भाउपन्थीटुहुरो चिन्ता
तपाईंहरू फुट्नुभएकोमा म साह्रै चिन्तित छु । मेरो चिन्ता देखेर एकथरी कमरेडहरू हाँस्छन् र भन्छन्-चिन्ता नलिनुस् हामी अराष्ट्रवादी र विसर्जनवादीहरूबाट अलग्गिएका मात्र हौँ ।
भाउपन्थी :
नेताजी सत्ताको चाबी जनैमा बाँध्दै चिन्तित भए । चिन्ता गर्नेहरूको पनि चिन्ना व्यक्त गर्ने आफ्नै शैली र मुद्रा हुन्छ । र उसमाथि नेताजी आफ्नो मन कुटुकुटु खाने चिन्ताको फ्नो लुकाउँदै लुकाउँदैनन् । मनको कुरा नलुकाउने उनी खरो नेताका रुपमा चिनिँदै आएका छन् । आफूलाई चिन्तित गराउने कुरो परिआएपछि त्यसलाई किन सुकाउने आफ्नो टाउको त फुट्यो फुटयो, मीतको टाउको बेलैसरी । त आफूमात्रै किन चिन्तित हने ? नेताजीलाई घेर्ने यत्रा-यत्रा ढाडे, उपनेता छन्, होऊन् न ती पनि चिन्तित । त्यम कारण नेताजीले चिन्ता नलुकाई सार्वजनिक रूपमा चिन्ता व्यक्त गरिदिए । नेताजीले एमाले फुटेको अर्को दिन बिहान भनिदिए- ‘एमाले फुटेकोमा म मात्रै चिन्तित छु ।’
नेताजी चिन्तित भएपछि त्यो चिन्ता खबर बनेर आयो । यतातिर चिन्ता गर्नेहरू देशबाट सगोलै गायब हुँदै गएका छन् । अरू केही गर्न नसके खाली समयमा चिन्ता गर्न त सकिन्छ । अझ त्यसमाथि चिन्ता प्रदर्शन गर्ने सौजन्य पनि अचेल जरैदेखि मासिँदै छ । मुलुकमा भोक छ, रोग छ गरीबी छ र यी स्थायी चिन्ताका विषय य हुन् । आइतबार भोकका बारेमा, सोमबार गरीबीका बारेमा, बुधबार अशिक्षाका बारेमा आदि क्रममा बार मिलाएर एक दिन एक न एक थोकको चिन्ता गर्न सकिन्छ । तैपनि यी विषयका लागि राजनीतिकहरू चिन्ता गर्ने समय पाउँदैनन् तर नेताजीले एमाले फुटेकोमा भने चिन्ता व्यक्त गरे । आफूहरू पहिले फुट्ने फुट्ने भएका थिए । त्यति बेला कसले कस्को चिन्ता व्यक्त गर्यो त्यसको रेकर्डेड हेरेनन् नेताजीले । यता आफ्नो पार्टी फुटेकोमा एमालेहरू नै चिन्तत छैनन्, तर नेताजी सौजन्यवश भए पनि चिन्तित भइदिए । यसले के देखायो भने आफ्नो वर्ग भाँडिएको विषयले नेताजीलाई चिन्ता लागेछ । भोक, रोग र गरीबीको वर्ग हुँदैन, ती त चुनाउ ताका जनतामा छरिने कनिका हुन् । त्यस कारण कसैलाई त्यसको खासै चिन्ता नभएको पनि हुन सक्छ ।
तै, नेताजी चिन्तित भएपछि मिडिया पनि चिन्तित भयो । अखवारहरू पनि चिन्तित भए । अरु त अरु, नेताजीका उपनेता र आसेपासे कार्यकर्ताहरू पनि चिन्तित भए । नेताजी चिन्तित नहुँदासम्म नेताजीका उपेनता र आसेपासे कार्यकर्ता खुशी थिए । प्रतिपक्ष फुट्यो । भाइ मर्यो त अझै बढ्यो । सत्तामा टिकिरहने बाटाहरू, उपायहरू बढी हुने भए । शक्तिशाली प्रतिपक्षसँग दन्तबजान गर्नु परिरहेन । उनीहरू अहिले भर्खरै फुटेका छन् । त्यसैले एकअर्कालाई नड्याउन र खुइल्याउन ज्यूज्यान छाडेर लाग्नेछन् । नयाँ जोगी धेरै खरानी घस्छ । यहाँ त कानचिरा जोगीहरूको मठ फुटेको छ । अखबारै ढाकिने गरी छारो उडाउन नसके फुट्नु पनि के फुट्नु ?
