम गर्दागर्दै सिटिभिटीको डाइरेक्टर हुनुहुन्थ्यो । म सुरु सुरुमा वानेश्वर क्याम्पसमा प्रवेश गर्दा उहाँ चल्तापुर्जा प्राध्यापक हुनुहुन्थो । उहाँले त्यस कलेजमा एम.वी.एसको कोअर्डिनेटर भएर काम पनि गर्नुभएको थियो ।

उहाँले एम.विए गर्नुभएका कारण उहाँसँग नेतृत्व र व्यवस्थापन क्षमता राम्रो भएको कुरा मैले पहिले नै बुझेको थिएँ । त्यो आज पनि त्यत्तिकै प्रवल रहेको मैले पाएँ । उहाँ यो किताब पुर्‍याउन क्याम्पसमा बिहान ५ः ३० बजे नै पुग्नुभएको थियो । म छ नबज्दै क्याम्पस पुग्दा उहाँ स्टाफ रुममा बसिराख्नुभएको थियो । उहाँसँग १५-२० मिनेट कुरा गर्दा उहाँमा आज भन्दा दशक अगाडिकै उत्साह, उर्जा र त्यसबेला भन्दा बढी सिर्जनशीलता पाएर गौरव लाग्यो ।

मलाई भन्न लाज लाग्दैन । राजेन्द्र कार्की, राजेश्वर न्यौपाने र ध्रुव न्यौपाने तिनै जना दार्शनिक जस्ता साथी भेटेको थिएँ । तिनै जना भोजपुरका । तिनै जनालाई लेख्नुहोस् न भन्दा लेख्नुहुन्न थियो । राजेश्वर सरले लेख्नुभएन । ध्रुव सरले साहित्य लेख्नुभएन तर पाठ्यपुस्तक लेख्नुभयो । उहाँ साहित्यप्रेमी हुनुहुन्छ । राजेन्द्र सरले पाठ्यपुस्तकसहित आज साहित्य पनि लेख्नुभयो । म हर्कबढाइँ व्यक्त गर्छु र बधाई भन्छु ।

आज राजेन्द्र कार्की जन्मभूमि भोजपुरमा पनि हुनुहुन्न, पहिलाको कर्मथालो वानेश्वरमा पनि हुुनुहुन्न । उहाँ क्यानडाको भ्याङ्कुभरमा बस्नु हुन्छ । उहाँ केही व्यापार व्यवसाय गर्नुहुन्छ । उहाँका सिटिभिटीको पूर्व डाइरेकटर भन्दा ठुलो कवि तथा लेखक राजेन्द्र कार्की, निबन्धकार राजेन्द्र कार्कीका रुपमा परिचय बलियो बनेको छ । “खाइराइड” ले नेपाली हास्यव्यङ्ग्य निबन्ध साहित्यमा डिजिटाइज उत्तरअाधुनिक परम्पराकाे शुरूवात गरेकाे छ ।

मेरा विचारमा आज हास्यव्यङ्ग्य सङ्कटका अवस्थामा छ । हास्यव्यङ्ग्यका सैद्धान्तिक पक्ष र केही मूल प्रवृत्ति वा विशेषताहरुको कसीमा राखेर यी रचनाको अध्ययन गर्न सकिन्छ । हास्यव्यङ्ग्य पारखीका रुपमा हेर्दा यहाँ रहेका कतिपय निबन्ध हास्य र व्यङ्ग्यको सुन्दर सन्तुलनसहित प्रकाशन भएका छन् । यस सङ्ग्रहमा रहेका त्यस्ता निबन्धहरू हुन् : ‘कुकुरको भाग्य’, ‘भाग्दाभाग्दै’, ‘जनावरलाई गाली किन ?’, ‘घाँडो बूढो’, ‘बिहे किन ?’, ‘कामी’, ‘कहाँ छ स्वतन्त्रता ?’, ‘धारा तथा शौचालय महात्म्य’, ‘सोल्टिनी’, ‘चिनिनँ’, ‘त्यो नेपाली होइन’, ‘चुनाउ पुराण’, ‘लेखकको कन्दनी’, ‘लिङ्गपुराण’, ‘खाइराइड’, ‘देश डुब्यो’, ‘बुहारी सास’ू, ‘सरको डर’, ‘पद पैसा’, ‘बूढो गोरू कि बहर !’, ‘जिन्दगीः खाना पाइखाना’, ‘लाहुरे’, ‘नेपालीले गर्छ’, ‘प्रधानमन्त्री कि वरदानमन्त्री !’, ‘हाइ हाइ अमेरिका’, ‘नामको चाम’, ‘कुरा गरेर खानु !’, ‘गुट फुट झुट’, ‘दलाल’, ‘दानी कि नादानी’, ‘मृत्यु विज्ञापन’, ‘कुकुरको भाग्य’, ‘सोल्टिनी’, ‘लेखकको कन्दनी’, ‘कुरा गरेर खानु’ जस्ता हास्य र व्यङ्ग्यपूर्ण ३१ थान निबन्ध सङ्ग्रहित छन् । एउटा निबन्ध पढिसकेपछि अर्को निबन्ध पढौँ पढौँ लाग्नु यस कृतिको मूल विशेषता हो ।

खाइराइड के ?

