देवकोटाको पागल कवितामा व्यङ्ग्य
देवकोटाका नजरमा गुफामा रहने तपस्वीहरू भगुवा हुन् जो समाजमा टिक्न सकेका भए गुफा पस्तैन थिए । उनका दृष्टिमा राजासँग शक्ति र सत्ताबाहेक केही छैन र उनी गरिब छन् । उनी राजासँगै जोडेर अरु राजनेता हौँ भन्नेहरूका कमजोरीमा सिस्नुपानी लाउन पनि भ्याउँछन् ।
डा. रमेश शुभेच्छु :
विषय प्रवेश
लक्ष्मीप्रसाद देवकोटा (१९६६—२०१६) नेपाली साहित्यका बहुमुखी प्रतिभा हुन् । साहित्यका विविधा उपविधाका बहुआयाममा कलम चलाए पनि उनी मूलतः कवि र महाकाव्य हुन् का अनेक कृतिहरूमा “पागल” शीर्षकको कविता बहुचर्चित कविता हो । यस लेखमा उनको पागल कवितामा निहित व्यङ्ग्य सामर्थ्यका बारेमा सरसरती अन्वेषण गरिएको छ । कविताको व्यङ्ग्य सामर्थ्यको अन्वेषणलाई नेपाली लोकसन्दर्भ र मूलतः विपरीत सन्दर्भका आधारमा प्रस्तुत व्यङ्ग्यका रुपमा प्रस्तुत गरिएको छ ।
देवकोटाको पागल कविता
पागल लक्ष्मीप्रसाद देवकोटाका फूतकरकवितामध्ये बहुचर्चित गद्य लयढाँचामा लेखिएको कविता हो । यस कविताले देवकोटा साहित्यमा मात्र होइन नेपाली साहित्यको आधुनिक कालमा प्रमुख स्थान ओगटेको पाइन्छ । यो देवकोटा साहित्य परम्पराको मध्यप्रतिभाज्वारका साथै नेपाली कवितायात्राको इन्द्रेणी कालको उल्लेख्य कविता हो । यो कविता देवकोटाका जीवनीसापेक्ष र तत्कालीन नेपाली समाज विकासको चरण विशेषका कोणबाट पनि त्यत्तिकै महत्त्वपूणर् छ । यो कविता सर्वप्रथम २०१० सालमा प्रगति -वर्ष एक अंक तीन) मा छापिएको थियो । यस कवितालाई पछि इन्द्रेणी (वर्ष एक अंक सात) पत्रिकामा केही परिमार्जन र परिबद्र्धनसहित पुन प्रकाशन गरिएको थियो । यस कवितालाई केही अध्येताले उच्चतर स्तरमा राखेर अध्ययन गरेको (जोशी, २०४८, पृ. २८६) भए पनि यो सर्वाधिक पढिएको र देवकोटाका जीवनी र जीवनदर्शनसँग पनि जोडिएको कविताका रुपमा स्थापित छ । व्यङ्ग्यात्मकता, साङ्केतीकता, ध्वन्यात्मकताका साथै बहुल चिन्तनको संयोजनले यो कवितालाई सर्वग्राह्य र त्यत्तिकै बौद्धिक पनि बनाएको छ ।
पागल कवितालाई देवकोटाका समकालीन अर्का कवि एवम् नाटककार बालकृष्ण समले देवकोटाको सर्जन प्रतिभाको तेस्रो जन्मका रुपमा चित्रण गरेका छन् उनले देवकोटाको पहिलो जन्म ‘मुना—मदन’ (१९९६), दोस्रो ‘शाकुन्तल’(२००२) र तेस्रो जन्म ‘पागल’ कविताबाट भएको र कहिलै नमरेको ठहर गरेका छन् (२०२५, पृ. १०१) । यदुनाथ खनालले पागललाई देवकोटाका उत्कृष्ट कृतिहरूको सूचीमा राखेका छन् (२०२५, पृ. १२२) । यस कविताका सम्बन्धमा देवकोटाविषयक औपचारिक अध्येताका साथै यसको पाठ्यक्रममा पठनपाठन हुनेहुँदा विश्लेषण र समीक्षणका क्रममा अनेकले यस कविताको उच्चतालाई देखाएका छन् ।
देवकोटाबीच बेग्लै साइनो रहेको विदित हुन जान्छ । प्रकृति-प्रेम र झ्याउरे लयप्रतिको लगाव ‘मुना-मदन’ले देखाउँछ भने महाकाव्य रचनाप्रतिको उत्साह अनि समकक्षीहरूसँगको होडबाजीको उत्कर्षका रुपमा ‘शाकुन्तल’ देखापर्दछ । देवकोटाले पागल कवितामा प्रत्यक्ष जीवनका भोगाइहरू, समकालीनहरूसँगको सम्बन्ध, समाजमा अभिव्यक्त रहेको प्रेम-घृणाका उहापोह, तत्कालीन व्यवस्थाअनुरुपका शासक-वर्गका कमजोरी र बेइमानी, आफूबाहेक सबै मूर्ख देख्ने विद्वत् वर्ग प्रतिको विद्रोह, सामाजिक चरित्रहरूको संयोजन गर्दै कमजोर चरित्रप्रति असन्तुष्टिका बहुल पक्ष उजागर गरेका छन् । यस कविताका बहुल पक्षमध्ये यसमा निहित व्यङ्ग्य पक्ष अध्ययनयोग्य देखिन्छ ।
नेपाली कविता परम्परामा गद्यलयढाँचाका कविताको उच्च स्वरुप बोकेको पागल कविता सयौँ हजारौँ पटक पढिएको र चर्चा गरिएको कविता हो जम्मा सात पङ्क्ति गुच्छामा बाँडेर संयोजित रुपमा प्रस्तुत गरिएको कविता झन्डै फुटकर कवित्वको सीमाना नाघ्दै मझौलो लघुकाव्यात्मक स्वरुप ग्रहण गर्न खोजेको अवस्थामा सिर्जिएको कविताका रुपमा देखापर्छ ।
पागल कवितामा प्रथम पुरुष म पात्रले “साथी” भनेर द्वितीयपुरुष तिमी पात्रलाई सम्बोधन गरी कविताको शुरुवात गर्दै बिचबिचमा आवश्यकताअनुसार कविताको प्रवाहका बिचमा ‘तिमी’ सर्वनामलाई दोहोर्याई दोहोर्याई यस कवितालाई अगाडि बढाइएको छ । तत्कालीन अवस्थामा उनले सम्बोधन गरेको पात्र को हो भनेर पात्रको नाम नै किट्न सक्ने अवस्था उनका जीवनीपरक पठनमा भेटिने भए पनि मूलत यस कविताके तिमीममा अनेक पक्ष संयोजित बनेको छ र सबै खलचरित्रहरू संयोजित बन्दै कविता सबैका लागि ग्राह्य बनेको छ ।
व्यङ्ग्यको सैद्धान्तिक सन्दर्भ
