सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

ताप्के तात्दै छ !

ताप्केमा पकाउने डिसबारे आपस आपसमा तर्क राख्दाराख्दै आफू नै यहाँबाट डिसमिस भएर जानेछन् र भोकभोकै गएका हुनाले अतृप्त आत्माको भरिया बनेर ब्रह्माण्ड चहार्ने छन् ।

Nepal Telecom ad

युवराज मैनाली :

मनका भित्री कुनामा लाग्याथ्यो, दिल दिमागमा आशा पनि त्यतिबेर त राम्रैसँग जाग्या थ्यो अब त ताप्के पक्कै तात्या छ । खाली ताप्के चुलोमा बसालेको पनि यत्रो समय भइसक्यो ! पक्कै पनि ताप्के तात्या तात्यै छ । परबाट देख्दा पनि आश गरे भन्दा बढी मीठो भर्मन जाग्या थ्यो, ताप्के पक्कै तात्या छ तर ताप्के तात्या होइन रैछ कि ? कि त छाम्दा थाहा नपाउने रोग आफ्नै छालामा लाग्या हो ? कि तातो ताप्केमा हाल्ने अनि तताउने के भनेर मन मस्तिष्क हुँदो खुल्दुली मात्रै जाग्या हो ? या भोकको भँड्खारो र तिर्सनाको गोल्खाडी भरिने गरी लिटो खुँदो, जाउलो, भुटन, मम आम्लेट, या यीभन्दा बेग्लै चाउचाउ सेलरोटी पाउरोटी ढकने कुरौनी चाम्रे या अरु अरु ! कि यीभन्दा पनि अझ बेग्लै उल्का उटाम्बरका जिनिसहरू तरुल, पिँडालु भ्याकुर आदि पकाउने इरादा जाग्या छ ? यो ऊ भन्ने सल्लाह सलमत पुरा न भइदिँदाको अनिर्णयमा भोकाहरू एकै मतले एकसूत्रीय अलमलमा छन् । सुन पास हुने दिनजस्तै समय रुमानी छ र नै यो अलमल मुख छोडाछोडको मिडियाव्यापी ठेलमठेलबाट कहिलेकहीँ हात हालाहालजस्तो पेलम्पेलको स्थितिमा पुग्दो छ तर पुगेर पनि केही लछारपाटो लगाउन सकेको चाहिँ छैन, यसैमा बाउँडिएको मन तन्काएर सास फेर्नसम्म हुँनेगरी ठाउँमा आइपुगेको छ ।

ओइरिने, पकाउने जिनिस नभएको बेलामा पनि यदाकदा तातो पानी त उम्ल्या छ. । नभएर चामलसामल, पीठो, ढुटो, दालसाल, मकैसकै, भटमास भिटमासदेखि लिएर माछासाँछा, मासुसाँसु, तरकारीसरकारीदेखि लिएर तिहुनभुटुनदेखि लिएर रोटीसोटीदेखि अचारसचारका मुलासुला, गुन्द्रुकसुन्द्रुक, कोइरालोसोइरालो आदिइत्यादि सप्पै ठाउँको ठाउँ । काँचाको काँचै । बाफ रे बाफ कसले दिने कसले पाउने जवाफ । पण्डितका पुराणमा लठ्ठिएका भक्त नेताका भाषणमा झुम्मिएका श्रोता कार्यकर्ता काला बजारिया र असदाचारीका भान्सामा बैरोपैरो लाग्दो छ कवाफ ! सेफमाझैं क्याँटकाक्याँट चाङका चाङ त्यसै तह नलागेर मोफसलमा बेवारिस रह्यारह्यै छन् मुद्राचाङ । कसले खुवाइदिने तिनलाई भाङ !