कुनै कृतिको शीर्षक पनि अर्थपूर्ण कुरा हो । निबन्धका तत्वमा शीर्षकलाई नराखिए पनि शीर्षक पनि तत्त्ववत् रुपमा आइरहेको हुन्छ । थाइराइड भन्दा खतरा खाइराइडको प्रसंगबाट निबन्धको शीर्षक बनाइएको छ । जस्तै :
देश विकासको मुख्य आयोडिन भनेको विधि र कानूनको शासन हो । खाइराइड लागेपछि विधिको लिदी काढिन्छ । कानूनको कान काटिएर नून मात्र बाँकी रहन्छ । इमान र नैतिकता नभएको नुनले सुशासनको प्रणालीलाई ध्वस्त बनाउँछ । (खाइराइड)

आजको नेपाली हास्यव्यङ्ग्य अभिनय, कमेडी क्लबमा प्रदर्शनतिर जाँदैछ । त्यहाँ पनि समाजका बहुल विषय हुँदाहुँदै राजनीति केन्द्रित विषय बढी देखिन्छ । लेखनमा पनि समाजमा बहुमुखी लेखनका विषय हुँदाहुँदै राजनीति प्रधान हुँदै गएको छ । यस्तो राजनीतिक संक्रमणका बेला राजेन्द्र कार्कीज्यूका प्रायः रचनाहरू सामाजिक, सांस्कृतिक, पेसागत र अन्य विषय क्षेत्रका विषय ग्रहण गरेर बहुल विषय क्षेत्रका विकृत पक्षको उद्घाटनमा केन्द्रित छन् ।

भाषाशैली
हास्यव्यङ्ग्य छुट्टै विधा होइन । निबन्धको एक शैली विशेष हो । निबन्धका प्रमुख तत्वमध्ये एक भाषाशैली हो । अर्को उद्देश्य र अर्को दृष्टिविन्दु हो । कार्कीजी भोजपुरका लेखक हुनुहुन्छ । कार्कीजी बोल्दा बढो स्पष्ट र ठेट पूर्वेली भाखामा बोल्नुहुन्छ र लेख्दा पनि त्यसै गर्नुहुन्छ । यो पूर्वेली बोलीको भाखा वा भाषिका निकै लोभलाग्दो छ । त्यहाँ प्रचलित उखान, टुक्का लगायत लोकोक्तिको प्रयोग लोभलाग्दो छ । सान्दर्भिक उखान र उपकथाहरूको संयोजन पनि आकर्षक छ । आनुप्रासिक कवितात्मक शैली पनि त्यत्तिकै प्रबल छ । कतै सिङ्गै कवितालाई पनि निबन्धभित्रै प्रयोग गरिएको छ । सिङ्गै कविता निबन्धभित्र अटाउने कि नअटाउने चर्चाको विषय हुन सक्छ । गीतका अंशहरु छन् । ती सान्दर्भिक पनि छन् । यस्ता अंश कतिसम्म निबन्धमा सुहाउँछन् त्यो पनि चर्चाको विषय बन्न सक्छ ।

शैलीका दृष्टिले कार्कीज्यूले आत्मपरक र वस्तुपरक दुवै कोणबाट निबन्धलाई सन्तुलित रुपमा प्रस्तुत गर्नुभएको छ । हास्यव्यङ्ग्य रचनामा अन्य निबन्धका तुलनामा भाषिक युक्तिको विशेष प्रभाव रहन्छ । के कसरी कस्ता युक्तिहरूको प्रयोगबाट हास्य तत्वको सृजना गरिन्छ भन्ने कुरालाई लिएर मात्र हास्यव्यङ्ग्यको सही मूल्याङ्कन गर्न सकिन्छ ।

पाँच प्रकारका विसङ्गति/विकृतिजनित हास्य सृजनाका उपायहरू चर्चामा छन् । ती मध्ये भाषिकयुक्ति प्रधान मानिन्छ । भाषिक युक्तिले नै निबन्धको शैलीगत युक्ति पहिल्याउँछ । भाषगत युक्तिमा व्यङ्ग्यकारले विकृतिको प्रदर्शन गर्नका लागि भाषिक विकृतिको सहारा लिन्छन् । भाषिक मिश्रण वा भञ्जनबाट बचाउँछन् । भाषामा झर्रोपनको प्रयोग गर्ने प्रयत्न गर्छन् । अनुप्रासीय कवितात्मक प्रयोग धेरै हुन्छ । यी पक्ष कार्कीज्यूका प्रस्तुत कृतिका निबन्धमा देख्न सकिन्छ ।

निबन्धकारले अपव्याख्या, बेतुकी गफ, निम्न स्तरको अभिव्यक्ति आदि जस्ता विभिन्न उपाय अवलम्बन गरेका हुन्छन् । यीमध्य कार्कीज्यूले पछिल्ला तीन वटा विशेषता मुक्त भएर व्यङ्ग्य सिर्जना गर्न खोजेको पाइन्छ । यो निकै सकारात्मक संकेत हो । भाषागत विसङ्गतिको प्रदर्शनका माध्यमबाट हाँसो सृजना र त्यस हाँसोसँगसँगै व्यङ्ग्य गर्न सक्नु कम सिर्जन सामर्थ्य होइन ।

विनिर्माण र प्यारोडीशैलीको प्रयोग
कार्कीज्यूले अवलम्बन गरेको एउटा मुख्य शैली प्यारोडीकरण हो । प्यारोडीकरण हास्य व्यङ्ग्यको एउटा विधि हो । यस विधिलाई पनि हाँसो सृजनाको महत्वपूणर्उपायका रूपमा अपनाएको देखिन्छ । नक्कल र नक्कलमाथि विशेष जोड दिएर प्रस्तुत गरिन्छ ।