यसरी उनीहरू आपसमा पोलापोल र खोलाखोल गर्ने भए, यताकाहरू कानमा तेल हालेर सुत्दा हुने भो । तर किन हुन पाउँथ्यो र त्यसो ? नेताजीले चिन्ता व्यक्त गरिदिए । उनले चिन्ता पनि कसरी व्यक्त गरिदिए भने उनको पाटर्टीका उपनेता र आसेपासे कार्यकर्तामा त्यो फुटेर दुई बण्डामा बाँडिएको दल नेताजीको चिन्ताको कारणले पुनः एकीकृत हुने पो हो कि भन्ने चिन्ता जन्माइदियो । अरे यार, बल्लतल्ल कम्युनिस्टहरू फुट्न पाएका छन्, त्यसमा पनि अहिले पार्टीको सम्पत्तिको अंशवण्डा हुन पाएको छैन । नेताजीले चिन्ता व्यक्त गर्नाले उनीहरू पुनः एक हने पो हुन् कि भन्ने चिन्ता नेताजीले आफ्नै दलभित्र पैदा गरिदिए । एमाले फटेकोमा मज्जाले हाँसखेल गरिरहेका नेताजीका बलियाबाङ्गा उपनेता र आसपासेहरू नेताजीले त्यसरी चिन्ता व्यक्त गरिदिनाले मनमनै खिन्न पनि भए ।
नेताजीले अर्कोतिरको ठूलो विपक्ष फुटेकाले प्रफुल्ल भइराखेका उपनेता र आसेपासे कार्यकर्ताहरूलाई आफ्नो चिन्ताले चिन्तामा पारिदिए । त्यो विपक्षी पार्टी एमाले कस्तो खतरनाक भइसकेको थियो भने नेताजीका खाइलाग्दा उपनेताहरू त्यससँग चुनाउमा लड्न डराउने भएका थिए । त्यसमाथि त्यो विपक्षले नेताजीको पार्टीका उपनेताहरूलाई चैनले सुत्न दिँदैनथ्यो । कहिले के भनेर त कहिले के भनेर घोच्दै जिस्क्याउँदै जाग्राम बस्ने गराउँथ्यो । त्यस्तो पार्टी फुटेकोमा नेताजीका उपनेताहरू हाँसेका थिए । तर एक्कासि नेताजीले पाटी फुट्नु चिन्ताको कुरो हो भनेर चिन्तित मुद्रा सार्वजनिक गरेपछि ती उपनेताहरूले पनि त्यस्तै चिन्ता गर्नु परिरहेको छ ।
अर्को बिहान नेताजीले भने- ‘अब हामी ने मुलुकको राजनीतिको मूलधार हौँ ।’ अखबार पढ्ने सचेत पाठकले सोचे- ‘धारामा पानी आउन सकिरहेको छैन, नेताजीले मूलधारको कुरो गर्न लागे ।’ तर नेताजी त्यति भनेर अडिएनन् । गम्भीर भएर भने- ‘सम्पूणर् मुलकुको जिम्मेवारी हाम्रो काँधमा बिसाउन आएको छ ।’ नेताजीका उपनेताहरूले देखे नेताजीको दाहिने काँध अलि तलतिर खस्केको छ । पूरै मुलुक एउटा काँधमा बिसाउन जानु नै न्यायोचित थिएन । मुलुकले त काँध पायो कि यस्तै गर्छ । मुलुकका जनताले फकाई-फुलाई ‘को खाई को खाई’ गरेर ख्वाएको घुस खानेले त्यो घुसको रकम खल्तीमा राख्न पाएको हुँदैन, यता मुलुकै रोईकराई भन्न लागेको हुन्छ- ‘विना घुस काम हुँदै हुँदैन, यो देशमा काल पल्केजस्तो गरी घुसखोरी बढ्यो ।’ जनता आफै बोक्सी आफै झाँक्री स्वभावको छ ।
मुलुकलाई त आफ्नो भारी बिसाउने, जिम्मेवारी पन्छाउने, बलियो होस् कि निर्धा, एउटा काँध चाहियो, चाहियो। नेताहरू राजनीति गर्दा गर्दा र सत्तामा जाँदा जाँदा कमाइ-धमाइ गरेर सम्पन्न र स्वावलम्बी बनिसके । जनतालाई पनि यसो मौका परेमा उद्घाटन भाषण ठोक्दा, ‘सरकारको मुख ताक्ने नगर्नुस्, हामीले त यै गरेर खाने हो, तपाईंहरू स्वावलम्बी बन्नुस्, देशको विकास गर्नुस्’ भन्छन् । मुलुकले नेताहरूलाई कहिले टेरपुच्छर लायो र । नेताहरू पनि त त्यस्तै त्यस्तै खाओवादी निस्के । पाए खाने, नपाए खिचलो झिक्ने । अस्ति ठेलागाडी चलाउने रामबहादुर भन्थ्यो-एमालेहरूले हामीलाई जितायौ भने जग्गा दिउँला, घर भिङ्गटीले छाइदिउँला, आँगनबाटै सडक निकालिदिउँला भन्थे । मोराहरू अहिले त आफै फुटे । आफ्नै बिल्डिङ ठड्याए, आ-आफ्ना घरदैलोसम्म सडक पुर्याए अनि केमा मिलेन, तानातान गरे, फुटे ।’