व्यङ्ग्यलाई हास्यसँग जोडेर र स्वतन्त्र दुवै रुपमा प्रस्तुत गरिएको पाइन्छ । यसलाई सैद्धान्तिक रुपमा विभिन्न कोणबाट चिनाउन सकिन्छ । अंग्रेजी साहित्यमा भन्ने गरेको सटायरलालाई नेपालीमा व्यङ्ग्य भनिन्छ । ल्याटिन साताइर वा सातुरा बाट अङ्ग्रेजीमा आएको यो शब्द हास्य-व्यङ्ग्यको समष्टि तात्पर्यमा पनि सामान्यतः व्यवहार हुने गरेको छ । ठट्टा, हँस्सी, दिल्लगी, बेढङ्गी वा स्थूल अनुकृतिका रूपमा यस प्रकारको व्यङ्ग्यपद्धतिको प्रयोग ग्रीक साहित्यकै आन्तरिक तत्त्व रहँदै आएको भए पनि ल्याटिन साहित्यबाट मात्र यसले स्वायत्त साहित्यभेदको रूपमा भने स्थापित हुने अवसर पाएको भेटिन्छ (त्रिपाठी, २०५१, पृ. १२४) । मोटामोटी यी खास कोणको लेखन वा प्रस्तुतिबाट व्इङ्ग्यको अर्थ स्थिर बन्दै अर्थ विस्तारका क्रममा साहित्यको एउटा शैलीगत उपविधा बनेको देखिन्छ । धेरैले यसलाई हास्यमय कथनका रुप्मा चिनाए पनि मूलतः गुड यथार्थको प्रकटनबाट व्यङ्ग्य सिर्जना हुन्छ ।
प्रायः अध्येता र विश्लेषकहरूले पूर्वीय र पाश्चात्य साहित्य जोड्ने गरेका छन् । त्यस्ता अनुचिन्तक र चिन्तकले प्रायः हास्यसँग जोडेर मात्र व्यङ्ग्यको चर्चा गरेका छन् तापनि व्यङ्ग्य हास्यबाट मात्र उत्पन्न हुन्छ भन्नु भ्रम हो । विविध सन्दर्भमा हेर्दा सटायर वा व्यङ्ग्यलाई कुनै पनि विषयलाई उपहास्य तुल्याएर, अलि फरक ढङ्गले प्रकट गरेर, समान्य भन्दा विकृत तुल्याएर प्रस्तुत गरिएको एक कला विशेषका रूपमा लिनु सान्दर्भिक हुन्छ । व्यङ्ग्यमा हास वा विनोदी पाराले मात्र नभई अरु कुनै भाषिक समानान्तरता, विचलन, विपरीचितीकरण आदिका माध्यमबाट सिर्जिन खास खास पाराले तिरस्कार, क्रोध, घृणा, वितृष्णा, विरोध, प्रतिरोध, प्रतिरक्षा, प्रतिवाद आदि जगाउने उद्देश्य प्रस्तुत गरेर व्यड्ग्यको सिर्जना हुन सक्छ ।
व्यङ्ग्य सिर्जनाका लागि उपहास वा विरोध, प्रतिरोध वा तिरस्कारको पात्रचयन, सोहीअनुरुपको परिवेशको सिर्जना, सूक्ष्म आख्यान वा आख्यानचूणर्, लोक एवम् पौराणिक सांस्कृतिक मिथक आदिका साथै अरु पनि अभिव्यक्तिमा खास ताल पार्न सक्ने उपयुक्त कथ्यका माध्यमबाट व्यङ्ग्य गर्नुपर्ने पात्रमाथि तीर जत्तिकै सक्तिसाली प्रहार गर्न सकिने अवस्था रहन्छ । त्यस अवस्थाको प्रहारबाट सम्बन्धित सिर्जनामा पाठकले प्रष्ट रुपमा घृणा, विरोध र निन्दाको भावभित्रै व्यङ्ग्यको बोध गर्न सक्छन् । त्यस बोधका लागि लेखले व्यङ्ग्य सिर्जना गर्ने प्रयत्नमा अनेक युक्तिहरू उपयोग गरिरहेका हुन्छन् । गाली, रौद्ररुप, उपहास्य रुप, अपमान आदिको प्रयोग पनि हुन सक्छ । वास्तविक व्यङ्ग्यका लागि जुटाइने सामग्रीमा सोझो निन्दा गाली र अपमान जस्ता सामग्रीको संयोजन कमजोर मानिन्छ । साधारण पाठकका लागि त्यस्ता रुप सहज भए पनि विशिष्ट पाठकलाई र लेखकीय उच्च सामर्थ्यलाई प्रस्तुत गर्न त्यस्ता सामग्री कमजोर बन्छन् ।
साहित्य, चलचित्र, नाटकलगायतका कलामा व्यङ्ग्य सिर्जनाका क्रममा आलम्बनप्रति घृणा या रोषको भाव प्रकट भएको नदेखिइ अन्तिममा अभिव्यक्तिको सारका रुपमा मात्र लिइन्छ । हरेक व्यङ्ग्यको सिर्जना सँगसँगै सुधारको भावना पनि रहेकै हुन्छ । साहित्य वा कलामा व्यङ्ग्यको सिर्जना जीवन जगत्का विविध विसङ्गति वा कमी-कमजोरीलाई देखाउने क्रममा गरिन्छ । त्यसरी कमजोरीलाई देखाउने क्रममा हाँसोमा उडाउँदै त्यसप्रति घृणा, विरोध आदि जगाउने प्रयत्न ग्राह्य हुने हुँदा हास्य र व्यङ्ग्य सहसम्बन्धित भएर आइरहेको पाइन्छ ।
हास्यबाहेक अरु नवै रसका माध्यमबाट तिनका आवश्यक सामग्रीको संयोजनबाट व्यङ्ग्यको सिर्जना गर्न सकिन्छ । नेपाली साहित्य परम्परामा देवकोटालगायत भैरव अर्याल, पिँडाली, मोहनराज शर्मा आदिका व्यङ्ग्य रचनाहरूमा हास्यको सिर्जनाविनै पनि व्यङ्ग्यको उठान गरिरहेको देखिन्छ । भानुभक्तको भोलिभोलि बोलको फुटकर मुक्तकमा हास्यविनै गहिरो व्यङ्ग्य रहेको पाइन्छ । देवकोटाकै ‘नयाँ जमाना’ कवितालाई उदाहरणका रुपमा लिँदा पनि यस कुरालाई बुझिन्छ : —
नवाफी रवाफी कवाफी छ नेता,
विलासी गिलासी सुवासी विजेता
प्रजातन्त्रको ढ्वाँग रित्तो करायो,
जवाना अनौठो नयाँ आज आयो । (देवकोटा, २०२४, पृ. ९०-९१)
प्रस्तुत कवितांशमा हास्य छैन तर निकै गहिरो व्यङ्ग्य छ । यहाँ नेता नवाफी, रवाफी, कवाफी, विलासी, गिलासी बनेको सोझो पक्ष देखाएर पनि नेतामा हुनुपर्ने गुण नभएको व्यङ्ग्य प्रतिध्वनित छ । भानुभक्तको भोलि कवितामा पनि झोली बक्सियोस् भन्ने करुण जस्तो लाग्ने भावका बिच पनि कर्मचारीतन्त्रप्रति गहिरो व्यङ्ग्यार्थ प्रकट भएको छ । यस अर्थमा विपरीचितिकरणबाट पनि व्यङ्ग्य सिर्जना गर्न सकिने देखिन्छ । विपरीत पक्षका कोणबाट प्रस्तुत गर्दा प्रकट हुने व्यङ्ग्यलाई देवकोटाले प्रायः आफ्ना कवितामा र निबन्धमा पनि प्रकट गरिरहेको भेटिन्छ ।