भनिन्थे, भोकालाई जतिसुकै भन्दै गरुन् यो कली धपक्कै बली भनून् अथवा प्रत्येक कुरा नियमबद्ध क्रमबद्ध अर्थात सिष्टमेटिक ढाँचाको टाँचामा कलापूर्ण जीवन खानु, हिँड्नु, बोल्नु आदि सबकासब आधुनिकीकरण अर्थात मोर्डनाइजेशनको राजमार्ग अर्थात हाइवेमा द्रूतगति अर्थात अनन्त स्पीडमा छौँ । मर्यादा परिपालनका कुराजति जम्मै नीतिनियम र श्रुतिस्मृति पुराणका पानामा थन्क्याएरका छौँ । संस्कृति आफ्नोपन जम्मै बित्तामा आफन्तजम्मै भित्तामा पराइका जम्मै अँगालामा अर्थात तिनैका भाकामा चटक्क भनिदिने हो भने जिउ टम्म देखाउने लुगाले । आत्मप्रदर्शन जम्मै खुला गरिदिने नागाबाबा पाराले । पराधीनविना सुख नहिँ शक्तिको भक्तिमा लागिजाऊँ गोसाइँ । शक्तिको भक्तिमा लागिए स्टेमिना पनि आफ्नो आफ्नो सभ्यताका साथ देखाउनै पर्‍यो, हो यही स्टामिनाको भव्य प्रदर्शन हो ताप्के र सामलको हानथाप । मात्र ताप्के तात्यातात्यै र पकाउने कुरा चाहिँ काँचाकाँचै अर्थात जति मुख उत्तिकै अनिकाल । खानुभन्दा पाक्ने कुराको बयानको स्वादको चर्चा परिचर्चा अनि सर्वज्ञाता भनूँ या ब्रह्मज्ञानको अस्वाभाविक बयानमा स्वाभाविक सामलको सन्का छुट्नुको रन्कोमा ‘पहिले यो पकाऊ खाऊँ पहिले यो पकाऊँ खाऊँ मेरो डिस, यो मेरो डिस, यो को तानातानमा मात्र ताप्के नाचीरहेछन् । केही नभएको वेला तातोपानी त उम्लन्थ्यो, नभए जिम्लिन्थ्यो । भएसम्म भ्याकुर स्याकुर सिस्नो कनिका त्यही नभएपछि बेसार नूनसम्म त तुरुन्त उम्लिहाल्थ्यो तर केही कुछ नभएपछि.. झन यो के भयो अहिले कठै !

दशकौं वारिपारि, अगाडिपछाडि के के भएको हो । अनिकालका अवतार यी खन्चुवा बढी भएर वा खाने कुराको उत्पादन वितरण नमिलेर होस् खानेहरूबीच विवाद हुनु स्वाभाविकै हो । यी आदि इत्यादि केही पनि नभएर पनि यहाँ खाने कुरा भएर पनि ताप्के तताएर पनि हरे हरे के भएको यो ? कोही भन्दैछन्- अहिले यो पकाउने, कोही भन्छन्- त्यो पकाउने, मेरो पकाइको कमाल हेर, मेरो पकाइको चालढाल हेर, औँला चाट्नेछौ औंला तर यहाँ खानलाई जम्मा भएका प्रत्येकलाई थाहा छ प्रत्येकले प्रत्येकको दिमाग चाटिरहेछन् भन्ने । बोल्नेहरू यसरी नानाथरी बोलेर चाटिरहेछन् नबोलेर निरपेक्ष मुखमा ताला लगाएर घरी आगोमा डढेको ताप्के खाने कुराका राशहरूमा अनि थरीथरी विवादमा चलेका मुख र हल्लिएका हातहरू हेरेर आफू नाच्न नसकेर आँखा नचाईनचाई सन्तुष्टिको टाँचा आफैंमाथि लगाएझैं गरिरहेछन् । दशकभन्दा अलि बेसी कसी वा घोटीघोटी मुखमा ताला गाला होइन कि गलामा हात लगाउने हुलहालको लाममा म पनि छु र हुँजस्तो लाग्छ । भोकाएको हुँ म पनि । तृप्ति त ताप्केमा पाकेरमात्रै पाउने भएँ यो काँचो खानेकुरा !

उताबाट एनजीओ आइएनजीओ दूरदर्शनआदि इत्यादिबाट घर्षणसङ्घर्षण गरेर अलि दिनबाट जीपिओ गरेर यहाँ आइपुग्ने नै थिएन बरू उतै जान्थ्यो जसरी यहाँको पानी, बिजुली, कच्चा, बच्चा, चेलीबेटी आदिइत्यादि जान्छन् र गइरहेछन् । त्यहाँबाट मदारी आउँछन् सर्प बाँदरका नाच देखाउँछन् । जादू गरेर केटाकेटी हँसाउँछन् । कठपुतली आउँछन् पहिलेदेखि धागो बाँधिएर आउने परम्परामा सञ्चार क्रान्तिको परिमाणस्वरूप रिपोर्टमा आउँछन् र नै भन्न सक्दछन् वाह ! क्या मज्जा ! ब्रह्माको सृष्टि सहअस्तित्वको असहजतामा थरीथरीको बाधा हालिदिन्छन् । बाह्र वर्षमा पोइ आयो म अभागीलाई ज्वरो आयो भनेझैं बाह्र वर्षमा आएको पर्चातन्त्र झनै हाँडीघोप्टेको हातमा परेपछि स्वतन्त्रता देवीको ज्वाला के निहुँ पाऊँ आफ्नो कुरा नमान्नेलाई भुटेर खाऊँ भनेर क्रुजको मैनबत्ती बाल्दैछन् ।

