संप्रस पाैडेलमङ्सिरे समाचार
मङ्सिरमा दोब्बर चिठ्ठा पर्नेहरूले मगनी (इन्गेजमेन्ट) देखि ब्याचलरेट पार्टी (स्नातक घरभोज) हुँदै हल्दी रसम (बेसारे कार्यक्रम) सम्मका इतिहासमै पूरानो भइसकेका तस्बिर समेत आफ्नो अकाउन्ट ह्याक गरी त्यसैबाट अपलोड हुने डरले थरथर भइरहेका छौँ ।
संप्रस पौडेल :
मङ्सिरमा बिहे हुनेलाई धमाधम अनफ्रेन्ड गरेपछि…
टोलटोल संवाददाता
मङ्सिरमा बिहे हुनेहरूले धमाधम जोडीहरूका विभिन्न पोजका फोटो फेसबुक र इन्स्टामा अपलोड गर्न थालेपछि बिजोडीहरूले धमाधम अनफ्रेन्ड गर्न थालेको जानकारीमा आएको छ ।
विशाल पार्कमा नवविवाहितालाई उनका दुलहाले हातमा समाएर घुमाएका, आफ्नो घुँडामा जुत्ताले टेक्न लगाएका, भुइँमा घुँडा धसेर गुलाफ फूल उपहार दिएकादेखि फलाना ऋषिको मोह भङ्ग हुनेगरी छिनछिनका तस्बिरहरू अपडेट गर्दै फेसबुकका स्टोरी, रील, स्टाटससम्म रङ्गिचङ्गी बनाएकाले बाध्य भएर फ्रेन्डलिस्टबाट हटाउनु परेको एकलबहादुर (नाम परिवर्तन) ले टोलटोल अनलाइनलाई बताएका छन् ।
अघिल्लो साल मात्रै हल्दी रसमलाई पहेँलपुर तोरी भन्ने ठानेर एकहुल माहुरीहरूले चिलेपछि भागाभाग भएको प्रत्यक्षदर्शी भोजमानले इतिहास सम्झिएका छन् । त्यस्तै तरह तरहका तस्बिर र भिडियो खिचेपछि दालभात खानलाई सजिलो भएको फोटोग्राफर ठक्करमानले क्यामेरा किनेर लाइनमा नलाग्न बरू सकेसम्म विदेश गएकाहरूलाई उतै रहन सुझाव दिए । यस्तो सल्लाह किन दिएका भन्ने हाम्रो टोलटोल अनलाइनका प्रतिनिधिले सोधेको समाचारमा उनले भने- ‘नेपालीहरू एउटा जुस पसल राम्ररी चल्न नपाउँदै नजिकमा अर्को १० वटा जुस पसल खोलिदिन्छन् । एउटा होटलले दिनमा दुइचार थाल भात बेच्नेबित्तिकै अरू पाँच जनाले उस्तै भात होटल खोलिदिन्छन् । यसरी आ-आफैँ आफैँ जुध्छन् र सरकारलाई धारेहात लाउँछन् । यसैले विदेश जानेहरू बिहे नेपालमै गर्न, पढ्नेहरू बिहे गरेर पढ्न, जागिर खानेहरू बिहे गरेर जागिर खान सुझाव दिन्छु । बिहे गर्नेहरू एकै दिनमा नभई पालैपालो मिलाएर बिहे गरेमा आफ्नो फलिफाप हुने हुँदा यसलाई ध्यानमा राख्न सल्लाह दिन्छु । साथै पण्डितले अनलाइनबाट बिहे, ब्रतबन्ध र पशुपतिको पूजा गराएजस्तो फोटो खिच्ने पेशा अनलाइनबाट गर्न नमिल्ने हुँदा अनलाइनको बिहेलाई मान्यता नदिनका लागि स्थानीय तहलाई सल्लाह दिन चाहन्छु ।’
फोटो खिच्नेका सल्लाहपछि यो सालको मङ्सिरमा पनि बिहे नभएकाहरूलाई सोधिएको प्रश्नमा रोचक तथ्यहरू प्राप्त भएका छन् ।
हालसालै बिहे हुनेहरूले स्टोरी, रील हुँदै स्टाटससम्म मात्र नभई कमेन्ट र म्यासेजमा समेत ती तस्बिरहरू नै पठाउन थालेपछि आफ्नो अकाउन्ट ह्याक हुने डर भएको उनीहरूले जानकारी दिए । यस्तै एकलमाया, एकलप्रसाद र एकलमानहरूले एकैस्वरमा नाम सार्वजनिक नगर्ने शर्तमा भनेका छन् – मङ्सिरमा दोब्बर चिठ्ठा पर्नेहरूले मगनी (इन्गेजमेन्ट) देखि ब्याचलरेट पार्टी (स्नातक घरभोज) हुँदै हल्दी रसम (बेसारे कार्यक्रम) सम्मका इतिहासमै पूरानो भइसकेका तस्बिर समेत आफ्नो अकाउन्ट ह्याक गरी त्यसैबाट अपलोड हुने डरले थरथर भइरहेका छौँ । यस्ता यस्ता सस्ता र मस्ता कुराहरू टोलटोल अनलाइनको चकचके संवाददाताले गोप्य सूत्रबाट पत्ता लगाएका छन् ।
०००
हेटौँडा, मकवानपुर
Subscribe
Login
0 Comments
Oldest






