देवकोटाको रचनाको प्रकृति हेरी त्यसै सैद्धान्तिक कोणबाट देवकोटाको पागल कविताको विश्लेषण गरिएको छ । यसलाई विपरीतार्थी विषय, घटना र तथ्यबाट सिर्जना गर्न सकिने व्यङ्ग्यका रुपमा चिनाउन सकिन्छ । यसमा प्रतिकूलता, विरुद्धता र उल्टोपनको चित्रणबाट व्यङ्ग्यको सिर्जना गरिन्छ भन्ने पक्षको खोजी गरिन्छ । एकै विषयलाई अदलीबदली गरेर नयाँ कोणबाट व्यङ्ग्य सिर्जनाको प्रयास गरिन्छ । यो सैद्धान्तिक ज्ञानका लागि पूर्व र पश्चिमका विद्वान्हरूका ठेली पल्टाउनै पर्दैन । नेपाली समाजमा प्रचलित कतिपय उठानहरू नै सैछान्तिक आधारका रुपमा तयार छन् :
क) काग कराउँदै छ, पिना सुक्दै छ, अर्थात भन्ने भन्दै गर्छन, आफ्नो काम छोडनु हुन्न ।
ख) कानो गोरुलाई औँसी न पुर्ने अर्थात् दृष्टि नभए राम्रो नराम्रो केही थाहा हुन्न ।
ग) कुुकुरको पुच्छर बाह्र वर्ष ढुङ्ग्रोमा हाले पनि बङ्गा को बाङ्गै, अर्थात नसुध्रिने मान्छेलाई जे गरे पनि हुन्न ।
घ) कालो अक्षर भैँसी बराबर अर्थात् लेखपढ गर्न नजान्ने मानिसलाई जे पनि उस्तै ।
ङ) कुरो र कुलो जता लग्यो उतै जान्छ, अर्थात् कुराका प्रसङ्ग जतातिर पनि मोडन सकिने हुन्छन् ।
च) खाने पिउने रामे, चोट पाउने चामे अर्थात् बिराम गर्ने एउटा, सजाय पाउने अर्को हुन्छ ।
छ) खाने मुखलाई जुँगाले छेक्दैन अर्थात् काम गर्न चाहनेलाई कुनै बाधाले रोक्न सक्दैन ।
ज) गाई मारी गधा पोस्नु अर्थात् असललाई छोडेर कमजोरलाई खुवाउनु वा अपनाउनु ।
झं . घिउ केमा पोखियो? भागैमा अर्थात् केही बिग्रिए पनि केही सप्रिन्छ ।
ञ) घोडा चढ्ने लड्छ, अर्थात् काम गर्दा बिग्रन पनि सक्छ वा माथि चढ्नेले तल पनि झर्नुपर्छ ।
ट) जुन गोरुको सिङ छैन उसको नाम तिखे अर्थात् गुण र योग्यताविना नै आफूलाई विशेष वा योग्य ठान्नु कमजोरी हो ।
ठ) .जुन थालमा खानु त्यही थालमा चुठ्नु अर्थात् गुणको बदला अवगुण गर्नु वा असल ठाउँमा फोहोर गर्नु ।
ड) जोगिको घरमा संन्यासी पाहुना अर्थात् जो मागेर खान्छ उसैकहाँ माग्न आउनु ।
यी केही नेपाली उखानका नमुना मात्र हुन् । यहाँ प्रस्तुत गरिएका नमुना उखानमा पेचिला व्यङ्ग्य छन् र ती व्यङ्ग्यहरू सबै नेपाली समाजका अनुभवबाट सिर्जना भएका आधुनिक व्यङ्ग्य सिर्जनाका लागि सैद्धान्तिक सूत्र बन्न सक्छन् । नमुनाका रुपमा लिइएका यी उखानले विपरीत अभिव्यक्तिबाट व्यङ्ग्य सिर्जना गर्न सकिन्छ भन्ने सामथ्र्य प्रदर्शन गरेका छन् । यही अवस्था हाम्रा लोकसमाजले निर्माण गरेका टुक्काहरूमा पनि देखिन्छ । नमुनाका रुपमा केही टुक्काहरू लिऊँ :
क) खआकाश पाताल जोड्नु अर्थात् अनावश्यक गफ हाँक्नु वा अनावश्यक कुरालाई जोड्न खोज्नु ।
ख गुनले मार्नु अर्थात् उपकार गर्नु वा नराम्रो गर्नेलाई पनि राम्रो गर्नु, बैगुनीलाई गुनले मार्नु ।
ग) गोरु ब्याउनु अर्थात् असम्भव कुरो हुनु अर्थात् अम्भव पनि सम्भव हुनु ।
घ) टुप्पाबाट पलाउनु अर्थात् गरिब एकाएक धनीजस्तो हुनु वा नजान्नेले जान्ने पल्टनु या कम अनुभव हुनेले अनुभवका कुरा गर्नु आदि ।
ङ) ढुङ्गो पग्लनु अर्थात् असम्भव कार्य हुनु, नपग्लने वस्तु पग्लनु, कठोर मन पग्लनु आदि ।
च) दिउँसै रात पार्नु अर्थात् विपरीत काम हुनु, हुनै नसक्ने काम कुरो हुनु आदि ।
छ) बाबुको बिहे देखाउनु/देख्नु अर्थात् नदेख्नुपर्ने कुरा देख्नु वा ठूलो सङ्कटमा पार्नु ।
यी केही नेपाली टुक्काका उदाहरण उदाहरणका लागि उदाहरण हुन् । हामी नेपाली मौलिक व्यङ्ग्यको सैद्धान्तिक अवधारणा निर्माण गर्न सक्छौँ । त्यस्का लागि माथि उल्लेख भएका उखान र टुक्का जस्ता अनेक सूत्रहरू हाम्रा पुर्खाले लोकसमाजमै सुरक्षित गरेका छन् । यिनै सूत्रबाट पनि देवकोटाका कवितालाई हामी मूल्याङ्कन गर्न सक्छौँ । तिनमा विपरीत विषय, पात्र, परिवेश, विम्ब, प्रतीक, रङ, आकृति, मिथक, आख्यान, आख्यानचूणर्, प्रकृति, स्वभाव, अवस्थिति, प्रयोग आदिबाट व्यङ्ग्यको सिर्जना गरिएको हुन्छ ।
पागल कवितामा विपरीतार्थक व्यङ्ग्य
लक्ष्मीप्रसाद देवकोटाको पागल कविताका रचना गर्भसम्बन्धमा विविध अड्कल काटिएको छ । यस कवितालाई देवकोटाका जीवनीपरक कोणबाट पनि अध्ययन गर्दा २००८ सालपछि गठित सल्लाहकार सभाका अध्यक्षको चुनाव हुने बेलामा अप्रत्यासित रुपमा उमेद्वारीका साथ उभिएका देवकोटालाई तत्कालीन राजनीतिक पार्टीका मानिसले उनका विरुद्ध घृणित प्रचार गर्न थालेपछि त्यसैको प्रतिउत्तरमा लेखिएको हो भन्ने प्रमाण सबै भन्दा बलियो लाग्छ । उनका जीवन कालमा मातापिताको देहावसान, केही आर्थिक अभावका रापचाप, अध्ययनका र कार्यव्यस्तताको संयोजनका रापचाप, सन्तानका निधनका शोक र पीडा आदिका कारण उनले आफू केही कमजोर भएको स्वीकार पनि गरेका छन् ।