हामीले परिवर्तनका आदर्श मानेका गीतहरु कार्कीका सामाजिक व्यङ्ग्यका विषय बनेका छन् । यो उनको विशेष शैली हो भन्ने मलाई लाग्यो । उनले जे.बी टुहुरे, श्याम तमोट वा रामेशहरूका रचनालाई नै विनिर्माण गरिदिनुभएको छ । भगौडाको लहर चलाउनमा मेरा गुरू श्याम तमोटको हात छ कि भन्ने शंका लाग्न थालेको छ । गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ, यो देश बनाउन” भनेर उनले नभनेको भए कोही पनि गाउँबाट बस्तीबाट उठ्ने थिएनन् । “गाउँ गाउँबाटलुट, बस्ती बस्तीबाट लुट यो देश लुट” भनेको भए सबै गाउँमै लुट्ने थिए । कोही पनि उठ्ने थिएनन् । भाग्ने थिएनन् ।

मैले थाहा पाएसम्म श्याम तमोट कार्कीज्यूका गुरु पनि हुनुहुन्छ । यहाँ निकै रमाइलो गरी यो प्रसिद्ध गीतलाई हास्यको विषय बनाइएको छ । फेरि जे.बी टुहुरेले गाएको गीतलाई यसरी विनिर्माण गरिएको छ :
पुरूष मात्र होइन, महिला पनि भाग्दैछन् । महिला भगाउनमा जेवी टुहुरेको हात छ कि जस्तो लाग्छ । आमा दिदी बहिनी हो, कति बस्छौ दासी भै, सुखको सधैँ प्यासी बनेर । टुहुरेको यो गीतले आमा दिदी बहिनीमा ठुलो जागरण ल्यायो । सुखको प्यास मेट्न आमा दिदी बहिनी युरोप, अमेरिका र खाडी मात्र होइन, अफ्रिकाका विभिन्न मुलुक पुगेका छन् । त्यहाँ दुःखकष्ट सहेर आफ्नै पौरख खाँदैछन् । आफ्नै सिपमा बाच्ँदैछन् । घरपरिवारको सृष्टि धान्न कोही अफ्रिकाका डान्सबारमा सुखको नाँच नाँच्दै छन्, कोही कतार र साउदीको उखरमाउलो गर्मीमा सुख खोज्दै शरीर सेकाउँदैछन् ।

कति सजिलै एउटा आदर्श रचना व्यङ्ग्यको विषय बन्छ भन्ने नमुना हो यो निबन्ध । मैले राजावादीहरुले आफ्नो आन्दोलनमा गाउँगउँबाट उठ बस्तीबस्तीबाट उठ गीत बजाएपछि रचनाको प्रभाव विषयमा एउटा सोझो लेख लेखेको थिएँ । यो निबन्ध पढेपछि विषयको क्षितिज अरु पनि रहेछ भन्ने देखियो । त्यस्तै देवकोटाको प्रसिद्ध काव्यांश हातका मैला सुनका थैलालाई पनि व्यङ्ग्यको विषय बनाइएको छ ।
जस्तै : भोक र खाना म्याथको इक्वेसन जस्तै छ । खायो पाइखाना गयो बराबर । (जिन्दगी : खाना पाइखाना)

“हातका मैला सुनको थैला के गर्नकक धनले, साग र सिस्नो खाएको बेस आनन्दी मनले” भनेर महाकवि देवकोटाले लखेका छन् । देवकोटाको समयमा काठमाडौं जताततै वनजङ्गल र खेत थिए । सित्तैँमा सिस्नो टिप्न पाइन्थ्यो । साग पनि सस्तोमा पाइन्थ्यो । “लैजाऊ बाजे” भन्दै किसानले देवकोटालाई सित्तैँमा दिन्थे होलान् । पूँजीवादले सर्लक्क निलेको आजको दुनियाँमा भएको भए विना पैसा देवकोटाले साग र सिस्नो सित्तैमा पाउने थिएनन् । अनि लेख्ने थिए होलान्- “हातको मैला सुनको थैला के हुन्न धनले ।” (पद पैसा)
यहाँ पनि विनिर्माण वा प्यारोडीकरण गरेर हास्य र व्यङ्ग्यको सिर्जना गरिएको छ ।

उल्लीविल्लीकरण
अरूलाई मूर्ख वा उल्लू बनाएर हँसाउने, अरूलाई होच्याएर गिज्याएर उल्लीबिल्ली पारेर हँसाउने अर्को शैली पनि हुन्छ । त्यसलाई कार्कीज्यूले  प्रयोग गर्नुभएको छैन ।

आङ्गिक विकृति अर्थात् शारीरिक कुरूपता
यो एक किसिमको परिवेशगत विशेषता हो । निबन्धमा परिवेशलाई अनिवार्य तत्व मानिँदैन । यसमा अङ्गभङ्ग, अनावश्यक भद्दापन आदि जस्ता कुराहरू नै हाँसो सिर्जनाका उपाय बन्न सक्छन् भने आहार्य अन्तर्गत मानिसका भेषभूषा, शृङ्गारपटार आदिमा देखिने असङ्गति नै हाँसोका कारण बनेका हुन्छन् । यसलाई त्यत्ति उत्कृष्ट मानिँदैन । यद्यपि यो पनि निबन्धका हास्यव्यङ्ग्यका लागि उपयुक्त युक्ति हो । याे विधि पनि कार्कीले अपनाएकाे देखिन्न ।

दृष्टिविन्दु
निबन्धका तत्वमध्ये एउटा दृष्टिविन्दु हो । यसमा आत्मपरक र वस्तुपरक शैली छुट्याउने आधार छिपेको हुहन्छ । आजका आत्मपरकताभित्र व्यङ्ग्य र वस्तुपरकताभित्र व्यङ्ग्य दुवैको प्रयोग सराबरी देखिन्छ । यद्यपि आत्मपरकताभित्र व्यङ्ग्य बढी प्रभावकारी देखिन्छ । यो पक्ष कार्कीज्यूले पनि प्रयोग गर्नुभएको छ ।

