डा. रमेश शुभेच्छुविकल्प हाम्रो पार्टी मात्र
म पनि सांसदको पति भएको छु । अब चाहिँ केही होला जस्तो लागेको छ । श्रीमतीजी मन्त्राणी हुने सम्भावना पनि बढेको छ । उनी जति चर्को भाषण गर्न जान्ने महिला पार्टीमा कमै छन् ।

डा. रमेश शुभेच्छु :
बल्ल बल्ल चुनावको ह्याड्ओभर कम भएको थियो । फेरि चुनाव आइहाल्यो । भोट माग्दै माग्दै नेताज्यू घरमै आइपुग्नुभयो । मैले पनि प्याच्च सोधी हालेँ- हजुरको पार्टीले गरेको कुनै पाँच राम्रो काम सुनौं न ।
नेताज्यू भन्न थालिहाल्नुभयो । मेरो सुुन्नुको विकल्प थिएन । मैले सुनेँ । उनी भन्दै गए । म सुन्दै गएँ- नम्बर एक, हाम्रो पार्टीले यो मुलुकमा २०७४ साल ल्यायो । नम्बर दुई हरेक युवकको ओठमाथि जुँगा उमार्यो ।
नम्बर तीन हरेक युवतीका… माथि … उमार्यो । मत्लव आँखामाथि आँखीभौँ उमार्यो । आँखामा परेली उमार्यो । नम्बर चार २०७२ सालको मत्लब २०७२ सालमा आएको भूकम्प फेरि आउन दिएन । नम्बर पाँच आधाभन्दा बढी युवा विदेश जाने मौका पाएर प्रफुल्ल भए । मत्लव युवालाई रोजगारी दियो ।
अझै सुन्नुहुन्छ ? अब हाम्रो पार्टी म्युजियममा पुगेर पर्यटन उद्योगलाई सघाउने छ । अरू भनौं ? बात करता है, हाम्रो पार्टी सुतेको छ ? चुनावमा उठेको छ । बात करता है । हाम्रो पार्टी कमजोर जस्तो लाग्यो ? यो पार्टी बलियो छ । यो पार्टी ज्याद्रा मान्छेको पाटी हो । दरबारदेखि सुरुङसम्म पसेको पाटी हो । वनदेखि बङ्करसम्म बसेको पाटी हो । चुनावमा लडेको र उठेको पाटी हो ।
मलाई नेताज्यूको कुरा ठिकै लाग्यो । उनलाई मत दिनेमा लगभग कन्भिन्स । उनी विस्तारै इतिहासबारे कुरा गर्न थाले । हाम्रो पाटीले २००७ साल ल्यायो । हाम्रो पार्टीले २०२७ साल ल्यायो । हाम्रै पार्टीले २०२६ साल मात्र होइन २०३६ साल पनि ल्यायो । पछि २०४६ र २०५६ साल पनि ल्यायो । २०६३ र २०७३ साल पनि ल्यायो । अब तिरासी साल पनि ल्याउँछ र त्रियानब्बे साल पनि ल्याउँछ । यही पार्टीले त हो दिउँसै रात पनि पार्यो, मध्यरातमा उज्यालो पनि पार्योे । आफ्नै नेतालाई पनि हरायो । अर्काका नेतालाई पनि जितायो । गठबन्धन गर्यो पनि तोड्यो पनि । घाँटी जोड्न मिल्नेसँग जोड्यो पनि तोड्यो पनि । ठाउँमा डस्यो पनि ठाउँमा बस्यो पनि ।
मेरो खोपडीमा घुस्यो । एकाएक धामीलाई केजाती चढेजस्तो ज्यानमा राजनीति चढ्यो । रक्सीको नसा जस्तै नसा नसामा जाँगर बढ्यो । मैले कहिलै नबुझेको बुझेँ । नेताज्यू अनेक पक्षमा देशको सुधार गर्ने पक्षमा रहेछन् । त्यस्तै मनसाय उनी भनिरहेका थिए, गठबन्धन देश बनाउन, राष्ट्रियता जोगाउन, चुनावी तालमेलदेखि पार्टी एकतासम्मको
कसरतमा छ । अब भन्नुहोस् हाम्रो पार्टीभन्दा राम्रो पार्टी कुन हुन सक्छ ?
नबोल भन्दै थिएँ गृहमन्त्री उर्फ बुढीले प्याच्च बोलिन्- हजुरको पार्टीमा हामी पनि हिँड्न मिल्दैन ? हामी पनि पूणर्कालीन कार्यकर्ता हुन्छौँ नि ! काम सघाउँछौँ । भोट भागिदिन्छौँ ।
नेताज्यूले भनिहाले- ल आउनुहोस् । झोलाबाट खादा झिके । माला झिके । सिँदुर झिके । पार्टीको झन्डा झिके र पार्टी प्रवेश गराए । म अलमलिएँ । अघिसम्म नेतालाई भोट दिने कि नदिने भन्दै थिएँ । मलाई उनै राम्रा नेता लाग्यो । उनैको भाषण ठिक लाग्यो । अलिकति चन्दा पनि थमाएर आफै पनि हिँडेँ प्रचारमा । अहिले उहाँकै सरकार छ । मेरी गृहमन्त्री नेताज्यूकी समानुपातिक सांसद छन् । म पनि सांसदको पति भएको छु । अब चाहिँ केही होला जस्तो लागेको छ । श्रीमतीजी मन्त्राणी हुने सम्भावना पनि बढेको छ । उनी जति चर्को भाषण गर्न जान्ने महिला पार्टीमा कमै छन् ।
तपाईं पनि हाम्रो पार्टीमा आउनुहोस् । हाम्रो पार्टीले यस देशमा अमेरिका र चिन त ल्याइसक्यो । बाटाबाटामा बोर्ड हेरे थाहा पाइहाल्नुहुन्छ । अब विस्तारै यस देशमा सिरिया ल्याउँछ । हाइटी ल्याउँछ । मौरीटानियाँ ल्याउँछ । सोमालिया ल्याउँछ । सुडान ल्याउँछ । यहाँ दिउँसो साना भए पनि राती ठूला जहाज ल्याउँछ । यस देशलाई युक्रेन बनाउँछ । अब को विकल्प भनेको हाम्रो पार्टी मात्र हो ।
हाम्रो पार्टी जिन्दावाद ! हाम्रा नेता जिन्दावाद !
हाम्री सांसद् जिन्दावाद ! हाम्रो झन्डा जिन्दावाद !
हाम्रा मान्छे जिन्दावाद ! अर्काका मान्छे मुर्दावाद !!
०००
कौशलटार
Subscribe
Login
0 Comments
Oldest












