यस्तो देवकोटाको जीवनीगत अवस्था रहे पनि सबै कुरा समालिएपछि सल्लाहकार परिषद्को अध्यक्षको उमेद्वारी दिँदा अफूभन्दा कमजोर शिक्षा र राजनीतिक अनुभव भएका मानिसले गम्भीर प्रकृतिका निराधार आरोप लगाएपछि उनीहरूलाई आरोपको प्रतिकारस्वरुप विपरीत अर्थ प्रस्तुत गर्ने गरी कविताको प्रस्तुति आरम्भ गरिएको छ :
जरुर साथी म पागल
यस्तै छ मेरो हाल ।
देवकोटाले पागल कविताका यी दुई पङ्क्तिबाट सिङ्गो कविताको उठान गर्दै म ठिक छु भन्ने अर्थ लाग्ने गरी आफूलाई ‘पागल’ नै हुँ भनी घोषणा गर्दै आफ्नो हाल त्यस्तै नै रहेको स्वीकार गरेका छन् । यो देवकोटेली शैलीको विपरीतार्थक व्यङ्ग्य हो ।
देवकोटाले पागल कवितामा उक्त विपरीतार्थक व्यङ्ग्यलाई क्रमश बलियो बनाउँदै लगेका छन् । उनले यस व्यङ्ग्यको विकासका लागि कवितालाई यसरी अगाडि बढाएका छन्ः
म शब्दलाई देख्दछु
दृश्यलाई सुन्दछु
बास्नालाई स्वाद लिन्छु
आकाशभन्दा पातला कुरालाई छुन्छु । (देवकोटा, २०५६, पृ. १२३)
यहाँ प्रस्तुत विपरीत सन्दर्भ निकै अर्थपूणर् छन् । यहाँ व्यङ्ग्य सिर्जनाका लागि विपरीत अर्थ प्रधान अभिव्यक्तिलाई कसिलो र प्रबल बनाएको छ । म पात्रले आफू शब्दलाई देख्ने, दृश्यलाई सुन्ने र बास्नाको स्वाद लिने पात्र भएको बताइएको छ । त्यस्तै आकाशभन्दा पातला कुरालाई छुने सामर्थ्य भएको पनि बताइएको छ जुन असम्भव हो तर यहाँ सम्भवझैँ गरी प्रस्तुत गरिएको छ र मेरो समाज र व्यक्तिलाई बुझ्ने चेतना सूक्ष्मातीसूक्ष्म छ भन्ने अर्थ प्रकट गरिउको छ । पागल कवितामा उपयोग गरिएको व्यङ्ग्य सिर्जनात्मा अपनाइने रणनीतिमा यो विपरीत सन्दर्भबट गरिने व्यङ्ग्यको राम्रो नभुना हो ।
कवितामा उक्त सन्दर्भलाई पुष्टि पनि गर्ने गरी र कविताको क्रमिक प्रवाहशील अभिव्यक्तिलाई अझ प्रबल बनाउने गरी संसारले अस्तित्वका रुपमा नस्वीकारेका पक्षलाई आफूले स्विकारेको बताएका छन् । यो देवकोटाको स्वीकार र अस्वीकारका विपरीतकोणबाट सिर्जित विशेष व्याङ्ग्य सामथ्र्य हो । यस कविताका कोणबट देवकोटालाई अझ साधारणीकरण गरेर हेर्दा यो व्यङ्ग्य आम बौद्धिक वर्गलाई, क्षमतावान वर्गका सीमित मानिसलाई खुइल्याएर कमजोर क्षमता भएका मानिस स्थापित बन्ने प्रवृत्तिप्रतिको व्यङ्ग्य हो । सोझो अर्थमा देवकोटालाई बहुलठ्ठी भनेर चिनाउन खोज्ने व्यक्ति र समाजप्रति कटाक्ष गरिएको अवस्था हो । माथिको अंशलाई पुष्टि गर्ने गरी देवकोटाले कवितामा थप व्यङ्ग्य गरेका छन्ः
म देख्दछु ढुङ्गालाई फूल ! (देवकोटा, २०५६, पृ. १२३)
यहाँ ढुंगालाई फूल देख्ने विपरीतार्थी सन्दर्भसँगै नदी-सरोवर किनाराका ढुंगामाटो, बालुवा तथा वटवृक्षलाई चन्द्रमा अनि जादुगर्नीसरह मानेर तिनीहरूसँंग मूक-भाषा बोल्ने कविलाई नचिन्ने, प्रकृतिप्रेमी कल्पनाशील कलाकार नमानेर बहुलठ्टी वा ‘पागल’ नै ठान्ने व्यक्ति वा समाजलाई जवाफ दिइएको छ । त्यस्तो व्यक्ति वा समाजलाई, आफूलाई पागलै माने पनि आफ्नो मनस्थिति ठिकठाक रहेको बरु आफूलाई पागल ठान्नेहरू कमजोर हुन सक्छौ भन्ने व्यञ्जना अर्थ प्रक्षेपण गरिएको छ ।
यस क्रममा अरुलाई पागल नभनी पागल हौ भन्ने अर्थ लक्ष्यार्थका तहमा प्रकट गरिएको । यहाँ स्वच्छन्दतावादी कवि देवकोटाको प्रकृतिप्रतिको प्रेम पागलपन नभएको स्पष्टोक्ति अविधार्थमा रहे पनि मूलतः आफूलाई लान्छना लगाउने समाजले नै पागलपन व्यहोरिरहेको व्यञ्जनार्थ प्रकट गरिएको छ । यहाँ सत्य, तर्कसङ्गत, समाजोपयोगी, सेवामुखी, बौद्धिक, प्राज्ञिक सोचाइको आफ्नो भाषा नबोलिने नलेखिने नछापिने पक्षको उजागर गर्दै त्यसलाई बुझ्ने बुझाउने व्यक्ति र समाज पनि नभएको तर्कका साथ अविधार्थमा पागल हुँ भनेर आफू ठिकठाक रहेको पक्षलाई नै पुष्टि गरिएको छ ।
देवकोटाको पागल कविताको मूल आशय, मूल सन्देश, मूल व्यङ्ग्य यहाँसम्म आउँदा लगभग सकिएको जस्तो लाग्छ । कविता यहाँसम्म मात्र लेखिएको भए पनि पुग्थ्यो जस्तो लाग्छ । यद्यपि, यस कविताले यहाँसम्म व्यक्त गरिएका अभिव्यक्तिलाई एउटा छोटो दुई हरफे पङ्क्तिगुच्छा र अर्को अलि लामो दुई पङ्क्तिगुच्छा भित्रको आशयाभिव्यक्तिको विस्तार मात्रका रुपमा लिएको छ ।
कविताको तेस्रो पङ्क्तिगुच्छा र त्यसपछिका पङ्क्तिगुच्छाका हरफहरूमा देवकोटा बहुल दर्शनलाई विषय बनाउँछन् । उनी स्वयम् तत्कालीन समाजको विशिष्ट विद्वान् हुँदा उनी गणित एवं शास्त्रहरूमा निपूणर् छु भन्ने पण्डित र तथाकथित पण्डित समाजलाई व्यङ्ग्य गर्छन्-
मेरो गणितमा एकबाट एक झिक
एकै बाँकी रहन्छ !
तिमी पाँच इन्द्रियले काम गर्छौ
म छैटौँले !
तिम्रो गिदी छ साथी
मेरो मुटु !
तिमी गुलाफलाई गुफालसिवाय देख्न सक्दैनौ,
म उसमा हेलेन र पद्मिनी पाऊँछु !