आत्मपरकताभित्र व्यङ्ग्य सिर्जनालाई स्वव्यङ्ग्य भन्न सकिन्छ । यस्तो व्यङ्ग्यमा आफैंलाई क्षुद्र देखाएर र कतै कतै अश्लीलता प्रदर्शन गरेर पनि हँसाउने प्रयास गरिएको देखिन्छ । आफैं मूर्ख बनेर हँसाउने, आफैंलाई पात्र बनाएर आफ्नै गाला पड्काउने तर चोट अन्तै पार्ने काम कार्कीज्यूले केही निबन्धमा गर्नु भएको छ । त्यो शैली पनि कतिपय निबन्धमा प्रयोग भएको छ । यो शैली अपनाएका निबन्ध रमाइला पनि छन् । यो आधुनिक सेल्फी संस्कृतिसँग मिल्दो शैली हो । यो शैली राजेन्द्रको प्रिय शैली पनि बनेको छ ।

भाव वा उद्देश्य
निबन्धको प्रमुख तत्व भाव उद्देश्य वा निबन्धकारको विश्वदृष्टि हो । यसको भावगत वा उद्देश्यगत तत्वको प्रबलताले नै निबन्धलाई चिन्तनप्रान विधा भनिन्छ । यसलाई सात्त्विक/भावगत विसङ्गतिका कोणबाट हेर्न सकिन्छ । व्यङ्ग्य निबन्धमा भावगत विकृतिको प्रदर्शन धेरै स्रष्टाको साझा युक्ति हो । यसका लागि सामाजिक, राजनीतिक, आर्थिक आदि विविध क्षेत्रका असङ्गतिको पर्दाफास गर्न सहज हुन्छ । यस्ता विसङ्गतिमाथि घोचपेच/कटाक्षका माध्यमबाट गरिने व्यङ्ग्यको प्रयोग आजको नेपाली व्यङ्ग्य लेखनको एक प्रमुख पक्ष हो ।
भावमा आचरणगत विसङ्गतिलाई हास्यव्यङ्ग्य शैलीका निबन्धको भावगत युक्ति मानिन्छ । यसमा मानवीय कमजोरीको उत्खनन हुन्छ । मानिसका मूर्खता, अज्ञानता र विस्मयजनक कुराहरूको वणर्नका माध्यमबाट आचरणगत विसङ्गतिलाई आधार बनाउँदा मानिसका वैयक्तिक आचरण वा बानी बेहोरामा देखिने असङ्गतिलाई नै हास्य सृजनाको उपाय बनाइएको पाइन्छ ।

यो कृति प्रवृत्ति केन्द्रित व्यङ्ग्य सङ्ग्रह हो

खाइराइड निबन्ध सङ्ग्रहमा कुनै व्यक्ति, जात, धर्म, वर्ण र लिङ्गलाई व्यङ्ग्य गरिएको छैन । मूलतः प्रवृत्तिलाई नै व्यङ्ग्य गरिएको छ । मानवीय चिन्तनका दरिद्रीपनलाई नै व्यङ्ग्य गरिएको छ । यस कृतिमा प्रसिद्ध हास्यव्यङ्ग्यकार लक्ष्मण गाम्नागेले भूमिका लेख्नुभएको छ । यो कृति पूर्ण पढेर लेखिएको भूमिका हो भन्ने बुझिन्छ । उहाँले व्याख्या विश्लेषणले पुष्टि नगरे पनि थुप्रै उदाहरण राख्नुभएको छ । उहाँले भूमिकामा लेख्नुभएको छ :
“वर्तमान नेपाली हास्यव्यङ्ग्य रचनाहरूबाट हास्य गायब भएर व्यङ्ग्य त्यो पनि कतिपय त गालीको तहसम्म झरिरहेका बेला खाइराइडमा ठाउँठाउँमा हाँसोका खित्का छुटाउने प्रसङ्गहरू पनि आउँछन् । व्यङ्ग्य साहित्यमा प्रचलित एउटा विशिष्ट कला प्रयोग गरिन्छ, आफैँलाई पात्र बनाएर तीर हान्ने तर चोट अन्तै पुर्याउने । त्यो शैली पनि कतिपय निबन्धमा प्रयोग भएको छ ।”

यस कृतिका अन्त्यमा पाठक दृष्टि पनि रहेको छ । त्यस दृष्टिमा डा. खेम गुरागाईं, रेहित सैजु, मनकाजी श्रेष्ठ, मिनु राजभण्डारी, पुण्यसागर मरहठ्ठा, सत्या अधिकारी, भवानी क्षेत्री, कुसुमाकर शर्मा, शिवहरि पोखरेल, चिरञ्जिवी दाहाल, अमर सन्तति, अशोककुमार शिवा सागर जस्ता एक दर्जन पाठक प्रतिक्रिया पनि समेटिएका छन् । तीमध्ये रेहित सैजु को प्रतिक्रिया यस्तो छ :
“खाइराइड रोगले ग्रसित मगजलाई ठन्डा बनाएर सजग गराउन निबन्धका हरफहरू वरफ बनेका छन् । शीर्षक चयन, विषयवस्तु छनोट, शब्दको संयोजन शैली, तादम्यता मिलेकोले यो सङ्ग्रह पठनीय र अत्यन्त रुचिपूणर् छ ।”

सरल विषयमा गहिरो व्यङ्ग्य
शौचालय, बुढो गोरु कि बहर, पैसा र पद, कुकुरको भाग्य, बिहे किन ? जनावरलाई गाली किन ? जस्ता निबन्ध सरल भइकन पनि गहिरा छन् । शौचालयसम्बन्धी निबन्ध पढ्दा वास्तवमा शौचालय कम महत्वको चिज होइन रहेछ भन्ने देखाउँछ । त्यसको उत्पति कथा र इतिहासको ज्ञान पनि छ ।

