साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘टोलटोलमा राजा’ कृतिमा अर्यालको वौद्धिक कटाक्ष

मूर्खले मात्र गाली गर्छ र लाठो उजाउँछ, विद्वान्ले लेख्छ, अन्याय गर्नेमाथि कलम उजाउँछ । यस सिद्धान्तलाई अर्यालले यस निबन्ध कृतिमा उजागर गरेका छन् । उनले समाजका बहुमुखी बिव्ल्याँटा प्रवृत्तिमाथि निकै विम्बात्मक शैलीमा व्यङ्ग्य प्रहार गर्ने प्रयास गरेका छन् ।

Nepal Telecom ad

डा. रमेश शुभेच्छु :

टोलटोलमा राजा (२०७८) डिल्लीराज अर्याल (वि.सं. २०१५ साल असार ८ गते, वास्तविक : २०१२ असार ८, विहिवार) को निबन्ध कृति हो । यस कृतिमा हास्यव्यङ्ग्यप्रधान १६ वटा निबन्ध समेटिएका छन् । यो लेखकको तेस्रो निबन्धसङ्ग्रह हो । यसपूर्व लेखक अर्यालका रातमा सूर्य, दिनमा तारा (२०५७), घोक्लीमा बस्ने रहर (२०६१), झलझली आँखामा (२०६८) जस्ता निबन्धसङ्ग्रह प्रकाशन भइसकेका छन् । ती निबन्ध विचार, संस्मररण र वस्तुपरकतामा आधारित थिए भने पछिल्लो संग्रहमा समेटिएका सोह्रैवटा निबन्ध हास्यव्यङ्व्य प्रधान छन् ।

यी निबन्ध रचनाले विविध विषयवक्षेत्रका विकृति र विसङ्गतिमाथि व्यङ्ग्य पहार गरेका छन् । यी निबन्धमन संस्कार र आधुनिकताको द्वन्द्व छ । त्ये द्वन्द्व, असल र खराव पक्षका बिच निबन्धभरि प्याप्त छ । यहाँ समेटिएका निबन्धको व्य ङ्ग्यको निसानामा व्यक्ति, परिवार, समज, संस्कार बढी परेका छन् । नेपालको राजनीति र प्रकाशनका वेथिति पनि परेका छन् । सामाजिक अभियन्ता, सुधारक, पण्डित, धार्मिक अभियन्ता कोही छोडिएको छैन । लेखकको निसानामा सबै सबै एकै डालाका घाइते भ्यागुता देखिन्छन् ।

व्यङ्ग्य गहन लेखन हो । यो अविधाका तहमा हुन नसक्ने लक्ष्यणा र व्यञ्जना तहको लेखन हो । धेरै लेखकले यसलाई गालीजलौजको विषय बुझिदिँदा व्यङ्ग्य लेखनको प्रतिष्ठामा आँच आएको छ । हास्यव्यङ्ग्यको संयोजनसहित कुनै विषयलाई, व्यक्तिलाई वा समाजलाई व्यङ्ग्य गर्नु त्यति सजिलो कुरा होइन । यसले जुन पक्षलाई उल्लिबिल्ली पारेको हुन्छ त्यसै पक्षको सुधारको कामना पनि गरेको हुन्छ ।

हास्यव्यङ्ग्यको यस चुरो कुरालाई बुझेरै अर्यालले यस विधामा कलम चलाएको देखिन्छ । उनको प्रस्तुत कृतिमा समेटिएका बिनधरचनाहरु अविधाका तहमा नभई लक्ष्यणा र व्यञ्जनाका तहमा छन् र शीर्षक तयन पनि त्यसरी नै गरिएको छ । यहाँ अब सम्धीहरुको पालो, अर्थमन्त्रीको प्रस्ताव, आयो ! आयो ! आयो !, खालि भत्कियो बिग्रियो मात्र, गाईजात्रादेखि टायरजात्रासम्म, ‘जाबो दरबार, भान्छे पियनको दरबार’, परमादेश र सफलताको कामना !, ‘पर्खनु हाम्रो धर्म हाम्रो परम्परा’, बारी खेत टाल्न सकियो भने !, म त हाँसेको हाँस्यै, म पनि क्रान्ति गर्छु, यही हो मेरो आइडिया, यो जाली कि त्यो जाली…।, ‘विधि, पद्धति र नेताजी !’, समाजवादको मूल मर्म, समास भन्दा विग्रह जाती जस्ता निबन्ध समेटिएका छन् ।