तिमी बलिया गद्य छौ
म तरल पद्य छु !‘(देवकोटा, २०५६, पृ. १२४)
प्रस्तुत उदाहरणमा विपरीतार्थी शब्दहरूमै खेलेर विशिष्ट किसिमको व्यङ्ग्यको सिर्जना गरिएको छ । जसको नाम छैन उसको नाम तिखे भनेझैँ आफूलाई चिन्न नसक्नेहरूलाई कम इन्द्रिय भएका र मुटु नभएका मानिस देखाउन आफू छैठौं ईन्द्रियले काम गर्ने ह्रदय पूणर् रहेको व्यक्ति भएको दावि गरिएको छ । चेतना, कला र युगसापेक्ष विचारलाई नचिन्ने मानिसलाई ढुङ्गासमान कठोर, बाक्लो, जमेको अनि बलियो बस्तुका रुपमा चित्रण गरिएको छ । त्यस्ता पात्र र समाजलाई कठोर गद्यका रुपमा र आफूलाई कोमल पद्यका रुपमा चित्रण गरिएको छ ।
यस अभिव्यक्तिलाई पुष्टि गर्न बाँकी पङ्क्तिहरूमा कठोर हृदयहीन मानिसका बिचमा आफू कोमल मुटुद्वारा सपनालाई समात्ने प्रयत्नमा बाँचिरहेको पक्षलाई उही विपरीतार्थका रुपमा चित्रण गरिएको छ । यहाँ समयको मूल्यलाई घडीले नदेखाउने, नजनाउने, समयको ठोस वास्ता नहुने त्यसमा मानव घुसपैठ हुन सक्ने आशयसहित सुन र हीराभन्दा काँढालाई मूल्यवान्, पहाडलाई बाचाल देख्ने आफ्नो एक नसा ढिलो रहेको विषय उठानबाट सिंगो समाज भेडो बनेर आफूलाई गलत बनाउन खोजे पनि आफू ठिकठाक रहेको लक्ष्यार्थ प्रस्तुत गरिएको छ ।
‘पागल’ कवितालाई दार्शनिक कोणबाट हेर्न सकिने बहुल पक्ष देखिन्छन् । देवकोटाले शिक्षा, शिक्षाअनुरुपको जागिर, सिर्जना, सामाजिक प्रतिष्ठासहित उच्च प्रगति गरिरहेको तत्कालीन समाजका मनोसामाजिक पक्षहरूलाई विवेचना गर्ने ठाउँ पनि यहाँ प्रशस्त छन् । यी आधारमै टेकेर कविताको चौथो पङ्क्तिगुच्छामा आफूले जे गर्यो दुनियाँ त्यसको विपरीत हिँडेको कविको अभिव्यक्ति दिइएको छ । त्यस अभिव्यक्तिलाई पनि विपरीत अर्थमै प्रस्तुत गरिएको छ :
म माघको ठण्डीमा
ताराको सेतो प्राथमिक राप तापेर
बसिरहेको थिएँ,
दुनियाँले मलाई तरङ्गी भने !
भस्मेश्वरबाट फर्कदा सात दिन
टोह्लाएको देखेर
भूत लागेको भने !
एक सुन्दरीका केशमा
समयका तुषाराको
पहिला छिर्का परेको देखेर
म तीन दिन रुँदा,
मेरो आत्मालाई बुद्धले छुँदा
मलाई छटाएको भने !
मैले वसन्तको पहिलो कोकिल सुनेर
नाचेको देख्दा,
बहुला भने !
एक सूनसान औंसीले मलाई निशास भएर
म प्रलय-वेदनाले उफ्रेँ !
मूर्खहरूले मलाई त्यस बेला ठिङ्गुरा हालेर राखे !
म तूफानसँग एक दिन गीत गाउन थालेको थिएँ,
मलाई बुज्रुगहरूले,
राँची पठाइदिए ! (देवकोटा, २०५६, पृ. १२४)
प्रस्तुत साक्ष्यमा अनेक विपरीत पक्षको संयोजन गरेर समाजको पागलपनले अफूलाई आफ्ना विचारमा र काममा बाधा पुर्याएको विचार प्रस्तुत गरिएको छ । यहाँ प्रस्तुत म पात्र माघको ठण्डीमा ताराको सेतो प्राथमिक राप तापेर बस्ता दुनियाँले तरङ्गी भनेको सन्दर्भ निकै उल्लेख्य छ । वास्तवमा ताराको राप तापिँदैन । भस्मेश्वरबाट फर्कंदा सात दिनसम्म त्यसको घटना प्रभावले टोलाउँदा भूत लागेको ठान्ने सामाजिक चेतनालाई अन्धविश्वासी समाजसँगको लडाइँका रुपमा प्रस्तुत गरिएको छ, त्यसै गरी सुन्दरीका केशमा समयका तुषाराको छिर्का परेको देखेर मानवतावस रुँदा र आफ्नो आत्मालाई बुद्धले छुँदा समाजले छटाएको भनी कमजोर बनाउन खोजेको पक्ष विपरीत चिन्तन, पात्र र परिवेशबाट सूक्ष्म आख्यानचूणर्का साथ प्रस्तुत गरिएको छ । यसै सन्दर्भमा आफूले वसन्तको पहिलो कोकिल सुनेर नाचेको देख्दा अरुले बहुला भनेको सन्दर्भलाई जोडेर समाजले आफूलाई बुझ्न नसकेको विचार अभिव्यक्त गरेका छन् ।
यसै सन्दर्भमा एक सुनसान औँसीले आफूलाई निशास भएर वा अन्धकार युग, समय परिवेशले निशास भएर आफू प्रलय-वेदनाले उफ्रँदा समाजका मूर्खहरूले ठिङ्गुरा हालेर राख्ने प्रयत्न गरेको, उनीहरूप्रति विद्रोहस्वरुप तूफानसँग एक दिन गीत गाउन थाल्दा वा विद्रोह बोल्दा आफूले बुज्रुगहरूले राँची अर्थात् मानसिक रोगको उपचार गर्ने ठाउँमा पठाइदिए भनेर आफू ठिकठाक भएका बेला ठिकठाक अवस्था नभएका मानिसले आफूलाई बिथोलेको पक्षलाई देखाइएको छ । यहाँ नेपाली उखानले अगाडि सारेको कानु गोरुलार्य औँसी न पुर्ने भन्ने चिन्तन सार्थक भएको देखाइएको छ । आफ्नो परिवेश र समाजमा मेरो गोरुको बाह्रै टक्का भन्ने एकलकाँटे मानिस रहेको र उनीहरूसँग व्यवहार गर्था विपरीत अर्थ लागेको सन्दर्भलाई कवितात्मक वाणी दिइएको छ ।
यस कविताभित्रको व्यङ्ग्यलाई देवकोटाका जीवनीपरक अवस्थाबाट पनि बुझ्न सकिन्छ । तल्कालीन शिक्षाको विकास भइनसकेको समाजमा बी.ए.बी.एल. गरेर समाजको फरक मुहार देख्न चाहने व्यक्तिलाई कसैले लहडी वा पागल भनेर सङ्गीन आरोप लगाउनु उनका लागि कम पीडा र तेजोवदको अवस्था थिएन । उनी क्षमतासाथ राज्यले उचित ठाउँ नदिँदा पनि दिनको १८ घण्टा ट्युसन पढाएर आफ्नो जीवन निर्वाह गरिरहेका थिए । उनलाई कमजोर भनेर पुष्टि गर्न खोज्नेहरू कोही पनि उनको उचाइको शिक्षा लिएका मानिस थिएनन् र उनका जति परिणाम र परिमाणमा साहित्य सिर्जना गरिसकेका पनि थिएनन् । त्यस्ता मूर्खहरूको समाजलाई व्यङ्ग्य गर्नलाई म पागल तिमीहरू ठिकठाक भनेर देवकोटाले जुन विपरीत सन्दर्भहरूको संयोजन गरे र पागलको विपरीत परिभाषीकरण गरे त्यसले यस कवितालाई विशेष र प्रबल बनाएको छ ।
देवकोटाले पागल कवितामा आफ्ना जीवनदर्शनहरूका तीर अर्जुनले भीष्मपितामहका शरीरमा वाण छोडेझैँ धाराप्रवाह छोडेका छन् । त्यसरी शब्दरुपी तीर छोड्ने क्रममा कविताको आकृति केही लामो बनेको छ । उनले आफ्नो जीवनदर्शन र आफ्ना वारिपरिकाको वेकुफीलाई कविताको पाँचौँ गुच्छामा यसरी देखाएका छन् :
मैले नवाबको मदिरालाई खून भनेको छु,
छिमेकी रण्डीलाई लाश भनेको छु !