कुकुरको भाग्य निबन्ध अर्को त्यस्तै सरल विषयको तर गहिरो व्यङ्ग्य गर्ने निबन्ध हो । यस निबन्धमा नेपालको भैरव गुल्मदेखि उत्तरअमेरिकाली कार र सोफामा बसेर उच्च डाइट खाने कुकुरसम्मका विषयले मान्छेको जीवन भन्दा कुकुरको जीवन भाग्यमानी देखाउँछ ।

कुकुरको भाग्य हेर्नोस्ः
कुकुरको जति मस्ती र आनन्द देख्दा मान्छेलाई पनि अर्को जुनीमा कुकुर भएर जन्मन मन नलाग्ला भन्न सकिँदैन । फरारी, लेम्वर्गगिनी, आउडी, रोल्स रोय, टेस्ला जस्ता करोडौ पर्ने महंगा कारमा सवार हुन्छन् । मालिक जता जान्छन्, उतै गइदियो । खान दिन्छन्, खाइदियो । बस्, कति आनन्द ! कुकरले मस्ती गर्ने दुनियाँमा बरू मान्छेलाई सास्ती छ ।

एउट सानो कुकुरको भाव्य विषयबाट विश्वको आर्थिक अवस्थालाई निबन्धमा अटाइएको छ :

ठूला बहुराष्ट्रिय कम्पनीले कुकुरका खाना, दाना, खेलौना र कपडा उत्पादन गर्छन् । ठूला मलका ठूला स्टोरले छुट्टै सेक्सनमा राखेर बिक्री गर्छन् । अरबौँ अरब डलरको व्यापार हुने गर्छ । मान्छेसँग मान्छे मिल्दैनन् । लोग्ने र स्वास्नीको कतिखेर डिभोर्स हुन्छ, ठेगान हुँदैन । तर कुकरसँग कहिल्यै डिभोर्स हुँदैन । प्रेम हुन्छ । मित्रता हुन्छ । कुकुरसँग आफ्नो सुखदुःख बाँड्न मिल्छ । गोप्य कुरा बताउँदा मान्छेले जस्तो धोका दिएर जीवन बरबाद पार्दैन ।

‘जहाँका मान्छेको काम छैन, त्यहीका कुकुरको पनि काम नहुने रहेछ । जहाँ मान्छे खिच्चा छन्, त्यही कुकुर पनि खिच्चा हुने रहेछन् । उत्तर अमेरिकामा मान्छेलाई लखरलखर हिँड्न फुर्सदै नभएकोले होला, त्यहाँ लखरलखर हिँड्ने भुस्याहा कुकुर …
यी तीन वटा उदारण सरल विषयमा गहन भाव अभिव्यक्तगर्ने निबन्धका नमुना हुन् ।

सामाजिक समानता र न्यायका निबन्धकार

प्राय सबै लेखकको अभिष्ठ समाजसुधार हुन्छ । समाजका कुप्रथाका विपक्षमा उभिनु र सुपक्षका पक्षमा वकालत गर्नु निबन्धकार वा लेखकको साझा विशेषता र कर्तव्य पनि हो । कार्कीज्यूका निबन्धमा सामाजिक कुरीति, छुवाछुत विरूद्ध सरल भाषामा समानताको अभिव्यक्ति दिइएको छ ।
बेकामीहरू काम गर्दैनन्, तर काम गर्नेलाई कामी भन्छन् । सबै कामी नै कामी भइदिए देश र समाज दामी हुने थियो ।
यहाँ अनुप्रास पनि छ । समाजले कामी भनेर दलितका रुपमा हेरेको समुदायको कर्मशील पक्षको उजागर र सामाजिक समानताको स्वर पनि छ । उनी यससन्दर्भलाई थप यसरी प्रस्तुत गर्छन् :
फलामबाट नयाँ यन्त्र बनाउने मान्छेलाई किन कामी भनियो ? किन लौहमुनि भनिएन ? ज्ञानको विज्ञलाई ऋषिमुनि भनिए जस्तै लौहको विज्ञलाई लौहमुनि भन्नु पर्ने हो । सियो समाई लुगा सिउने दमाइ होइनन्, वस्त्रमुनि हुन् । छालाको काम गर्ने मान्छेलाई चर्ममुनि भन्नुपर्ने हो । (कामी)

यहाँ व्यङ्ग्यको प्रस्तुतिभन्दा दार्शनिक अभिव्यक्ति दिइएको जस्तो लाग्छ । दर्शनलाई व्यङ्ग्यसँग पनि घोलिएको छ ।

राजेन्द्र सरले अधवैँसे छँदै वृद्ध मनोविज्ञान लेख्नुभएको छ । उहाँ पनि चट्याङ मास्टरको चिन्तनमा लाग्नुभएको छ । उहाँले बुढोलाई केही व्यङ्ग्य गरेर पुनः अनुभवको भाँडो बनाउनुभएको छ :

बूढो मान्छे घाँडो नभएर अनुभवको भाँडो हुनु पर्ने हो भन्ने मेरो ठम्याई हो । मेरो ठम्याईलाई नबङ्याई बुझ्नु होला ।
(घाँडो बूढो)
यहाँ उमेरजन्य विभेदको अन्त्यको कामना पनि छ । वृद्ध र वृद्धसँग व्यवहार गर्ने अरुका कमजोरीमाथि व्यङ्ग्य पनि छ । यसै सन्दर्भमा मानवले जनावरलाई गर्ने विभेदलाई पनि एउटा निबन्धमा समेटिएको छ :

“हुई हुई” गर्दै खुई खुई कराउन पनि हामीले मान्छेबाटै सिकेका हौँ । नपत्याए टुइटरमा हेरे हुन्छ । यु टुभ सुने हुन्छ । फेसबुकका थरिथरीका हुइयाँको झन् कुरो गरिसाध्य छैन । अनि स्याल हुइयाँ भन्दै फेरि स्याललाई नै गाली गर्छन् ।
(जनावरलाई गाली किन ?)

