शिवप्रसाद जैशीखान्छौँ त, जे बाँकी छ !
के चाहिँ बचेको छ ? त्यही जाबो मानिस त हो मान्छे बाहेक भूतपूर्वहरूले के बाँकी राखे ! केही राखेनन् । अनि, मानिस नबेचेर के बेच्ने ? न भाको चिज खाउ भन्ने सोझै अपमान भएन बचेको त्यही मानिस हो बेच्छौँ, खान्छौँ !

शिवप्रसाद जैशी :
खान्छौँ जे बाँकी छ त्यहीँ
भोकै बस्न त कसरी सक्नु
ल भन्नुस् त विर्ता बाँकी छ ?
राणाले भ्याए
ल भन्नुस त मुर्ति बाँकी छ ?
राजाले सिध्याए
भन्नुस् खाग, विना, दाह्रा छन् बाँकी !
अँह, छैन
ल भन्नुस् त काठ बाँकी छ ?
शहरका उनाकुना
खोलाका छेउ
कतै छ खाली जमिन ?
गाउँ घरतिर बोका बाँकी छन् ?
दिन्छ कसैले साँप्रो ?
घ्यू, मह, अन्न अनाज छ ?
अनि, भोकै बस्ने हामी !
मिल्दैन, मिल्दै मिल्दैन
भन्न मिल्दैन भोकै बस
विर्ताको विरोध गर्यौँ
मुर्ति चोरलाई हामीले घोक्र्याएकै हो नि ।
घोक्र्याको खानलाई हो ।
दाह्रा, खाग, विनाको स्वाद भन्या जस्तो मिल्यो हामीलाई ?
मिलेन, पूर्वजले सिध्याई सक्या थिए ।
अन्न अनाज फलाउने
वस्तु भाउ चराउने
हामी नै हो डाँडा कटाउने ।
कसलाई थाहा छैन ?
के के, को भोग कसले कसले गरे
थाहा पाएरै त आन्दोनल गर्या थियौँ
जेल नेल बस्या थियौँ
हामीलाई नखा रे !
गिट्टी बालुवा
ठेका पट्टा
चन्दा आतङ्क
हप्ता उठानको अंशले पुगेन
विचौलियको खाम भित्रको मामले
लोभको घैँटो जाग्यो भरिएन ।
के चाहिँ बचेको छ ?
त्यही जाबो मानिस त हो
मान्छे बाहेक
भूतपूर्वहरूले के बाँकी राखे !
केही राखेनन् ।
अनि, मानिस नबेचेर के बेच्ने ?
पढाईका नाममा
मजदुरका नाममा
शरणार्थीका नाममा
लडाकुका नाममा
जागिरका नाममा
सरूवाका नाममा
बढुवाका नाममा
कानूनका दोकानमा
सरकारका होलसेल पसलमा पाइने
मानिस बाहेक केही छ अरू फसल ?
न भाको चिज खाउ भन्ने
सोझै अपमान भएन
बचेको त्यही मानिस हो
बेच्छौँ, खान्छौँ !
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