राजालाई गरीब,
सिकन्दरलाई मैले गाली दिएको छु !
महात्मा भनाउँदाको निन्दा गरेको छु !
नगण्य व्यक्तिलाई, तर,
सातौं आसमानसम्म,
तारीफको पुलमा चढाएको छु,
तिम्रा महापण्डित, मेरो महामूर्ख !
तिम्रो स्वर्ग, मेरो नरक !
तिम्रो सुन, मेरो फलाम
साथी ! तिम्रो धर्म मेरो पाप !
जहाँ तिमी आफूलाई चलाक सम्झन्छौ,
उहाँ म देख्छु तिमीलाई बिलकुल लाटा !
तिम्रो उन्नति, मेरो अवनति,
यस्तै छ मोलमोलाइको उलट-पलट,
साथी !
तिम्रो विश्व, मेरो बाल !
जरुर साथी ! म बिलकुल चन्द्राहत छु
चन्द्राहत,
यस्तै छ मेरो हाल !
यहाँ देवकोटाको जीवन दर्शन र समाजको दृष्टिकोण विपरीत परेको सन्दर्भ छ । साउनमा आँखा फुटेको गोरुले सधैँ हरियो देख्ने लोकदर्शननिकटबाट कवितालाई विपरीत सन्दर्भको संयोजनसहित प्रबल बनाइएको छ । यहाँ नवाबको मदिरालाई दुनियाँले अमृत मानेर पिइहरँदा आफूले खून देखेको, दुनियाँले भोग्ने छिमेकी नगरबबधु (रण्डी : देवकोटाको भाषामा) लाई लाश देखेको, राजालाई गरीब देखेको, सिकन्दरलाई गाली दिएको, महात्मा भनाउँदाको निन्दा गरेको, समाजले कमजोरदेखेका (नगण्य, सीमान्तीय व्यक्तिलाई) तारिफ गरेको, दुनियाँले देखेका महापण्डितमा मूर्खता पहिल्याएको र मूर्ख भनेको, दुनियाँले ठानेको, स्वर्गलाई नै नरक लेखेको, दुनियाँले मूलयवान् ठानेको सुनलाई आफूले फलाम ठानेको, दुनियाँले धर्म ठानिरहेको विषयलाई आफूले पाप ठानेको, आफूलाई चलाक सम्झनेलाई, बिलकुल लाटो देखेको, दुनियाँले उन्नति ठानेको भौतिक झिलिमिलीलाई आफूले प्राकृतिक र सांस्कृतिक विनासको अवनति ठानेको देखाएर आफू होइन समाज पागल रहेको पक्षलाई कवितात्मक वाणी दिएका छन् ।
यी साक्ष्यबाट हेर्दा यो कविता नेपाली लोकसमाजमा चलेका नमच्चिने पिङको सय झड्का वा नाच्न नजान्ने आँगन डेढो भन्ने नेपाली उखानले बोक्ने विपरीत अर्थ जस्तै रुपमा सिर्जना भएको कविताका रुपमा देखिन्छ । यहाँ लिइएको उदाहरणको अन्त्यमा देवकोटा समाजमा विचारको मोलमोलाइको उलट-पलट भएको देख्छन् । आफ्ना नजिकका साथी र दुनियाँले ठानिरहेको विश्व अफ्नो बाल हुँदा आफू मित्र मण्डली र दुनियाँबाट चन्द्राहत भएकाले हाल विग्रिएको तर पागल नभएको चिचार सम्प्रेषण गरेका छन् ।
देवकोटा पागल कविता लेख्दै गर्दा नेपाली समाजका सचेत बौद्धिक व्यक्तित्वका रुपमा स्थापित थिए । जीवनीपरक दृष्टिले हेर्दा २१ वर्षको कलिलो प्रथम युवावयी उमेरमै समाजको चेतना विकास र जागरणका लागि पुस्तकालय स्थापना गर्ने उद्देश्य लिएर पुस्तकालय स्थापना गर्न लाग्दा तात्कालीन शासक (भीमसमशेर) ले उनलाई पक्राउपुर्जी जारी गराउनका साथै दण्डजरिवाना गराएका थिए । समाजमा चेतना जागृत गर्ने पुस्तकालय स्थापना प्रयत्न गर्ने युवक अपराधी करार हुने समाजमा त्यस युवकले हो तिमीहरू ठिक छौ म पागल हुँ भन्नु भन्दा ठुलो पिरीत हाँक वा व्यङ्ग्य या चुनौति अरु के हुन सक्थ्यो र ।
उनका जीवनमा घटेको लाइब्रेरी पर्वको रापचापपछि २५ बर्षको उमेरमै आमाका तर्फबाट टुहुरो बन्नु परेको जीवन भोगाई, त्यस लगत्तै बुबाका तर्फबाट टुहुरो बन्नुपर्दाको पीडा, त्यसलगत्तै दुई महिनाकी छोरी गुमाउन पुग्दाका पीडा, करिब २६ वर्षको उमेरदेखि मनबुझाउन वा बहलाउन धुम्रपानको सहारा, ठुलो परिवारको लालनपालन, परिवारका सदस्य, मित्रमण्डल र समाजले आफ्नो प्रतिभालाई बुझ्न नसक्ने अवस्था, देशको राजनीतिक परिवर्तनका लागि देशै छोडेर आन्दोलनमा हेलिँदाका अवस्था, राज्यले सर्वश्वहरणमा पारेर अपराधि करार गरेको र उता प्रवासमा पुगेकै बेला स्वार्थी राजनीतिज्ञले पनि आफ्नो बौद्धिकता नबुझेर विदेशी भूमिमा आर्थिक अभावमा पारेको अवस्था र देशमा राणा शासकहरूको शोषणबाट मुक्ति भयो भनेर प्रजान्त्रको नाम दिए पनि समाजको यथास्थितिलाई यएउटा बौद्धिक मानिसले स्वीकारेर टुलुटुलु हेरेर बसिरहने अवस्था, हुर्किसकेको ज्येष्ठपुत्रको निधनको शोकजन्य पीडा आदिले देवकोटा जीवनअनुभवले परिपक्व, अध्ययन र साधनाले झन् परिपक्व भएका थिए ।
यस्ता प्रतिभाले आफ्ना विचार, तर्क र विद्रोहसहित स्वाभिमानको जीवन बाँच्ने प्रयत्न गर्नु अस्वाभाविक थिएन । उनका जीवनअनुभव, विश्वसाहित्य र कानुनको उच्च शिक्षा, सिर्जनात्मक प्रतिभाले आफ्नो क्षमता र समाजको स्थितिलाई विपरीत देख्नु स्वाभाविक रहेको कुरा कविताको छैटौँ पङ्क्तिगुच्छमा यसरी प्रस्तुत गरिएको छ :
म अन्धालाई दुनियाँको अगुवा देख्दछु,
गुफा-तपस्वीलाई भगुवा देख्दछु,
मिथ्याका मञ्च चढेकालाई
काला नटुवा देख्दछु !
विफललाई सफल देख्दछु !
प्रगतिलाई अगति देख्दछु !
या हुँला मै ऐँचाताना !
या हुँला मै दीवाना !