यहाँ मानवले आफ्ना दुष्कर्मलाई जनावारका नामसँग तुलना गर्न नमिल्ने भाव अभिव्यक्त छ । एक किसिम पशु अधिकारको कुरा पनि छ । वृद्धहरुका समस्यालाई पनि समेटिएको छ । यसले समानताका पक्षमा कलम चलाउने निबन्धकारका रुपमा कार्कीलाई चिन्न सकिन्छ ।

बहुविध विषयवस्तुको प्रयोग

विषयवस्तुगत बहुलता कार्कीज्यूका निबन्धको एउटा विशेषता हो । यहाँ साहित्य, समाज, संस्कृति, धर्म, राजनीति, कुरीति, कुप्रथा, अर्थ, शिक्षा, आदि विभिन्न विषय समेटिएको छ । यहाँ समेटिएका विषयमध्ये एउटा विषय साहित्यिक विसंगतिको पर्दाफास हो । यहाँ समेटिएका केही निबन्धमा निबन्धकार साहित्य क्षेत्रलाई नै व्यङ्ग्य गर्नुहुन्छ । यस्ता निबन्धमध्ये लेखकको कन्दनी उल्लेख्य छ । जस्तै :

क) किताब छापिएका छापियै छन् । लाहुरे लेखकको सङ्ख्या बढेको बेला लेखकले नै लगानी गरिदिएपछि बिक्री भए प्रकाशकलाई नाफा । नभए प्रकाशकको केही जाने होइन । उल्फाको धन फुपूको श्राद्ध ।

ख) घोष्ट राइटरको होस्ट भएपछि भूतपूर्वहरू अभूतपूर्व भएर थरिथरी अवतारमा आत्मकथाका लेखक भएका छन् । आत्मकथाका नाममा कतिका कुण्ठा र कुण्डलिनी पढेर सक्नु ! (लेखकको कन्दनी)

यहाँ साहित्य सिर्जना र प्रकाशन क्षेत्रका विसंगत पक्षलाई नङ्ग्याइएको छ । यसै निबन्धमा अर्को एक ठाउँमा निबन्धकारले भन्नुभएको छ :
शिवपुरी चढ्न नसक्ने लेखकले सगरमाथा चढ्न थालेपछि तलबाट देखिने कन्दनी नै हो । त्यो कन्दनी देख्ने पाठक नै हुन् । (लेखकको कन्दनी)  यो साहित्यिक क्षेत्रको विसङ्गतिको पर्दाफास मात्र होइन वाङ्मयिक क्षेत्रको विसङ्गतिको पर्दाफास पनि हो ।

सामाजिक सम्बन्ध र प्रणयजन्य विषयहरू

सोल्टिनी, बिहे किन ? जस्ता केही निबन्धमा यो प्रवृत्ति पाइन्छ । भिनाजुलाई साली काली नै भए पनि दिलवाली लाग्छ । अब त्यो दिललाई सिल गरेर राख्नुबाहेक केही उपाय छैन । नत्र साली र सालीकी दिदी मिलेर नालीमा हाल्लान् । (सोल्टिनी)

यहाँ ठट्यौलो पाराले सोल्टी र सालीलाई हेर्ने सामाजिक दृष्टिकोणको पर्दाफास गरिएको छ । विवाहसम्बन्धी दृष्टिकोणलाई यसरी देखाइएको छ :

पहिले पहिले सोभियत रूस पढ्न जाने युवाहरू रसियन केटीलाई आफ्नो घर भन्दै सिंहदरवारको फोटो देखाउँथे रे !
(बिहे किन ?) यस निबन्धले विशवका विभिन्न विवाह संस्कृति र शैली उजागर गरेको छ ।

आर्थिक एवम् पदगत शक्तिसापेक्ष विसङ्गति
यहाँ समेटिएका पद र पैसा, कामीलगायतका थुप्रै निबन्धमा यो विशेषता पाइन्छ । जस्तै :

पैसा नभए चारो भेट्न पनि सारो छ । त्यही चारोको चटारोले आफ्नो जिन्दगी सधैं  खटारो छ । पसौ नहनु केको लागि आकाशको तारो नै घरको गाह्रो हुन्छ । (पद पैसा) पैसा भए सबथोक पाइन्छ भन्ने दृष्टिकोणलाई निबन्धकारले थिलथिलो पारेका छन् । आर्थिक विसङ्गति कामी निबन्धमा पनि छ : ठेक्कापट्टा र नाफाको आसमा विवेक मारेका दासलाई सास फेर्न पनि गाह्रो छ । (कामी)
यहाँ एउटा निबन्धमा हिजो र आजको आर्थिक अवस्था, पूजीको क्षेत्र फेरिएको पक्ष पनि उद्घाटित छ ।

शैक्षिक विसङ्गति

शैक्षिक विसङ्गति यस संग्रहका निबन्धको अर्को विषय क्षेत्र हो । विद्यालयमा पढाउन जान्ने भन्दा कारबाही गर्न जान्ने शिक्षक हुन्छन् भन्ने कुरालाई सरको डर निबन्धले देखाएको छ । जस्तै : म हिसाबले पिसाब आउने मान्छे । हिसाब नमिलाएको निहुँमा कणर् नामका सरले कानको कन्चट पन्चट बनाउँदा मैले ‘तीन त्रिलोक चौध भुवन’ देखेँ । कानबाट रगत बगपेछि प्राथमिक स्कलू गएको फुच्चे प्राथमिक स्वास्थ्य केन्द्र पो पुगेछ । समयमै उपचार नभएको भए आज बहिरा संघको सदस्य हुने थिए । (सरको डर)
यस्तो अवस्था अरु निबन्धमा पनि छ । विदेश पढ्न जाने र हराउने विद्यार्थीका सन्दर्भमा पनि छ । मैले यहाँ संकेत मात्र गरेको हुँ ।