त जनतालाई त दिने चाहियो । जसले यो दिउँला, त्यो दिउँला भनेर चिचीपापा देखाउन सक्यो उसैले जनता लुट्यो । अनि यस्तो भए पनि ठगिएको जनताले बिसाउनलाई एउटा सुगम काँध चाहियो । अरे भाइ बुझ्नुपर्दैन, नेता होस् वा कमरेड, पाएसम्म आफै खाने नीति चलेको छ भनेर । त्यस्तो कुरो जनता किन नबुझोस् । बुझेर पनि जानाजान जनता बूझ पचाउँछ । हाँडीमा कनिका छउन्जेल राँडीलाई किन निद्रा लाग्थ्यो भनेझै जनताको मनमा कुराको कनिका छरिदिनुपर्छ । त्यति भए ऊ त्यै कनिका चर्दै बस्छ ।
त्यसो भए कुरो के भयो भने, जनताले काँध फेला पार्यो कि आफ्नो झिटीझाम्टी त्यहीँ बिसाइहाल्यो । काँध बलियो छ छैन त्यसको खोज-खबर त गर्नुपर्छ नि । जनता त भन्छ- ‘होइन, मुलुकै थाम्ने काँध पाएपछि किन नबिसाउने ?’ मुलुकको स्वभाव नै यस्तो छ । अरूले ख्वाइदिनुपर्ने, अरुले चुठाइदिनुपर्ने, अरुले कोक्रामा हालेर हल्लाउँदै सुताउनुपर्ने । यो मुलुकलाई भएको के छ ? भएको जे त छ तर नेताजीले त मुलुकको बोझले अरु कतै बिसाउने ठाउँ नपाएर उनकै काँधमा पो बिसाएको छ भन्ने वक्तव्य दिएका छन् ।
मुलुकको बोझ आफ्नो काँधमा आएको छ भन्ने नेताका कुरा सुनिबसेका उपनेताहरूले पनि आ-आपफ्ना काँधमा धाप मार्दै भने- ‘हो हो, हेर्नोस्, हाम्रा काँध कति बलिया छन् । प्रजातन्त्र आएपछि हामीले सत्तामा बसेर काँध बलियो हुने खुराक खाएका छौँ । यी काँध प्रजातन्त्र आउनुभन्दा पहिलेका ती निर्धा काँध होइनन् । यिनै काँधमा बोकेर हामीले राष्ट्रिय ढुकुटी आ-आफ्ना महलमा हुलेका हौं। जनता हो, हाम्रो काँधको भर गर्नोस्, हामी यो मुलुकको सधैँभरि जिम्मा लिन तयार छौँ ।’
यस्तो भइरहेछ अहिले ।
सब काँध थाप्न तयार छन् राम-राम नभनेर । भीरबाट गुल्टिँदै गरेको मुलुकको रहलपहल सोहोर्न । उता भने, फुट्नेहरू एकअर्कालाई भेद हाल्दै छन् । पुत्ला बनाएर मारक मन्त्र सिद्ध गरिएका सियाहरू रोप्दै छन् । भन्दैछन्- ‘पार्टी फुटेको होइन, व्यक्तिहरूले दल छोडेर गएका हुन् ।’
रामबहादुरलाई आफ्नो घर सिंगटीले नछाइने भो भन्ने यथार्चबोध भएको छ । मेरो शहरका कमरेडहरूले पनि आ-आफ्नो क्याम्प खडा गरिसकेका छन् । मैले पनि नेताजीकै शैलीमा चिनेजानेका कमरेडहरू भेट भएमा चिन्तित मुद्रा बनाएर भन्छ- ‘तपाईंहरू फुट्नुभएकोमा म साह्रै चिन्तित छु । मेरो चिन्ता देखेर एकथरी कमरेडहरू हाँस्छन् र भन्छन्-चिन्ता नलिनुस् हामी अराष्ट्रवादी र विसजर्ननवादीहरूबाट अलग्गिएका मात्र हौँ ।’
अनि अर्का चरी कमरेड भन्छन्- ‘चिन्ता नलिनुस्, हाम्रो पार्टीबाट अवसरवादी अराजक गुट गयो । हाम्रो पार्टी फुटेको होइन चोइटिएको मात्र हो ।’
यसरी मेरो चिन्ताचप्रति कुनै क्याम्प संवेदनशील छैन ।
हाल मेरो चिन्ता पनि नेताजीको चिन्ता झै टुहुरो छ ।
०००
काठमाडौं
‘चोर ! चोर !!’ (२०५५)
Subscribe
Login
0 Comments
Oldest








