साथी ! मै दीवाना ! (देवकोटा,२०५६, पृ.१२६)
यस उदाहरणमा भए जस्तै तत्कालीन समाज देवकोटाका चेतना र अपेक्षभन्दा विपरीत थियो । देवकोटाका नजरमा दुनियाँको अगुवा हुँ भन्नेहरू अन्धा थिए तिनले समाजलाई निकास दिन र सही बाटो देखाउन सक्तैन थिए । उनका नजरमा गुफा-तपस्वीहरू महामानव, बाबा वा सन्त वा साधु नभएर घरव्यवहार चलाउन नसकेर गुफा रोजेका भगुवा थिए । उनका नजरमा राजनीतिक नियुक्ति खानेहरू, नेता बनी टोपलेकाहरू, राजपरिवारको सन्तानका नाममा जन्मकै आधारमा मिथ्याका मञ्च चढेकाहरू बाहिर आवरणमा जस्ता थिए यथार्थमा त्यस्ता थिएनन् (काला नटुवा थिए), कमजोर र लाचार थिए, कोही विदेशीका कठपुतली र कोही शासकका दास मात्र थिए ।
समाजले सफल ठानेका मानिस विफल थिए र देवकोटा त्यही विफल र सफलको तराजु चलाएर समाजलाई हेरिरहेका हुन्छन् र आफ्नो न्यायको तराजुमा प्रगतिलाई अगति देख्दछु ! भन्दै विद्रोहको कवितात्मक स्वर उराल्छन् । उनी यस विचारलाई पुष्टी गर्न हिन्दी उखानको सहारा लिन्छन् या हुँला मै ऐँचाताना ! या हुँला मै दीवाना ! साथी ! मै दीवाना ! । कवितामा प्रस्तुत यस सन्दर्भले आफू होइन समाज पागल रहेको पक्षलाई विरीत साक्ष्यहरूबाट देखाइएको छ ।
पागल कविताको सातौँ पङ्क्तिगुच्छामा समाज र देशको अवस्था र आफ्नो चेतना, योजना र कार्यको अवस्था विपरीत रहेको देखाइएको छ । उनी भन्छन् :
निर्लज्ज नेतृत्वको नीरस रसनाको
रण्डीको नाच हेर !
जन-अधिकारको डँडाल्नोको भाँच हेर !
जब भँगेरे-टाउके छापाको कालो मिथ्याले
मेरो विवेक-वीरलाई
जाली झुठले ललकार्छ
तब हुन्छन् मेरा गाला राता साथी !
सल्केको गोलझैं राता !
जब निमुखा दुनियाँ कालो जहर पिउँदछ,
पिउँछ कानले,
र अमृत भनिठानेर,
र मेरा आँखाअगाडि, साथी !
तब हुन्छन् ठाडा मेरा रौं, रौं
गर्गनका सर्पकेश झैं, मेरा जिस्क्याइएका
रौं, रौं !
जब बाघले मृग खान आँटेको देख्छु, साथी !
या ठूलो माछाले सानो,
तब मेरा मक्काएका हड्डीमा पनि दधीचिको आत्माको
भयङ्कर बल पसेर, बोल्न खोज्दछ, साथी !
तब कडकडकउँछन् मेरा बत्तीस दन्ते बङ्गारा,
दुवै !
जस्तो भीमसेनका दाँत !
अनि,
प्रकोपको लाल-लाल आँखाका डल्ला,
फनक्क घुमाएर एक डबलले, म
यो अमानवको मानवजगत्लाई,
एक आगोको लप्काले झैँ हेर्दछु, साथी !
अफ्रिन्छन् मेरा कलपुर्जा,
खलत्रल, खलबल !
तूफान हुन्छ मेरो सास !
विकृत हुन्छ मेरो चेहरा !
बन्दछ मेरो दिमाग, साथी !
बडवानलझैं, बडवानलझैं !
म वन खाने आगो झैं बहुला हुन्छु ! (देवकोटा, पृ. २२६-२२७)
माथिको कवितांश र देवकोटाको जीवनयात्रालाई तुलना गरेर हेर्दा उनको जीवनयात्रा पनि उतारचढावबाट अगाडि बढिरहेको थियो । उनी सिर्जनाले मात्र नपुगेर शसरीर राजनीतिमै लागेर घर र देशै छोडेर प्रवास पुगेका थिए । सहयात्रीहरूको कमजोर बोध सामर्थ्यका कारण उनी प्रवाशमा अलपत्र परेका थिए । उनलाई खोज्दै उनकी पत्नी बनारस पुग्नु परेको थियो । उनी बनारसबाट कलकत्ता दार्जिलिङ्ग पुगेका, शारीरिक कमजोरीका कारण लेखन कार्यमा अर्धविराम लाग्नु, ‘मलेरिया’ लागेको आशंकामा शासक वर्गसँग बिन्तीभाउ गरी स्वदेश फर्कनुपर्ने बाध्यता र आफ्नो स्वाभिमान विपरीतको लाइब्रेरी पर्वदेखिको फरक सम्झौता, २००९ सालमा जेठा छोरा प्रकाशको मृत्युले पुर्याएको चोट, २०१० मा भारतीय विद्वान् राहुल सांकृत्यायनसँग भेट र भेटपछि सांकृत्यायनको ‘नेपाली महाकवि देवकोटा’ शीर्षकको हिन्दी लेखमा अभिव्यक्त ‘उनलाई राँची लगिएको‘..’ प्रसंग, त्यसै लेखका कारण भाञ्जाका रुपमा सम्बोधनगरिएका जनकलाल शर्मासँग ‘पोल खोलेको’मा विमती आदिले यस कवितालाई यो उचाइको विद्रोहमा पुर्याएको देखिन्छ ।
माथिको उदाहरणमा देवकोटाले निर्लज्ज नेतृत्त्वलाई नीरस रसनाको नगरबकुधो नाचका रुपमा देखाएका छन् र जन-अधिकारको डँडाल्नो भाँच्ने कार्यका रुपमा हेरेका छन् । तत्काल राज्य पक्षका केही सञ्चार सामग्री प्रकाशन हुने र तिनका हेडलाइनमा देखिने ठुला अक्षरका झुट छापाको कालो मिथ्याले आफ्नोे बौद्धिक व्यक्तित्व (विवेक-वीर) लाई जाली झुठले ललकार्न थाल्ने र गाला राता सल्केका गोलझैँ हुने पक्ष उद्घाटन गरिएको छ । यो देवकोटाको तत्कालीन शिक्षा र सञ्चार क्षेत्रप्रतिको अविश्वास र कटाक्ष पनि हो । समाजले निमुखालाई व्यवस्था सुव्यवस्था परिवर्तनका नाममा जहर पिलाएको देखेर सर्पकेशझैँ रौँ ठाडा हुने विचार क्रान्तिचेतनाका तहमा अभिव्यक्त छ ।
यसै सन्दर्भमा देवकोटाको वर्गीय चेतना जब बाघले मृग खान आँटेको ठुलो माछाले सानो माछा खान आँटेको देखेर अफ्ना मक्काएका हड्डीमा पनि दधीचिको आत्माको भयङ्कर बल पसेर बोल्न खोज्ने र बत्तीस दन्त भीमसेनका दाँतझैँ कडकडकउँने सन्दर्भबाट म किन अरु भन्दा फरक र विद्रोही छु, यो मेरो कुरा किन निकटको व्यक्ति र समाजले सुन्दैन भन्दै आफूलाई कमजोर नठान्न चुनौती दिइएको छ ।
यस कुरालाई पुष्टि गर्न उनको मानवतावादी चेतना अमानवको मानवजगत्लाई कटाक्ष गर्दै एक आगोको लप्काले झैँ अमाववीय चरित्र सिध्याउ चाहन्छ । आगो बनेर डढेलो बनेर बडवानलझैं दन्कन तयार भएको विचार अगाडि सार्दछन् । आफू वन खाने आगो झैं बहुला हुन्छु ! भन्दै आफ्नो व्यवहार र लेखनको विद्रोहलाई पुष्टि गर्छन् । उही विपरीत सन्दर्भबाट कमजोरीमाथि व्यङ्ग्य गर्दै आफू स्वस्थ्य र सबल रहेको विचार व्यक्त गरेका छन् । यस सन्दर्भमा कविताका अन्तिम पङ्क्तिगुच्छाको अन्तिम अंबलाई कविताको बिट मार्ने अंशका रुपमा लिन सकिन्छ :
म सुन्दर-चकोर, असुन्दर-फोर !