लाहुरे संस्कृति र राष्ट्रियता
नेपाली समाज लाहुरे संस्कृति केन्द्रित समाज हो । यहाँ स्वदेशमा बसेर काम गर्ने भन्दा विदेसिनमा गौरव गर्नेहरु बढी छन् । निबन्धकारले यस संस्कृतिलाई विभिन्न निबन्धमा उठाउनुभएको छ । जस्तै : भर्ती लाहुरेबाट शुरू भएको लाहुरेप्रथा झन् व्यापक हुँदै गएको छ । रूपहरू फेरिँदै छन्, तर सार फेरिएको छैन । ब्रिटिश लाहुरे, सिंगापुर लाहुरे, हङ्गकङ लाहुरे र इन्डियन लाहुरेबाट पिआर लाहुरे, डिभी लाहुरे र विद्यार्थी लाहुरे, कामदार लाहुरेको रूपमा व्यापक हुँदैछ । (लाहुरे)

यहाँ प्रतिभा पलायनले राष्ट्रियतामा आएको आँचलाई पनि देखाइएको छ । प्राय निबन्धमा राष्ट्रियताका बहुल पक्ष समेटिएका छन् । आज नेपाली राष्ट्रियता नेपालको भूगोलमा मात्र सीमित छैन भन्ने कुरालाई निबन्धकारले निकै प्रबल रुपम अभिव्यक्त छ । कार्कीले लेखिरहेका बेला देश र माटोलाई केन्द्रमा राखिरहनुभएको हुन्छ । उहाँले जुनजुन पक्षलाई व्यङ्ग्य गर्छन् ती ती पक्षको अन्त्यको कामना पनि गरिरहनुभएको हुन्छ । लाहुरे निबन्धमा विदेशीलाई खुइल्याए पनि र उहाँ आफू खुइलिए पनि देशबाट प्रतिभा पलायन नहोस् भन्ने कामना छ ।

कृषिसभ्यता
नेपाली समाज कृति सभ्यता प्रधान समाज हो । यहाँका लोकसाहित्यदेखि आधुनिक साहित्यसम्म कहीँ न कहीँ कृषि छ । कार्कीका निबन्धमा पनि त्यो कृषि छ र त्यसका विसंगति छन् : कृषिप्रधान देश भन्छ । धान चामल आयात गर्छ । धानको बीउ उखेलेर जमाराको माला लाउँछ र गमलामा धान रोप्छ । तर खेतबारी बाँझो राख्छ । (नेपालीले गर्छ)
यहाँ नेपाली कृषि सभ्यतामा देखिएको विसंगत पक्ष छ । धानको जमाराको माला लगाएर रोपाइँ जात्रा गर्ने मुर्खहरुप्रति व्यंग्य छ । कृषिसम्बन्धी नीतिनिर्माताप्रति पनि व्यंग्य छ । आज नेपाली कृषि सभ्यताबाट गायब हुन थालेको तर हिजोको अभिन्न साथी गोरु पनि कार्कीका निबन्धमा जिउँदो छ : -गोरूलाई लाग्दो हो- “बरू मान्छे भएर गोरू हुनु भन्दा गोरूनै जन्मेर गोरु हुनु ठीक ।”
यहाँ मानवीय गोरुपनमाथि व्यङ्ग्य गरिएको छ ।

कामचोर प्रवृत्तिको भण्डाफोर

कार्कीका निबन्धमा कामचोर प्रवृत्तिको विरोध छ । उहाँ मेरा सहकर्मीका रुपमा काम गर्दा पनि कामचोरहरुका विरोधी हुनुहुन्थ्यो । कुरा गरेर खानु यस प्रवृत्तिको र विषयको एउटा निबन्ध हो : -अबको जमाना नगरी खानेको जमाना हो । गरेर खानेले भँुडी पाल्छन् । नगरी खानेले संसार ढाल्छन् । (कुरा गरेर खानु) यी मेरा यादृच्छिक विषय र प्रवृत्ति छनौटका विषय हुन् । यसरी चर्चा गरे घन्टौँ चर्चा गर्न सकिने विषय निबन्धकृतिमा छन् । यहाँ रहेका शीर्षकले नै ती विाष्य देखाउँछन् ।

सोउद्देश्य हास्य र व्यङ्ग्यको प्रयोग
हास्यव्यङ्ग्य रचनामा हास्यको प्रयोग सस्तो बनाइनु हुँदैन । यसको प्रयोग सोद्देश्य र सार्थक हुनुपर्छ । कुनै अभीष्ट लक्ष्य लिएर नै हास्यव्यङ्ग्य रचना रचिएको हुन्छ । हास्यव्यङ्ग्यमा हास्य र व्यङ्ग्य दुवै तत्वले परस्पर आवश्यक सहकार्य गरेको रचना पूणर् मानिन्छ । हास्यको प्रयोगले व्यङ्ग्यलाई तीव्र बनाउँदै भावकलाई स्वस्थ मनोरञ्जन प्रदान गर्न सकेको राम्रो मानिन्छ । मानिसका वैयक्तिक शारीरिक एवम् भेषभूषागत असङ्गतिले भन्दा समग्र जीवनका सामाजिक बेथिति र जताततै देखिएका असामञ्जस्यपूर्ण परिस्थितिले नै स्रष्टा र भावक दुवैलाई बढी संवेदित बनाउँछ । तयस तर्फ कार्की सचेत नै देखिनुहुन्छ ।