आतङ्ककारीको दाह्री समात्न हिँडेको बारे विश्वशान्ति र दरिद्रतम मुलुकमा अरु दरिद्रता फैलाउन सुरक्षा परिषद र सं रा.स.लाई ‘पुसिक्याट(पाल्तु बिरालो) बनाउन चिच्याउँदैछन् । कहिले भन्छन्- मेरो बालाई मार्न खोजेकोले म यसलाई लघार्दै छु । कहिले आतङ्ककारीको दाह्रीको रौं यसमा पनि फेला पारेको छु । यसैले तिम्रो घरबाट तिमी निस्की जाऊ । फेरि भन्छन्- विनाशकारी हतियार यसले थुपारेको छ । मसँग त बाजमात्रै छ भनेर साज बजाउन थाल्दछन् तर तिनको गिद्धेदृष्टि तेलमा छ । सेल पकाउनेमात्र कहाँ हो र ? विश्वविख्यात चक्रवर्ती बन्ने मृगमरीचिका बोकेर पनि त ताप्के तताउँदै बसेका छन् । अरु कुरा त परै जावस् । पशुपतिकोष पनि त ताप्के तताएरै बसेको छ । पशुपतिनाथको अगाडि जलहरी हालेर हुन्छ कि बसाहाको पछाडिको कोष थिचेर हुन्छ के के निचोर्न खोज्दैछन्, के के झार्न खोज्दैछन् यहाँका अरौटे र भण्डारेहरु । सायद जलहरीकै दाँजोमा अरुअरु कुरा पनि झर्छ झर्छको आशमा पछिपछि लाग्दालाग्दै नझरेर धेरैको टुप्पी कन्दनी सल्किएको छ । खप्कीमाथि चडेको हप्कीदप्कीको पराकाष्ठामा यो निचोडमा पुग्नुभन्दा पहिले यिनले पनि मावलीघरतिर ताप्के तताएरै बसेका छन् ।

अब अरु भन्नै परेन । ओरदेशदेखि परदेशसम्म विश्व नै ताप्के तताऊ अभियानमा होमिएको छ । काँचाकचिला खाने कुरा र गिट्ठा, भ्याकुर तरुलसरुल त भैँको भैँमै छाडेका छन् । कुन्नि अब कुन मुसो ढाडिने हो ? कुन बिरालो बाघ बन्नेछ ? तर यता ताप्के तात्दै रहनेछन् । ताप्केमा पकाउने डिसबारे आपस आपसमा तर्क राख्दाराख्दै आफू नै यहाँबाट डिसमिस भएर जानेछन् र भोकभोकै गएका हुनाले अतृप्त आत्माको भरिया बनेर ब्रह्माण्ड चहार्ने छन् ।

यसरी चहार्नेमध्येमा म पनि एक हुनेछु कि कसो ! नभए हुन्न त भुत्रैसित ! यदि भएँछु भने त्यहाँ पनि म त अदनाको अदना नै रहने हुँ क्या रे ! कुशल धोवीले लुगा धुलाएझैँ त्यहाँ पनि यहाँजस्तै निचोरिएकै हुनेछु । पुजारीको चन्दन कृपा औंलाले हत्केला भत्काउनेगरी पोतिदिने छन् । व्यापारीको मुख हेरेर बेसाहा किन्न सक्दैनौँ भनिदिने छन् । नेताले गोटी बनाएर खेल्दाखेल्दै मोटोघाटो जिउज्यान अनि कारमहलको हावादारी रखवाला बनेको सपनाजीवि यो विचरालाई फुटपाथमै फ्याँकिदिने छ र हमास हिजबुल्ला लडाकुले पाए जुस बनाएर मेरो मनको अशान्तिमा जम्प हान्ने छन् ।

अनि मेरो भोकमात्रै होइन मलाई समेत पिसेर चुस्की लिदै पिइदिनेछन् । तर यताको कुरा जति कुरे पनि कुरा कुरै ! आखिर ताप्के न हो स्टीलको । न्यूजिल्याण्डको फलामखानी बनेर अनबरत तात्यातात्यै छ । तात्यातात्यै छ !

०००
काठमाडौं

इलस्ट्रेसन श्राेत : नागरिक दैनिक

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
प्रायश्चित

प्रायश्चित

कुमार खड्का
बेकारको टन्टो

बेकारको टन्टो

अनिल कोइराला
स्वजातीय प्रेम

स्वजातीय प्रेम

नन्दलाल आचार्य
अविश्वासको प्रस्ताव

अविश्वासको प्रस्ताव

सूर्यबहादुर पिवा
पुच्छर माने हनुमान

पुच्छर माने हनुमान

माधव पोखरेल गोज्याङ्ग्रे