कोमल-क्रूर
चिडिया, स्वर्गाग्नि-चोर
तूफान-पुत्र !
पागल ज्वालमुखीको उद्गार
भयङ्कर व्यक्तित्वपाल !
जरुर, साथी !
सन्के मगज छु, सन्के !
यस्तै छ मेरो हाल ! ( पृ. १२८)
प्रस्तुत अंशमा देवकोटाका जीवनयात्राका उहापोह, दुःख, व्यथा, समाजको अवस्था, अव्यवस्थाप्रतिको आक्रोश, विद्वत् एवं शासकवर्गप्रतिको विद्रोह छाताछुल्ल पोखिएको पाइन्छ । यहाँ म सुन्दर-चकोर, असुन्दर-फोर ! भनेर विपरीत अर्थ प्रसार गरिएको छ । त्यसै गरी कोमल-क्रूरका रुपमा देखाइएको छ । वास्तवमा सुन्दर – चकोर विम्ब विपरीत छ, कोमल र क्रूर विम्ब पवि विपरीत छ ।
त्यसै गरी चिडियासँगै स्वर्गाग्नि-चोरका रुपमा प्रस्तुत गरिएको छ । क्रान्तिकारीका अर्थमा तुफानपुत्रका रुपमा र यस कवितालाई नै ज्वालमुखीको उद्गारका रुप्मा लिइएको छ । समाजमा भएका विकृत पक्षमा सही गलतको तर्क गर्दा तिमी अहङ्कारी र स्वार्थीदेख्छै भने म सन्के मगज भएको छु तर ठिकै छु भनेर उही विपरीत प्रसंगबाट कवितालाई अन्त्य गरिएको छ । माथिको सरसरती विश्लेषणले देवकोटाको पागल कवितालाई विपरीत विषय सन्दर्भ, विम्ब, प्रतीक र विपरीत अभिव्यक्तिबाटै व्यङ्ग्यप्रधान बनाएको देखिन्छ ।
निष्कर्ष
लक्ष्मीप्रसाद देवकोटालाई महाकवि भनिन्छ तर उनको त्यस महाकवित्वमा फुटकरकविताका मूल्यदेखि महाकाव्यसम्मका सिर्जनात्मक मूल्य संरक्षित छन् । उनलाई महाकवि बनाउने फुटकर कवितामध्ये एक विशेष कविता पागल कविता हो । यस कवितालाई हास्यरहित विपरीत सन्दर्भहरूबाट व्यङ्ग्यप्रधान कविताका रुप्मा प्रस्तुत गरिएको छ । यस कविताले देवकोटाका जीवनका उतारचढावपूणर् बाढीतुफानजन्य यात्रालाई गर्भमा राखेर प्रायः तत्कालीन समाजका कमजोरी, अशिक्षा, अव्यवस्था, भ्रष्टाचार, शोषण, दमन, अमानवता, चरित्रहीन आचरण, अस्वस्थ्य प्रतिष्पर्धा, सक्षम व्यक्तिको कमजोर र असक्षमव्यक्तिबाट तेजोबध आदिको तीव्र विरोध गरिएको छ ।
देवकोटाकै जीवनयात्राका साक्ष्यका आधारमा हेर्ने हो भने पनि यो कविता तीव्र व्यङ्ग्य कविताका रुपमा देखापर्छ । अप्ठ्यारो परेका बेला परिवारजन, मित्रवर्ग, समाज र देशले पनि देखाएको घृणा, तिरष्कार, अवहेलनाका साथै मूलत देवकोटाको बौद्धिक उच्च सिर्जनशील व्यक्तित्वको तेजोबध गर्ने पक्षलाई कवितात्मक भावमा जीवन्त रुपमा प्रस्तुत गरिएको छ ।
यस कवितामा शासकले प्रयोग गर्ने मोजमस्तीको मदिरा गरीबको रगतसमान रहेको, व्यभिचारले बाँचेका जीवनहरू लाश समान रहेको, पण्डितहरू मूर्ख भएको, सुन-फलाम भएको, स्वार्थवश गरिएको धर्म पाप भएको, योग्यताविनाको चलाखी मूर्खता भएको, धरातलविनाका उन्नति अवनति भएको देखाएर विपरीत विषय र विम्ब र सन्दर्भ बाट व्यङ्ग्यलाई प्रबल बनाइएको छ ।
देवकोटाका नजरमा गुफामा रहने तपस्वीहरू भगुवा हुन् जो समाजमा टिक्न सकेका भए गुफा पस्तैन थिए । उनका दृष्टिमा राजासँग शक्ति र सत्ताबाहेक केही छैन र उनी गरिब छन् । उनी राजासँगै जोडेर अरु राजनेता हौँ भन्नेहरूका कमजोरीमा सिस्नुपानी लाउन पनि भ्याउँछन् । यस कवितामा देवकोटाका जीवनका घटना र उनको तेजोबधबाट आएका कटाक्षभन्दा तत्कालीन राजनैतिक व्यवस्था र त्यस व्यवस्थालाई विरोध गर्न सक्ने देवकोटाको समर्थवान् राजनीतिक चेतना प्रबल रुपमा अभिव्यक्त छ । यो देवकोटाको मानवता, विद्रोह र बहुल चिन्तनको संयोजन गरिएको तर व्यङ्ग्यशैलीमा संयोजित सशक्त कविता हो ।
०००
भक्तपुर
सन्दर्भ सामग्री
खनाल, यदुनाथ (२०२५). ‘लक्ष्मीप्रसाद देवकोटा एक अधुरो सम्झना’. भानु (५/१२), पृ.११९-१२२)
जोशी, कुमारबहादुर (२०४८). देवकोटाका प्रमुख कविता कृतिको कालक्रमिक विवेचना. काठमाडौँ : सिद्धार्थ वनस्थली प्राज्ञिक परिषद् ।
देवकोटा, लक्ष्मीप्रसाद (२०२४). मनोरञ्जन.
देवकोटा, लक्ष्मीप्रसाद (२०६४). मनोरञ्जन (दोस्रो संस्क.). काठमाडौँ : अक्सफोर्ड पब्लिकेसन्स ।
देवकोटा, लक्ष्मीप्रसाद (२०५६). लक्ष्मीकवितासङ्ग्रह (चौथो संस्क.). काठमाडौँ : अक्सफोर्ड पब्लिकेसन्स ।
त्रिपाठी, वासुदेव.(२०५१). ‘हास्य-व्यङ्ग्यको सैद्धान्तिक सन्दर्भतर्फ’. प्रज्ञा (८०) ।
बन्धु, चुडामणि. (२०६७). देवकोटा (चौथो संस्क.). ललितपुर : साझा प्रकाशन ।
शर्मा, जनकलाल. (२०३२). महाकवि देवकोटा—एक व्यक्तित्व, दुई रचना. ललितपुर : साझा प्रकाशन ।
सम, बालकृष्ण (२०२५). ‘सरस्वतीप्रसाद देवकोटा’. भानु (५/१२) पृ.९७-१०१ ।
Subscribe
Login
0 Comments
Oldest