व्यङ्ग्य र दर्शनको संयोजन
मैले परिचयकै क्रममा भने कार्कीज्यू दार्शनिक प्रकृतिको हुनुहुन्थ्यो । उहाँले यस कृतिमा आफ्नो दार्शनिक जीवनशैली र व्यवहारलाई व्यङ्ग्यात्मक रचनामा पनि समेट्नुभएको छ । यहाँ लेखनाथको ‘मखाउँ मैलाउँ दर्शन’ पनि छ । देवकोटाको हातका मैला सुनका थैला दर्शन पनि छ । विश्वप्रसिद्ध गान्धी, मार्क्स र अरु धेरै दार्शनिकका, वैज्ञानिकका, गणितज्ञका विचार र तथ्यहरु पनि छन् । त्यस्ता निबन्धमा ‘जिन्दगी खाना पाइखाना’, ‘नामको चाम’, ‘गुटफुटझुट’, ‘दानी कि नादानी’, ‘भाग्दा भाग्दै’, ‘जनावरलाई गाली किन ?’, ‘विहे किन ?’, ‘कहाँ छ स्वतन्त्रता ?’, ‘चिनिनँ’, ‘लिङ्गपुराण’ आदि व्यङ्ग्य मात्र होइनन् दार्शनिक निबन्ध पनि हुन् । म यहाँ दर्शनको रौचिरा व्याख्या गर्न थाल्दिनँ तर लेखकले पूर्वीय सनातनी र बौद्ध दर्शनसहित विभिन्न दर्शनलाइ आफ्ना निबन्धमा गर्भित गर्नुभएको छ ।

बिसौनी
आज अभिनयबाट वा लेखनबाट मानिसलाई हँसाउन कठिन छ । आजको मान्छे लबस्तरो भइसकेको छ । यहाँहरुले यो लबस्तरो शब्दलाई विम्बात्मक रुप्मा बुझिदिनुहोला विदूषकीय हाँसो आज पुरानो भइसक्यो । अब सर्कसका जोकरका हँस्यौली ठट्यौली पनि पुरानो भयो । पुराना हास्यविम्ब पनि अब काम नलाग्ने भएका छन् । आजको पाठक र दर्शक कोरा मनोरञ्जनात्मक हाँसोबाट रोमाञ्चित बन्दैन । आजको मान्छे जीवन जगत्प्रति संवेदनशील पक्षको खोजिरहेको छ । आजको मान्छे जीवन, यथार्थ र बाध्यता एवम् बुझाइका तहबाट अर्थपूणर् हँसाइलाई महत्व दिन थालेको छ । पञ्चायत कालका तुलनामा आजको व्यङ्ग्य सतही बन्न थालेको आरोप पनि छ ।

हाँसो र व्यङ्ग्यका नाममा विद्रूप वा कुरूप बनाएका पात्र अब व्यङ्ग्य नबनेर बुख्याँचा बन्छन् । लेखकको बौद्धिकताले निर्दोष व्यक्तिको शारीरिक कमजोरी देखाउन दिँदैन । भेषभूषा वा पहिरन जात विशेष र रुचि विशेष हुन्छ । यो नितान्त वैयक्तिक रुचि अरुचिको विषय ठानिन्छ । आङ्गिक र भेषभूषामा देखिने विशृङ्खलतालाई देखाउँदा जातजाति र समाजका अवरजनहरूको अपमान पनि हुन सक्छ । यस दृष्टिले हेर्दा कार्कीज्यू बच्नु भएकै देखिन्छ । यहाँ केही मुद्राराक्षसका आक्रमण छन् । केही आप्त वाक्य र  प्रसिद्ध कविका कविता अंश लिँदा फरक वर्णविन्यास परेको छ । त्यो केही हतारोको परिणति होला । केही निबन्धमा भाव दोहोरिएका छन् । कतै शीर्षक र निबन्धको तालमेल पाठकले मिलाएर पढ्नुपर्छ तर निबन्ध राम्रा छन् ।

खाइराइडका निबन्धमा पौराणिक, सामाजिक, ऐतिहासिक, वैज्ञानिक आदि अनेक क्षेत्रका विषय र विम्बको सार्थक प्रयोग छ । अनुप्रासिक भाषा विशेष लाग्छ । उखान टुक्काको प्रयोग सार्थक लाग्छ । परिस्थितिजन्य व्यङ्ग्य सिर्जना गजबको छ । कृतिमा परेका सबै निबन्धमा एकएकवटा कार्टुन चित्रकाे प्रयाेग देखिन्छ । विषयअनुकूलका कार्टुन चित्र बनाउन राजेश मानन्धरले पनि कम्ता मेहनत गरेका छैनन् । कार्टुनहरूले सुनमा सुगन्ध थपेकाे महसुस हुन्छ । यसरी  मानव महत्वकांक्षाका बहुआयामिक  निबन्ध बनेका छन् । समग्रमा कार्कीज्यूको खाइराइड राम्रो छ । यो भन्दा अर्को राम्रो कृतिमाथि छिट्टै बोल्न पाइयोस् । कार्कीज्यूलाई अनेक बधाई अनेक धन्यवाद ।

०००
पाँचथर
हाल काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
जय वासुदेव बाजे

जय वासुदेव बाजे

डा. रमेश शुभेच्छु
घिराैँलाे

घिराैँलाे

डा. रमेश शुभेच्छु
तीन टुक्रे कविता

तीन टुक्रे कविता

डा. रमेश शुभेच्छु
चार ठोकान

चार ठोकान

डा. रमेश शुभेच्छु
तीन ठोकान

तीन ठोकान

डा. रमेश शुभेच्छु