यिनले नेपाली समाजका बहुविध पक्षलाई व्य ङ्ग्य गरेका छन् । यस कृतिका सन्दर्भमा लेखकले आफू डराइ डराइ बोल्ने र लेख्ने धारणा राखेका छन् । उनले डराउँदा डराउँदै पनि बोलिँदो र लेखिँदो रहेछ भनेका छन् (लेखकीय) । वास्तवमा लेखकले डराएर पनि निर्भिकतापूर्वक लेख्ने हो । विरोधीमाथि लेख्ने हो । मूर्खले मात्र गाली गर्छ र लाठो उजाउँछ, विद्वान्ले लेख्छ, अन्याय गर्नेमाथि कलम उजाउँछ । यस सिद्धान्तलाई अर्यालले यस निबन्ध कृतिमा उजागर गरेका छन् । उनले समाजका बहुमुखी बिव्ल्याँटा प्रवृत्तिमाथि निकै विम्बात्मक शैलीमा व्यङ्ग्य प्रहार गर्ने प्रयास गरेका छन् । जस्तै :

आज देशको राजनीतिले पूरै व्यवसायिकता अपनाएको छ । राजनेता, सरकारसमेत व्यवसायिक हुँदै जान थालेको अवस्था छ । समाजसेवी समाजसेवामा व्यवसायिकताको जोश (जोस) छाएको छ । साहित्य, कला, धर्म, संस्कृतिलाईसमेत व्यवसायिक बन्न प्रेरित गरिरहेछन् हाम्रा अगुवा साथीहरू । प्रेरित हुँदै पनि गएका छन् त्यस क्षेत्रका अगुवाहरू । स्वास्थ्य शिक्षा त व्यवसायिक भए भए । संसद्, मन्त्री जस्ता पदसमेत व्यवसायिक बन्न थालेका छन् । सबै ठाउँमा व्यवसायीहरू नै अगाडि देखा परेका छन् । यस्ता व्यवसायीहरूले हर क्षेत्रमा राम्रो व्यवसाय चलाउँदै आएका छन् । यो उन्नति देखेर प्रसन्न छु म । प्रसन्नता व्यक्त गरेकै छु । साथीहरुको कुरै नगरौँ । कति खुशी (खुसी) छन् कति । अब..। पृ. ६५

प्रस्तुत अंश ‘म त हाँसेको हाँस्यै’ निबन्धको अंश हो । यहाँ कसैलाई गाली गरिएको छैन तर यस समाजका व्यक्ति, समाज, राजनीति, प्रशासन, व्यवस्था कसैलाई बाँकिराखिएको छैन । आफैलाई पनि व्य ङ्ग्य गरिएको छ । यो नै डिल्लीराज अर्यालको निबन्ध सिर्जन सामथ्र्य हो । हामी हास्यव्यङ्ग्य भन्छौँ । सामान्य प्रचलनमा रहेको अर्थलाई हेर्दा ‘हास्य’ शब्दले व्युत्पत्तिगत अर्थलाई नै बोकेको देखिन्छ भने ‘व्यङ्ग्य’ शब्दको भने घुमाउरो पाराले छेड हान्न, कटाक्ष गर्न योग्य, छेडपेच वा कटाक्षको भाव भन्ने अर्थ लाग्छ । यो हास्यभन्दा गहन कुरा हो । व्यङ्ग्य शब्दको एउटा अर्थ उपहास वा आक्षेप (त्रिपाठी, २०५१, पृ. ८६) पनि मानिएको छ ।

हास्य-व्यङ्ग्यको प्रचलित अर्थले पनि यसै तात्पर्यसँग सम्बन्ध राख्दछ । भारतीय समीक्षक जगदीश पाण्डेय विट (वाग्वैदग्ध्य) लाई हास्यको एक बौद्धिक स्रोतका रूपमा लिन्छन् (सन् १९५२, पृ. ८९) । अर्यालले त्यही वाग्वैदग्ध्यको पक्षलाई प्रधानताका साथ बिन्धमा प्रयोग गरिरहेका हुन्छन् । उनी एकपछि अर्का राम्रा व्य ङ्ग्यप्रधान निबन्धसहित यसकृतिमा देखा परेका छन् । उनले हास्यका लोभमा सस्ता शब्दको प्रयोग नगरीकन निबन्धलाई उच्च कवितात्मक मूल्यसहित सुकिलो रुपमा प्रस्तुत गरेका छन् । आशा गरौँ अर्यालका अरु पनि हास्यव्यङ्ग्य निबन्ध पढ्न पाइने छ ।

सन्दर्भ
अर्याल, डिल्लीराज (२०७८). टोलटोलमा राजा. काठमाडौँ : आजको खबर मिडिया प्रा.लि ।
त्रिपाठी, वासुदेव (२०५१) ‘हास्य-व्यङ्ग्यको सैद्धान्तिक सन्दर्भतर्फ’. प्रज्ञा. पूर्णङ्क  ८० ।
पाण्डेय, जगदीश (सन्.१९५२). हास्य के सिद्धान्त और मानस में हास्य. पटना : मोतीलाल वनारसी दास ।

०००
पाँचथर, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमा…

आमा…

डा. रमेश शुभेच्छु
जय वासुदेव बाजे

जय वासुदेव बाजे

डा. रमेश शुभेच्छु
घिराैँलाे

घिराैँलाे

डा. रमेश शुभेच्छु
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
0
Would love your thoughts, please comment.x
()
x